भजनसंग्रह 136:13-26
भजनसंग्रह 136:13-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले लाल समुद्रलाई दुई भागमा विभाजित गर्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। उहाँले इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। उहाँले फारो र उनको सेनालाई लाल समुद्रमा बगाइदिनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। उहाँले आफ्ना मानिसहरूलाई उजाड-स्थानको बीचबाट डोर्याउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। उहाँले ठूला-ठूला राजाहरूलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। उहाँले शक्तिशाली राजाहरूलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। उहाँले एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। उहाँले बाशानका राजा ओगलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। उहाँले उनको देश पैतृक-सम्पत्तिको रूपमा दिनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। उहाँले त्यो देश आफ्नो दास इस्राएललाई दिनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। उहाँले हामीलाई हाम्रो दुर्दशामा स्मरण गर्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। उहाँले प्रत्येक प्राणीलाई आहार दिनुहुन्छ: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। स्वर्गका परमेश्वरलाई धन्यवाद देओ, किनभने उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
भजनसंग्रह 136:13-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँलाई धन्यवाद देओ, जसले लाल समुद्रलाई दुई भागमा विभाजन गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले फारो र तिनका सेनालाई लाल समुद्रमा डुबाइदिनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले आफ्ना प्रजालाई उजाडस्थानबाट भएर डोर्याउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले ठूला-ठूला राजालाई नाश पार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले शक्तिशाली राजालाई मार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले बाशानका राजा ओगलाई मार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश पैतृक सम्पत्तिको रूपमा दिनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले आफ्ना सेवक इस्राएललाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले हामी सबैलाई हाम्रा दुर्दशामा स्मरण गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले हाम्रा शत्रुहरूबाट हामीलाई छुटाउनुभयो। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले हरेक प्राणीलाई भोजन दिनुहुन्छ। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। स्वर्गका परमेश्वरलाई धन्यवाद देओ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
भजनसंग्रह 136:13-26 पवित्र बाइबल (NERV)
परमेश्वरले लाल समुद्रलाई दुइ भागमा बाँड्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले इस्राएल लाई समुद्र तार्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले फिरऊन र उनका सैनिकहरूलाई लाल समुद्रमा डुबाई दिनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले आफ्नो मानिसहरूलाई मरुभूमि भएर डोर्याउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले शक्तिशाली राजाहरूलाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले बलवान राजाहरूलाई पनि हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले अमोरीहरूका राजा सीहोनलाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले बाशानका राजा ओग्लाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले तिनीहरूका जग्गा इस्राएललाई दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले त्यो जग्गा उपहारको रूपमा इस्राएललाई दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले हामी हारेको बेलामा सम्झनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले शत्रुहरूबाट हामीलाई बचाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले प्रत्येकलाई खाना दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। स्वर्गका परमेश्वरको प्रशंसा गरौं। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
भजनसंग्रह 136:13-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले लाल समुद्रलाई बीचमा भाग गर्नुभयो; उहाँको प्रेम अमर छ। आफ्ना प्रजालाई त्यसका बीचदेखि डोर्याउनुभयो; उहाँको प्रेम अमर छ। तर मिश्रका राजा र तिनका सेनालाई डुबाउनुभयो; उहाँको प्रेम अमर छ। उहाँले आफ्ना प्रजालाई मरुभूमिका बीचबाट डोर्याउनुभयो; उहाँको प्रेम अमर छ। उहाँले शक्तिशाली राजाहरूलाई मार्नुभयो; उहाँको प्रेम अमर छ। उहाँले प्रख्यात राजाहरूलाई मार्नुभयो; उहाँको प्रेम अमर छ। एमोरीहरूका राजा सिहोनलाई मार्नुभयो; उहाँको प्रेम अमर छ। बाशानका राजा ओगलाई मार्नुभयो; उहाँको प्रेम अमर छ। तिनीहरूका देश उहाँले आफ्ना प्रजालाई दिनुभयो; उहाँको प्रेम अमर छ। उहाँले आफ्ना सेवक इस्राएललाई ती देशहरू दिनुभयो; उहाँको प्रेम अमर छ। हामी हार्दा उहाँले हामीलाई भुल्नुभएन; उहाँको प्रेम अमर छ। उहाँले हामीलाई हाम्रा शत्रुहरूदेखि छुटकारा दिनुभयो; उहाँको प्रेम अमर छ। उहाँले हरेक जिउँदो प्राणीलाई भोजन दिनुहुन्छ; उहाँको प्रेम अमर छ। स्वर्गका परमेश्वरलाई धन्यवाद देओ; उहाँको प्रेम अमर छ।