भजनसंग्रह 135:8-14
भजनसंग्रह 135:8-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले मिश्रदेशमा मानिस र पशुहरू दुवैका जेठा-जेठालाई मार्नुभयो। हे मिश्रदेश, उहाँले तेरै बीचमा, फारो र उनका सारा कर्मचारीहरूका सामुन्ने चिन्ह र आश्चर्य कामहरू पठाउनुभयो। उहाँले धेरै जातिहरूलाई प्रहार गर्नुभयो, र धेरै शक्तिशाली राजाहरूलाई मार्नुभयो: एमोरीहरूका राजा सीहोन, र बाशानका राजा ओगलाई, र कनानका सबै राजाहरूलाई। अनि तिनीहरूका भूमि आफ्नो प्रजा इस्राएललाई पैतृक-सम्पत्तिको रूपमा दिनुभयो। हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदै रहिरहन्छ। हे परमप्रभु, तपाईंको यश पुस्तौँसम्म रहिरहन्छ। किनभने परमप्रभुले आफ्नो प्रजालाई न्याय दिलाउनुहुनेछ, र आफ्ना सेवकहरूमाथि अनुकम्पा राख्नुहुनेछ।
भजनसंग्रह 135:8-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले इजिप्टका मानिस र पशु, दुवैका पहिले जन्मेकाहरूलाई मार्नुभयो। हे इजिप्ट, उहाँले तेरो बीचमा, आफ्ना अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू, फारो र उनका सारा भारदारहरूका विरुद्धमा पठाउनुभयो। उहाँले धेरै राष्ट्रहरूलाई नाश गर्नुभयो; र धेरै शक्तिशाली राजाहरूलाई मार्नुभयो— एमोरीहरूका राजा सीहोन, बाशानका राजा ओग, र कनानका सबै राजाहरूलाई नष्ट गर्नुभयो— अनि तिनीहरूका भूमि पैतृक सम्पत्तिको रूपमा, आफ्ना प्रजा इस्राएललाई उत्तराधिकारको रूपमा दिनुभयो। हे याहवेह, तपाईंको नाम सदासर्वदा रहिरहन्छ; हे याहवेह, तपाईंको ख्याति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। किनकि याहवेहले आफ्ना मानिसहरूलाई निर्दोष प्रमाणित गर्नुहुनेछ, र आफ्ना सेवकहरूमाथि करुणा देखाउनुहुनेछ।
भजनसंग्रह 135:8-14 पवित्र बाइबल (NERV)
परमप्रभुले प्रथम जन्मिएका सारा पुरूषहरू, अनि मिश्रमा प्रथम जन्मिएका सारा पशुहरू नाश गर्नुभयो। परमप्रभुले धेरै आश्चर्यजनक र अलौकिक कार्यहरू मिश्रमा गर्नुभयो। परमप्रभुले फिरऊन र उनका अधिकारी प्रति त्यस्ता घटनाहरू गराउनु भयो। परमेश्वरले धेरै ठूला-ठूला जातिहरूलाई परास्त पार्नुभयो। शक्तिशाली राजाहरूलाई पनि उहाँले मार्नुभयो। परमप्रभुले अमोरीहरूका राजा सीहोनलाई परास्त पार्नु भयो। परमप्रभुले ओग् भन्ने बाशानका राजालाई परास्त पार्नु भयो। परमप्रभुले कनानका सबै जातिहरूलाई परास्त पार्नुभयो। परमेश्वरले तिनीहरूका भूमि इस्राएल लाई सुम्पनु भयो। परमप्रभुले ती जग्गाहरू आफ्ना मानिसहरूलाई दिनुभयो। हे परमप्रभु, तपाईंको नाउँ सदा-सर्वदा प्रख्यात रहने छ! हे परमप्रभु, मानिसहरूले तपाईंलाई सदा-सर्वदा याद गर्नेछन्। परमप्रभुले अन्य जातिहरूलाई दण्ड दिनु भयो, तर परमप्रभुले आफ्ना दासहरूलाई कृपादृष्टि राख्नु भएको थियो।
भजनसंग्रह 135:8-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मिश्रमा उहाँले मानिसहरूका जेठा छोराहरू र पशुहरूका पहिला जन्मेका बच्चाहरू मार्नुभयो। राजा र उसका भारदारहरूलाई दण्ड दिनलाई उहाँले आश्चर्य र उदेकका कामहरू गर्नुभयो। उहाँले धेरै जातिहरूलाई नाश पार्नुभयो र शक्तिमान् राजाहरूलाई मार्नुभयो। उहाँले एमोरीहरूका राजा सिहोन, बाशानका राजा ओग र कनानका सबै राजाहरूलाई मार्नुभयो। तिनीहरूका देश उहाँले आफ्ना प्रजा इस्राएलहरूलाई दिनुभयो। परमप्रभु, सबै पुस्ताहरूले तपाईंलाई याद गर्नेछन् र सदासर्वदा तपाईंलाई परमेश्वर भनी घोषणा गर्नेछन्। परमप्रभुले आफ्ना प्रजाको रक्षा गर्नुहुनेछ, उहाँले आफ्ना सेवकहरूलाई टिठ्याउनुहुनेछ।