भजनसंग्रह 135:1-7

भजनसंग्रह 135:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुको प्रशंसा गर। परमप्रभुका नाउँको प्रशंसा गर, हे परमप्रभुका सेवकहरू, उहाँको प्रशंसा गर। तिमीहरू जो परमप्रभुको भवनमा, हाम्रा परमेश्‍वरको भवनमा सेवा गर्दछौ। परमप्रभुको प्रशंसा गर, किनभने परमप्रभु भलो हुनुहुन्‍छ। उहाँको नाउँको भजन गाओ, किनकि यो मनोहर छ। किनकि परमप्रभुले याकूबलाई आफ्‍नो बनाउन, र इस्राएललाई आफ्‍नै निज सम्‍पत्ति हुनलाई चुन्‍नुभएको छ। मलाई थाहा छ, कि परमप्रभु महान्‌ हुनुहुन्‍छ, र हाम्रा प्रभु सबै देवहरूभन्‍दा महान्‌ हुनुहुन्‍छ। स्‍वर्गमा, पृथ्‍वीमा, र समुद्रहरू र तिनका गहिराइमा परमप्रभुले आफ्‍नो इच्‍छाबमोजिम गर्नुहुन्‍छ। उहाँले पृथ्‍वीका सीमानाको छेउबाट बादल उठाउनुहुन्‍छ, उहाँले वर्षासित बिजुली पठाउनुहुन्‍छ, र उहाँले आफ्‍ना भण्‍डारहरूबाट बतास निकाल्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 135 पढ्नुहोस्

भजनसंग्रह 135:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहको प्रशंसा गर! याहवेहको नामको प्रशंसा गर; हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर। तिमीहरू, जो याहवेहको भवनमा, हाम्रा परमेश्‍वरको भवनका चोकहरूमा सेवा गर्दछौ। याहवेहको प्रशंसा गर! किनकि याहवेह भलो हुनुहुन्छ; उहाँको नामको गीत गाओ; किनकि त्यो आनन्दमय हुन्छ। किनकि याहवेहले याकोबलाई आफ्नो बनाउन, अनि इस्राएललाई आफ्नो बहुमूल्य सम्पत्ति हुनलाई चुन्‍नुभएको छ। म जान्दछु, याहवेह महान् हुनुहुन्छ, र हाम्रा प्रभु सबै देवहरूभन्दा महान् हुनुहुन्छ। आकाशमा र पृथ्वीमा, समुद्रहरू अनि तिनका गहिराइमा, याहवेह आफ्नो इच्छाअनुसार गर्नुहुन्छ। उहाँले पृथ्वीको छेउबाट बादल उठाउनुहुन्छ; उहाँले वर्षासित बिजुली पठाउनुहुन्छ; र उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 135 पढ्नुहोस्

भजनसंग्रह 135:1-7 पवित्र बाइबल (NERV)

परमप्रभुको प्रशंसा गर! परमप्रभुको नाउँको प्रशंसा गर! परमप्रभुको दासहरू हो, उहाँको प्रशंसा गर! ती मानिसहरू, जो परमप्रभुको मन्दिरमा, र परमप्रभुकै मन्दिरका चोकहरूमा उभिहेका छन्, उहाँको प्रशंसा गर। परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको नाउँको प्रशंसा गर, किनभने यो आनन्दमय छ। परमप्रभुले याकूबलाई रोज्नु भयो, इस्राएल परमप्रभु कै हो। म जान्दछु परमप्रभु महान् हुनुहुन्छ! हाम्रो स्वामी सबै देवताहरूभन्दा महान् हुनुहुन्छ! परमप्रभुले चाहेका जे पनि, आकाशमा, पृथ्वीमा, पातालमा, समुद्रमा र गहिरा सागरहरूमा गर्नुहुन्छ। परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ। परमेश्वरले बिजुली र बर्षा पठाउनु हुन्छ। परमेश्वरले हावा ल्याउनुहुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 135 पढ्नुहोस्

भजनसंग्रह 135:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुको प्रशंसा गर! हे परमप्रभुका सेवकहरू हो! उहाँको नामको प्रशंसा गर! तिमीहरू, जो परमप्रभुको भवनमा हाम्रा परमेश्‍वरको मन्‍दिरमा खडा रहन्‍छौ, परमप्रभुको प्रशंसा गर! परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्‍छ, उहाँको नामको स्‍तुति गाओ किनभने उहाँ दयालु हुनुहुन्‍छ। उहाँले याकूबलाई, इस्राएलका प्रजालाई, आफ्‍नै लागि चुन्‍नुभयो। म जान्‍दछु कि हाम्रा परमप्रभु महान् हुनुहुन्‍छ, सबै अरू देवताहरूभन्दा अझ महान् हुनुहुन्‍छ। उहाँले स्‍वर्ग र पृथ्‍वीमा, समुद्रहरू र तीभित्रका गहिरा स्‍थानहरूमा आफूले इच्‍छा गरेअनुसार गर्नुहुन्‍छ। उहाँले पृथ्‍वीको पल्‍लो कुनाबाट आँधीका बादलहरू बटुल्‍नुहुन्‍छ। आँधीमा बिजुली चम्‍काउनुहुन्‍छ र आफ्‍ना भण्‍डारहरूबाट बतास निकाल्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 135 पढ्नुहोस्