भजनसंग्रह 132:1-9
भजनसंग्रह 132:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, दाऊदलाई स्मरण गर्नुहोस्, अनि तिनले भोगेका सबै विपत्तिहरू सम्झनुहोस्। तिनले परमप्रभुको नाउँमा शपथ खाए, र याकूबका सर्वशक्तिमान्को नाउँमा भाकल गरे, “म तबसम्म आफ्नो घरभित्र प्रवेश गर्नेछैनँ, न ओछ्यानमा लेट्न जानेछु! मेरा आँखामा म निद्रा आउन दिनेछैनँ, अनि आफ्ना पलकहरूलाई झिमिक्क पनि हुन दिनेछैनँ, जबसम्म परमप्रभुको निम्ति एउटा स्थान, याकूबका सर्वशक्तिमान्को निम्ति एउटा निवासस्थान म भेट्टाउँदिनँ।” एप्रातामा हामीले त्यसको विषयमा सुन्यौं, हामीले याआरको मैदानमा त्यो भेट्टायौं: “हामी उहाँको वासस्थानमा जाऔं, हामी उहाँको पाउदानमा आराधना गरौं। हे परमप्रभु, उठ्नुहोस्, तपाईं र तपाईंका शक्तिको सन्दूकसहित, र तपाईंको विश्रामस्थानमा आउनुहोस्। तपाईंका पूजाहारीहरूले धार्मिकताको वस्त्र धारण गरून्, र तपाईंका पवित्र जनहरू आनन्दले जयजयकार गरून्।”
भजनसंग्रह 132:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, दावीद र तिनले भोगेका सबै दुःखलाई सम्झनुहोस्। तिनले याहवेहसँग शपथ खाए, तिनले याकोबका सर्वशक्तिमान्सँग भाकल गरे: “म, तबसम्म आफ्नो घरमा पस्नेछैनँ, वा आफ्नो ओछ्यानमा सुत्नेछैनँ, म मेरा आँखाहरूमा निद्रा आउन दिनेछैनँ, र आँखाहरूका पलकहरूलाई उँघ्न पनि दिनेछैनँ; जबसम्म याहवेहका निम्ति एउटा ठाउँ र याकोबका सर्वशक्तिमान्को निम्ति म एउटा वासस्थान भेट्टाउँदिनँ।” हामीले एप्रातामा त्यसको विषयमा सुन्यौँ; हामीले याआरको मैदानमा त्यसलाई भेट्टायौँ: “हामी उहाँका वासस्थानमा जाऔँ; यसो भन्दै उहाँका पाउदानमा दण्डवत् गरौँ, ‘हे याहवेह, उठ्नुहोस्, तपाईं र तपाईंको शक्तिको चिन्ह सन्दुकसमेत, तपाईंको विश्रामस्थलभित्र आउनुहोस्। तपाईंका पुजारीहरूले तपाईंको धार्मिकताको वस्त्र पहिरिऊन्; र तपाईंका विश्वासयोग्य जनहरू आनन्दले जयजयकार गरून्!’ ”
भजनसंग्रह 132:1-9 पवित्र बाइबल (NERV)
हे परमप्रभु! सम्झनु होस्, कसरी दाऊद पीडित भए। दाऊदले परमप्रभुसँग एक प्रतिज्ञा गरेका थिए। दाऊदले याकूबका सर्वशक्तिमान् परमप्रभुसँग शपथ लिएका थिए। दाऊदले भने, “म आफ्नो घरभित्र जाने छैन, म आफ्नो ओछ्यानमा ढल्कने छैन, म सुत्ने छैन, म आफ्नो आँखालाई विश्राम दिने छैन, जबसम्म याकूबको सर्व-शक्तिमान् परमप्रभुको घर बनाउन जमीन पाउँदिन, म ती कुराहरू गर्ने छैन!” एफ्रातामा हामीले त्यसको विषयमा सुनेका थियौं। हामीले किरियथ-योरीम भन्ने ठाउँमा करार पत्रको बाकस पायौ, अब, पवित्र पालतर्फ जाऊँ, त्यस पाऊदानलाई पूजौं जहाँ परमप्रभुले आफ्ना खुट्टाहरू राख्नुहुन्छ। परमप्रभु, आफ्नो विश्राम गर्ने ठाउँबाट उठ्नुहोस्। हे परमप्रभु! तपाईंको शक्तिशाली सन्दूकसित उठ्नु होस्। हे परमप्रभु, तपाईंका पूजाहारीहरू धार्मिकताको पोशाकमा छन्, तपाईंका भक्तजनहरू आनन्दित छन्।
भजनसंग्रह 132:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु, दाऊद र उनले भोगेका सबै कष्टहरू नभुल्नुहोस्। उनले जे प्रतिज्ञा गरे, त्यो याद गर्नुहोस्, उनले जुन भाकल याकूबका सामर्थी परमेश्वरसँग गरे, “म घर जानेछैनँ वा सुत्नेछैनँ, म विश्राम लिनेछैनँ वा निदाउनेछैनँ, जबसम्म म परमप्रभुको लागि एउटा बासस्थान तयार गर्न सक्दिनँ, याकूबका सामर्थी परमेश्वरको लागि एउटा भवन।” हामीले बेथलेहेममा करारको सन्दुकबारे सुन्यौं र याआरका मैदानमा त्यसलाई पायौं। हामीले भन्यौं, “हामी परमप्रभुको भवनमा जाऔं, उहाँका सिंहासनअघि हामी उहाँलाई दण्डवत् गरौं।” हे परमप्रभु, आफ्नो सामर्थ्यको चिन्ह करारको सन्दुकसाथ लिई तपाईं मन्दिरमा आउनुहोस् र त्यहाँ सदासर्वदा बास गर्नुहोस्। जे ठीक छ, त्यही तपाईंका पूजाहारीहरूले सधैँभरि गरिरहून् र तपाईंका जनहरूले आनन्दले जयजयकार गरून्!