भजनसंग्रह 12:1-8

भजनसंग्रह 12:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

गुहार, हे परमप्रभु, किनभने भक्तजन अब बाँकी छैनन्‌। मानिसका बीचबाट विश्‍वासीहरू लोप भइसकेका छन्‌। हरेकले आफ्‍नो छिमेकीसँग झूटा बोल्‍छ। चापलूसी ओठले छलसित तिनीहरू कुरा गर्छन्‌। सबै चापलूसी गर्ने ओठलाई र घमण्‍डका कुरा गर्ने हरेक जिब्रोलाई परमप्रभुले काटिदेऊन्‌, तिनीहरू जसले भन्‍छन्‌, “हाम्रा जिब्राले नै हामी जित्‍नेछौं, हाम्रा ओठ हाम्रै हुन्‌, हामीमाथि को मालिक छ र?” परमप्रभु भन्‍नुहुन्‍छ, “अब म उठ्‌नेछु, किनकि कमजोरहरू लुटिएका छन्‌, र दरिद्रहरू सुस्‍केरा हाल्‍छन्‌, र तिनीहरूलाई हानि गर्नेहरूबाट म रक्षा गर्नेछु।” अनि परमप्रभुका वचनहरू खोटरहित छन्‌, ती शुद्ध चाँदीजस्‍ता छन्‌, जो सात पल्‍ट माटोको भट्टीमा खारेर शुद्ध पारिएको छ। हे परमप्रभु, तपाईंले हामीलाई रक्षा गर्नुहुनेछ। सदाकाल हामीलाई यस्‍ता मानिसहरूदेखि बचाइराख्‍नुहुनेछ। दुष्‍टहरू गमक्‍क भई खुल्‍ला रूपमा डुलिहिँड्‌छन्‌, जब मानिसहरूका बीचमा नीचताको सम्‍मान हुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 12 पढ्नुहोस्

भजनसंग्रह 12:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, सहायता गर्नुहोस्; किनकि भक्तजन एकै जना पनि रहेनन्; विश्‍वासयोग्यहरू मानिसहरूका बीचबाट मासिसकेका छन्। हरेकले आफ्ना छिमेकीसँग झूटो बोल्छन्; तिनीहरूका ओठले चापलुसी गर्छन्; तर तिनीहरूका हृदयमा धोकाका कुरा राख्छन्। सबै चापलुसी गर्ने ओठहरूलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्— तिनीहरू जसले भन्छन्, “हाम्रा जिब्राहरूले नै हामी जित्नेछौँ; हाम्रा ओठहरूले नै हामीलाई बचाउँछन्; हामीमाथि शासन गर्ने शासक को छ र?” याहवेह भन्‍नुहुन्छ, “दुर्बलहरूमाथि भएको अत्याचार र खाँचोमा हुनेहरूको सुस्केराको कारणले म अब उठ्नेछु, म तिनीहरूलाई तिनीहरूको बदनाम गर्नेहरूबाट सुरक्षा गर्नेछु।” याहवेहका वचनहरू खोटरहित छन्, ती भट्टीमा सात पल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्। हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ, र दुष्‍टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ, जब मानिसहरूका बीचमा दुष्‍टताको सम्मान हुन्छ; दुष्‍टहरू गमक्‍क भई खुल्‍ला रूपमा डुलिहिँड्छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 12 पढ्नुहोस्

भजनसंग्रह 12:1-8 पवित्र बाइबल (NERV)

हे परमप्रभु मलाई बचाउँनु होस्! अब धार्मिक मानिसहरू छैनन्। त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्। मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्। प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्। परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ। परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ। ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं अनि त्यो अत्यन्त मुख्य हुँदछ। के भन्नु पर्ने हामी जान्दछौं, यसैले हाम्रो कोही पनि स्वामी छैनन्।” तर परमप्रभु भन्नुहुन्छ, “दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरेका छन्, तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन् तर म ती असहाय मानिसहरूको पक्ष लिएर लडाइईँ गर्नेछु।” परमप्रभुका वचनहरू सत्य र शुद्ध छन्। तातो आगोमा बिलाएको चाँदी जस्तो, तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्। हे परमप्रभु, असहाय मानिसहरूको रेख-देख गर्नुहोस्। तिनीहरूलाई अहिले र सधैँ भरिका लागि सुरक्षा दिनु होस्। ती दुष्ट मानिसहरू महत्वपूर्णका हुँ भनी अभिनय गर्छन्। तर वास्तवमा, तिनीहरू ती गर-गहना जस्तै हुन्, जो महङ्गो देखिन्छ तर वास्तवमा एकदमै सस्तो हुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 12 पढ्नुहोस्

भजनसंग्रह 12:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु, हामीलाई सहायता गर्नुहोस्! एक जना पनि असल मानिस रहेको छैन, अचेल इमानदार मानिसहरू पाइँदैनन्। तिनीहरू सबैले आपसमा झूटा बोल्‍छन्, चाप्‍लुसी कुरा गरेर एक-अर्कालाई धोका दिन्‍छन्। हे परमप्रभु! ती चाप्‍लुसी गर्ने जिब्राहरूलाई चुप पार्नुहोस्! “आफ्‍ना बोलीले मात्र हामी चाहिएको कुरा लिन्‍छौं, हामी चाहेअनुसार बोल्‍छौं, कसैले हामीलाई थुन्‍न सकेनन्,” भनी अहङ्कार गर्ने मुखहरू बन्‍द गर्नुहोस्। परमप्रभु भन्‍नुहुन्‍छ, “अब म आउनेछु किनभने दरिद्रहरू सताइएका छन् र सङ्कटमा परेकाहरू पीडाले छट्‌पटाइरहेका छन्, तिनीहरूले खोजेको सुरक्षा म तिनीहरूलाई दिनेछु।” परमप्रभुका प्रतिज्ञामा भरोसा गर्न सकिन्‍छ, ती दन्‍केको आगोमा सातपल्‍ट खारेका चाँदीजस्‍ता असल हुन्‍छन्। दुष्‍टहरू जताततै हुन्‍छन् र दुष्‍ट कुराहरूको तारिफ गर्छन्। हे परमप्रभु, हामीलाई जोगाएर सधैँ सुरक्षित राख्‍नुहोस् र त्‍यस्‍ता मानिसहरूदेखि हामीलाई बचाएर राख्‍नुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 12 पढ्नुहोस्