भजनसंग्रह 119:33-40
भजनसंग्रह 119:33-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंका विधिहरू पालन गर्न मलाई सिकाउनुहोस्, र अन्त्यसम्म म ती पालन गर्नेछु। मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्थाअनुसार चल्नेछु, अनि सम्पूर्ण हृदयले त्यो पालन गर्नेछु। तपाईंका आज्ञाहरूको मार्गमा मलाई चलाउनुहोस्, किनकि त्यसैमा म हर्षित हुन्छु। मेरो हृदयलाई तपाईंका कानूनतिर फर्काउनुहोस्, स्वार्थपूर्ण लाभतिर होइन। व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखालाई फर्काइदिनुहोस्, तपाईंका वचनअनुसार मेरो प्राणलाई सुरक्षित राख्नुहोस्। तपाईंका दासलाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्, र तपाईंको भय मानिओस्। जुन अपमानबाट म डराउँछु, त्यो मबाट हटाइदिनुहोस्, किनकि तपाईंका नियमहरू उत्तम छन्। हेर्नुहोस्, म तपाईंका आदेशहरूको कत्ति अभिलाषी छु, तपाईंको धार्मिकतामा मेरो प्राणलाई सुरक्षित राख्नुहोस्।
भजनसंग्रह 119:33-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, मलाई तपाईंका उर्दीहरू पालन गर्न सिकाउनुहोस्; ताकि म अन्त्यसम्मै ती पालन गर्न सकूँ। मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्था पालन गर्न सकूँ, र सम्पूर्ण हृदयले म त्यसको पालन गर्न सकूँ। मलाई तपाईंका आज्ञाहरूका मार्गमा डोर्याउनुहोस्; किनकि म त्यसैमा प्रसन्न हुन्छु। मेरो हृदय तपाईंका कानुनहरूतर्फ फर्काइदिनुहोस्! स्वार्थी लाभतर्फ होइन। व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखाहरू फर्काइदिनुहोस्; तपाईंको वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! आफ्ना सेवकलाई गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस्; ताकि तपाईंको भय रहोस्! जुन अपमानको मलाई डर छ, त्यो हटाउनुहोस्; किनकि तपाईंका नियमहरू असल छन्! हेर्नुहोस्, म तपाईंका विधिहरूको कति अभिलाषी छु! तपाईंको धार्मिकतामा मेरो जीवनको रक्षा गर्नुहोस्!
भजनसंग्रह 119:33-40 पवित्र बाइबल (NERV)
हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्, अनि म होशियारीसित तिनीहरूको अनुशरण गर्नेछु। मलाई बुझ्न सहायता गर्नु होस् अनि म तपाईंको व्यवस्था पालन गर्ने छु। हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्। म साँच्चो रूपले त्यो जीवन शैली अपनाउने छु। मलाई धनाढ्य हुनुको सट्टामा तपाईंको करारको बारेमा सोच्नलाई साथ दिनुहोस्। परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्। तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्। त्यही गर्नुहोस् जुन तपाईंले आफ्नो दासलाई वचन दिनु भएको थियो ताकि मानिसहरूले तपाईंको श्रद्धा गरून्। हे परमप्रभु, जुन हप्कीदेखि म डराउँछु त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्। हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु। तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्।
भजनसंग्रह 119:33-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु, मलाई तपाईंका व्यवस्थाको अर्थ सिकाउनुहोस् र म सधैँभरि त्यो पालन गर्नेछु। तपाईंको व्यवस्थाको अर्थ बुझाउनुहोस् र म त्यो मान्नेछु, मैले आफ्नो पूरा हृदयले त्यसको पालन गर्नेछु। मलाई तपाईंका आदेशहरू मान्न आज्ञाकारी बनाउनुहोस् किनभने मैले त्यसमा आनन्द पाउँदछु। धनी हुनुभन्दा तपाईंका व्यवस्था पालन गर्ने इच्छा मलाई दिनुहोस्। बेकामका कुरामा ध्यान दिनदेखि मलाई बचाउनुहोस्। तपाईंको प्रतिज्ञाअनुसार मेरो भलाइ गर्नुहोस्। म तपाईंको दासलाई दिनुभएको प्रतिज्ञा, जुन प्रतिज्ञा तपाईंले आफ्ना आज्ञा मान्नेहरूसित गर्नुहुन्छ, त्यो मसँग पूरा गर्नुहोस्। मैले डर मानेको अपमानदेखि मलाई बचाउनुहोस्, तपाईंका न्याय कति अचम्मका छन्! म तपाईंका आदेशहरू मान्न चाहन्छु, मलाई नयाँ जीवन दिनुहोस् किनभने तपाईं धर्मी हुनुहुन्छ।