भजनसंग्रह 119:145-176 - Compare All Versions
भजनसंग्रह 119:145-176 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो पूरा हृदयले म तपाईंलाई पुकार्दछु, हे परमप्रभु, मलाई जवाफ दिनुहोस्, र तपाईंका विधिहरू म पालन गर्नेछु। म तपाईंलाई पुकार्दछु, मलाई बचाउनुहोस्, अनि तपाईंका कानूनहरू म पालन गर्नेछु। म सूर्योदय हुन अघि उठेर मदतको लागि पुकार गर्छु, मैले तपाईंको वचनमाथि भरोसा राखेको छु। तपाईंका प्रतिज्ञाहरूमाथि मनन गरूँ भनेर, मेरा आँखा रातका पहरहरूमा खुला रहन्छन्। तपाईंको करुणाअनुसार मेरो सोर सुनिदिनुहोस्, हे परमप्रभु, तपाईंका नियमअनुसार मेरो प्राणलाई सुरक्षित राख्नुहोस्। कुचेष्टा रच्ने दुष्टहरू नजिक आइसकेका छन्, तर तिनीहरू तपाईंको व्यवस्थाबाट टाढ़ा छन्। तर हे परमप्रभु, तपाईं नजिकै हुनुहुन्छ, र तपाईंका सबै आज्ञाहरू सत्य छन्। अतीतदेखि नै तपाईंका कानूनहरूबाट मैले सिकें, कि तपाईंले तिनीहरूलाई सदासर्वदा रहून् भनी स्थापना गर्नुभयो। मेरो दु:खलाई विचार गर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्, किनकि तपाईंको व्यवस्था मैले बिर्सेको छैनँ। मेरो पक्षमा निर्णय दिनुहोस्, र मलाई छुटाउनुहोस्। तपाईंको प्रतिज्ञाअनुसार मेरो प्राणलाई सुरक्षा गर्नुहोस्। दुष्टहरूबाट उद्धार टाढ़ा छ, किनकि तिनीहरूले तपाईंका विधिहरूको खोजी गर्दैनन्। हे परमप्रभु, तपाईंको दया-दृष्टि अति महान् छ, तपाईंका नियमहरूअनुसार मेरो प्राणलाई सुरक्षित राख्नुहोस्। मलाई सताउने शत्रुहरू अनेक छन्, तापनि तपाईंका कानूनहरूबाट म तर्केको छैनँ। विश्वासघातीहरूलाई म घृणाको दृष्टिले हेर्छु, किनभने तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्। हेर्नुहोस्, म कसरी तपाईंका आदेशहरूलाई प्रेम गर्दछु, हे परमप्रभु, तपाईंको करुणाअनुसार मेरो प्राणलाई सुरक्षित राख्नुहोस्। तपाईंका सम्पूर्ण वचनहरू सत्य छन्, र तपाईंका सबै धार्मिक नियमहरू अनन्तका छन्। शासकहरूले अकारण मलाई सताउँछन्, तर मेरो हृदयले तपाईंका वचनको भय मान्दछ। जसरी लूटको ठूलो धन पाउने व्यक्ति रमाउँछ, म तपाईंको प्रतिज्ञामा हर्षित हुन्छु। झूटलाई म घृणा गर्छु, र तुच्छ ठान्छु, तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु। तपाईंका धार्मिक नियमहरूका निम्ति दिनमा सात चोटि म तपाईंको प्रशंसा गर्दछु। तपाईंको व्यवस्थासँग प्रेम गर्नेहरूलाई ठूलो शान्ति हुन्छ, र तिनीहरूले ठेस खाने कुनै कारण रहँदैन। हे परमप्रभु, तपाईंका उद्धारको म प्रतीक्षा गर्छु, र तपाईंका आज्ञाहरू पालन गर्दछु। तपाईंका कानूनहरू पालन गर्दछु, किनभने म तिनलाई अत्यन्तै प्रेम गर्दछु। म तपाईंका आदेशहरू र कानूनहरू पालन गर्दछु, किनकि मेरा सबै आचरण तपाईंकै सामु प्रष्ट छन्। हे परमप्रभु, मेरो पुकारा तपाईंको सामु पुगोस्, तपाईंको वचनअनुसार मलाई समझशक्ति दिनुहोस्। मेरो नम्र-निवेदन तपाईंको सामुन्ने पुगोस्। तपाईंको प्रतिज्ञाअनुसार मलाई छुटकारा दिनुहोस्। मेरा ओठ तपाईंको प्रशंसाले भरपूर होऊन्, किनकि तपाईंले आफ्ना विधिहरू मलाई सिकाउनुहुन्छ। मेरो जिब्रोले तपाईंका वचनको भजन गाओस्, किनकि तपाईंका सबै आज्ञाहरू धर्ममय छन्। तपाईंको बाहुली मलाई मदत गर्न तत्पर रहोस्, किनकि तपाईंका आदेशहरूलाई मैले चुनेको छु। हे परमप्रभु, म तपाईंका उद्धारको तृष्णा राख्छु, र तपाईंको व्यवस्था मेरो खुशीयाली हो। म जीवित रहूँ, र तपाईंको प्रशंसा गर्न सकूँ, र तपाईंका नियमहरूले मलाई थामून्। हराएको भेड़ाजस्तो म बरालिएको छु, आफ्नो दासलाई खोज्नुहोस्, किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।
भजनसंग्रह 119:145-176 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
म आफ्नो पूरा हृदयले तपाईंलाई पुकार्दछु, परमप्रभु, मलाई उत्तर दिनुहोस् र म तपाईंका आज्ञाहरू मान्नेछु! म तपाईंलाई पुकार्दछु; मलाई बचाउनुहोस् र तपाईंका व्यवस्थाहरू पालन गर्नेछु। घाम झुल्कनुअघि म तपाईंलाई मद्दतको लागि बिन्ती गर्दछु। तपाईंको प्रतिज्ञामा म आशा गर्दछु। रातभरि म तपाईंका शिक्षाहरूमा ध्यान गर्न जागा रहन्छु। हे परमप्रभु! तपाईंको अनन्त प्रेमको कारणले मेरो बिन्ती सुन्नुहोस्। तपाईंको कृपा देखाउनुहोस् र मेरो जीवनको रक्षा गर्नुहोस्! तपाईंको व्यवस्था कहिल्यै नमान्ने र मलाई सताउने निठुरीहरू मेरो नजिक आउँदै छन्। तर तपाईं मेरो नजिक हुनुहुन्छ, परमप्रभु! तपाईंका सबै आज्ञाहरू सदा रहिरहनेछन्। उहिले नै मैले तपाईंका अर्तीहरूको शिक्षा पाएँ, तिनलाई तपाईंले अनन्तकालको लागि राख्नुभएको छ। मेरो दु:ख-कष्ट हेर्नुहोस् र मलाई बचाउनुहोस् किनभने मैले तपाईंको व्यवस्थालाई हेला गरेको छैनँ। मेरो मुद्दाको रक्षा गर्नुहोस् र मलाई छुटकारा दिनुहोस्, आफ्नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्। दुष्टहरू बचाइनेछैनन् किनभने तिनीहरूले तपाईंका व्यवस्थाहरू मान्दैनन्। हे परमप्रभु, तपाईंको माया ठूलो छ; तपाईंको कृपा देखाउनुहोस् र मलाई बचाउनुहोस्! मेरा धेरै शत्रु र सताउनेहरू छन्, तर मैले तपाईंका व्यवस्थाहरू मान्न छोडेको छैनँ। जब म ती विश्वासघातीहरूलाई हेर्दछु, म विरक्त हुँदछु किनभने तिनीहरू तपाईंका आज्ञाहरू मान्दैनन्। हेर्नुहोस्, म तपाईंका शिक्षाहरूलाई कति प्रेम गर्दछु, परमप्रभु! तपाईंको प्रेम कहिल्यै बदलिंदैन, यसकारण मलाई बचाउनुहोस्। तपाईंको व्यवस्था सत्य छ र तपाईंका सबै धार्मिक न्यायहरू अमर छन्। शक्तिशाली मानिसहरूले अन्यायसाथ मलाई आक्रमण गर्छन्, तर म तपाईंको व्यवस्थालाई आदर गर्दछु। तपाईंका प्रतिज्ञाहरूले गर्दा म कति खुसी छु, धेरै धन पाउने मानिसजस्तै म अत्यन्त खुसी छु। सबै झूटा कुराहरू म रुचाउँदिनँ र घृणा गर्दछु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्दछु। तपाईंका धार्मिक न्यायका लागि दिनमा सात चोटि म तपाईंलाई धन्यवाद दिँदछु। तपाईंको व्यवस्था मान्नेहरूले पूरा सुरक्षा पाउँछन् र केही कुराले तिनीहरूलाई लडाउनेछैन। हे परमप्रभु! म तपाईंद्वारा बाचूँ भनी पर्खिरहेछु र म तपाईंको आज्ञाअनुसार गर्दछु। म तपाईंका शिक्षाहरू मान्दछु, म तिनलाई सारा हृदयले प्रेम गर्दछु। म तपाईंका आज्ञाहरू र अर्तीहरू पालन गर्दछु, मैले गरेको हरेक कुरा तपाईंले देख्नुहुन्छ। हे परमप्रभु! सहायताको लागि मेरो पुकार तपाईंकहाँ पुगोस्! आफ्नो प्रतिज्ञाअनुसार मलाई समझशक्ति दिनुहोस्। मेरो प्रार्थना सुन्नुहोस् र आफ्नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्। म सधैँभरि तपाईंको प्रशंसा गर्नेछु किनभने तपाईंले मलाई आफ्ना व्यवस्थाहरू सिकाउनुहुन्छ। म तपाईंको व्यवस्थाबारे गाउनेछु किनभने तपाईंका आज्ञाहरू धार्मिक छन्। मेरो सहायता गर्न सदा तयार रहनुहोस् किनभने म तपाईंका आज्ञाहरू मान्दछु। हे परमप्रभु, तपाईंले मलाई बचाउने सहायताको निम्ति म कति इच्छा गर्दछु! म तपाईंको व्यवस्थामा आनन्द पाउँदछु। मलाई जीवन दिनुहोस् र मैले तपाईंलाई प्रशंसा दिन सकूँ, तपाईंका अर्तीहरूद्वारा म सहायता पाऊँ। हराएको भेडाझैँ म डुलिहिँड्दछु, यसर्थ आउनुहोस् र म तपाईंको दासलाई खोज्नुहोस् किनभने मैले तपाईंका व्यवस्थाहरू बिर्सेको छैनँ।
भजनसंग्रह 119:145-176 NERV (पवित्र बाइबल)
हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई पुकारा गर्छु। मलाई जवाफ दिनुहोस्! म तपाईंको आज्ञाहरू पालन गर्छु। हे परमप्रभु, म तपाईंलाई पुकारा गर्छु मलाई बँचाउनु होस्! अनि म तपाईंको करार पालन गर्नेछु। तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु। म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु। तपाईंका वचनहरू मनन गर्न म रातमा अबेर सम्म बस्छु। आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्। हे परमप्रभु, तपाईंले ठीक भनेका कुरानै गरूँ अनि मलाई बाँच्न दिनुहोस्। मानिसहरूले मेरो विरूद्ध दुष्ट योजनाहरू बनाइरहेछन्। ती मानिसहरूले तपाईंको शिक्षाहरू अनुशरण गर्दैनन्। परमप्रभु, तपाईं मेरो नजीकै हुनुहुन्छ। अनि तपाईंका सबै आदेशहरूमा भरोसा गर्न सकिन्छ। धेरै बर्ष अघिदेखि तपाईंको करारबाट सिकें कि तपाईंको उपदेशहरू अनन्त रहने छन्। हे परमप्रभु, मेरो पीडाहरू हेर्नुहोस् र मलाई बचाउनु होस्। मैले तपाईंको उपदेशहरू भुलेको छैन। हे परमप्रभु, मेरो लडाइँ मेरो निम्ति लडि दिनु होस् र मलाई बचाउनु होस्। तपाईंले वचन दिए जस्तै मलाई बाँच्न दिनुहोस्। दुष्ट मानिसहरूले जित्ने छैन किनभने तिनीहरूले तपाईंको नियमहरू मान्दैनन्। हे परमप्रभु, तपाईं कृपालु हुनुहुन्छ। तपाईंले ठीक भनेकै काम गरूँ, र मलाई बाँच्न दिनुहोस्। मेरो धेरै शत्रुहरू छन् मलाई घात गर्नेहरू धेरै छन् तर मैले तपाईंको करार-वचन अनुशरण गर्न देखि रोकिने छैनँ। म ती विश्वास घातीहरूलाई देख्छु, तिनीहरूले तपाईंको वचनको पालन गर्दैनन्, र म तिनीहरूलाई घृणा गर्छु। हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें। हे परमप्रभु, तपाईंको सारा प्रेमसहित, मलाई बाँच्न दिनुहोस्। हे परमप्रभु, आदि कालदेखि नै, सारा तपाईंका वचनहरू भरोसा गर्न सकिन्थ्यो। अनि तपाईंको धार्मिक नियमहरू सदा-सर्वदा रहनेछन्। प्रभावशाली शासकहरूले अकारण मलाई आक्रमण गरे। तर डर राख्दछु र तपाईंको नियमलाई आदर गर्दछु। परमप्रभु, तपाईंको वचनले मलाई आनन्दित तुल्यायो, धेरै धन पाएर अत्यन्त खुशी भएको मानिसलाई जस्तो। म झूटाहरूलाई घृणा गर्दछु, म तिनीहरूलाई तिरस्कार गर्दछु। तर परमप्रभु म तपाईंको शिक्षाहरू मन पराउँछु। दिनमा सातपल्ट म तपाईंको प्रशंसा गर्छु। किनकि तपाईँका नियमहरू असलछन्। मानिसहरू जसले तपाईंको उपदेश मन पराउछन्, तिनीहरू साँच्चो रूपमा शान्तिमा पुग्दछन्। केहीले पनि तिनीहरू पतन गराउन सक्दैन। हे परमप्रभु, म तपाईंलाई पर्खिरहेछु। मलाई बचाउन्नु होस् भनेर मैले तपाईंको आज्ञाहरू पालन गरें। मैले तपाईंको करार-वचनलाई अनुशरण गरें। हे परमप्रभु, म तपाईंको व्यवस्था बढ्ता नै मान्दछु। मैले तपाईंको करार र आज्ञाहरू पालन गरे। हे परमप्रभु, मैले गरेका सबै कुराहरू तपाईंलाई थाहा छ। हे परमप्रभु, मेरो खुशीका गीतलाई सुन्नुहोस्। तपाईंले कसम खाए जस्तै मलाई बुद्धिमानी बनाउनु होस्। परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्। तपाईंले वचन दिए झैं मलाई बचाउनु होस्। म प्रशंसाको गीत गाँउछु। किनभने तपाईंले मलाई आफ्नो नियमहरू सिकाउनु भयो। तपाईंको वचनहरू जवाफ दिन मलाई सहयोग गर्नुहोस् र मलाई मेरो गीत गाउन दिनुहोस्। परमप्रभु, तपाईंको सारा नियमहरू असल छन्। मैले तपाईंका आज्ञाहरू पालन गर्न खोजें। यसैले आउनुहोस् र मलाई साथ दिनुहोस्। हे परमप्रभु, म चाहन्छु, मलाई बचाउनु होस्। तर तपाईंको शिक्षाहरूले मलाई खुशी पार्छन्। मलाई बाँच्न दिनुहोस् र तपाईंको प्रशंसा गर्न दिनुहोस्, परमप्रभु! तपाईंका नियमहरूले मलाई सघाओस्। म हराएको भेंडा सरह भड्किरहें। हे परमप्रभु, आएर मलाई खोज्नु होस्। म तपाईंको दास हुँ, अनि मैले तपाईंको भरोसा भुलेको छैन।
भजनसंग्रह 119:145-176 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरो सारा हृदयले तपाईंलाई पुकार्छु; मलाई जवाफ दिनुहोस्; र म तपाईंका उर्दीहरू पालन गर्नेछु। म तपाईंलाई पुकार्छु; मलाई बचाउनुहोस्, अनि म तपाईंका कानुनहरू पालन गर्नेछु। म सूर्योदय हुन अगि नै उठेर सहयोगको लागि पुकार्छु; मैले तपाईंको वचनमाथि आशा राखेको छु। तपाईंका प्रतिज्ञाहरूमा मनन गरूँ भनेर मेरा आँखाहरू रातका पहरहरूमा खुल्ला रहन्छन्। तपाईंको अचुक प्रेमअनुसार मेरो सोर सुन्नुहोस्; हे याहवेह, तपाईंका नियमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! दुष्ट योजना रच्नेहरू मेरो नजिकै छन्; तर तिनीहरू तपाईंको व्यवस्थाबाट टाढा छन्। हे याहवेह, अझै पनि तपाईं नजिकै हुनुहुन्छ; र तपाईंका सबै आज्ञाहरू सत्य छन्। धेरै अगिदेखि नै मैले तपाईंका कानुनहरूबाट सिकेको छु, कि तपाईंले तिनीहरूलाई सदाकालको निम्ति स्थापित गर्नुभएको छ। मेरो दुःखलाई हेर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्; किनकि मैले तपाईंको व्यवस्थालाई बिर्सेको छैनँ। मेरो पक्षमा बोल्नुहोस्, र मलाई उद्धार गर्नुहोस्; तपाईंको प्रतिज्ञाअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! दुष्टहरूदेखि मुक्ति टाढा छ; किनकि तिनीहरूले तपाईंका उर्दीहरूको खोजी गर्दैनन्। हे याहवेह, तपाईंको कृपा महान् छन्; तपाईंका नियमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! मलाई सताउने मेरा वैरीहरू धेरै छन्; तर म तपाईंका कानुनहरूबाट तर्केको छैनँ। विश्वासघातीहरूलाई म घृणाको दृष्टिले हेर्छु; किनकि तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्। हेर्नुहोस्, म कसरी तपाईंका विधिहरूलाई प्रेम गर्दछु; हे याहवेह, तपाईंको अचुक प्रेमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! तपाईंका सम्पूर्ण वचनहरू सत्य छन्; तपाईंका सबै धार्मिक नियमहरू अनन्तका छन्। शासकहरूले कारणविना मलाई खेदो गर्दछन्; तर मेरो हृदयले तपाईंको वचनको भय मान्दछ। जसरी लुटको ठूलो धन पाउने व्यक्ति रमाउँछ, त्यसरी नै म तपाईंको प्रतिज्ञामा रमाउँदछु। म झूटलाई घृणा गर्दछु, र तुच्छ ठान्दछु; तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु। तपाईंका धार्मिक नियमहरूको निम्ति दिनमा म सात पटक तपाईंको प्रशंसा गर्दछु। तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूका लागि ठूलो शान्ति हुन्छ, अनि कुनै कुराले तिनीहरूलाई ठेस पुर्याउँदैन। हे याहवेह, म तपाईंको मुक्तिको प्रतीक्षा गर्दछु, र तपाईंका आज्ञाहरू पालन गर्दछु। म तपाईंका कानुनहरू पालन गर्दछु; किनकि म तिनलाई अत्यन्तै प्रेम गर्दछु। तपाईंका विधिहरू र तपाईंका कानुनहरू म पालन गर्दछु; किनकि मेरा सम्पूर्ण आचरणहरू तपाईं जान्नुहुन्छ। हे याहवेह, मेरो पुकार तपाईंको सामु पुगोस्; तपाईंको वचनअनुसार मलाई समझशक्ति दिनुहोस्! मेरो बिन्ती तपाईंको सामु पुगोस्; तपाईंको प्रतिज्ञाअनुसार मलाई छुटकारा दिनुहोस्! मेरा ओठबाट तपाईंको प्रशंसा छचल्किऊन्; किनकि तपाईंले मलाई आफ्ना उर्दीहरू सिकाउनुहुन्छ। मेरो जिब्रोले तपाईंका वचनको गीत गाओस्; किनकि तपाईंका सम्पूर्ण आज्ञाहरू धार्मिक छन्। तपाईंको हात मलाई सहयोग गर्न तत्पर रहोस्; किनकि मैले तपाईंका विधिहरूलाई चुनेको छु। हे याहवेह, म तपाईंको मुक्तिको तिर्सना गर्छु; अनि तपाईंको व्यवस्थाले मलाई हर्षित पार्दछ। म जीवित रहूँ, ताकि तपाईंको प्रशंसा गर्न सकूँ; अनि तपाईंका नियमहरूले मलाई थामून्। हराएको भेडाजस्तै म बरालिएको छु। आफ्नो सेवकको खोजी गर्नुहोस्; किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।