भजनसंग्रह 119:113-176 - Compare All Versions

भजनसंग्रह 119:113-176 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

दोहोरो मन भएका मानिसलाई म घृणा गर्दछु, तर तपाईंको व्‍यवस्‍थासँग म प्रेम राख्‍तछु। तपाईं मेरो शरणस्‍थान र ढाल हुनुहुन्‍छ, मैले तपाईंको वचनमा भरोसा राखेको छु। हे कुकर्मी हो, मबाट दूर होओ, र मेरा परमेश्‍वरका आज्ञाहरू म पालन गर्न सकूँ। तपाईंको प्रतिज्ञाअनुसार मलाई थामिराख्‍नुहोस्‌, र म जीवित रहूँ, र मेरा आशाहरू चकनाचूर हुन नदिनुहोस्‌। मलाई थाम्‍नुहोस्‌ र म बाँच्‍नेछु। तपाईंका विधिहरूलाई म निरन्‍तर आदर गर्नेछु। तपाईंका विधिहरूबाट बरालिनेहरूलाई तपाईंले इन्‍कार गर्नुहुन्‍छ, किनकि तिनीहरूको छल व्‍यर्थको ठहर्छ। पृथ्‍वीका सबै दुष्‍टहरूलाई तपाईंले फोहोरझैँ फालिदिनुहुन्‍छ। यसकारण तपाईंका कानूनहरूलाई म प्रेम गर्दछु। तपाईंको भयमा मेरो शरीर काम्‍दछ, तपाईंका नियमहरूले म भयभीत हुन्‍छु। मैले धार्मिक र न्‍यायपूर्ण आचरण पालन गरेको छु, मेरा अत्‍याचारीहरूका हातमा मलाई नछोड्‌नुहोस्‌। आफ्‍नो दासका भलाइको जिम्‍मा तपाईंले लिनुहोस्‌, अहङ्कारीहरूले मलाई थिचोमिचो गर्न नपाऊन्‌। तपाईंको उद्धार र तपाईंको धार्मिक प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दा, मेरा आँखा धमिला भइसकेका छन्‌। तपाईंको कृपाअनुसार आफ्‍नो दाससँग व्‍यवहार गर्नुहोस्‌, र तपाईंका विधिहरू मलाई सिकाउनुहोस्‌। म तपाईंको दास हुँ, मलाई विवेक दिनुहोस्‌, र तपाईंका कानूनहरू म बुझ्‍न सकूँ। हे परमप्रभु, तपाईंले अब कार्य गर्ने बेला भएको छ, तपाईंको व्‍यवस्‍था भङ्ग हुँदैछ। मैले तपाईंका आज्ञाहरूलाई सुन र निखुर सुनभन्‍दा पनि बढ़ी प्रेम गरेको, अनि तपाईंका सबै आदेशहरूलाई सत्‍य ठानेको कारणले, हरेक झूटो शिक्षालाई म घृणा गर्दछु। तपाईंका कानूनहरू आश्‍चर्यपूर्ण छन्‌, यसकारण म सारा हृदयले ती पालन गर्दछु। तपाईंका वचनको व्‍याख्‍याले ज्‍योति प्रदान गर्छ, त्‍यसले सीधासादा मानिसहरूलाई समझशक्ति दिन्‍छ। म आफ्‍नो मुख खोल्‍छु, र तृष्‍णा गर्दछु, किनकि म तपाईंका आज्ञाहरूको प्‍यासी छु। मतिर फर्कनुहोस्‌ र ममाथि दया गर्नुहोस्‌, जसरी तपाईंको नाउँसँग प्रेम गर्नेहरूलाई तपाईं दया गर्नुहुन्‍छ। तपाईंको वचनअनुसार मेरा पाइलाहरू स्‍थिर गरिदिनुहोस्‌, र कुनै पापले ममाथि राज्‍य गर्न नपाओस्‌। मानिसहरूको थिचोमिचोबाट मलाई मोल तिरेर छुटकारा दिनुहोस्‌, र म तपाईंका आदेशहरू पालन गर्न सकूँ। तपाईंको दासमाथि आफ्‍नो मुहार प्रकाशित गर्नुहोस्‌, र तपाईंका विधिहरू मलाई सिकाउनुहोस्‌। मेरा आँखाबाट आँसुका धारा बग्‍छन्‌, किनभने तपाईंको व्‍यवस्‍था पालन गरिँदैन। हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्‍छ, र तपाईंका नियमहरू सत्‍य छन्‌। तपाईंले राखिदिनुभएका कानूनहरू धार्मिक छन्‌, तिनीहरू पूर्ण रूपले भरपर्दा छन्‌। मेरो जोशले मलाई खाइसकेको छ, किनभने मेरा शत्रुहरूले तपाईंका वचनहरूको बेवास्‍ता गर्छन्‌। तपाईंका प्रतिज्ञाहरू पूर्ण रूपले जाँचिएका छन्‌, र तपाईंको दासले तिनलाई प्रेम गर्छ। म क्षुद्र र तुच्‍छ छु, तापनि म तपाईंका आदेशहरू बिर्सन्‍नँ। तपाईंको धार्मिकता चिरस्‍थायी छ, अनि तपाईंको व्‍यवस्‍था सत्‍य छ। दु:ख र सङ्कष्‍ट ममाथि परिआएको छ, तर तपाईंका आज्ञाहरू मेरो निम्‍ति हर्षका कुरा छन्‌। तपाईंका कानूनहरू सदाकालको निम्‍ति सत्‍य छन्‌, मलाई समझशक्ति दिनुहोस्‌, र म जीवित रहन सकूँ। आफ्‍नो पूरा हृदयले म तपाईंलाई पुकार्दछु, हे परमप्रभु, मलाई जवाफ दिनुहोस्‌, र तपाईंका विधिहरू म पालन गर्नेछु। म तपाईंलाई पुकार्दछु, मलाई बचाउनुहोस्‌, अनि तपाईंका कानूनहरू म पालन गर्नेछु। म सूर्योदय हुन अघि उठेर मदतको लागि पुकार गर्छु, मैले तपाईंको वचनमाथि भरोसा राखेको छु। तपाईंका प्रतिज्ञाहरूमाथि मनन गरूँ भनेर, मेरा आँखा रातका पहरहरूमा खुला रहन्‍छन्‌। तपाईंको करुणाअनुसार मेरो सोर सुनिदिनुहोस्‌, हे परमप्रभु, तपाईंका नियमअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌। कुचेष्‍टा रच्‍ने दुष्‍टहरू नजिक आइसकेका छन्‌, तर तिनीहरू तपाईंको व्‍यवस्‍थाबाट टाढ़ा छन्‌। तर हे परमप्रभु, तपाईं नजिकै हुनुहुन्‍छ, र तपाईंका सबै आज्ञाहरू सत्‍य छन्‌। अतीतदेखि नै तपाईंका कानूनहरूबाट मैले सिकें, कि तपाईंले तिनीहरूलाई सदासर्वदा रहून्‌ भनी स्‍थापना गर्नुभयो। मेरो दु:खलाई विचार गर्नुहोस्‌, र मलाई छुटकारा दिनुहोस्‌, किनकि तपाईंको व्‍यवस्‍था मैले बिर्सेको छैनँ। मेरो पक्षमा निर्णय दिनुहोस्‌, र मलाई छुटाउनुहोस्‌। तपाईंको प्रतिज्ञाअनुसार मेरो प्राणलाई सुरक्षा गर्नुहोस्‌। दुष्‍टहरूबाट उद्धार टाढ़ा छ, किनकि तिनीहरूले तपाईंका विधिहरूको खोजी गर्दैनन्‌। हे परमप्रभु, तपाईंको दया-दृष्‍टि अति महान्‌ छ, तपाईंका नियमहरूअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌। मलाई सताउने शत्रुहरू अनेक छन्‌, तापनि तपाईंका कानूनहरूबाट म तर्केको छैनँ। विश्‍वासघातीहरूलाई म घृणाको दृष्‍टिले हेर्छु, किनभने तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्‌। हेर्नुहोस्‌, म कसरी तपाईंका आदेशहरूलाई प्रेम गर्दछु, हे परमप्रभु, तपाईंको करुणाअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌। तपाईंका सम्‍पूर्ण वचनहरू सत्‍य छन्‌, र तपाईंका सबै धार्मिक नियमहरू अनन्‍तका छन्‌। शासकहरूले अकारण मलाई सताउँछन्‌, तर मेरो हृदयले तपाईंका वचनको भय मान्‍दछ। जसरी लूटको ठूलो धन पाउने व्‍यक्ति रमाउँछ, म तपाईंको प्रतिज्ञामा हर्षित हुन्‍छु। झूटलाई म घृणा गर्छु, र तुच्‍छ ठान्‍छु, तर तपाईंको व्‍यवस्‍थालाई म प्रेम गर्दछु। तपाईंका धार्मिक नियमहरूका निम्‍ति दिनमा सात चोटि म तपाईंको प्रशंसा गर्दछु। तपाईंको व्‍यवस्‍थासँग प्रेम गर्नेहरूलाई ठूलो शान्‍ति हुन्‍छ, र तिनीहरूले ठेस खाने कुनै कारण रहँदैन। हे परमप्रभु, तपाईंका उद्धारको म प्रतीक्षा गर्छु, र तपाईंका आज्ञाहरू पालन गर्दछु। तपाईंका कानूनहरू पालन गर्दछु, किनभने म तिनलाई अत्‍यन्‍तै प्रेम गर्दछु। म तपाईंका आदेशहरू र कानूनहरू पालन गर्दछु, किनकि मेरा सबै आचरण तपाईंकै सामु प्रष्‍ट छन्‌। हे परमप्रभु, मेरो पुकारा तपाईंको सामु पुगोस्‌, तपाईंको वचनअनुसार मलाई समझशक्ति दिनुहोस्‌। मेरो नम्र-निवेदन तपाईंको सामुन्‍ने पुगोस्‌। तपाईंको प्रतिज्ञाअनुसार मलाई छुटकारा दिनुहोस्‌। मेरा ओठ तपाईंको प्रशंसाले भरपूर होऊन्‌, किनकि तपाईंले आफ्‍ना विधिहरू मलाई सिकाउनुहुन्‍छ। मेरो जिब्रोले तपाईंका वचनको भजन गाओस्‌, किनकि तपाईंका सबै आज्ञाहरू धर्ममय छन्‌। तपाईंको बाहुली मलाई मदत गर्न तत्‍पर रहोस्‌, किनकि तपाईंका आदेशहरूलाई मैले चुनेको छु। हे परमप्रभु, म तपाईंका उद्धारको तृष्‍णा राख्‍छु, र तपाईंको व्‍यवस्‍था मेरो खुशीयाली हो। म जीवित रहूँ, र तपाईंको प्रशंसा गर्न सकूँ, र तपाईंका नियमहरूले मलाई थामून्‌। हराएको भेड़ाजस्‍तो म बरालिएको छु, आफ्‍नो दासलाई खोज्‍नुहोस्‌, किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 NNRV

भजनसंग्रह 119:113-176 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

दोहोरो मन भएका मानिसहरूलाई म घृणा गर्दछु; तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु। तपाईं मेरो शरणस्थान र मेरो ढाल हुनुहुन्छ; तपाईंको वचनमा मैले आफ्नो आशा राखेको छु। हे दुष्कर्मीहरू हो, मबाट टाढा होइजाओ; ताकि म मेरा परमेश्‍वरका आज्ञाहरू पालन गर्न सकूँ! मेरा परमेश्‍वर, मलाई तपाईंको प्रतिज्ञाअनुसार थामिराख्नुहोस्, र म जीवित रहनेछु; अनि मेरो आशाहरू चकनाचुर हुन नदिनुहोस्! मलाई साथ दिनुहोस्, र मेरो उद्धार हुनेछ; म सधैँ तपाईंका उर्दीहरूमा अझ ध्यान दिनेछु। तपाईंका उर्दीहरूबाट तर्केर जानेहरूलाई तपाईंले इन्कार गर्नुहुन्छ; किनकि तिनीहरूको धूर्तता व्यर्थ हुन्छ। पृथ्वीका सबै दुष्‍टहरूलाई तपाईंले धातुको अशुद्धताझैँ फालिदिनुहुन्छ; यसैले म तपाईंका विधिहरूलाई प्रेम गर्दछु। तपाईंको भयले मेरो शरीर काम्दछ; म तपाईंका नियमहरूले भयभीत हुन्छु। जे धार्मिक र न्यायपूर्ण छ, मैले त्यही गरेको छु; मलाई अत्याचार गर्नेहरूका हातमा नछोडिदिनुहोस्! तपाईंको सेवकको भलाइ सुनिश्‍चित गरिदिनुहोस्; अहङ्कारीहरूले मलाई अत्याचार गर्न नपाऊन्! तपाईंको मुक्ति र तपाईंको धार्मिक प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखाहरू धमिला भइसकेका छन्। आफ्नो अचुक प्रेमअनुसार आफ्ना सेवकसँग व्यवहार गर्नुहोस्, अनि मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्! म तपाईंको सेवक हुँ; मलाई अन्तर्दृष्‍टि दिनुहोस्, ताकि म तपाईंका कानुनहरू बुझ्न सकूँ! हे याहवेह, अब तपाईंले काम गर्ने समय आएको छ; तपाईंको व्यवस्था भङ्ग भएको छ। किनकि मैले तपाईंका आज्ञाहरूलाई सुन, र निखुर सुनभन्दा पनि बढी प्रेम गर्दछु, किनकि म तपाईंका सम्पूर्ण विधिहरू उचित ठान्दछु; अनि हरेक खराब मार्गलाई म घृणा गर्दछु। तपाईंका कानुनहरू अद्‌भुत छन्; त्यसैले तिनलाई म पालन गर्छु। तपाईंका वचनहरूको अर्थ खोलिँदा ज्योति चम्कन्छ; त्यसले सोझाहरूलाई समझशक्ति दिन्छ। म तपाईंका आज्ञाहरूका तिर्सनाले आफ्नो मुख खोल्छु, र सुस्केरा हाल्दछु। तपाईंको नामलाई प्रेम गर्नेहरूलाई तपाईंले सदा गरेझैँ, मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्! तपाईंको वचनअनुसार मेरा पाइलाहरूलाई डोर्‍याउनुहोस्; र कुनै पापले ममाथि राज्य नगरोस्! मानिसका अत्याचारबाट मलाई मोल तिरेर छुटाउनुहोस्, ताकि म तपाईंका विधिहरू पालन गर्न सकूँ। तपाईंको सेवकमाथि आफ्नो मुहार चम्काउनुहोस्; र तपाईंका उर्दीहरू मलाई सिकाउनुहोस्! मेरा आँखाहरूबाट आँसुका धारा बग्छन्; किनकि तपाईंको व्यवस्था पालन गरिएको छैन। हे याहवेह, तपाईं धर्मी हुनुहुन्छ, अनि तपाईंका नियमहरू सही छन्। तपाईंले स्थापित गर्नुभएका कानुनहरू धार्मिक छन्; तिनीहरू पूर्ण रूपले भरपर्दा छन्। मेरो जोशले मलाई खाइसकेको छ; किनकि मेरा शत्रुहरूले तपाईंका वचनहरू वास्ता गर्दैनन्। तपाईंका प्रतिज्ञाहरू सम्पूर्ण रूपले जाँच गरिएका छन्; र तपाईंको सेवकले तिनलाई प्रेम गर्दछ। म क्षुद्र र तुच्छ छु; तापनि म तपाईंका विधिहरू बिर्संदिनँ। तपाईंको धार्मिकता अनन्तकाल छ; अनि तपाईंको व्यवस्था सत्य छ। ममाथि दुःख र कष्‍ट आइलागेका छन्; तर तपाईंका आज्ञाहरूले मलाई हर्षित बनाउँछन्। तपाईंका कानुनहरू सदा धार्मिक छन्; मलाई समझशक्ति दिनुहोस्, ताकि म जीवित रहन सकूँ। हे याहवेह, मेरो सारा हृदयले तपाईंलाई पुकार्छु; मलाई जवाफ दिनुहोस्; र म तपाईंका उर्दीहरू पालन गर्नेछु। म तपाईंलाई पुकार्छु; मलाई बचाउनुहोस्, अनि म तपाईंका कानुनहरू पालन गर्नेछु। म सूर्योदय हुन अगि नै उठेर सहयोगको लागि पुकार्छु; मैले तपाईंको वचनमाथि आशा राखेको छु। तपाईंका प्रतिज्ञाहरूमा मनन गरूँ भनेर मेरा आँखाहरू रातका पहरहरूमा खुल्‍ला रहन्छन्। तपाईंको अचुक प्रेमअनुसार मेरो सोर सुन्‍नुहोस्; हे याहवेह, तपाईंका नियमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! दुष्‍ट योजना रच्नेहरू मेरो नजिकै छन्; तर तिनीहरू तपाईंको व्यवस्थाबाट टाढा छन्। हे याहवेह, अझै पनि तपाईं नजिकै हुनुहुन्छ; र तपाईंका सबै आज्ञाहरू सत्य छन्। धेरै अगिदेखि नै मैले तपाईंका कानुनहरूबाट सिकेको छु, कि तपाईंले तिनीहरूलाई सदाकालको निम्ति स्थापित गर्नुभएको छ। मेरो दुःखलाई हेर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्; किनकि मैले तपाईंको व्यवस्थालाई बिर्सेको छैनँ। मेरो पक्षमा बोल्नुहोस्, र मलाई उद्धार गर्नुहोस्; तपाईंको प्रतिज्ञाअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! दुष्‍टहरूदेखि मुक्ति टाढा छ; किनकि तिनीहरूले तपाईंका उर्दीहरूको खोजी गर्दैनन्। हे याहवेह, तपाईंको कृपा महान् छन्; तपाईंका नियमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! मलाई सताउने मेरा वैरीहरू धेरै छन्; तर म तपाईंका कानुनहरूबाट तर्केको छैनँ। विश्‍वासघातीहरूलाई म घृणाको दृष्‍टिले हेर्छु; किनकि तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्। हेर्नुहोस्, म कसरी तपाईंका विधिहरूलाई प्रेम गर्दछु; हे याहवेह, तपाईंको अचुक प्रेमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! तपाईंका सम्पूर्ण वचनहरू सत्य छन्; तपाईंका सबै धार्मिक नियमहरू अनन्तका छन्। शासकहरूले कारणविना मलाई खेदो गर्दछन्; तर मेरो हृदयले तपाईंको वचनको भय मान्दछ। जसरी लुटको ठूलो धन पाउने व्यक्ति रमाउँछ, त्यसरी नै म तपाईंको प्रतिज्ञामा रमाउँदछु। म झूटलाई घृणा गर्दछु, र तुच्छ ठान्दछु; तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु। तपाईंका धार्मिक नियमहरूको निम्ति दिनमा म सात पटक तपाईंको प्रशंसा गर्दछु। तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूका लागि ठूलो शान्ति हुन्छ, अनि कुनै कुराले तिनीहरूलाई ठेस पुर्‍याउँदैन। हे याहवेह, म तपाईंको मुक्तिको प्रतीक्षा गर्दछु, र तपाईंका आज्ञाहरू पालन गर्दछु। म तपाईंका कानुनहरू पालन गर्दछु; किनकि म तिनलाई अत्यन्तै प्रेम गर्दछु। तपाईंका विधिहरू र तपाईंका कानुनहरू म पालन गर्दछु; किनकि मेरा सम्पूर्ण आचरणहरू तपाईं जान्‍नुहुन्छ। हे याहवेह, मेरो पुकार तपाईंको सामु पुगोस्; तपाईंको वचनअनुसार मलाई समझशक्ति दिनुहोस्! मेरो बिन्ती तपाईंको सामु पुगोस्; तपाईंको प्रतिज्ञाअनुसार मलाई छुटकारा दिनुहोस्! मेरा ओठबाट तपाईंको प्रशंसा छचल्किऊन्; किनकि तपाईंले मलाई आफ्ना उर्दीहरू सिकाउनुहुन्छ। मेरो जिब्रोले तपाईंका वचनको गीत गाओस्; किनकि तपाईंका सम्पूर्ण आज्ञाहरू धार्मिक छन्। तपाईंको हात मलाई सहयोग गर्न तत्पर रहोस्; किनकि मैले तपाईंका विधिहरूलाई चुनेको छु। हे याहवेह, म तपाईंको मुक्तिको तिर्सना गर्छु; अनि तपाईंको व्यवस्थाले मलाई हर्षित पार्दछ। म जीवित रहूँ, ताकि तपाईंको प्रशंसा गर्न सकूँ; अनि तपाईंका नियमहरूले मलाई थामून्। हराएको भेडाजस्तै म बरालिएको छु। आफ्नो सेवकको खोजी गर्नुहोस्; किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 NCV

भजनसंग्रह 119:113-176 NERV (पवित्र बाइबल)

हे परमप्रभु, म त्यस्ता मानिसहरूलाई घृणा गर्छु, जो तपाईं प्रति पूर्ण रूपले विश्वासी छैनन्। तर म तपाईंको शिक्षाहरू मन पराउँछु। मलाई लुकाउनु होस् र रक्षा गर्नुहोस्। हे परमप्रभु, तपाईंले भन्नु भएका प्रत्येक कुरामा म भरोसा गर्छु। हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस्, अनि म परमेश्वरको आज्ञाहरू पालन गर्नेछु। हे परमप्रभु, तपाईंले वचन दिए जस्तै मलाई सघाउनु होस्, अनि म बाँच्ने छु। म तपाईंमा भरोसा राख्छु यसर्थ मलाई असन्तुष्ट नपार्नु होस्। परमप्रभु, मलाई साथ दिनुहोस र म बाँच्ने छु। म तपाईंका आज्ञाहरू अनन्त सिक्ने छु। हे परमप्रभु, तपाईंका विधिहरू भङ्ग गर्नेहरूदेखि तपाईं विमुख भएर जानु हुन्छ। किनभने तिनीहरूले तपाईंको करार अनुसार हिंडछु भनेर झूटो बोले। परमप्रभु, पृथ्वीमा तपाईंले दुष्ट मानिसहरूलाई मैला पुछेको जस्तो फ्याँकिदिनु भयो। यसैले म तपाईंको करारलाई सदा-सर्वदा मान्ने नै छु। हे परमप्रभु, म तपाईंबाट भयभीत छु। म डराउँछु र तपाईंका विधिहरूको आदर गर्दछु। मैले के सही र के राम्रो त्यही गरेकोछु। हे परमप्रभु, मलाई ती मानिसहरूकहाँ नदिनु होस्, जसले मलाई आघात पुर्याउन चाहन्छन्। मप्रति असल रहने कसम खानुहोस् किनकि म तपाईंको दास हुँ। हे परमप्रभु, ती अंहकारीसहरूलाई मप्रति आघात पुर्याउन नदिनुहोस्। हे परमप्रभु, तपाईंबाट सहायताको र तपाईंको राम्रो वचनको निम्ति बाटो हेर्दा हेर्दा मेरो आँखाहरू टट्टाई सके। म तपाईंको दास हुँ, तपाईंको स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्। मलाई तपाईंको विधिहरू सिकाउनु होस्। म तपाईंको दास हुँ, मलाई बुझ्ने सामर्थ पार्नुहोस, ताकि तपाईंको करार-वचन म बुझ्न सकुँ। हे परमप्रभु, यो तपाईंले केही गर्ने समय हो। मानिसहरूले तपाईंको विधिहरू भङ्ग गरे। हे परमप्रभु, म खाटी सुन भन्दा पनि तपाईंको आज्ञाहरू मन पराउँछु। म खुब होशियारीसँग तपाईंको आज्ञाहरू पालन गर्छु। म झूटो शिक्षाहरूलाई घृणा गर्दछु। हे परमप्रभु, तपाईंको करार अद्भूत छ। यसकारण म त्यसको अनुशरण गर्दछु। कुनै ज्योतिले तिनीहरूलाई बाँच्ने ठीक तरिका देखाए झैं मानिसहरूले तपाईंको शब्दहरू बुझ्न शुरू गरे। तपाईंका वचनले सामान्य भन्दा सामान्य मानिसहरूलाई सम्म बुद्धिमानी बनाउँदछ। हे परमप्रभु, म साँच्चो रूपले तपाईंका आज्ञाहरू मनन गर्न चाहन्छु, म त्यो स्वास रोकिएर अधैर्यपूर्ण पर्खिरहेको मानिस जस्तो छु। हे परमेश्वर, मलाई हेर्नुहोस र म प्रति कृपालु बन्नु होस्। जसले तपाईंको नाउँको पुकारा गर्छन्, ती मानिसहरूका लागि असल काम गरिदिनुहोस्। हे परमप्रभु, तपाईंले कसम खाए झैं मलाई डोर्याउनु होस् मतर्फ कुनै प्रकारको दुर्घटना घट्न नदिनुहोस्। हे परमप्रभु, मलाई दुःख-कष्ट दिने मानिसहरूबाट बचाउनु होस् अनि म तपाईंको आज्ञाहरू पालन गर्ने छु। हे परमप्रभु, मलाई ग्रहण गर्नुहोस्, अनि आफ्नो नियमहरू सिकाउनुहोस्। म आँसुका बलिन्द्रधारा नदी सरी बहाएर रोएँ किनभने कसैले पनि तपाईंको शिक्षाहरू पालन गरेनन्। हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ। तपाईंका नियमहरू सही र ईमान्दार छन्। तपाईंले हामीलाई आफ्ना करारमा धार्मिक नियमहरू दिनुभयो। हामी साँच्चै नै तिनीहरूमा भरोसा गर्न सक्छौं। मेरो उत्साहले मलाई ध्वंश पारिरहेछ। म अत्यन्त उदास छु किनभने मेरो शत्रुहरूले तपाईंको आज्ञाहरू भूले। परमप्रभु, हामीले प्रमाण पनि दियौं कि हामी तपाईंकै वचनमा विश्वास गर्छौं। अनि म यसलाई मन पराउँछु। म क्षुद्र र तुच्छ छु, अनि मानिसहरूले मेरो आदर गर्दैनन्। तर म तपाईंको आज्ञाहरू भुल्ने छैन। परमप्रभु, तपाईंको धार्मिकता चिरस्थायी छ। अनि तपाईंको उपदेशहरू विश्वास गर्न सकिन्छ। मसँग सङ्कट र दुःखका दिनहरू छँदै थिए तर म तपाईंको आज्ञाहरूमा आनन्द लिन्छु। तपाईंको करार अनन्तको लागि असल छ। यसलाई समझशक्ति दिनुहोस् ताकि म बाँच्न सकुँ। हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई पुकारा गर्छु। मलाई जवाफ दिनुहोस्! म तपाईंको आज्ञाहरू पालन गर्छु। हे परमप्रभु, म तपाईंलाई पुकारा गर्छु मलाई बँचाउनु होस्! अनि म तपाईंको करार पालन गर्नेछु। तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु। म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु। तपाईंका वचनहरू मनन गर्न म रातमा अबेर सम्म बस्छु। आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्। हे परमप्रभु, तपाईंले ठीक भनेका कुरानै गरूँ अनि मलाई बाँच्न दिनुहोस्। मानिसहरूले मेरो विरूद्ध दुष्ट योजनाहरू बनाइरहेछन्। ती मानिसहरूले तपाईंको शिक्षाहरू अनुशरण गर्दैनन्। परमप्रभु, तपाईं मेरो नजीकै हुनुहुन्छ। अनि तपाईंका सबै आदेशहरूमा भरोसा गर्न सकिन्छ। धेरै बर्ष अघिदेखि तपाईंको करारबाट सिकें कि तपाईंको उपदेशहरू अनन्त रहने छन्। हे परमप्रभु, मेरो पीडाहरू हेर्नुहोस् र मलाई बचाउनु होस्। मैले तपाईंको उपदेशहरू भुलेको छैन। हे परमप्रभु, मेरो लडाइँ मेरो निम्ति लडि दिनु होस् र मलाई बचाउनु होस्। तपाईंले वचन दिए जस्तै मलाई बाँच्न दिनुहोस्। दुष्ट मानिसहरूले जित्ने छैन किनभने तिनीहरूले तपाईंको नियमहरू मान्दैनन्। हे परमप्रभु, तपाईं कृपालु हुनुहुन्छ। तपाईंले ठीक भनेकै काम गरूँ, र मलाई बाँच्न दिनुहोस्। मेरो धेरै शत्रुहरू छन् मलाई घात गर्नेहरू धेरै छन् तर मैले तपाईंको करार-वचन अनुशरण गर्न देखि रोकिने छैनँ। म ती विश्वास घातीहरूलाई देख्छु, तिनीहरूले तपाईंको वचनको पालन गर्दैनन्, र म तिनीहरूलाई घृणा गर्छु। हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें। हे परमप्रभु, तपाईंको सारा प्रेमसहित, मलाई बाँच्न दिनुहोस्। हे परमप्रभु, आदि कालदेखि नै, सारा तपाईंका वचनहरू भरोसा गर्न सकिन्थ्यो। अनि तपाईंको धार्मिक नियमहरू सदा-सर्वदा रहनेछन्। प्रभावशाली शासकहरूले अकारण मलाई आक्रमण गरे। तर डर राख्दछु र तपाईंको नियमलाई आदर गर्दछु। परमप्रभु, तपाईंको वचनले मलाई आनन्दित तुल्यायो, धेरै धन पाएर अत्यन्त खुशी भएको मानिसलाई जस्तो। म झूटाहरूलाई घृणा गर्दछु, म तिनीहरूलाई तिरस्कार गर्दछु। तर परमप्रभु म तपाईंको शिक्षाहरू मन पराउँछु। दिनमा सातपल्ट म तपाईंको प्रशंसा गर्छु। किनकि तपाईँका नियमहरू असलछन्। मानिसहरू जसले तपाईंको उपदेश मन पराउछन्, तिनीहरू साँच्चो रूपमा शान्तिमा पुग्दछन्। केहीले पनि तिनीहरू पतन गराउन सक्दैन। हे परमप्रभु, म तपाईंलाई पर्खिरहेछु। मलाई बचाउन्नु होस् भनेर मैले तपाईंको आज्ञाहरू पालन गरें। मैले तपाईंको करार-वचनलाई अनुशरण गरें। हे परमप्रभु, म तपाईंको व्यवस्था बढ्ता नै मान्दछु। मैले तपाईंको करार र आज्ञाहरू पालन गरे। हे परमप्रभु, मैले गरेका सबै कुराहरू तपाईंलाई थाहा छ। हे परमप्रभु, मेरो खुशीका गीतलाई सुन्नुहोस्। तपाईंले कसम खाए जस्तै मलाई बुद्धिमानी बनाउनु होस्। परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्। तपाईंले वचन दिए झैं मलाई बचाउनु होस्। म प्रशंसाको गीत गाँउछु। किनभने तपाईंले मलाई आफ्नो नियमहरू सिकाउनु भयो। तपाईंको वचनहरू जवाफ दिन मलाई सहयोग गर्नुहोस् र मलाई मेरो गीत गाउन दिनुहोस्। परमप्रभु, तपाईंको सारा नियमहरू असल छन्। मैले तपाईंका आज्ञाहरू पालन गर्न खोजें। यसैले आउनुहोस् र मलाई साथ दिनुहोस्। हे परमप्रभु, म चाहन्छु, मलाई बचाउनु होस्। तर तपाईंको शिक्षाहरूले मलाई खुशी पार्छन्। मलाई बाँच्न दिनुहोस् र तपाईंको प्रशंसा गर्न दिनुहोस्, परमप्रभु! तपाईंका नियमहरूले मलाई सघाओस्। म हराएको भेंडा सरह भड्किरहें। हे परमप्रभु, आएर मलाई खोज्नु होस्। म तपाईंको दास हुँ, अनि मैले तपाईंको भरोसा भुलेको छैन।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 NERV

भजनसंग्रह 119:113-176 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

जसको तपाईंमाथि पूरा भक्ति छैन, म तिनीहरूलाई घृणा गर्दछु, तर म तपाईंको व्‍यवस्‍थालाई प्रेम गर्दछु। तपाईं नै मलाई बचाउने र मेरा रक्षक हुनुहुन्‍छ, म तपाईंको प्रतिज्ञामा आफ्‍नो आशा राख्‍दछु। पापी मानिसहरू तिमीहरू मदेखि टाढा हट, म मेरा परमेश्‍वरका आज्ञाहरू मान्‍नेछु। आफ्‍नो प्रतिज्ञाअनुसार मलाई बल दिनुहोस् र म जिउनेछु, मेरो आशामा मलाई निराश नपार्नुहोस्। मलाई समातेर थाम्‍नुहोस् र म कुशल रहनेछु र सधैँ म तपाईंका आज्ञाहरूमा ध्‍यान दिनेछु। तपाईंका व्‍यवस्‍थाहरू नमान्‍नेलाई तपाईं अस्‍वीकार गर्नुहुन्‍छ, तिनीहरूका छलले भरिएका युक्तिहरू बेकामका छन्। सबै दुष्‍टहरूलाई तपाईंले कसिङ्गरजस्‍तै गर्नुहुन्‍छ, यसैले म तपाईंका शिक्षाहरूलाई प्रेम गर्दछु। तपाईंको डरको कारणले मेरो शरीर काम्दछ तपाईंका न्‍यायको कारणले ममा डर भरिएको छ। मैले असल र ठीक कुराहरू गरेको छु, मलाई मेरा शत्रुहरूका हातमा नछोडिदिनुहोस्। आफ्‍नो दासलाई सहायता गर्दछु भनी प्रतिज्ञा गर्नुहोस्, अहङ्कारी मानिसहरूले मलाई सताउन नपाऊन्। तपाईंले मलाई बचाउन मद्दत र प्रतिज्ञा गर्नुभएको उद्धारको बाटो हेर्दाहेर्दा मेरा आँखा थाकिसके। आफ्‍नो अनन्‍त प्रेमअनुसार मसँग व्‍यवहार गर्नुहोस् र मलाई तपाईंका आज्ञाहरू सिकाउनुहोस्। म तपाईंको दास हुँ, मलाई समझशक्ति दिनुहोस् र मलाई तपाईंका शिक्षाहरूको ज्ञान हुनेछ। हे परमप्रभु! अब तपाईंले काम गर्नुपर्ने समय आएको छ किनभने मानिसहरूले तपाईंको नियम मान्‍न छोडेका छन्। म तपाईंका आज्ञाहरूलाई सुन, अँ, सबैभन्दा राम्रो सुनभन्दा पनि धेरै प्रेम गर्दछु। यसैकारण म तपाईंका सबै अर्तीहरू मान्‍दछु र सबै दुष्‍ट चालहरू घृणा गर्दछु। तपाईंका शिक्षाहरू उदेकका छन्, म ती सबै आफ्‍नो हृदयबाट मान्‍छु। तपाईंका शिक्षाहरूको अर्थ खोलिंदा हामीले ज्‍योति पाउँछौं र अज्ञानीहरूले बुद्धि पाउँछन्। तपाईंका आज्ञाहरू मान्‍ने इच्‍छा राखेकाले गर्दा म आफ्‍नो मुख खोल्‍दछु र तिर्सना गर्दछु। जसरी तपाईंसँग प्रेम गर्नेहरूतिर तपाईं फर्कनुहुन्‍छ र कृपा गर्नुहुन्‍छ, त्‍यसरी नै मसँग गर्नुहोस्। तपाईंले प्रतिज्ञा गर्नुभएकोअनुसार मलाई लोट्‍नुदेखि बचाउनुहोस्, मलाई खराबीले नजितोस्। मलाई सताउनेहरूदेखि मलाई बचाउनुहोस्, म तपाईंका आज्ञाहरू मान्‍न सकूँ। तपाईंको उपस्‍थितिले मलाई आशिष् दिनुहोस् र तपाईंका व्‍यवस्‍थाहरूको शिक्षा मलाई दिनुहोस्। मेरा आँसु नदीझैँ बग्‍दछ, किनभने मानिसहरूले तपाईंको व्‍यवस्‍था मान्‍दैनन्। परमप्रभु, तपाईं धर्मी हुनुहुन्‍छ, तपाईंका व्‍यवस्‍थाहरू न्‍यायपूर्ण छन्। तपाईंले दिनुभएका व्‍यवस्‍थाहरू सबै प्रकारले ठीक र धार्मिक छन्। मेरो रिस मभित्र आगोजस्‍तै जल्‍दछ किनभने मेरा शत्रुहरूले तपाईंका आज्ञाहरू मान्‍दैनन्। तपाईंको प्रतिज्ञा कति पक्‍का छ, म त्‍यसलाई कति प्रेम गर्दछु! म तुच्‍छ छु र हेलित छु। तर म तपाईंका शिक्षाहरूलाई हेला गर्दिनँ। तपाईंको धार्मिकता सदाकाल रहनेछ र तपाईंको व्‍यवस्‍था सधैँ सत्‍य छ। म कष्‍ट र चिन्‍ताले भरिएको छु, तर तपाईंका आज्ञाले मलाई रमाहट दिँदछ। तपाईंका अर्तीहरू सधैँ न्‍यायपूर्ण छन्, मलाई समझशक्ति दिनुहोस् र म जीवित रहनेछु। म आफ्‍नो पूरा हृदयले तपाईंलाई पुकार्दछु, परमप्रभु, मलाई उत्तर दिनुहोस् र म तपाईंका आज्ञाहरू मान्‍नेछु! म तपाईंलाई पुकार्दछु; मलाई बचाउनुहोस् र तपाईंका व्‍यवस्‍थाहरू पालन गर्नेछु। घाम झुल्‍कनुअघि म तपाईंलाई मद्दतको लागि बिन्‍ती गर्दछु। तपाईंको प्रतिज्ञामा म आशा गर्दछु। रातभरि म तपाईंका शिक्षाहरूमा ध्‍यान गर्न जागा रहन्‍छु। हे परमप्रभु! तपाईंको अनन्‍त प्रेमको कारणले मेरो बिन्‍ती सुन्‍नुहोस्। तपाईंको कृपा देखाउनुहोस् र मेरो जीवनको रक्षा गर्नुहोस्! तपाईंको व्‍यवस्‍था कहिल्‍यै नमान्‍ने र मलाई सताउने निठुरीहरू मेरो नजिक आउँदै छन्। तर तपाईं मेरो नजिक हुनुहुन्‍छ, परमप्रभु! तपाईंका सबै आज्ञाहरू सदा रहिरहनेछन्। उहिले नै मैले तपाईंका अर्तीहरूको शिक्षा पाएँ, तिनलाई तपाईंले अनन्‍तकालको लागि राख्‍नुभएको छ। मेरो दु:ख-कष्‍ट हेर्नुहोस् र मलाई बचाउनुहोस् किनभने मैले तपाईंको व्‍यवस्‍थालाई हेला गरेको छैनँ। मेरो मुद्दाको रक्षा गर्नुहोस् र मलाई छुटकारा दिनुहोस्, आफ्‍नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्। दुष्‍टहरू बचाइनेछैनन् किनभने तिनीहरूले तपाईंका व्‍यवस्‍थाहरू मान्‍दैनन्। हे परमप्रभु, तपाईंको माया ठूलो छ; तपाईंको कृपा देखाउनुहोस् र मलाई बचाउनुहोस्! मेरा धेरै शत्रु र सताउनेहरू छन्, तर मैले तपाईंका व्‍यवस्‍थाहरू मान्‍न छोडेको छैनँ। जब म ती विश्‍वासघातीहरूलाई हेर्दछु, म विरक्त हुँदछु किनभने तिनीहरू तपाईंका आज्ञाहरू मान्‍दैनन्। हेर्नुहोस्, म तपाईंका शिक्षाहरूलाई कति प्रेम गर्दछु, परमप्रभु! तपाईंको प्रेम कहिल्‍यै बदलिंदैन, यसकारण मलाई बचाउनुहोस्। तपाईंको व्‍यवस्‍था सत्‍य छ र तपाईंका सबै धार्मिक न्‍यायहरू अमर छन्। शक्तिशाली मानिसहरूले अन्‍यायसाथ मलाई आक्रमण गर्छन्, तर म तपाईंको व्‍यवस्‍थालाई आदर गर्दछु। तपाईंका प्रतिज्ञाहरूले गर्दा म कति खुसी छु, धेरै धन पाउने मानिसजस्‍तै म अत्‍यन्‍त खुसी छु। सबै झूटा कुराहरू म रुचाउँदिनँ र घृणा गर्दछु, तर म तपाईंको व्‍यवस्‍थालाई प्रेम गर्दछु। तपाईंका धार्मिक न्‍यायका लागि दिनमा सात चोटि म तपाईंलाई धन्‍यवाद दिँदछु। तपाईंको व्‍यवस्‍था मान्‍नेहरूले पूरा सुरक्षा पाउँछन् र केही कुराले तिनीहरूलाई लडाउनेछैन। हे परमप्रभु! म तपाईंद्वारा बाचूँ भनी पर्खिरहेछु र म तपाईंको आज्ञाअनुसार गर्दछु। म तपाईंका शिक्षाहरू मान्‍दछु, म तिनलाई सारा हृदयले प्रेम गर्दछु। म तपाईंका आज्ञाहरू र अर्तीहरू पालन गर्दछु, मैले गरेको हरेक कुरा तपाईंले देख्‍नुहुन्‍छ। हे परमप्रभु! सहायताको लागि मेरो पुकार तपाईंकहाँ पुगोस्! आफ्‍नो प्रतिज्ञाअनुसार मलाई समझशक्ति दिनुहोस्। मेरो प्रार्थना सुन्‍नुहोस् र आफ्‍नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्। म सधैँभरि तपाईंको प्रशंसा गर्नेछु किनभने तपाईंले मलाई आफ्‍ना व्‍यवस्‍थाहरू सिकाउनुहुन्‍छ। म तपाईंको व्‍यवस्‍थाबारे गाउनेछु किनभने तपाईंका आज्ञाहरू धार्मिक छन्। मेरो सहायता गर्न सदा तयार रहनुहोस् किनभने म तपाईंका आज्ञाहरू मान्‍दछु। हे परमप्रभु, तपाईंले मलाई बचाउने सहायताको निम्‍ति म कति इच्‍छा गर्दछु! म तपाईंको व्‍यवस्‍थामा आनन्‍द पाउँदछु। मलाई जीवन दिनुहोस् र मैले तपाईंलाई प्रशंसा दिन सकूँ, तपाईंका अर्तीहरूद्वारा म सहायता पाऊँ। हराएको भेडाझैँ म डुलिहिँड्दछु, यसर्थ आउनुहोस् र म तपाईंको दासलाई खोज्‍नुहोस् किनभने मैले तपाईंका व्‍यवस्‍थाहरू बिर्सेको छैनँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 सरल नेपाली