भजनसंग्रह 112:1-10

भजनसंग्रह 112:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुको प्रशंसा गर। त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुको भय मान्‍दछ, र उहाँका आज्ञाहरूमा ज्‍यादै प्रसन्‍न हुन्‍छ। त्‍यसको वंश देशमा शक्तिशाली हुनेछ, सोझा मानिसहरूको पुस्‍ताले आशिष्‌ पाउनेछ। त्‍यसको घरमा धन-सम्‍पत्ति रहन्‍छ, र त्‍यसको धार्मिकता सदा रहिरहन्‍छ। सोझा मानिसहरूका निम्‍ति, साथै अनुग्रही, करुणामय र धर्मी मानिसहरूका निम्‍ति अन्‍धकारमा पनि ज्‍योति उदय हुन्‍छ। उदार-चित्तले ऋण दिने, र ईमानदारीसाथ आफ्‍नो कारोबार चलाउने मान्‍छेको भलो हुन्‍छ। धर्मी जन कहिले पनि डगमगाउँदैन, त्‍यसको सम्‍झना सदासर्वदा रहनेछ। अशुभ समाचारले त्‍यो कहिले पनि डराउँदैन, परमप्रभुमा भरोसा गरेर त्‍यसको हृदय स्‍थिर रहन्‍छ। त्‍यसको हृदय सुरक्षित रहन्‍छ, र त्‍यो डराउनेछैन। अन्‍त्‍यमा त्‍यसले आफ्‍ना शत्रुहरूलाई विजयमा हेर्नेछ। त्‍यसले उदारतासाथ दरिद्रहरूलाई दान दिएको छ, त्‍यसको धार्मिकता सधैँभरि दिगो रहन्‍छ, सम्‍मानपूर्वक त्‍यसको शिर उच्‍च राखिनेछ। दुष्‍ट मानिस यो देखेर कुँड़िन्‍छ, त्‍यसले दाह्रा किट्‌नेछ, अनि नष्‍ट हुनेछ। दुष्‍ट मानिसको अभिलाषा निष्‍फल हुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 112 पढ्नुहोस्

भजनसंग्रह 112:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहको प्रशंसा गर! त्यो मानिस धन्यको हो, जसले याहवेहको भय मान्दछ, जो उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्‍न हुन्छ। त्यसका सन्तानहरू पृथ्वीमाथि शक्तिशाली हुनेछन्; धर्मी मानिसहरूका पुस्ताले आशिष् पाउनेछन्। त्यसको घरमा धन र सम्पत्ति रहन्छ, र त्यसको धार्मिकता सदाकाल रहिरहन्छ। सत्यनिष्‍ठ मानिसहरू, जो अनुग्रही, दयालु, र धर्मी छन्, तिनीहरूका निम्ति अन्धकारमा पनि ज्योति चम्कन्छ। उदार चित्तले ऋण दिनेहरू, र इमानदारीतासाथ आफ्नो कारोबार चलाउने मानिसहरूको भलो हुन्छ। अवश्य नै धर्मी जनहरू कहिल्यै डगमगाउनेछैनन्; तिनीहरूको सम्झना सदासर्वदा गरिनेछ। खराब समाचारले तिनीहरू कहिल्यै डराउनेछैनन्; याहवेहमा भरोसा गरेकोले तिनीहरूका हृदय दृढ रहन्छ। तिनीहरूका हृदय निर्धक्‍क रहन्छ, र तिनीहरूलाई कुनै डर हुनेछैन; अन्त्यमा तिनीहरूले आफ्ना वैरीहरू हार भएको देख्नेछन्। तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्; तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ; तिनीहरूका शिर सम्मानले उच्‍च रहनेछ। दुष्‍ट मानिस त्यो देखेर कुँडिनेछ; तिनीहरूले आफ्ना दाह्रा किट्नेछन्, र नष्‍ट हुनेछन्; दुष्‍टहरूका अभिलाषाहरू विफल हुन्छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 112 पढ्नुहोस्

भजनसंग्रह 112:1-10 पवित्र बाइबल (NERV)

परमप्रभुको प्रशंसा गर! कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ। त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ र ऊ सुखी हुनेछ। उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ। असल मानिसका सन्तानहरूलाई साँच्चो रूपमा आशीर्वाद दिइनेछ। त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ अनि उसको भद्रता सदा-सर्वदा रहने छ। सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ। परमेश्वर धर्मी, दयालु र करूणामय हुनुहुन्छ। मानिसको लागि दयालु र उद्धार हुनु उत्तम हो। एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो। त्यो मानिसको पतन कहिल्यै पनि हुनेछैन, असल मानिसको सधैँ स्मरण गरिन्छ। उनी कुनै पनि नराम्रो समाचारले डराउनु हुँदैन। त्यो मानिसमा आत्मविश्वास छ किनभने उसले परमप्रभुमाथि विश्वास गर्दछ। त्यो मानिसमा आत्मविश्वास छ, ऊ भयभीत हुनेछैन। उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ। त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ। अनि उसको उपकार सर्वदा रही रहने छ। दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्। तिनीहरूले रीसमा आफ्ना दाँतहरू कड्कडाउँछन्। तर त्यसपछि तिनीहरू अल्पिने छन्। दुष्ट मानिसहरूले आफूले चाहेका कुराहरू पाउने छैनन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 112 पढ्नुहोस्

भजनसंग्रह 112:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुको स्‍तुति गर! परमप्रभुलाई आदर दिने र उहाँको आज्ञा मान्‍न आनन्‍द मनाउने मानिस साँच्‍चै खुसी हो। असल मानिसका छोरा-छोरीहरू देशमा शक्तिशाली हुन्‍छन्, उसका सन्‍तानले आशिष् पाउँछन्। उसका घर-परिवारले धन-सम्‍पत्ति कमाउँछन् र सधैँ उसको फलिफाप हुनेछ। असल मानिसको लागि र जो कृपालु, दयालु र धर्मी छन्, तिनीहरूको लागि अन्‍धकारमा ज्‍योति चम्‍कन्‍छ। त्‍यो मानिस खुसी रहन्‍छ, जसले मुट्ठी खोलेर ऋण दिन्‍छ र आफ्‍नो व्‍यापार इमानदारीसाथ चलाउँछ। असल मानिस कहिल्‍यै असफल हुन्‍न, उसलाई सधैँभरि मानिसहरूले याद गर्छन्। दुष्‍ट समाचार पाएर ऊ हड्बडाउँदैन, उसको विश्‍वास दरिलो छ र उसले परमप्रभुमाथि भरोसा राख्‍दछ। उसलाई डर वा फिक्री हुँदैन, उसले अवश्‍यै आफ्‍ना शत्रुहरूको हार भएको देख्‍नेछ। उसले अभावमा परेकाहरूलाई खुला मनले दिँदछ र उसको दया कहिल्‍यै हराउँदैन। ऊ शक्तिशाली हुनेछ र उसले आदर पाउनेछ। दुष्‍टहरूले यो देखेर रिस गर्छन्, तिनीहरू दाह्रा किट्छन् र लोप भएर जानेछन् र तिनीहरूका आशा पनि सधैँको लागि हराइजान्‍छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 112 पढ्नुहोस्