भजनसंग्रह 108:1-13

भजनसंग्रह 108:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमेश्‍वर, मेरो हृदय स्‍थिर छ, म गाउनेछु, र मेरो सम्‍पूर्ण प्राणले म राग बजाउनेछु। हे वीणा र सारङ्गी, जागा होओ! म प्रभातलाई जगाउनेछु। हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गाउनेछु, मानिसहरूका बीचमा म तपाईंको विषयमा गाउनेछु। किनकि तपाईंको करुणा महान्‌ छ, स्‍वर्गभन्‍दा पनि उच्‍च छ, र तपाईंको विश्‍वसनीयताले आकाशै छुन्‍छ। हे परमेश्‍वर, तपाईं स्‍वर्गभन्‍दा पनि उच्‍च हुनुहोस्‌, तपाईंको महिमा सारा पृथ्‍वीभरि व्‍याप्‍त होस्‌। तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस्‌ र मदत गर्नुहोस्‌, र तपाईंले प्रेम गर्नुभएकाहरूले छुटकारा पाऊन्‌। परमेश्‍वरले आफ्‍नो पवित्रस्‍थानबाट भन्‍नुभएको छ, “विजयमा शकेमलाई विभाजन गर्नेछु, र सुक्‍कोतका बेँसी नापेर छुट्ट्याउनेछु। गिलाद मेरो हो, र मनश्‍शे पनि मेरै हो, एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्‍ड हो। मोआब मेरो पानीको बाटा हो, एदोममाथि म आफ्‍नो जुत्ता फाल्‍छु। पलिश्‍तमाथि म विजयसाथ कराउँछु।” कसले मलाई किल्‍ला भएको सहरमा पुर्‍याइदेला? एदोमसम्‍म मलाई कसले डोर्‍याउला? हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई त्‍याग्‍नुभएको छ, र अब हाम्रा सेनाहरूका साथमा जानुहुन्‍न? शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्‌, किनकि मानिसको सहायता त व्‍यर्थको हुन्‍छ। परमेश्‍वरद्वारा हामी विजय प्राप्‍त गर्नेछौं, र उहाँले हाम्रा शत्रुहरूलाई कुल्‍चनुहुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 108 पढ्नुहोस्

भजनसंग्रह 108:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे परमेश्‍वर, मेरो हृदय स्थिर छ; म गाउनेछु र मेरो सम्पूर्ण प्राणले धुन बजाउनेछु। हे सारङ्गी र वीणा जाग्! म प्रभातलाई जगाउनेछु। हे याहवेह, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु। किनकि तपाईंको प्रेम महान् छ, आकाशभन्दा पनि उच्‍च छ; तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै पुग्दछ। हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्; सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्। तपाईंको दाहिने हातले हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्; ताकि तपाईंका प्रियजनहरूले छुटकारा पाऊन्। परमेश्‍वरले उहाँको वासस्थानबाट बोल्नुभएको छ: “विजयमा म शेकेमलाई विभाजन गर्नेछु, र सुक्‍कोतको बेँसीलाई नापेर छुट्ट्याउनेछु। गिलाद मेरो हो, मनश्शे पनि मेरै हो; एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्ड हो। मोआब मेरो हात धुने भाँडो हो; एदोममा म आफ्नो जुत्ता फाल्नेछु; पलिश्तीमाथिको विजयमा म कराउनेछु।” किल्‍ला भएको सहरमा मलाई कसले पुर्‍याइदेला? कसले मलाई एदोमसम्म डोर्‍याउला? हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई त्याग्नुभएको छ, र अहिले हाम्रा सेनाहरूका साथमा पनि जानुभएन? शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्; किनकि मानिसको सहायता व्यर्थ छ। परमेश्‍वरको सहायताद्वारा हामीले विजय प्राप्‍त गर्नेछौँ; र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 108 पढ्नुहोस्

भजनसंग्रह 108:1-13 पवित्र बाइबल (NERV)

हे परमेश्वर, म आत्मा र हृदय सहित स्तुति-गीतहरू गाउँन तयार छु। हे मेरो आत्मा, तँ उठ! साङ्गीतहरू वीणाहरू उठ! अनि अरूहरूलाई उठाऊ! हे परमेश्वर, हामी तपाईंलाई जातिहरू माझ गुण-गान गर्नेछौ। परमप्रभु! तपाईंको प्रेम आकाशभन्दा पनि उच्च छ। तपाईंको सत्यता उच्चतम बादल भन्दा पनि उच्च छ। हे परमेश्वर, आकाशभन्दा पनि माथि उठ्नुहोस्! सारा संसारले तपाईंको महिमालाई देखोस्। हे परमेश्वर, आफ्ना मित्रहरू बँचाउनलाई मेरो प्रार्थनाको प्रत्युत्तर दिनुहोस। अनि तपाईंको महान् शक्ति बँचाउनलाई प्रयोग गर्नुहोस्। परमेश्वर उहाँको मन्दिरमा बोल्नु भयोः “म युद्ध जित्ने छु अनि विजयी भएर प्रफुल्लित हुनेछु! म यो धर्ती आफ्ना मानिसहरूको माझमा भाग गरेर बाँडिदिने छु। शेकेम तिनीहरूलाई दिनेछु। म तिनीहरूलाई सुक्कोत बेंसी दिनेछु। गिलाद र मनस्से मेरो हुनेछ। एप्रैम मेरो शिरकवज हुनेछ, यहूदा मेरो राजदण्ड हुनेछ। मोआब मेरो खुट्टा धुने ठूलो गर्दुवा हुनेछ, एदोम मेरो जुत्ताहरू बोक्ने दास हुनेछ, म पलिस्तिलाई परास्त गर्ने छु अनि विजय भएको खुसीमा कराउने छु।” तर तपाईंले हामीलाई त्यागेर जानु भयो! तपाईं हाम्रा सेनाहरूसँग जानु भएन! कसले मलाई शत्रुहरूको किल्लातिर लैजाने हो? कसले मलाई एदोमको विरूद्ध लडाइँ गर्न लैजाने हो? हे परमेश्वर, हाम्रा शत्रुहरू नाश गर्नलाई साथ दिनुहोस्। मानिसहरूले हामीलाई सघाउन सक्दैनन्! परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ। परमेश्वरले हाम्रा शत्रुहरू पराजित गर्न सक्नु हुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 108 पढ्नुहोस्

भजनसंग्रह 108:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमेश्‍वर, तपाईंमाथि मेरो पूरा भरोसा छ! म भजन गाएर तपाईंको प्रशंसा गर्छु! हे मेरो प्राण, जागी उठ्! हे मेरो वीणा र सितार, जाग्! म घामलाई जगाउनेछु। हे परमप्रभु, म जातिहरूका बीचमा तपाईंलाई धन्‍यवाद दिनेछु र जातिहरूका बीचमा तपाईंको प्रशंसा गर्नेछु। तपाईंको अटुट प्रेम स्‍वर्गसम्‍म पुग्‍दछ, तपाईंको विश्‍वासयोग्‍यताले आकाश छुँदछ। हे परमेश्‍वर! आफ्‍नो महान्‌ता आकाशमा र सारा संसारमा आफ्‍नो महिमा देखाउनुहोस्। आफ्‍नो सामर्थ्‍यले हामीलाई बचाउनुहोस्, मेरो प्रार्थनाको उत्तर दिनुहोस् र तपाईंले प्रेम गर्नुभएका मानिसहरूले उद्धार पाऊन्। आफ्‍नो पवित्र स्‍थानदेखि परमेश्‍वरले भन्‍नुभएको छ, “विजय गरेर म शकेमलाई विभाजन गर्नेछु र सुक्‍कोतका बेँसी मेरा प्रजाका बीच बाँडिदिनेछु। गिलाद मेरो हो, मनश्‍शे पनि मेरो हो, एफ्राइम मेरो शिरको मुकुट हो र यहूदा मेरो राजदण्‍ड हो। मोआबलाई म हात चुठ्‍ने भाँडो बनाएर चलाउनेछु, एदोम मेरो हो भन्‍ने चिन्‍ह दिएर म त्‍यसलाई आफ्‍ना जुत्ताले हान्‍नेछु, पलिश्‍तीहरूमाथि विजय गरेर म उच्‍च स्‍वरले कराउनेछु।” हे परमेश्‍वर! कसले मलाई पर्खालले घेरेका सहरमा पुर्‍याउला? कसले मलाई एदोममा पुर्‍याउला? के साँच्‍चै तपाईंले हामीलाई इन्‍कार गर्नुभयो? के तपाईं हाम्रा सेनाहरूसँग हिँड्‍नुहुन्‍न? शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्, मानिसको सहायता व्‍यर्थ छ। परमेश्‍वर हामीतर्फ हुनुभएकोले हामी जित्‍नेछौं, उहाँले हाम्रा शत्रुहरूको हार गराउनुहुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 108 पढ्नुहोस्