भजनसंग्रह 103:17-22
भजनसंग्रह 103:17-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर परमप्रभुको करुणा आफ्ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ— तिनीहरूमाथि ज-जसले उहाँको करार पालन गर्दछन्, र उहाँका आदेशहरू पालन गर्न ख्याल गर्छन्। परमप्रभुले आफ्नो सिंहासन स्वर्गमा स्थिर गर्नुभएको छ, र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ। हे उहाँका स्वर्गदूतहरू हो, उहाँको वचन पालन गर्ने शक्तिशाली जन हो, परमप्रभुको प्रशंसा गर। हे स्वर्गका सबै सेना हो, उहाँको इच्छाअनुसार काम गर्ने सेवक हो, परमप्रभुको प्रशंसा गर। हे उहाँका सारा सृष्टि हो, उहाँका समस्त राज्यमा रहेका हो, परमप्रभुको प्रशंसा गर। ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्!
भजनसंग्रह 103:17-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर याहवेहको अचुक प्रेम, उहाँको भय मान्नेहरूमाथि अनन्तदेखि अनन्तसम्म रहिरहन्छ र उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूका सन्तानहरूमाथि रहन्छ— तिनीहरूमाथि जस-जसले उहाँको करार पालन गर्दछन्, र उहाँका विधिहरू स्मरण गरेर त्यसअनुसार चल्दछन्। याहवेहले आफ्नो सिंहासन स्वर्गमा स्थापित गर्नुभएको छ; र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ। हे उहाँका शक्तिशाली स्वर्गदूतहरू हो, उहाँका आदेश सुनेर उहाँका योजना पूरा गर्नेहरू हो, याहवेहको प्रशंसा गर! हे उहाँका सारा स्वर्गीय सेनाहरू हो, उहाँको इच्छाअनुसार काम गर्ने सेवकहरू हो, याहवेहको प्रशंसा गर। हे याहवेहका सारा सृष्टि हो, उहाँका सबै राज्यमा रहेकाहरू हो, उहाँको प्रशंसा गर!
भजनसंग्रह 103:17-22 पवित्र बाइबल (NERV)
तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ माया गर्नुभयो अनि उहाँले आफ्ना भक्तजनहरूलाई अनवरत प्रेम गर्नुहुन्छ। परमेश्वरको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ। परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ, जसले उहाँको करार पालन गर्छ। परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ, जसले उहाँको आदेश पालन गर्छन्। परमेश्वरको सिंहासन स्वर्गमा छ। अनि उहाँले सबै थोकमा शासन गर्नुहुन्छ। हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ। हे उहाँका सबै सिपाहीहरू! परमप्रभुको प्रशंसा गर। तिमीहरू उहाँको दासहरू हौ। जो परमप्रभुले इच्छा गर्नुहुन्छ तिमीहरू त्यही काम गर्दछौ। परमप्रभुले प्रत्येक थोक प्रत्येक ठाउँमा बनाउनु भयो। परमेश्वरले प्रत्येक ठाउँमा भएका सबै थोकहरूमा राज गर्नु हुन्छ, अनि ती सबै थोकहरूले परमप्रभुको गुण-गाऊनु पर्छ! हे मेरो प्राण परमप्रभुको गुण-गान गर!
भजनसंग्रह 103:17-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर परमप्रभुलाई आदर गर्नेहरूको लागि चाहिँ उहाँको प्रेम सदाकालको निम्ति रहनेछ। उहाँको करार साँचो प्रकारले मान्नेहरूमाथि र उहाँका आज्ञा विश्वासयोग्यसाथ पालन गर्नेहरूमाथि तिनीहरूका पुस्ता-पुस्तासम्म उहाँको भलाइ रहिरहनेछ। परमप्रभुले स्वर्गमा आफ्नो सिंहासन राख्नुभो, सबैमाथि उहाँले राज्य गर्नुहुन्छ। तिमी उहाँका आज्ञा मान्ने र उहाँका वचन सुन्ने, बलिया र सामर्थी स्वर्गदूतहरूले परमप्रभुको प्रशंसा गर। स्वर्गका सबै शक्तिहरू, जसले उहाँको सेवा र इच्छा पालन गर्दछन्, तिमीहरूले परमप्रभुको प्रशंसा गर! उहाँका राज्यका सबै ठाउँहरूमा भएका सबै प्राणीहरूले परमप्रभुको प्रशंसा गर। हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्!