हितोपदेश 9:1-18
हितोपदेश 9:1-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बुद्धिले आफ्नो घर बनाएको छ, त्यसले आफ्ना सात खामा गाड़ेको छ। त्यसले आफ्नो पशु मारेको छ, दाखमद्यमा मसला मिसाएको छ, त्यसले आफ्नो टेबिल पनि तयार पारेको छ। त्यसले आफ्ना दासीलाई पठाएको छ, र सहरका अग्ला ठाउँहरूबाट बोलाउँछ। “ए सबै निर्बुद्धिहरू भित्र आओ!” भन्दै ती समझ नभएकाहरूलाई त्यसले भन्छ। “आओ, मसँग खाओ, र मैले मसला मिसाएको दाखमद्य पिओ।” आफ्ना अज्ञानी चालहरू छोडिदेओ, र तिमी बाँच्नेछौ। समझशक्तिको मार्गमा हिँड़। जसले गिल्ला गर्ने व्यक्तिलाई सुधार्छ, त्यसले अपमान निम्त्याउँछ, जसले दुष्ट मानिसलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ। गिल्ला गर्नेलाई नहप्का, नत्र त्यसले तँलाई घृणा गर्नेछ। बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्नेछ। बुद्धिमान्लाई अर्ती दे, र त्यो झन् बढी बुद्धिमान् हुनेछ। धर्मी मानिसलाई शिक्षा दे, र त्यसले आफ्नो ज्ञान अझ बढ़ाउनेछ। “परमप्रभुको भय मान्नु नै बुद्धिको सुरुआत हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो। किनभने मद्वारा नै तेरो जीवनका दिनहरू धेरै हुनेछन्, अनि तँ दीर्घायु हुनेछस्। तँ बुद्धिमान् भइस् भने तेरो बुद्धिले नै तँलाई इनाम ल्याउनेछ, तँ गिल्ला गर्ने व्यक्ति भइस् भने तैंले मात्र नोक्सान बेहोर्नुपर्नेछ। “मूर्खता” भनिने स्त्री चर्की हुन्छे, त्यो अनुशासनहीन र अज्ञानी हुन्छे। त्यो आफ्नो घरको ढोकामा सहरको सबैभन्दा अग्ला ठाउँहरूमा भएको आसनमा बस्छे। त्यसको नजिकैबाट सरासर आफ्नो बाटो हिँड़िरहेकाहरूलाई त्यसले बोलाउँछे। ती समझ नभएकाहरूलाई त्यसले भन्छे, “सबै अज्ञानी जति यता आऊन्। चोरीको पानी मीठो हुन्छ, गुप्तमा खाएको रोटी स्वादिष्ठ हुन्छ।” तर मृतकहरूको वास त्यहाँ हुन्छ, र त्यस स्त्रीका पाहुनाहरू पातालको गहिराइमा पुगिसकेका छन् भन्ने कुराको ज्ञान तिनीहरूलाई रत्तीभर हुँदैन।
हितोपदेश 9:1-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बुद्धिले आफ्नो घर बनाएको छ; त्यसले सात वटा खाँबो काटेर गाडेको छ। त्यसले मासु पकाएको छ, र दाखमद्य तयार पारेको छ, त्यसले आफ्नो टेबुल पनि ठिक पारेको छ। त्यसले आफ्नो सेवकहरूलाई बाहिर पठाएको छ, र सहरमा सबैभन्दा अग्लो ठाउँबाट बोलाउँछ। “सोझाहरू सबै मेरो घरभित्र आओ!” ती समझ नभएकाहरूलाई त्यसले भन्छ: “आओ, मसँग खाओ, र मैले मिसाएको दाखमद्य पिओ। आफ्ना सोझा चालहरू त्याग, र तिमीहरू बाँच्नेछौ।” समझशक्तिको मार्गमा हिँड। गिल्ला गर्नेलाई सुधार्नेले अपमान निम्त्याउँछ, जसले दुष्टलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ। गिल्ला गर्नेलाई नहप्काऊ, नत्रता त्यसले तिमीलाई घृणा गर्नेछ; बुद्धिमान् मानिसलाई हप्काऊ, र त्यसले तिमीलाई प्रेम गर्नेछ। बुद्धिमान्लाई अर्ती देऊ, र ऊ अझ बुद्धिमान् हुनेछ; धर्मी मानिसलाई शिक्षा देऊ, र उसले आफ्नो ज्ञान अझ बढाउँछ। याहवेहको भय नै बुद्धिको सुरुवात हो, र पवित्र परमेश्वरको ज्ञान नै समझशक्ति हो। किनकि बुद्धिद्वारा नै तिमी दीर्घायु हुनेछौ, र तिम्रो जीवनका वर्षहरू थपिनेछन्। यदि तिमी बुद्धिमान् हौ भने तिमीलाई बुद्धिले इनाम दिनेछ; यदि तिमी गिल्ला गर्ने हौ भने तिमीले दुःख मात्र पाउनेछौ। अज्ञानी स्त्री कोलाहलपूर्ण हुन्छे; त्यो सोझी र अज्ञानी हुन्छे। त्यो आफ्नो घरको ढोकामा बस्छे, सहरका सबैभन्दा अग्लो ठाउँमा बस्छे, आफ्नो बाटो सरासर हिँडिरहेकाहरूलाई त्यसले नजिकबाट बोलाउँछे। “सोझाहरू सबै मेरो घरभित्र आओ!” ती समझ नभएकाहरूलाई त्यसले भन्छे: “चोरीको पानी मिठो हुन्छ, गुप्तमा खाएको भोजन स्वादिष्ठ हुन्छ!” तर तिनीहरूले त्यहाँ मृतकहरू छन्, र त्यसका पाहुनाहरू गहिरा चिहानभित्र छन् भन्ने कुरा जान्दैनन्।
हितोपदेश 9:1-18 पवित्र बाइबल (NERV)
ज्ञानले आफ्नो घर बनाई। उसले त्यस घरमा सातओटा खम्बाहरू खडा गरी। उसले मासु पकाई अनि त्यसपछि दाखरस बनाई। उसले खाना टेबिलमाथि राखी। तब उसले उसको सेविका केटीहरूलाई शहरको अग्लो ठाउँमा मानिसहरूलाई निम्त्याउन पठाई। “तिमी मानिसहरू ज-जसलाई सिक्न आवश्यक छ, आओ।” उसले मूर्ख मानिसहरूलाई पनि निम्त्याउन भनी। “आओ, अनि मेरा ज्ञानका भोजन खाओ। अनि दाखरस पनि पिओ जुन मैले तयार पारेकी छु। अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिँड।” अरूलाई अपमान गर्नेहरूलाई सुधार्न खोज्ने मानिस आफैं अपमानित हुन्छ र जसले दुष्टमानिसलाई हप्काउँछ उसलाई हानी हुन्छ। अरूलाई अपमान गर्ने मानिसलाई तिमीले कहिल्यै पनि नझपार्नु नत्र उसले तिमीलाई नै घृणा गर्न थाल्छ। तर यदि तिमीले कुनै ज्ञानी मानिसलाई हप्कायौ भने उसले तिमीलाई प्रेम गर्न थाल्नेछ। ज्ञानी मानिसलाई अर्ती दियो भने ऊ अझैं ज्ञानी हुन्छ। त्यसरी नै एउटा धर्मी मानिसलाई सिकायो भने उसले ज्ञान धेरै बढाउनेछ। परमप्रभुलाई आदर गर्नुको अर्थ ज्ञान प्राप्त गर्ने पहिलो पाइलो हुन्छ, अनि पवित्र परमप्रभुको ज्ञान नै समझशक्ति हो। किनभने ज्ञानले तिमीलाई लामो समय सम्म बाँच्न सहायता गर्नेछ र तिम्रो आयुमा बर्षहरू थपिने छन्। यदि तिमी बुद्धिमान छौ भने तिमी आफैंले लाभ उठाउने छौ। तर यदि तिमी ठट्टा गर्छौ भने तिमी आफैंले दुःख पाउनेछौ। मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छे तर ऊ मूर्ख हो, र केही पनि जान्दिनँ। ऊ उसको घरको दैलोमा, बसीरहन्छे शहरको सबैभन्दा अग्लो स्थानमा भएको आसन माथि बस्छे। उसको अगाडीबाट जो आफ्नो सोझो बाटो गइरहेको हुन्छ उसलाई बोलाएर भन्छे, “हे बुद्धि नभएकाहरू हो, यहाँ भित्र आऊ।” उसले तिनीहरूलाई भन्छे जोसँग चेतना नै छैन। “बोकेको पानीको स्वाद अझ मिठो हुन्छ, चोरेको खाना साँच्चै स्वादिष्ट हुन्छ।” मूर्ख मानिसहरूले जान्दैनन् कि तिनका घर भूतहरूले पूर्ण छ अनि तिनले तिनीहरूलाई चिहानको गहिरो भागमा निमन्त्रणा गरेका छन्।
हितोपदेश 9:1-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बुद्धिले आफ्नै घर बनाएको छ र त्यसमा सात खामाहरू लाएको छ। भोजको निम्ति त्यसले एउटा पशु मारेको छ, दाखमद्यमा मसला मिसाएको छ र भोज तयार पारेको छ। सहरका अग्लाअग्ला ठाउँबाट यसो भन्नलाई त्यसले आफ्ना चाकर्नीहरू पठाएको छ, “हे निर्बोध मानिसहरू हो! आओ!” मूर्खलाई त्यसले यसो भन्छ, “आओ, मेरो भोज खाओ र मैले मिसाएको दाखमद्य पिओ। निर्बोधहरूको साथ छोड र बाँच। ज्ञानको मार्ग समात।” अहङ्कारी मानिसलाई सुधार्ने मानिसले बदनाम मात्र पाउनेछ। दुष्टलाई हप्काउनेले आफ्नै हानि गर्दछ। अहङ्कारी मानिसलाई सुधार्ने काम नगर, त्यसले तिमीलाई त्यसको निम्ति घृणा गर्नेछ। तर बुद्धिमान् मानिसलाई सुधार्ने काम गरे त्यसले तिमीलाई आदर गर्नेछ। बुद्धिमान् मानिसलाई अर्ती दिन्छौ भने ऊ अझै बुद्धिमान् बन्दछ। धर्मीलाई शिक्षा दिए उसको ज्ञान बढ्दछ। ज्ञानी बन्नलाई पहिले परमप्रभुको भय मान्नुपर्दछ। परमपवित्रलाई जान्नु नै समझशक्ति पाउनु हो। बुद्धिले तिम्रो आयु बढाउँछ। तिमीले बुद्धि लियौ भने तिम्रै लाभ हुनेछ तर त्यसलाई इन्कार गर्यौ भने तिम्रो हानि हुनेछ। मूर्खता एउटी ठूलो स्वर भएकी, अज्ञानी र निर्लज्ज स्त्रीजस्तो हो। त्यो आफ्नो घरको ढोका वा सहरको उच्च स्थानमा एउटा बैठकमा बस्छ र आफ्नो काम गर्ने र छेउबाट जाने मानिसहरूलाई यसो भन्दै बोलाउँछ, “हे निर्बोध मानिसहरू हो! आओ!” मूर्खलाई यसो भन्छ। “चोरेर पिएको पानी मीठो हुन्छ, लुकेर खाएको रोटी स्वादिलो हुन्छ।” त्यसका पन्जामा पर्नेहरू, त्यसको घरमा जानेहरू मर्छन् र त्यहाँ पसिसक्ने जतिचाहिँ मृत्यु-लोक पुगिसकेका छन् भनी जान्दैनन्।