हितोपदेश 6:27-35

हितोपदेश 6:27-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

आफ्‍नो लुगा नडढ़ाईकन के कुनै मानिसले आफ्‍नो काखमा आगो राख्‍न सक्‍छ? जलिरहेका भुङ्‌ग्रामा कुनै मानिस हिँड्‌यो भने के त्‍यसका खुट्टा पोल्‍दैनन्‌ र? अर्काकी पत्‍नीसित सुत्‍ने त्‍यस्‍तै नै हुन्‍छ, तिनलाई छुने कुनै पनि मानिस दण्‍ड नपाई उम्‍कनेछैन। साह्रै भोक लागेको मानिसले आफ्‍नो भोक मार्न चोरी गर्‍यो भने, मानिसहरूले त्‍यसलाई घृणा गर्दैनन्‌। तापनि त्‍यो पक्राउ पर्‍यो भने त्‍यसले सात गुणा बढ़ी तिर्नैपर्ने हुन्‍छ, शायद त्‍यसले आफ्‍नो घरको सारा सम्‍पत्तिसम्‍म दिनुपर्नेछ। तर व्‍यभिचार गर्ने मानिस विनासमझको हुन्‍छ, यस्‍तो काम गर्नेले आफूमाथि बरबादी ल्‍याउँछ। त्‍यसले मुक्‍का र बेइज्‍जत पाउनेछ, र त्‍यसको अपमान कहिल्‍यै मेटिनेछैन, किनभने डाहले पतीको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्‍यसले बदला लिन्‍छ। त्‍यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन, जत्तिसुकै घूसले पनि त्‍यसलाई मनाउन सकिँदैन।

शेयर गर्नुहोस्
हितोपदेश 6 पढ्नुहोस्

हितोपदेश 6:27-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

के मानिसले आफ्नो काखमा आगो राख्यो भने उसको लुगा डढ्दैन र? के मानिस भुङ्ग्रोमाथि हिँड्यो भने त्यसका पाउहरू जल्दैन र? त्यसरी नै जो मानिस अर्काकी पत्नीसित सुत्छ, त्यसलाई छुने कोही पनि दण्ड नपाई उम्कनेछैन। भोकले मर्न लागेको चोरले आफ्नो भोक मेटाउनलाई चोरी गरेकोमा कसैले त्यसलाई तुच्छ ठान्दैन। तर यदि त्यो पक्राउ पर्‍यो भने त्यसले सात गुणा बढी तिर्नुपर्छ; चाहे त्यो उसको घरको सम्पूर्ण धन नै किन नहोस्। तर व्यभिचार गर्ने व्यक्तिसित विवेक हुँदैन; यसो गर्ने सबैले आफूलाई नष्‍ट गर्छन्। मुक्‍का र अपमान त्यसको भाग हुनेछ; र त्यसको अपमान कहिल्यै मेटिनेछैन। किनकि डाहले पतिको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्यसले बदला लिनेछ। त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन; त्यसले जतिसुकै ठूलो घूसलाई पनि अस्वीकार गर्नेछ।

शेयर गर्नुहोस्
हितोपदेश 6 पढ्नुहोस्

हितोपदेश 6:27-35 पवित्र बाइबल (NERV)

जल्दै गरेको आगो के एउटा मानिसले उसको काखमा राख्दा उसको लुगा चाँहि जल्दैन र? एउटा मानिस बल्दै गरेको कोइला माथि हिँड्न सक्छ, के उसको खुट्टा चाँहि जल्दैन र? के यस्तो हुन सक्छ? जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पक राख्छ। त्यस मानिसले दुःख भोग्ने छ। कुनै चोर भोकले चुर भएर यदि आफ्नो ज्यान बचाउनको निम्ति चोरी गर्यो भने, मानिसहरूले त्यसको त्यति निन्दा गर्दैनन। तर पनि त्यो मानिस चोर्दै गर्दा पक्राउ पर्यो भने उसले चोरी गरेको परिणाम भन्दा सात गुणा वेशी तिर्नु पर्छ, चाहे यसरी तिर्नु पर्दा उसको घरको सम्पूर्ण सम्पत्ति नै किन शेष नहोस्। तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ। उसले पिटाइ अनि बेइज्जत पाउँछ, अनि उसको नराम्रो नाम कहिले टाढा जाँदैन। त्यस पर-स्त्रीको लोग्ने ईर्ष्याले क्रोध जगाउँछ अनि जब उसले त्यस मानिसमाथि बदलाको भाव राख्छ तब उसको हृदयमा त्यो मानिसप्रति कहिल्यै दया जाग्दैन। त्यस स्त्रीको लोग्नेले कुनै प्रकारको क्षतिपूर्ति ग्रहण गर्दैन जति सुकै पैसादिएर पनि त्यसलाई मनाउन सकिँदैनँ।

शेयर गर्नुहोस्
हितोपदेश 6 पढ्नुहोस्

हितोपदेश 6:27-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

के तैँले लुगा नडढाईकन आफ्‍नो छातीमा आगो बोक्‍न सक्‍छस्? आगोको भुङ्ग्रोमा के तँ खुट्टा नजलाई हिँड्‍न सक्‍छस्? अर्काकी स्‍वास्‍नीसित सुत्‍नु त्‍यस्‍तै खतराको कुरा हो। जसले त्‍यसो गर्छ, त्‍यसले दु:ख भोग्‍नेछ। भोकाएर चोरले खानेकुरा चोरे, त्‍यसलाई कसैले तुच्‍छ ठान्‍दैनन्, तर त्‍यो चोरीमा पक्राउ परे, आफूसित भएका सबै थोक दिनुपरे पनि त्‍यसले सात गुणा फर्काउनुपर्छ। तर व्‍यभिचार गर्ने मानिस विवेकहीन मूर्ख हो! त्‍यसले आफ्‍नै नाश गर्छ। त्‍यसको बेइज्‍जत हुन्‍छ, त्‍यसले कुटाइ खान्‍छ, सधैँभरिको लागि त्‍यसको अपमान हुन्‍छ। लोग्‍नेलाई ईखले भरिएको बेलामा झैँ ज्‍यादा रिस अरू बेलामा उठ्दैन? त्‍यसलाई बदला लिन कुनै कुराले रोक्‍दैन। त्‍यसले पैसा लिंदैन, जतिकै उपहार दिए पनि त्‍यसको रिस थामिंदैन।

शेयर गर्नुहोस्
हितोपदेश 6 पढ्नुहोस्