हितोपदेश 6:20-35 - Compare All Versions
हितोपदेश 6:20-35 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरो छोरो, आफ्ना पिताका आज्ञाहरू पालन गर्, र आफ्नी आमाको अर्तीलाई नत्याग्। ती तेरो हृदयमा सधैँ राख्, तिनलाई तेरो घाँटीमा बाँधिराख्। तँ हिँड्दा तिनले तेरो अगुवाइ गर्नेछन्, तँ सुतेको बेला तिनले तेरो हेरचाह गर्नेछन्, तँ जागा छँदा तिनी तँसित बातचीत गर्नेछन्। किनभने ती आज्ञाहरू बत्ती, र अर्तीचाहिँ ज्योति हुन्, र अनुशासनको लागि गरिने हप्काइहरू जीवनका मार्ग हुन्, जसले तँलाई अनैतिक स्त्री, र लोभ्याउने कुरा गर्ने स्वेच्छाचारी पत्नीबाट जोगाउनेछन्। तेरो मनमा त्यसको सुन्दरताको कारण कुइच्छा नगर्, अथवा त्यसको आँखाले तँलाई नफसाओस्। किनकि वेश्याले तँलाई एउटा रोटीको टुक्रामा झारिदिनेछे। र व्यभिचारिणीले त तेरो जीवनसमेत शिकार तुल्याउनेछे। आफ्नो लुगा नडढ़ाईकन के कुनै मानिसले आफ्नो काखमा आगो राख्न सक्छ? जलिरहेका भुङ्ग्रामा कुनै मानिस हिँड्यो भने के त्यसका खुट्टा पोल्दैनन् र? अर्काकी पत्नीसित सुत्ने त्यस्तै नै हुन्छ, तिनलाई छुने कुनै पनि मानिस दण्ड नपाई उम्कनेछैन। साह्रै भोक लागेको मानिसले आफ्नो भोक मार्न चोरी गर्यो भने, मानिसहरूले त्यसलाई घृणा गर्दैनन्। तापनि त्यो पक्राउ पर्यो भने त्यसले सात गुणा बढ़ी तिर्नैपर्ने हुन्छ, शायद त्यसले आफ्नो घरको सारा सम्पत्तिसम्म दिनुपर्नेछ। तर व्यभिचार गर्ने मानिस विनासमझको हुन्छ, यस्तो काम गर्नेले आफूमाथि बरबादी ल्याउँछ। त्यसले मुक्का र बेइज्जत पाउनेछ, र त्यसको अपमान कहिल्यै मेटिनेछैन, किनभने डाहले पतीको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्यसले बदला लिन्छ। त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन, जत्तिसुकै घूसले पनि त्यसलाई मनाउन सकिँदैन।
हितोपदेश 6:20-35 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
ए मेरो छोरा, आफ्नो बुबाले भनेअनुसार गर् र आफ्नी आमाको अर्ती नबिर्सी। तिनीहरूका वचनहरू आफ्नो हृदयमा सधैँ साँचिराख्, तिनीहरूका अर्तीले तेरो यात्रामा तेरो अगुवाइ गर्नेछ, राती तेरो रक्षा गर्नेछ र दिउँसो सल्लाहको कुरा तँलाई बताउनेछ। तिनीहरूको अर्तीचाहिँ उज्यालो ज्योति हो, तिनीहरूको सुधारले तँलाई आफ्नो जीवन बिताउन सिकाउँछ। त्यसले तँलाई भ्रष्ट आइमाईहरू र अर्काका स्वास्नीहरूका पापमा फसाउने मीठो बोलीबाट टाढा राख्नेछ। तिनीहरूका सुन्दरताको लालसा नगर्, तिनीहरूका चञ्चल आँखाका हेराइले तँलाई नफसाओस्। मानिसले एउटा रोटीको मोल तिरेर वेश्याकहाँ जान्छ तर व्यभिचारीले त्यस मानिसको सम्पूर्ण जीवनलाई बरबाद पार्दछ। के तैँले लुगा नडढाईकन आफ्नो छातीमा आगो बोक्न सक्छस्? आगोको भुङ्ग्रोमा के तँ खुट्टा नजलाई हिँड्न सक्छस्? अर्काकी स्वास्नीसित सुत्नु त्यस्तै खतराको कुरा हो। जसले त्यसो गर्छ, त्यसले दु:ख भोग्नेछ। भोकाएर चोरले खानेकुरा चोरे, त्यसलाई कसैले तुच्छ ठान्दैनन्, तर त्यो चोरीमा पक्राउ परे, आफूसित भएका सबै थोक दिनुपरे पनि त्यसले सात गुणा फर्काउनुपर्छ। तर व्यभिचार गर्ने मानिस विवेकहीन मूर्ख हो! त्यसले आफ्नै नाश गर्छ। त्यसको बेइज्जत हुन्छ, त्यसले कुटाइ खान्छ, सधैँभरिको लागि त्यसको अपमान हुन्छ। लोग्नेलाई ईखले भरिएको बेलामा झैँ ज्यादा रिस अरू बेलामा उठ्दैन? त्यसलाई बदला लिन कुनै कुराले रोक्दैन। त्यसले पैसा लिंदैन, जतिकै उपहार दिए पनि त्यसको रिस थामिंदैन।
हितोपदेश 6:20-35 NERV (पवित्र बाइबल)
हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर। उनीहरूले भनेका वचनहरू सधैँ हृदयमा राख, तिनीहरूलाई तिम्रो गला वरिपरि बाँधेर राख। जब तिमी अगि बढ्ने छौ त्यति बेला ती वचनहरूले तिम्रो मार्गदर्शन गर्नेछ। जब तिमी सुत्छौ, तिनीहरूले तिम्रो रक्षा गर्नेछन् र जब तिमी जाग्छौ ती बचनहरू तिमीसित कुरा गर्नेछन्। किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँड्न तिमीलाई प्रशिक्षण दिनेछन्। तिनीहरूको शिक्षाले तिमीलाई अपवित्र आइमाईकहाँ जानु अवरोध पुर्याउनेछ अनि व्यभिचारी स्त्रीको चिप्ल्याईबाट बाँच्नेछौ। उसको सुन्दरताको इच्छा तिम्रो मनमा नगर अनि उसको आँखाको जादूमा बन्दी नबन। एउटी वेश्याले तिमीबाट एक टुक्रा रोटीको दाम लिनु सक्छे, तर अर्काकी पत्नीले तिम्रो जीवन नै ध्वंश गरिदिन्छे। जल्दै गरेको आगो के एउटा मानिसले उसको काखमा राख्दा उसको लुगा चाँहि जल्दैन र? एउटा मानिस बल्दै गरेको कोइला माथि हिँड्न सक्छ, के उसको खुट्टा चाँहि जल्दैन र? के यस्तो हुन सक्छ? जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पक राख्छ। त्यस मानिसले दुःख भोग्ने छ। कुनै चोर भोकले चुर भएर यदि आफ्नो ज्यान बचाउनको निम्ति चोरी गर्यो भने, मानिसहरूले त्यसको त्यति निन्दा गर्दैनन। तर पनि त्यो मानिस चोर्दै गर्दा पक्राउ पर्यो भने उसले चोरी गरेको परिणाम भन्दा सात गुणा वेशी तिर्नु पर्छ, चाहे यसरी तिर्नु पर्दा उसको घरको सम्पूर्ण सम्पत्ति नै किन शेष नहोस्। तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ। उसले पिटाइ अनि बेइज्जत पाउँछ, अनि उसको नराम्रो नाम कहिले टाढा जाँदैन। त्यस पर-स्त्रीको लोग्ने ईर्ष्याले क्रोध जगाउँछ अनि जब उसले त्यस मानिसमाथि बदलाको भाव राख्छ तब उसको हृदयमा त्यो मानिसप्रति कहिल्यै दया जाग्दैन। त्यस स्त्रीको लोग्नेले कुनै प्रकारको क्षतिपूर्ति ग्रहण गर्दैन जति सुकै पैसादिएर पनि त्यसलाई मनाउन सकिँदैनँ।
हितोपदेश 6:20-35 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरो छोरा, आफ्नो बुबाको आज्ञापालन गर; र आफ्नी आमाको शिक्षालाई नत्याग। त्यसलाई तिम्रो हृदयमा सधैँको लागि टाँसी राख, त्यसलाई तिम्रो गलामा बाँधिराख। जब तिमी हिँड्छौ, त्यसले तिमीलाई अगुवाइ गर्नेछ; जब तिमी निदाउँछौ, त्यसले तिम्रो सुरक्षा गर्नेछ; जब तिमी जाग्नेछौ, त्यसले तिमीलाई सल्लाह दिनेछ। किनकि यो आज्ञा एउटा बत्ती हो, र शिक्षाचाहिँ ज्योति हो; अनि अनुशासनको सुधार जीवनका मार्ग हुन्, जसले तिमीलाई चरित्रहीन स्त्रीबाट, स्वेच्छाचारी पत्नीको चिप्ले कुराबाट बचाउँछ। तिम्रो हृदयमा त्यसको सुन्दरताको चाहना नगर; त्यसका आँखाले तिमीलाई वशमा नपारोस्। किनकि वेश्याले तिमीलाई रोटी समान बनाउँछे, तर अर्काकी पत्नीले झन् तिम्रो जीवनलाई नै शिकार बनाउँछे। के मानिसले आफ्नो काखमा आगो राख्यो भने उसको लुगा डढ्दैन र? के मानिस भुङ्ग्रोमाथि हिँड्यो भने त्यसका पाउहरू जल्दैन र? त्यसरी नै जो मानिस अर्काकी पत्नीसित सुत्छ, त्यसलाई छुने कोही पनि दण्ड नपाई उम्कनेछैन। भोकले मर्न लागेको चोरले आफ्नो भोक मेटाउनलाई चोरी गरेकोमा कसैले त्यसलाई तुच्छ ठान्दैन। तर यदि त्यो पक्राउ पर्यो भने त्यसले सात गुणा बढी तिर्नुपर्छ; चाहे त्यो उसको घरको सम्पूर्ण धन नै किन नहोस्। तर व्यभिचार गर्ने व्यक्तिसित विवेक हुँदैन; यसो गर्ने सबैले आफूलाई नष्ट गर्छन्। मुक्का र अपमान त्यसको भाग हुनेछ; र त्यसको अपमान कहिल्यै मेटिनेछैन। किनकि डाहले पतिको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्यसले बदला लिनेछ। त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन; त्यसले जतिसुकै ठूलो घूसलाई पनि अस्वीकार गर्नेछ।