हितोपदेश 6:1-35
हितोपदेश 6:1-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरो छोरा, यदि तँ आफ्नो छिमेकीको जमानी बसेको छस् वा कसैसँग करार बाँधेको छस् भने, यदि आफ्नो प्रतिज्ञाको वचनले तँ फसिस्, र आफ्नै मुखको वचनले पासोमा परिस् भने, तब, हे मेरो छोरा, आफूलाई जोगाउन मैले भनेजस्तो गर्, किनकि तँ आफ्नो छिमेकीको पन्जामा परेको छस्: आफूलाई नम्र तुल्याएर झट्टै जा, र छिमेकीसँग खुरन्धार बिन्ती गर्! आँखामा निद्रा पर्न नदे, र पटल बन्द हुन नदे। शिकारीको हातबाट हरिण उम्केझैँ, व्याधाको पासोबाट चरा फुत्केझैँ तैंले आफूलाई मुक्त गर्। ए अल्छे, कमिलाकहाँ गएर त्यसको चाल-ढङ्ग हेर् र बुद्धिमानी बन्! त्यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन, तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ र कटनीको समयमा आफ्नो खानेकुरो सञ्चय गर्छ। ए अल्छे, तँ कहिलेसम्म सुतिरहन्छस्? तँ कहिले आफ्नो निद्राबाट जाग्छस्? क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्नेछ। बदमाश र दुष्ट मानिस त्यही हो जो भ्रष्ट कुराकानी गरिहिँड्छ, जसले आँखा झिम्क्याउँछ, र खुट्टा र औँलाले इशारा गर्दछ। आफ्नो छली हृदयमा त्यसले दुष्ट कुरा रच्दछ। त्यसले सधैँ विवाद उत्पन्न गराउँछ। त्यसैले त्यसमाथि अचानक विपत्ति आइलाग्नेछ, उपायविना नै त्यो एक्कासि नष्ट हुनेछ। छ वटा कुराहरू छन्, जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ, सातौँचाहिँ जो उहाँको दृष्टिमा घृणित छन्: अहङ्कारी आँखा, झूट बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात, दुष्ट योजनाहरू रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाइला, असत्य बोल्ने झूटो साक्षी, र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस। हे मेरो छोरो, आफ्ना पिताका आज्ञाहरू पालन गर्, र आफ्नी आमाको अर्तीलाई नत्याग्। ती तेरो हृदयमा सधैँ राख्, तिनलाई तेरो घाँटीमा बाँधिराख्। तँ हिँड्दा तिनले तेरो अगुवाइ गर्नेछन्, तँ सुतेको बेला तिनले तेरो हेरचाह गर्नेछन्, तँ जागा छँदा तिनी तँसित बातचीत गर्नेछन्। किनभने ती आज्ञाहरू बत्ती, र अर्तीचाहिँ ज्योति हुन्, र अनुशासनको लागि गरिने हप्काइहरू जीवनका मार्ग हुन्, जसले तँलाई अनैतिक स्त्री, र लोभ्याउने कुरा गर्ने स्वेच्छाचारी पत्नीबाट जोगाउनेछन्। तेरो मनमा त्यसको सुन्दरताको कारण कुइच्छा नगर्, अथवा त्यसको आँखाले तँलाई नफसाओस्। किनकि वेश्याले तँलाई एउटा रोटीको टुक्रामा झारिदिनेछे। र व्यभिचारिणीले त तेरो जीवनसमेत शिकार तुल्याउनेछे। आफ्नो लुगा नडढ़ाईकन के कुनै मानिसले आफ्नो काखमा आगो राख्न सक्छ? जलिरहेका भुङ्ग्रामा कुनै मानिस हिँड्यो भने के त्यसका खुट्टा पोल्दैनन् र? अर्काकी पत्नीसित सुत्ने त्यस्तै नै हुन्छ, तिनलाई छुने कुनै पनि मानिस दण्ड नपाई उम्कनेछैन। साह्रै भोक लागेको मानिसले आफ्नो भोक मार्न चोरी गर्यो भने, मानिसहरूले त्यसलाई घृणा गर्दैनन्। तापनि त्यो पक्राउ पर्यो भने त्यसले सात गुणा बढ़ी तिर्नैपर्ने हुन्छ, शायद त्यसले आफ्नो घरको सारा सम्पत्तिसम्म दिनुपर्नेछ। तर व्यभिचार गर्ने मानिस विनासमझको हुन्छ, यस्तो काम गर्नेले आफूमाथि बरबादी ल्याउँछ। त्यसले मुक्का र बेइज्जत पाउनेछ, र त्यसको अपमान कहिल्यै मेटिनेछैन, किनभने डाहले पतीको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्यसले बदला लिन्छ। त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन, जत्तिसुकै घूसले पनि त्यसलाई मनाउन सकिँदैन।
हितोपदेश 6:1-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरो छोराछोरी, यदि तिमी आफ्नो छिमेकीका जमानी बसेका छौ भने, वा पराईसँग वाचा बाँधेका छौ भने, यदि आफूले बोलेको कुरामा तिमी फसेको छौ भने, र आफ्नै मुखको वचनले पासोमा फस्यौ भने, हे मेरो छोराछोरी, तिमी आफ्नो छिमेकीको पन्जामा परेको हुनाले; आफूलाई मुक्त पार्न यसो गर: जाऊ र आफूलाई नम्र पार, र छिमेकीसँग खुरन्धार बिन्ती गर। तिम्रा आँखाहरूलाई सुत्न नदेऊ, र तिम्रा आँखाको पलकलाई निदाउन नदेऊ। शिकारीको हातबाट हरिण उम्केजस्तै, व्याधाको हातबाट चरा फुत्केजस्तै तिमीले आफूलाई मुक्त गर। ए अल्छे, कमिलाकहाँ गएर त्यसको चालढङ्ग हेर्, र बुद्धिमानी बन्! त्यसको कोही सेनापति हुँदैन, न त रेखदेख गर्ने शासक नै हुन्छ, तरै पनि त्यसले ग्रीष्म ऋतुमा अन्नको भण्डार तयार गर्छ, र कटनीको समयमा आफ्नो खानेकुरा जम्मा गर्छ। ए अल्छे, कहिलेसम्म तँ त्यहाँ ढल्किरहन्छस्? तँ आफ्नो निद्राबाट कहिले जाग्छस्? एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले, तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ। दुष्ट र उपद्रवी मानिस, जो भ्रष्ट मुख लिएर यताउति गर्दै हिँड्छ, जसले आँखा झिम्काउँछ, आफ्ना खुट्टाले इसारा गर्छ; र औँलाले चलाउँछ, आफ्नो छली हृदयमा त्यसले दुष्ट कुरा रच्दछ। त्यसले सधैँ विवाद उत्पन्न गराउँछ। यसकारण विपत्ति त्यसमाथि अचानक आइलाग्नेछ; त्यो अचानक उपायविना नै नष्ट हुनेछ। यी छ वटा कुराहरू याहवेहले घृणा गर्नुहुन्छ, सात वटा कुराहरू उहाँमा तुच्छ छन्: अहङ्कारी आँखा, झूटो बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात, दुष्ट युक्ति रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाउहरू, असत्य थुपार्ने झूटो साक्षी र समुदायको बीचमा कलह उठाउने मानिस। हे मेरो छोरा, आफ्नो बुबाको आज्ञापालन गर; र आफ्नी आमाको शिक्षालाई नत्याग। त्यसलाई तिम्रो हृदयमा सधैँको लागि टाँसी राख, त्यसलाई तिम्रो गलामा बाँधिराख। जब तिमी हिँड्छौ, त्यसले तिमीलाई अगुवाइ गर्नेछ; जब तिमी निदाउँछौ, त्यसले तिम्रो सुरक्षा गर्नेछ; जब तिमी जाग्नेछौ, त्यसले तिमीलाई सल्लाह दिनेछ। किनकि यो आज्ञा एउटा बत्ती हो, र शिक्षाचाहिँ ज्योति हो; अनि अनुशासनको सुधार जीवनका मार्ग हुन्, जसले तिमीलाई चरित्रहीन स्त्रीबाट, स्वेच्छाचारी पत्नीको चिप्ले कुराबाट बचाउँछ। तिम्रो हृदयमा त्यसको सुन्दरताको चाहना नगर; त्यसका आँखाले तिमीलाई वशमा नपारोस्। किनकि वेश्याले तिमीलाई रोटी समान बनाउँछे, तर अर्काकी पत्नीले झन् तिम्रो जीवनलाई नै शिकार बनाउँछे। के मानिसले आफ्नो काखमा आगो राख्यो भने उसको लुगा डढ्दैन र? के मानिस भुङ्ग्रोमाथि हिँड्यो भने त्यसका पाउहरू जल्दैन र? त्यसरी नै जो मानिस अर्काकी पत्नीसित सुत्छ, त्यसलाई छुने कोही पनि दण्ड नपाई उम्कनेछैन। भोकले मर्न लागेको चोरले आफ्नो भोक मेटाउनलाई चोरी गरेकोमा कसैले त्यसलाई तुच्छ ठान्दैन। तर यदि त्यो पक्राउ पर्यो भने त्यसले सात गुणा बढी तिर्नुपर्छ; चाहे त्यो उसको घरको सम्पूर्ण धन नै किन नहोस्। तर व्यभिचार गर्ने व्यक्तिसित विवेक हुँदैन; यसो गर्ने सबैले आफूलाई नष्ट गर्छन्। मुक्का र अपमान त्यसको भाग हुनेछ; र त्यसको अपमान कहिल्यै मेटिनेछैन। किनकि डाहले पतिको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्यसले बदला लिनेछ। त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन; त्यसले जतिसुकै ठूलो घूसलाई पनि अस्वीकार गर्नेछ।
हितोपदेश 6:1-35 पवित्र बाइबल (NERV)
हे मेरो छोरो! यदि तिमी छिमेकीको ऋणको लागि जमानी बसेको भए अथवा त्यसले आफ्नो ऋण तिर्न नसकेकोमा आफूले तिर्ने वचन दिएको भए, तिमी तब जालमा फँस्यौ, तिमी आफ्नै प्रतिज्ञामा आफैं पक्राउ पर्यौ। तिमी तिम्रै छिमेकीको नियन्त्रणमा पर्यौ, यसकारण फेरि पनि जाऊ अनि तिम्रो छिमेकिसँग क्षमा माग। अलिकति समय पनि नपर्ख अथवा नसुत। मृग एउटा सिकारीबाट भागे झैं अथवा त्यो एउटा चरा जालबाट उम्के झैं तिमी आफैंलाई रक्षा गर। हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक। कमिलाहरूका कुनै सेनाध्यक्ष, पदाधिकारी या शासक हुँदैन। तर ग्रीष्म ऋतुमा कमिलाले आफ्नो निम्ति खाना बटुल्छ, खाना जम्मा गरेर राख्छ र कटनीको समयमा त्यसको निम्ति प्रशस्त खाना रहन्छ। हे अल्छी मानिसहरू हो! कहिले सम्म पल्टि रहन्छौ? कहिले तिमीहरू आफ्नो निन्द्राबाट उठ्छौ। अल्छे मानिसले भन्छ, “केही क्षणको निम्ति अझ सुतौं। हामी एक छिन सुतौं, हाम्रा हातहरूलाई केही क्षण आराम दिऊँ।” अनि उसकोमा गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ। एक दुष्ट अनि नीच मानिस जहाँ गएता पनि झूटो बोल्छ अनि उसले मानिसहरूलाई छक्याउनँ आँखा झिम्क्याउँछ खुट्टा हल्लाएर तथा हातको औलाद्वारा इशारा गर्छ। उसको विचार छलपूर्ण हुन्छ, उसले खराब योजनाहरू बनाउँछ, उसले सबै समयमा तर्क गर्छ। तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन। परमेश्वरले सातवटा कुराहरूलाई घृणा गर्नुहुन्छ,: आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ, जिब्राहरू जसले झूटो बोल्छ, हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ, हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन् गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्। त्यो मानिस जसले अदालतमा झूटो बोल्छ। त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा़़ लगाउँछ। हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर। उनीहरूले भनेका वचनहरू सधैँ हृदयमा राख, तिनीहरूलाई तिम्रो गला वरिपरि बाँधेर राख। जब तिमी अगि बढ्ने छौ त्यति बेला ती वचनहरूले तिम्रो मार्गदर्शन गर्नेछ। जब तिमी सुत्छौ, तिनीहरूले तिम्रो रक्षा गर्नेछन् र जब तिमी जाग्छौ ती बचनहरू तिमीसित कुरा गर्नेछन्। किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँड्न तिमीलाई प्रशिक्षण दिनेछन्। तिनीहरूको शिक्षाले तिमीलाई अपवित्र आइमाईकहाँ जानु अवरोध पुर्याउनेछ अनि व्यभिचारी स्त्रीको चिप्ल्याईबाट बाँच्नेछौ। उसको सुन्दरताको इच्छा तिम्रो मनमा नगर अनि उसको आँखाको जादूमा बन्दी नबन। एउटी वेश्याले तिमीबाट एक टुक्रा रोटीको दाम लिनु सक्छे, तर अर्काकी पत्नीले तिम्रो जीवन नै ध्वंश गरिदिन्छे। जल्दै गरेको आगो के एउटा मानिसले उसको काखमा राख्दा उसको लुगा चाँहि जल्दैन र? एउटा मानिस बल्दै गरेको कोइला माथि हिँड्न सक्छ, के उसको खुट्टा चाँहि जल्दैन र? के यस्तो हुन सक्छ? जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पक राख्छ। त्यस मानिसले दुःख भोग्ने छ। कुनै चोर भोकले चुर भएर यदि आफ्नो ज्यान बचाउनको निम्ति चोरी गर्यो भने, मानिसहरूले त्यसको त्यति निन्दा गर्दैनन। तर पनि त्यो मानिस चोर्दै गर्दा पक्राउ पर्यो भने उसले चोरी गरेको परिणाम भन्दा सात गुणा वेशी तिर्नु पर्छ, चाहे यसरी तिर्नु पर्दा उसको घरको सम्पूर्ण सम्पत्ति नै किन शेष नहोस्। तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ। उसले पिटाइ अनि बेइज्जत पाउँछ, अनि उसको नराम्रो नाम कहिले टाढा जाँदैन। त्यस पर-स्त्रीको लोग्ने ईर्ष्याले क्रोध जगाउँछ अनि जब उसले त्यस मानिसमाथि बदलाको भाव राख्छ तब उसको हृदयमा त्यो मानिसप्रति कहिल्यै दया जाग्दैन। त्यस स्त्रीको लोग्नेले कुनै प्रकारको क्षतिपूर्ति ग्रहण गर्दैन जति सुकै पैसादिएर पनि त्यसलाई मनाउन सकिँदैनँ।
हितोपदेश 6:1-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ए मेरो छोरो, के तँ कसैको ऋणको जमानी बसेको छस्? के तँ आफ्नै बोलीले पक्राउ परेको छस्? के आफूले दिएको वचनको पासोमा आफैं परेको छस्? त्यसो भए, ए मेरो छोरो, तँ त्यस मानिसको हातमा परेको छस्? अब उम्कने यही उपाय छ– झट्टै त्यसकहाँ जा र आफूलाई छोडिदिनुहोस् भनी त्यसलाई बिन्ती गर्। आँखामा निद्रा आउन नदे, एकछिन पनि विश्राम नगर्, चरा पासोबाट फुत्केझैँ वा शिकारीका हातबाट हरिण उम्केझैँ तँ त्यसबाट निस्किहाल्। हे अल्छी मानिस! कमिलाका चाल-ढङ्गबाट पाठ सिक्। तिनीहरूका कुनै अगुवा, मुखिया वा शासक हुँदैन, तर ग्रीष्म ऋतुमा तिनीहरूले आफ्ना खाना बटुल्दछन् र जाडोको समयको लागि भण्डार तयारी गर्छन्। अल्छी मानिस कहिलेसम्म ओछ्यानमा लडिरहने हो? त्यो कहिले उठ्ने हो? त्यसले भन्छ, “म एकैछिन सुत्नेछु। एकैछिन हात बाँधेर विश्राम गर्नेछु।” तर त्यो सुतेको बेला हातमा हतियार लिएको डाकाझैँ दरिद्रता त्यसमाथि आइलाग्नेछ। बेकामका र दुष्ट मानिसहरू झूटो कुरा गर्दै घुमिहिँड्छन्। तिनीहरूले आँखा झिम्क्याउँछन् र छल्ने इशारा गर्छन् र सबै समय आफ्ना दुष्ट मनमा जालका कुरा रचिरहेका हुन्छन् र झगडा निकाल्छन्। त्यसले गर्दा चालै नपाई विपत्ति तिनीहरूमाथि आइलाग्नेछ र तिनीहरू घाइते भई मर्नेछन्। सात वटा कुरालाई परमप्रभुले घृणा गर्नुहुन्छ र सहन सक्नुहुन्न: अहङ्कारी आँखा, झूटो बोल्ने जिब्रो, निर्दोषको हत्या गर्ने हात, दुष्ट जाल रच्ने मन, दुष्ट काम गर्न हतार गर्ने खुट्टा, झूटै-झूट बोल्ने गवाह र मित्रहरूका बीचमा झगडा लाउने मानिस। ए मेरो छोरा, आफ्नो बुबाले भनेअनुसार गर् र आफ्नी आमाको अर्ती नबिर्सी। तिनीहरूका वचनहरू आफ्नो हृदयमा सधैँ साँचिराख्, तिनीहरूका अर्तीले तेरो यात्रामा तेरो अगुवाइ गर्नेछ, राती तेरो रक्षा गर्नेछ र दिउँसो सल्लाहको कुरा तँलाई बताउनेछ। तिनीहरूको अर्तीचाहिँ उज्यालो ज्योति हो, तिनीहरूको सुधारले तँलाई आफ्नो जीवन बिताउन सिकाउँछ। त्यसले तँलाई भ्रष्ट आइमाईहरू र अर्काका स्वास्नीहरूका पापमा फसाउने मीठो बोलीबाट टाढा राख्नेछ। तिनीहरूका सुन्दरताको लालसा नगर्, तिनीहरूका चञ्चल आँखाका हेराइले तँलाई नफसाओस्। मानिसले एउटा रोटीको मोल तिरेर वेश्याकहाँ जान्छ तर व्यभिचारीले त्यस मानिसको सम्पूर्ण जीवनलाई बरबाद पार्दछ। के तैँले लुगा नडढाईकन आफ्नो छातीमा आगो बोक्न सक्छस्? आगोको भुङ्ग्रोमा के तँ खुट्टा नजलाई हिँड्न सक्छस्? अर्काकी स्वास्नीसित सुत्नु त्यस्तै खतराको कुरा हो। जसले त्यसो गर्छ, त्यसले दु:ख भोग्नेछ। भोकाएर चोरले खानेकुरा चोरे, त्यसलाई कसैले तुच्छ ठान्दैनन्, तर त्यो चोरीमा पक्राउ परे, आफूसित भएका सबै थोक दिनुपरे पनि त्यसले सात गुणा फर्काउनुपर्छ। तर व्यभिचार गर्ने मानिस विवेकहीन मूर्ख हो! त्यसले आफ्नै नाश गर्छ। त्यसको बेइज्जत हुन्छ, त्यसले कुटाइ खान्छ, सधैँभरिको लागि त्यसको अपमान हुन्छ। लोग्नेलाई ईखले भरिएको बेलामा झैँ ज्यादा रिस अरू बेलामा उठ्दैन? त्यसलाई बदला लिन कुनै कुराले रोक्दैन। त्यसले पैसा लिंदैन, जतिकै उपहार दिए पनि त्यसको रिस थामिंदैन।