हितोपदेश 4:23-27
हितोपदेश 4:23-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सबै कुराभन्दा बढी, आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो। कुवाक्य तेरो मुखबाट परै रहोस्, भ्रष्ट कुराकानी तेरो ओठदेखि टाढ़ै रहोस्। तेरो आँखाले तेरो अगि सीधा हेरोस्, तेरो अगिल्तिर सोझै एक टक लाएर हेरोस्। तैंले पाइला चाल्नलाई नैतिकताको मार्ग तयार गर्। र ती मार्गहरू मात्रै रोज् जुन निश्चित छन्। दाहिने देब्रेतिर नलाग्, सबै दुष्ट कुराबाट आफ्ना खुट्टा अलग राख्।
हितोपदेश 4:23-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख; किनकि यो नै सारा जीवनको मूल हो। तिम्रो मुखबाट भ्रष्टता टाढै रहोस्, भ्रष्ट कुराकानी तिम्रो ओठदेखि टाढै रहोस्। तिम्रा आँखाले सीधा अगिल्तिर हेरोस्, तिम्रो अगिल्तिर सोझै एक टक लगाएर हेरोस्। तिम्रा खुट्टाहरूका निम्ति समतल मार्ग बनाऊ, र आफ्ना सबै मार्गहरूमा दृढ होऊ! दाहिने अथवा देब्रेतिर नलाग; सबै दुष्ट कुराबाट आफ्ना खुट्टाहरू अलग राख!
हितोपदेश 4:23-27 पवित्र बाइबल (NERV)
सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो। तिम्रो मुखबाट मिथ्यापूर्ण शब्दहरू निस्कन नदेऊ झूटो नबोल। तिम्रा आँखाहरू अघि सधैँ मार्ग सोझो रहोस् र आँखाको पलकले सधैँ अघि नै ताकिरहेको होस्। तिमी हिँडेको मार्गलाई राम्ररी हेर अनि तिमीले गरेका सबै कुरामा सुरक्षित हुनेछौ। दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।
हितोपदेश 4:23-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफ्ना सोचबारे होशियार बस्, तेरो सोचअनुसार तेरो जीवन बन्दछ। कहिले झूटा नबोल्, झूटा र छल-कपटका कुराहरूबाट अलग बस्। इमानदारी र विश्वासका साथ आफ्नो अघि सीधा हेर्, लाजले तेरो शिर निहुरिन नपरोस्। आफूले गर्ने कामको योजना होशियारीसाथ बना र तँ जे गर्छस्, त्यो ठीक हुनेछ। खराबीदेखि अलग बस्, सीधा अघि हिँड्। एक कदम दायाँ वा बायाँ नचाल्।