हितोपदेश 30:10-33

हितोपदेश 30:10-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“मालिकको सामु त्‍यसका नोकरको निन्‍दा नगर्, नत्रता त्‍यसले तँलाई सराप्‍नेछ, र तैंले यसको मूल्‍य चुकाउनुपर्नेछ। “यस्‍ताहरू पनि हुन्‍छन्‌ जुनहरू आफ्‍ना बुबालाई सराप्‍छन्, र आफ्‍ना आमाहरूलाई धन्‍यका ठान्‍दैनन्, तिनीहरू जो आफ्‍नै दृष्‍टिमा शुद्ध हुन्‍छन्‌ तर आफ्‍नै फोहोरबाट तिनीहरू सफा भएका हुँदैनन्, तिनीहरू जसका आँखाहरू अति घमण्‍डी हुन्‍छन्, जसको हेराइ अति घृणायुक्त हुन्‍छ, तिनीहरू जसका दाँत तरवारहरू हुन्‌ र जसका बङ्गारा छुरा समान हुन्‍छन्‌। “जूकाका दुई छोरीहरू छन्‌। ‘देऊ! देऊ!’ भन्‍दै तिनीहरू चिच्‍च्‍याउँछन्‌। “तीन कुरा छन्‌ जो कहिल्‍यै सन्‍तुष्‍ट हुँदैनन्, चार वटा जसले ‘पुग्‍यो’ कहिल्‍यै भन्‍दैनन्‌: चिहान र बाँझी गर्भ, र जमिन, जो पानीले कहिल्‍यै अघाउँदैन, र आगो, जसले ‘पुग्‍यो’ कहिल्‍यै भन्‍दैन। “त्‍यो आँखा जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई घृणा गर्छ, त्‍यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्‍नेछन्, र गिद्धहरूले खानेछन्‌। “तीन वटा कुराहरू छन्, जो मेरो निम्‍ति साह्रै अचम्‍मका छन्, चार वटा जो म बुझ्‍नै सक्‍दिनँ: आकाशमा गरुडको चाल, चट्टानमाथि सर्पको चाल, महासमुद्रमा जहाजको चाल, र तरुणीसँग पुरुषको चाल। “व्‍यभिचारिणीको चाल यस्‍तो हुन्‍छ: त्‍यसले खान्‍छे र आफ्‍नो मुख पुछ्‌छे, र त्‍यसपछि भन्‍छे, ‘मैले केही गल्‍ती गरेकै छैनँ।’ “तीन वटा कुराबाट पृथ्‍वी काम्‍छ, चार वटा कुरा जुन त्‍यसले खप्‍नै सक्‍दैन: चाकर राजा भएको, मूर्ख टन्‍न अघाएको, माया नपाएकी स्‍त्रीले विवाह गरेकी, चाकर्नी जो आफ्‍नी मालिक्‍नीलाई पन्‍छाएर तिनको ठाउँमा बस्‍छे। “पृथ्‍वीमा चार वटा कुराहरू साना छन्, तापनि तिनीहरू अत्‍यन्‍तै बुद्धिमान्‌ हुन्‍छन्‌: कमिला थोरै बल भएका प्राणी हुन्‌ तापनि ग्रीष्‍म ऋतुमा नै तिनीहरू आफ्‍नो भोजन सञ्‍चय गर्छन्, शापन थोरै शक्ति भएका प्राणी हुन्‌ तापनि पहरामा तिनीहरू आफ्‍नो घर बनाउँछन्, सलहका राजा हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अगि बढ्‌छन्, छेपारालाई हातले पक्रन सकिन्‍छ तापनि राजाको महलमा यो पाइन्‍छ। “तीन वटा कुरा छन्‌ जो आफ्‍नो हिँड़ाइमा रवाफिला हुन्‍छन्, चार जुन शानसँग यताउता हिँड्‌छन्‌: सिंह पशुहरूमध्‍ये बलिष्‍ठ हुन्‍छ, जो कुनै कुराअगि हच्‍कँदैन, शानदार हिँड्‌ने कुखुराको भाले, र बोका, अनि सेना आफ्‍नो वरिपरि राखेर हिँड्‌ने राजा। “यदि तैंले मूर्ख चाल चलेर आफैलाई फुर्काइस्‌ भने, वा तैंले खराबीको योजना गरेको छस्‌ भने, तेरो मुखमा हात राखिहाल्‌! किनभने दूध मथेर घिउ निस्‍कन्‍छ, र नाक माड्‍यो भने जसरी रगत निस्‍कन्‍छ, त्‍यसरी नै रीस उठाउनाले झगड़ा उत्‍पन्‍न हुन्‍छ।”

शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्

हितोपदेश 30:10-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“कर्मचारीलाई त्यसको मालिकको सामु अपमान नगर्नू; नत्रता त्यसले तिमीलाई सराप्ला र तिमीले नोक्सानी उठाउनुपर्नेछ। “यस्ताहरू पनि हुन्छन्, जसले आफ्ना बुबाहरूलाई सराप्छन्; र आफ्ना आमाहरूलाई धन्यका ठान्दैनन्। तिनीहरू, जो आफ्नै दृष्‍टिमा शुद्ध छन्, र पनि आफ्ना अपवित्रताबाट चोख्याइएका छैनन्। तिनीहरू, जसका आँखाहरू अति अहङ्कारी छन्! जसका आँखीभौँ घमण्डले उठेका छन्, तिनीहरू, जसका दाँतहरू तरवारहरू हुन्, र जसका बङ्गाराहरू छुरीजस्तै छन्, जसले गरिबलाई पृथ्वीबाट र खाँचोमा परेकाहरूलाई मानव-जातिका माझमा निल्छन्। “जुकाका दुई छोरीहरू छन्। तिनीहरू ‘देऊ! देऊ!’ भनी कराउँछन्। “तीन वटा कुराहरू छन्, जो कहिल्यै तृप्‍त हुँदैनन्; चार वटा कुराहरू छन्, जो कहिल्यै पुग्यो भन्दैनन्! चिहान, बाँझो गर्भ; जमिन, जो कहिल्यै पानीदेखि तृप्‍त हुँदैन, र आगो, जसले कहिल्यै ‘पुग्यो!’ भनी भन्दैन। “त्यो आँखा, जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई तुच्छ ठान्छ, त्यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्, र गिद्धहरूले खानेछन्। “तीन वटा कुराहरू छन्, जो मेरा निम्ति धेरै अचम्मका छन्; चार वटा, जो म बुझ्दिनँ: आकाशमा गरुडको चाल; चट्टानमाथि सर्पको चाल, महासमुद्रमा जहाजको चाल; र स्त्रीसँग पुरुषको चाल। “व्यभिचारिणी स्त्रीको चाल यस्तो हुन्छ: त्यसले खान्छे र आफ्नो मुख पुछ्छे, अनि त्यसपछि भन्छे, ‘मैले केही कुकर्म गरेकी छैनँ।’ “तीन वटा कुराहरूमा पृथ्वी काम्छ; चार वटा कुराहरू, जो त्यसले सहन सक्दैन: नोकर, जब राजा बन्छ, मूर्खले पेटभरि भोजन खाएको, माया नपाएकी स्त्रीले विवाह गरेकी, र नोकर्नी, जो आफ्नी मालिक्नीलाई पन्छाएर तिनको स्थानमा बस्छे। “पृथ्वीमा चार वटा कुराहरू साना छन्, तापनि तिनीहरू अति बुद्धिमान् छन्: कमिलाहरू, जो थोरै बल भएका प्राणी हुन्, तापनि तिनीहरूले ग्रीष्म ऋतुमा नै आफ्नो भोजनको सञ्चय गर्छन्, भिर खरायोहरू थोरै बल भएका प्राणी हुन्, तापनि तिनीहरूले आफ्ना घर पहराहरूमा नै बनाउँछन्, सलहहरूका राजा हुँदैनन्, तापनि तिनीहरू लहरै हुल बाँधेर अगि बढ्छन्। माउसुली, जसलाई हातले समात्न सक्छौँ, तापनि त्यो राजाको महलहरूमा पाइन्छ। “तीन वटा कुरा छन्, जसका हिँडाइ रवाफिला छन्; चार वटा कुरा छन्, जो शानसँग यताउता हिँड्छन्: सिंह, जो पशुहरूमध्ये बलवान् हुन्छ, जो कसैदेखि पछि हट्दैन, रवाफसित हिँड्ने भाले, बोको; अनि आफ्नो वरिपरि सेना राखेर हिँड्ने राजा। “तिमी मूर्ख भएर आफूलाई उच्‍च पार्‍यौ भने, अथवा तिमीले दुष्‍ट युक्ति रच्यौ भने, तिम्रो मुखमाथि हात राख! किनकि दूध मन्थन गरेर घिउ निस्केजस्तै, र नाक बटार्दा रगत निस्केजस्तै, रिसलाई चलाउँदा झगडा उत्पन्‍न हुन्छ।”

शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्

हितोपदेश 30:10-33 पवित्र बाइबल (NERV)

मालिकको अघि उसको नोकरको विरोधमा नबोल। यदि तिमीले त्यो गर्यौ भने, उसले तिमीलाई सराप्ने छ अनि तिमीलाई दोषी बनाउनेछ। कति मानिसहरूले आफ्नो बाबुको विरोधमा कुरा गर्छन् अनि आफ्नी आमा प्रति कुनै आदर गर्दैनन्। केहि मानिसहरू आफैंलाई शुद्ध सम्झिन्छन् तर वास्तवमा तिनीहरू आफ्नो फोहोरबाट सफा भएका हुदैनन्। केहि मानिसहरू घमण्डी हुन्छन् अनि तिनीहरूले आफूलाई अरू मानिसहरू भन्दा उत्तम सोच्छन्। मानिसहरू यस्ता पनि हुन्छन् जसका दाँत तरवार र बङ्गारा छुरी जस्ता हुन्छन्। तिनीहरू यी चीजले गरीब मानिसहरूबाट तिनीहरूको प्रत्येक चीज लिन्छन्। जूकाका दुइ जना छोरीहरू छन् अनि तिनीहरू “अझै देऊ, अझै देऊ” मात्र भन्छन्। तीनओटा यस्ता वस्तुहरू छन् जो कहिल्यै तृप्त हुदैनन्। चौथोले कदापि प्रयाप्त भयो भन्दैन। चिहान, बाँझी गर्भ र भूमि, पानीले कहिल्यै तृप्त हुदैनन् अनि आगोले “अब पुग्यो कहिल्यै भन्दैन।” जुन आँखाले आफ्नै बाबुलाई खिसी गर्छ, आफ्नी आमाको आज्ञालाई घृणा गर्छ, बेंसीको कागले त्यसलाई ठुंङ्गछ अनि गिद्धले मासु खान्छ। तीनओटा कुराहरू मलाई अचम्म लाग्छ अनि चौथो कुरा त म बुझ्दिनँ। आकाशमा उड्ने गरूड़को चाल, चट्टानमा घस्रने सर्पको चाल, समुद्रमा चल्ने जहाजको चाल र एक तरूणी कन्याको प्रेम पासोमा बाँधिएको पुरूषको चाल। यसप्रकार कि एउटी आइमाईले व्यभिचार गर्छे, उसले खान्छे, मुख पुस्छे र भन्छे, “मैले केही पनि खराब काम गरेकी छैन।” यी तीन कुराहरू यस्ता छन् जसले पृथ्वीलाई कमाउँछन् अनि चौथो यस्तो चिज हो जो पृथ्वीले यसलाई खप्न सक्दैन। एकजना कमारा जो राजा हुन्छ अनि एकजना मूर्ख जो खाएर टन्न अघाउँछ। माया नपाएकि आइमाई जसले विवाह गर्छे अनि एउटी केटी जसले आफ्नो मालिक्नीको ठाउँ लिन्छे। पृथ्वीका प्राणीहरू बीचमा यी चारओटा प्राणीहरू सबै भन्दा साना छन्, तर तिनीहरू ज्ञानी मानिसहरू भन्दा बुद्धिमान् छन्। कमिलाहरूको एक्दमै बलियो समुदाय हुँदैन तर तिनीहरूले ग्रीष्म ऋतुमा हिउँदको भोजन संचय गर्छन्। पहराको न्याउरी मुसाको समुदाय शक्तिशाली हुँदैन तापनि चट्टानमा तिनीहरू आफ्नो घर बनाउँछन्। सलहको कोही नेता हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अघि बढ्छन। अनि छेपारो जसलाई हातले सजिलै समात्न सकिन्छ त्यो राजमहलहरूमा पनि बस्छ। तीनओटा प्राणीहरू आकर्षक ढङ्गले हिँड्छन् अनि वास्तवमा चारवोटा प्राणी मर्यादित भएर हिँड्छन्। सबै पशुहरू भन्दा बलियो अनि कहिल्यै कसैसित नडराउने सिंह। लचकमा हिँड्ने कुखुराको भाले, र बोका, अनि आफ्नो मानिसहरूलाई नेतृत दिने राजा। यदि तिमी आफैंलाई प्रशंसा गर्ने मूर्ख भयौ भने, यदि तिमीले दुष्ट योजनाहरू बनाएका छौ भने, तिमी आफ्नो मुख आफ्नै हातले बन्द गर। जसरी दूध मथ्यो भने घिउ पाइन्छ, नाक वेस्सरी घस्दा रगत निस्कन्छ र त्यसरी नै रीस उठाउँदा झगडा़ मच्चिन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्

हितोपदेश 30:10-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मालिकको अघि नोकरको निन्‍दा कहिल्‍यै नगर्‌, नत्रता त्‍यसले तँलाई धिकार्ला र तैँले कष्‍ट भोग्‍नुपर्ला। बुबालाई सराप्‍ने र आमालाई गुण नमान्‍ने एक थरीका मानिसहरू पनि हुन्‍छन्। अर्को थरीका मानिसहरू असाध्‍य अशुद्ध भए पनि आफूलाई शुद्ध छौं भनिठान्‍छन्। अर्को थरीका मानिसहरूले आफूलाई औधी असल छौं भनी सम्‍झन्‍छन्। अरू एक थरीका मानिसहरूले गरीब-दु:खीहरूबाट अनुचित र निष्‍ठुर लाभ उठाउँछन् र त्‍यसरी आफ्‍ना जीविका चलाउँछन्। जुकाका दुई छोरी छन्, दुवैले भन्‍छन्, “देऊ! देऊ!” तीन कुरा छन्‌ जो कहिल्यै सन्तुष्‍ट हुँदैनन्‌, जसले ‘पुग्यो’ कहिल्यै भन्दैनन्‌, चिहान, बाँझी स्‍त्री, पानीको निम्‍ति तिर्खाएको सुख्‍खा जमिन र आगो। आफ्‍ना बुबाको गिल्‍ला गर्ने र आफ्‍नी आमाको बुढेसकालमा हेला गर्ने मानिसलाई गिद्धले खाऊन् र त्‍यसका आँखा जङ्गली कागले ठुँगेर बाहिर निकालिदेऊन्। चार वटा थोक छन्, जसका भेद म बुझ्‍न सक्‍दिनँ; आकाशमा चिलको चाल, पहरामा सर्पको चाल, समुद्रमा जहाजको चाल र स्‍त्रीसँग पुरुषको चाल। अविश्‍वासयोग्‍य स्‍वास्‍नीको चाल यस्‍तो हुन्‍छ; त्‍यसले व्‍यभिचार गरेपछि नुहाउँछे र भन्‍छे, “मैले केही खराबी गरेकी छैनँ!” चार वटा थोक छन्, जसलाई संसारले सहन सक्‍दैन; कमारा राजा भएको, मूर्खले पेटभरि खान पाएको, प्रेम नपाउने स्‍त्रीले विवाह गरेकी र आफ्‍नी मालिकनीलाई पन्‍साएर आफू मालिकनी भई बसेकी कमारी। पृथ्‍वीमा चार वटा साना तर औधी बुद्धिमान् प्राणीहरू छन्: कमिला; शक्तिहीन प्राणी तर ग्रीष्‍मकालमा तिनीहरूले आफ्‍ना खानेकुरा भण्‍डारमा बटुल्‍छन्, पहराको न्‍याउरीमूसो; कमजोर जन्‍तु तर तिनीहरूले आफ्‍नो घर पहरामा बनाउँदछन्, सलहहरू; जसका राजा छैनन्, तापनि तिनीहरू दल-दल गरी उड्दछन्। छेपारो; त्‍यसलाई हातमा पक्रन सकिन्‍छ तर तिनीहरू राजमहलमा पनि पाइन्‍छन्। चार वटा प्राणी छन्, जुनहरू हिँड्दा मनमा प्रभाव पार्दछन्: सिंह, जो पशुहरूमा सबैभन्दा बलियो छ र कोहीसित डराउँदैन, बोको, रवाफसित हिँड्‍ने भाले र प्रजाका सामुन्‍नेमा राजा। यदि तँ हठी र मूर्ख भएको छस् र दुष्‍ट्याइँ गर्ने युक्ति गर्दै छस् भने चुप लागेर बस् र सोच्! दूध मथेर नौनी पाइन्‍छ, नाकमा हिर्काए रगत निस्‍कन्‍छ, रिस उठाए झगडा पर्दछ।

शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्