हितोपदेश 24:1-10
हितोपदेश 24:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दुष्ट मानिसहरूको डाह नगर्, तिनीहरूसँग सङ्गत गर्न इच्छा नगर्, किनभने तिनीहरूको हृदयले उपद्रव रच्दछ, र तिनीहरूका ओठले झमेला ल्याउने कुरा गर्दछ। बुद्धिले घर बनाइन्छ, र सुझबुझले त्यो स्थापित हुन्छ, ज्ञानद्वारा यसका कोठाहरू अति उत्कृष्ट र सुन्दर थोकहरूले भरिभराउ हुन्छन्। बुद्धिमान् मानिसको शक्ति महान् हुन्छ, र ज्ञानी मानिसको सामर्थ्य बढ्छ। युद्ध गर्नका निम्ति तँलाई अगुवाइ चाहिन्छ, विजय पाउनलाई धेरै सल्लाहकार चाहिन्छ। मूर्खको निम्ति बुद्धि साह्रै उच्च हुन्छ, ढोकामा जम्मा भएको समुदायको अगि बताउने कुरा त्यससँग हुँदैन। खराबी जसले रच्दछ, त्यो षड्यन्त्रकारीको नाउँले चिनिनेछ। मूर्खताका षड्यन्त्रहरू पाप हुन्, र मानिसहरू अर्काको खिल्ली उड़ाउनेलाई घिनाउँछन्। सङ्कष्टको दिनमा लरखराइस् भने, तेरो बल कति कम रहेछ!
हितोपदेश 24:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दुष्ट मानिसहरूप्रति ईर्ष्या नगर, तिनीहरूका सङ्गतको चाहना नगर; किनकि तिनीहरूका हृदयले हिंसा रच्दछ, र तिनीहरूका ओठले समस्या ल्याउने कुरा गर्दछ। बुद्धिद्वारा घर बनाइन्छ, र समझशक्तिद्वारा त्यसलाई स्थिर पारिन्छ; ज्ञानद्वारा त्यसका कोठाहरू मूल्यवान् र सुन्दर सामग्रीले भरिन्छन्। बुद्धिमान् योद्धा शक्तिशाली हुन्छ; र ज्ञानी मानिसले सामर्थ्य बढाउँछ। निश्चय नै युद्ध गर्नलाई तिमीलाई मार्गदर्शन चाहिन्छ; र विजय पाउनलाई धेरै सल्लाहकारहरू चाहिन्छ। मूर्खको लागि बुद्धि धेरै उच्च हुन्छ; मूलढोकामा भएको सभामा त्यसले आफ्नो मुख खोल्दैन। जसले खराबी रच्दछ, त्यो षड्यन्त्रकारीको नामद्वारा चिनिनेछ। मूर्खताका षड्यन्त्रहरू पाप हुन्; र मानिसहरूले गिल्ला गर्नेलाई घृणा गर्छन्। यदि विपत्तिको समयमा तिमीले हरेस खायौ भने, तिम्रो बल कति थोरै रहेछ!
हितोपदेश 24:1-10 पवित्र बाइबल (NERV)
दुष्ट मानिसहरूको डाह नगर। तिनीहरूको संगतको इच्छा नगर। तिनीहरू आफ्नो हृदयमा नराम्रा योजनाहरू मात्र रच्छन्। तिनीहरू अरूलाई कसरी कष्ट दिने त्यस विषयमा मात्र वकिरहेका हुन्छन्। एउटा घर ज्ञानद्वारा निर्माण गरिन्छ र समझशक्तिद्वारा यसलाई राम्रो स्याहार सुसार गरिन्छ। अनि ज्ञानद्वारा यसको भण्डार कोठाहरू विरल बहुमूल्य अनि असल चीजहरूले भरिन्छन्। एकजना बुद्धिमान मानिस, एउटा बलवान मानिस भन्दा असल हो। एकजना ज्ञानी मानिस महान शक्ति भएको मानिस भन्दा असल हो। यसकारण तिमीले लडाईँ लड्न। अघि सावधानी पूर्वक योजनाहरू बनाउनु पर्छ। यदि तिमी विजयी हुनु चाहन्छौ भने तिमीले धेरै सल्लाहकारहरूको सल्लाह लिनुपर्छ। मूर्ख मानिसले ज्ञान के हो बुझ्न सक्तैन शहरको फटकमा बसेर कुनै महत्वपूर्ण विषयमा तर्क गरिरहेको समय मूर्ख मानिसले केही बोल्न सक्तैन। दुष्ट षड्यन्त्र सधैँ गरिरहन्छौ भने, मानिसहरूले तिमीलाई जाल रच्ने भनि बोलाउँछन्। मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ। यदि तिमीले आफैंलाई संकटको समयमा कमजोर देखाउँछौ भने, तिमी साच्चै नै कमजोर हौ।
हितोपदेश 24:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दुष्टहरूको ईर्ष्या नगर, तिनीहरूसित मित्रता पनि नगर। तिनीहरूले झगडा लाउने कुरा मात्र सोच्छन्। तिनीहरूले मुख बायो कि कसैको खति भइहाल्छ। बुद्धि र समझशक्तिको जगमा घर बनाइन्छ। ज्ञान भएको घरमा बहुमूल्य र सुन्दर कुराहरूले कोठाहरू सजाइएका हुन्छन्। शक्तिशाली हुनुभन्दा बुद्धिमान् हुनु धेरै असल हो। हो, ज्ञान बलभन्दा धेरै उत्तम हो। लडाइँ गर्नुभन्दा अघि होशियारीसित सल्लाह लिनुपर्छ र जति धेरै उचित सरसल्लाह लियो उति धेरै विजयी हुने आशा हुन्छ। बुद्धिका कुराहरू गहिरा हुन्छन् र मूर्खले बुझ्न सक्दैन। ठूला-ठूला कुरामा बहस चल्दा त्यसको भन्ने कुरा केही हुँदैन। सधैँ दुष्ट्याइँ गर्ने युक्ति गरे कचिङ्गल लाउने भनी नाम पाउनेछौ। मूर्खले सोचेको हरेक योजनामा पाप हुन्छ। अर्काको गिल्ला मात्र गर्ने मानिसलाई सबैले घृणा गर्छन्। सङ्कष्टको समयमा कमजोर व्यक्ति सधैँ कमजोर हुन्छ।