हितोपदेश 21:1-9
हितोपदेश 21:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
राजाको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानीझैँ जता मन लाग्यो उतै उहाँले फर्काउनुहुन्छ। मानिसको हरेक बाटो आफूलाई ठीकै लाग्ला, तर हृदय जाँच्नुहुने परमप्रभु नै हुनुहुन्छ। जे ठीक र न्यायसङ्गत छ त्यही गर्नु परमप्रभुलाई बलिदान चढ़ाउनुभन्दा बढ़ी ग्रहणयोग्य हुन्छ। घमण्डी आँखा र अहङ्कारी हृदय, दुष्टका दियो यिनै हुन् जो पाप हो! लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ। झूटो जिब्रोले आफ्नो भाग्य सुधार्नचाहिँ उड़िजाने कुइरो र घातक पासो हो। दुष्टको उपद्रवले नै तिनीहरूलाई घिच्च्याएर लैजान्छ, किनभने जे ठीक हो सो गर्न तिनीहरूले अस्वीकार गर्छन्। दोषीको बाटो कुटिल हुन्छ, तर निर्दोषको चालचलन ईमानदार हुन्छ। कचकचे पत्नीसँग एउटै घरमा बस्नुभन्दा त कौसीको एक कुनामा बस्नु बेस।
हितोपदेश 21:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
राजाको हृदय याहवेहको हातमा हुन्छ; उहाँले खोलाको पानीलाई आफ्नो मनपर्दो दिशातिर डोर्याएजस्तै, त्यसलाई डोर्याउनुहुन्छ। मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला, तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ। ठिक र न्यायोचित काम गर्नुचाहिँ याहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ। अहङ्कारी आँखा र अभिमानी हृदय— दुष्टका नजोतिएका जमिनले पाप उब्जाउँछ। परिश्रमीको योजनाले लाभ दिन्छ; हतारले अवश्य नै गरिबीमा पुर्याउँछ। झूटो जिब्रोद्वारा कमाएको धन उडिजाने वाफ र घातक पासो हो। दुष्टहरूका हिंसाले नै तिनीहरूलाई पखाल्छ; किनकि जे ठिक हो, त्यो गर्न तिनीहरूले अस्वीकार गर्दछन्। दोषीको चाल बाङ्गो हुन्छ; तर निर्दोषको चालचलन ठिक हुन्छ। कचकचे पत्नीसित एउटै घरमा बस्नुभन्दा, घरको कौसीको एउटा कुनामा बस्नु असल हो।
हितोपदेश 21:1-9 पवित्र बाइबल (NERV)
राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैं जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ। मानिसले आफ्नो नजरमा आफ्नो सम्पूर्ण व्यवहार सही देख्छ। तर परमप्रभुले हृदयमा के छ त्यो जाँच गर्नुहुन्छ। बलिदानहरू भन्दा, मानिसहरूले सही अनि न्याय काम गर्नु परमप्रभुको निम्ति अधिक महत्वपूर्ण हुन्छ। घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन दीपको सलेदोको काम गर्छन्। लगनशीलको योजनाहरूले मानिसहरूलाई लाभ गराउँछ, र हतार गर्नाले निश्चय दरिद्रता ल्याउँछ। झूटो बोलेर कमाएको सम्पत्ति वाफ झैं अस्थिर हुन्छ अनि त्यो घातक पासो बनिन्छ। दुष्ट मानिसहरूले गरेको नराम्रो कामले तिनीहरूलाई ध्वंश पार्छ। जुन संगत छ त्यो गर्नु यी मानिसहरू अस्वीकार गर्छन्। दुष्ट मानिसहरू सधैँ अर्कालाई ठग्ने हुन्छन् तर असल मानिसहरू ईमान्दार र न्याय संगतका हुन्छन्। एउटी झगडा़लु पत्नी सित घर भित्र बस्नु भन्दा शान्ति सित घरको एककुनामा बस्नु शान्तिमय हुन्छ।
हितोपदेश 21:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
राजाको मन परमप्रभुको हातमा हुन्छ र त्यसलाई कुलोको पानीझैँ जता मन लाग्छ, उतै उहाँले फर्काउनुहुन्छ। मानिसले सधैँ आफू ठीक छु भनी सम्झन्छ तर परमप्रभुले उसको मनको उद्देश्य जाँच गर्नुहुन्छ। जे ठीक र न्यायपूर्ण छ, त्यही गर, त्यही परमप्रभुलाई बलिदानभन्दा बढी मनपर्दो हुन्छ। दुष्ट मानिसहरू आफ्ना घमण्ड र अहङ्कारका अधीनमा चल्दछन्, जुनचाहिँ पाप हो। होशियारीसित आफ्नो कामको योजना बनाए प्रसस्त लाभ हुन्छ तर हतार गर्नेचाहिँ दरिद्र हुन्छ। बेइमानसित कमाएको धन उडिजाने बाफ र प्राणघातक पासो हो। दुष्टहरू आफ्नै हिँसामा नाश हुन्छन्। ठीक कुरा गर्न तिनीहरू मान्दैनन्। अपराधीहरू बाङ्गो बाटोमा हिँड्छन् तर निर्दोषी ठीक चालमा चल्दछ। कचकचे स्वास्नीसित एउटै घरमा बस्नुभन्दा त घरको कौसीमा एक्लै बस्नु असल हो।