हितोपदेश 2:1-9

हितोपदेश 2:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे मेरो छोरा, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस्, र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस्‌ भने, बुद्धिका कुराहरू ध्यान दिइस्‌ र तेरो हृदयलाई समझशक्तितिर लगाइस्‌ भने, अन्‍तर्दृष्‍टिको लागि पुकारा गरिस्, र समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस्‌ भने, यदि तैंले चाँदीझैँ त्‍यसलाई खोजिस्, र गाड़धनझैँ त्‍यो खनिस्‌ भने, तैंले परमप्रभुको भय बुझ्‍नेछस्, र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछस्‌। किनभने परमप्रभुले बुद्धि दिनुहुन्‍छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्‍कन्‍छन्‌। उहाँले ईमानदारको लागि आफ्‍नो भण्‍डारमा विजय साँचेर राख्‍नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्‍छ, किनभने उहाँले न्‍यायको मार्ग रक्षा गर्नुहुन्‍छ, र आफ्‍ना विश्‍वासयोग्‍य भक्तजनहरूको बाटो सुरक्षित राख्‍नुहुन्‍छ। तब धार्मिकता न्‍यायसङ्गत र उचित के हो— साथै हरेक असल मार्ग के हो तैंले बुझ्‍नेछस्‌।

शेयर गर्नुहोस्
हितोपदेश 2 पढ्नुहोस्

हितोपदेश 2:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे मेरो छोरा, “यदि तिमीले मेरो वचन मान्यौ र मेरा आज्ञाहरू आफूभित्र सावधानीसाथ राख्यौ भने, आफ्नो कान बुद्धिका कुरामा फर्कायौ र तिम्रो हृदयलाई समझशक्तितिर लगायौ भने, साँच्‍चै, तिमीले अन्तर्दृष्‍टिको निम्ति आह्वान गर्‍यौ भने, र समझशक्तिको निम्ति जोडसित पुकार्‍यौ भने, र तिमीले त्यसलाई चाँदीझैँ चाहना गर्‍यौ भने, अनि लुकाइएको गाडधनजस्तै त्यसलाई खोज्यौ भने, तब तिमीले याहवेहप्रति भय मान्‍नुको अर्थ बुझ्नेछौ, र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछौ।” किनकि याहवेहले बुद्धि दिनुहुन्छ, अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्। उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ; निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ, किनकि उहाँले न्यायका मार्गको रक्षा गर्नुहुन्छ, र उहाँले आफ्ना विश्‍वासयोग्य जनहरूका मार्ग सुरक्षित राख्नुहुन्छ। तब तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो, हो, असल मार्ग के हो, त्यो बुझ्नेछौ।

शेयर गर्नुहोस्
हितोपदेश 2 पढ्नुहोस्

हितोपदेश 2:1-9 पवित्र बाइबल (NERV)

मेरो छोरा, म जे भन्छु ग्रहण गर! मेरा आदेशहरू स्मरण गर! ज्ञानका कुराहरूमा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ। ज्ञानलाई बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ। चाँदी खोजे झैं ज्ञान खोज, गाड़-धन खोजे झैं ज्ञान खोज। यदि तिमीले यसो गर्यौ भने परमप्रभुको डर मान्नुको अर्थ के हो? सो तिमीले जान्न सक्ने छौ। तिमीले साँच्चै नै परमेश्वरको विषयमा जान्ने छौ। परमप्रभुले ज्ञान दिनुहुन्छ, बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्। उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ। उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरूप्रति स्वच्छ हुन्छन् उहाँले पवित्र मानिसहरूलाई पहारा दिनु हुन्छ। यसर्थ परमप्रभुले तिमीहरूलाई ज्ञान दिनुहुनेछ अनि तिमीहरूले सही, असल र न्यायपूर्वक कुराहरू बुझ्नेछौ।

शेयर गर्नुहोस्
हितोपदेश 2 पढ्नुहोस्

हितोपदेश 2:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ए मेरो छोरो, मैले सिकाएको कुरा सिक् र मैले भनेको काम कहिल्‍यै नबिर्सी। बुद्धिको कुरा सुन् र त्‍यसलाई बुझ्‍ने कोसिस गर्‌। हो, बुद्धि माग् र अन्‍तर्दृष्‍टिको निम्‍ति बिन्‍ती गर्‌। चाँदी वा कुनै गाडधन खोजेझैँ त्‍यसको खोजी गर्‌। त्‍यसो गरिस् भने परमप्रभुको भय मान्‍नु भनेको के हो, त्यो बुझ्‍नेछस् र तैँले परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछस्। बुद्धि दिनुहुने परमप्रभु नै हुनुहुन्‍छ, ज्ञान र समझशक्ति उहाँबाटै आउँछन्। उहाँले नै धर्मी र इमानदार मानिसहरूलाई सुरक्षा र विजय दिनुहुन्‍छ। उहाँले अरूसित न्‍यायको व्‍यवहार गर्नेहरूलाई रक्षा गर्नुहुन्‍छ र आफ्‍ना भक्तजनहरूको रेखदेख गर्नुहुन्‍छ। तैँले मेरा कुरा सुनिस् भने कुन कुरा ठीक, न्‍यायपूर्ण र सोझा छन्, ती तैँले बुझ्‍नेछस् र आफ्‍नो कर्तव्‍य जान्‍नेछस्।

शेयर गर्नुहोस्
हितोपदेश 2 पढ्नुहोस्