हितोपदेश 18:1-9

हितोपदेश 18:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अमिल्‍दो मानिस स्‍वार्थको पछि लाग्‍छ, त्‍यसले सबै उचित ठहरको खुला विरोध गर्छ। मूर्खले समझदारीमा सन्‍तुष्‍टि पाउँदैन, तर आफ्‍नै विचारहरू पोख्‍न पाए त्‍यो प्रसन्‍न हुन्‍छ। जब दुष्‍टता आउँछ, तब अवहेलना पनि आउँछ। शर्मको साथसाथै अपमान पनि आइपर्छ। मानिसको मुखका वचनहरू गहिरा पानीजस्‍तै हुन्, तर बुद्धिको फुहाराचाहिँ बुल्‍बुले खोला हो। दुष्‍टको पक्ष लिनु, अथवा निर्दोषलाई न्‍यायबाट वञ्‍चित गराउनु राम्रो होइन। मूर्खका ओठले आफैमाथि कलह ल्‍याउँछन्, र त्‍यसको मुखले पिटाइ निम्‍त्‍याउँछ। मूर्खको मुख नै त्‍यसको सर्वनाश हो, अनि त्‍यसका ओठचाहिँ आफ्‍नै प्राणको पासो हुन्‍छन्‌। कुरौटेका वचनहरू स्‍वादिष्‍ठ गाँसजस्‍तै हुन्‍छन्, ती मानिसको भित्री भागसम्‍मै पुग्‍छन्‌। आफ्‍नो काम गर्नमा ढिलो गरिरहने व्‍यक्ति सर्वनाश गर्नेको भाइ जत्तिकै हो।

शेयर गर्नुहोस्
हितोपदेश 18 पढ्नुहोस्

हितोपदेश 18:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

मित्रभाव नभएको मानिस स्वार्थको पछि लाग्छ; त्यसले सबै उचित न्यायलाई चुनौती दिँदछ। मूर्खले समझदारी मन पराउँदैन, तर आफ्नै विचारमा धाक लगाउन प्रसन्‍न हुन्छ। दुष्‍टता आउँदा घृणा पनि आउँछ; र शर्मको साथमा अपमान आउँछ। मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्छन्; तर बुद्धिको मुहानचाहिँ बग्दै गरेको खोलाजस्तै सफा हुन्छ। दुष्‍टको पक्ष लिनु राम्रो होइन अथवा निर्दोषलाई न्याय नदिनु उचित होइन। मूर्खको ओठले त्यसलाई झगडामा पार्छ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ। मूर्खको मुख नै त्यसको विनाश हो, अनि त्यसको ओठचाहिँ आफ्नै जीवनका लागि पासो हुन्छ। कुरौटेका बोलीहरू स्वादिष्‍ठ गाँसजस्तै हुन्छन्, ती मानिसका भित्री भागहरूमा पुग्छन्। आफ्नो काममा अल्छी गरिरहने व्यक्ति सर्वनाश गर्नेको भाइ हो।

शेयर गर्नुहोस्
हितोपदेश 18 पढ्नुहोस्

हितोपदेश 18:1-9 पवित्र बाइबल (NERV)

एक्लै बस्ने मानिसले उसका आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्न खोज्छ। उसले विवेकपूर्ण सल्लाहलाई गिल्ला गर्छ। मूर्ख मानिसले अर्काको अर्ति सुन्न रूचाउँदैन। त्यस्तो मानिसले उसको आफ्नै मात्र विचार व्यक्त गर्न चहान्छ। जब दुष्टता आउँछ, तब घृणा पनि आउँछ, अनि अपमानसित बदनाम आउँछ। मानिसका बचनहरू गहिरो पानी झैं हुन्, ज्ञानको स्रोत एउटा बेग्लै बग्ने झरना झैं हो। एकजना दोषी मानिसको पक्ष लिएर निर्दोष मानिसलाई अन्याय गर्नु अत्यन्तै अनुचित हो। मूर्खहरूको ओंठहरूले बहस ल्याउँछ, उसको मुखले थप्पड खोज्छ। मूर्खको मुखले उस माथि विपत्ति ल्याउँछ, उसको ओंठहरू एउटा पासो जस्तै हो। जसले उसको आफ्नै जीवनलाई समात्छ। मानिसहरू सधैँ बदनाम गराउने झूटा कुराहरूले बहकाउने मानसिको मुखबाट सुन्न मन पराउँछन, अनि त्यस्ता कुराहरू मीठो भोजन झैं पेट भित्र जान्छन्। यो निश्चय हो कि जसले आफ्नो काम अल्छी गरेर गर्छ, त्यो सर्वनाश गर्नेको भाइ जत्ति कै हो।

शेयर गर्नुहोस्
हितोपदेश 18 पढ्नुहोस्

हितोपदेश 18:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अरूदेखि अलग्‍गै बस्‍ने मानिसले आफ्‍नै कुरा मात्र सोच्‍दछ, अरूले उचित ठहराएको कुरामा त्‍यो सहमत हुँदैन। आफूले केही बुझ्‍छ वा बुझ्‍दैन, मूर्खलाई त्‍यसको वास्‍ता हुँदैन, त्यसले आफूलाई चतुर देखाउन आतुरी गर्दछ। पाप र लाज सँगसँगै हिँड्दछन्। तिम्रो मान हरायौ भने तिम्रो गिल्‍ला हुनेछ। मानिसको मुखबाट ज्ञानका कुराहरू निस्‍कन सक्‍छ, जुन महासागरझैँ गहिरो र बग्‍दैगरेको खोलोझैँ सफा हुन्‍छ। दोषीको पक्ष लिएर निर्दोषलाई न्‍याय पाउनदेखि रोक्‍नु ठीक होइन। मूर्खले झगडा सुरु गर्नु नै त्‍यसले चुटाइ खोजेको हो। मूर्ख बोल्‍यो भने आफ्‍नै विनाश गर्छ, त्‍यो आफ्‍नै वचनको जालमा फस्‍दछ। व्‍यर्थको कुरा स्‍वादिलो हुन्‍छ; त्‍यो सुन्‍न हामी खुबै रुचाउँछौं। अल्‍छी मानिस विनाशकारी मानिसजस्‍तै दुष्‍ट हो।

शेयर गर्नुहोस्
हितोपदेश 18 पढ्नुहोस्

हितोपदेश 18:1-9

हितोपदेश 18:1-9 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्