हितोपदेश 17:23-28
हितोपदेश 17:23-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दुष्ट मानिसले न्याय बिगार्न गुप्तमा घूस स्वीकार गर्छ। विवेकी मानिसले आफ्नो दृष्टिमा बुद्धि राख्छ, तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ। मूर्ख छोराले आफ्ना बुबामाथि अफसोस, र त्यसलाई जन्माउनेमाथि तीतोपन ल्याउँछ। निर्दोष मानिसलाई दण्ड दिनु असल होइन, वा आफ्नो ईमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठीक होइन। ज्ञानी मानिसले संयमसित शब्दहरू प्रयोग गर्छ, र समझशक्ति भएको मानिस ठन्डा मिजासको हुन्छ। चूप लागिबस्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ, र आफ्नो जिब्रोलाई लगाम लगायो भने त्यो विवेकी मानिन्छ।
हितोपदेश 17:23-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दुष्ट मानिसले गुप्तमा घूस लिन्छ र न्याय प्राणाली बिगारिदिन्छ। विवेकी मानिसले आफ्नो दृष्टिमा बुद्धि राख्छ, तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ। मूर्ख छोराछोरीले आफ्नो बुबालाई सन्ताप दिन्छन्, र त्यसलाई जन्माउनेमाथि तितोपन ल्याउँछन्। निर्दोष मानिसलाई दण्ड दिनु, वा आफ्नो इमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठिक होइन। समझदार मानिसले आफ्नो वचन होसियारीसाथ बोल्छ, र समझशक्ति भएको मानिस ठण्डा मिजासको हुन्छ। चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ, र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ।
हितोपदेश 17:23-28 पवित्र बाइबल (NERV)
एकजना दुष्ट मानिसले न्याय बिगार्नको लागि गोप्य तरिकाले घूस दिन्छ। ठीक विचार भएको मानिसले सधैँ ज्ञानको बिषयमा सोचिरहन्छ तर मूर्ख मानिसले सधैँ टाडा-टाडा ठाउँको सपना देख्छ। मूर्ख छोरोले उसको बाबुलाई शोक दिइरहन्छ, अनि आफूलाई जन्म दिने आमालाई पीर मार्कामा पार्छ। अन्याय नगरी दण्ड दिनु गल्ती हो। यसरी नै ईमानदार अगुवाहरूलाई ठीक काम गरे बापत सजाय दिनु अनुचित हो। एकजना ज्ञानी मानिस सजिलै रिसाउँदैन। ज्ञानी मानिसले होशियारसित शब्द प्रयोग गर्दै बात मार्छ। चुपचाप बसे मूर्खलाई पनि ज्ञानी ठानिन्छ अनि जसले उसको मुर्खतालाई बन्द राख्छ ऊ विवेकशिल देखिन्छ।
हितोपदेश 17:23-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भ्रष्ट न्यायाधीशले गुप्तमा घुस लिन्छ र न्याय बिगार्दछ। समझदार व्यक्तिले बुद्धिमान् काम गर्ने लक्ष्य राख्दछ तर मूर्खले यताउता मन डुलाउँदछ। मूर्ख छोरोले बुबालाई शोक र आमालाई साह्रै पीरमा पार्दछ। निर्दोष मानिसलाई दण्ड दिनु उचित होइन, असल मानिसहरूलाई दण्ड दिनाले न्याय बिग्रँदछ। ज्ञानी मानिस धेरै बोल्दैन, अन्तर्दृष्टि भएको मानिस शान्त भएर बस्छ। आखिरी, मूर्खले पनि शान्त भएर मुख बन्द राखे, त्यो समझदार देखिन्छ।