हितोपदेश 13:15-25
हितोपदेश 13:15-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
असल समझदारीले निगाह प्राप्त गर्छ, तर बेईमानको मार्गचाहिँ कठिन हुन्छ। प्रत्येक समझदार मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ। तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ। दुष्ट सन्देशवाहक दु:खमा पर्छ, तर विश्वसनीय दूतले चङ्गाइ लिएर आउँछ। अनुशासनलाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ। तर सुधार गर्दा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ। आफ्नो चाहना पूरा हुँदा प्राणलाई तृप्ति मिल्दछ, तर मूर्खहरू खराबीबाट फर्कन मन पराउँदैनन्। बुद्धिमान्सँग हिँड्ने बुद्धिमान् नै बन्छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्छ। पापीहरूलाई दुर्भाग्यले लखेट्छ, तर धर्मीको इनाम नै समुन्नति हो। असल मानिसले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छोडिराख्छ, तर पापीहरूको धन धर्मीहरूका लागि थुपारिन्छ। गरीब मानिसको खेतबारीले प्रशस्तै अन्न उब्जाउला, तर अन्यायले त्यो खोसेर लैजान्छ। छड़ी नचलाउने बुबाले आफ्नो छोरालाई घृणा गर्छ, तर त्यसलाई प्रेम गर्ने बुबाले होशियारीसाथ त्यसलाई अनुशासन दिन्छ। धर्मीले पेटभरि मस्तीसँग खान्छ, तर दुष्टको पेट भोकभोकै हुन्छ।
हितोपदेश 13:15-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
असल न्यायले निगाह प्राप्त गर्छ; तर विश्वासघातीको मार्गले तिनीहरूलाई विनाशमा डोर्याउँछ। हरेक विवेकशील मानिसले आफ्नो ज्ञानद्वारा काम गर्छ; तर मूर्खले आफ्नो मूर्खता प्रकट गर्छ। दुष्ट सन्देशवाहक जोखिममा पर्छ; तर विश्वासयोग्य दूतले चङ्गाइ ल्याउँछ। अनुशासनको बेवास्ता गर्नेमाथि गरिबी र शर्म आइपर्नेछन्; तर सुधारमा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ। पूर्ण भएको चाहना प्राणको निम्ति मिठो हुन्छ; तर मूर्खचाहिँ दुष्टताबाट फर्कन घृणा गर्छ। बुद्धिमान्हरूसित हिँड्ने बुद्धिमान् नै हुनेछ; तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्नेछ। पापीलाई विपत्तिले पछ्याउँछ; तर धर्मीको प्रतिफलचाहिँ समृद्धि हो। असल मानिसले आफ्ना नातिनातिनाहरूका निम्ति पैतृक धन छोडिराख्छ; तर पापीको धन भने धर्मीको निम्ति नै साँचिएको हुन्छ। गरिबको नजोतिएको जमिनले प्रशस्त अन्न फलाउन सक्ला; तर अन्यायले त्यो खोसिदिन्छ। आफ्ना छोराछोरीलाई छडी नलाउनेले तिनीहरूलाई घृणा गर्छ, तर तिनीहरूलाई प्रेम गर्नेले त तिनीहरूलाई अनुशासनमा राख्दछ। धर्मीले पेटभरि खान्छ; तर दुष्टको पेट भोकभोकै हुन्छ।
हितोपदेश 13:15-25 पवित्र बाइबल (NERV)
बुद्धिमानीले दया पाउँछ तर बेईमानको बाटो तिनीहरूको नाश हो। प्रत्येक समझदार मानिसले आफ्नो ज्ञानद्वारा कर्म गर्छ। तर मूर्खले भने आफ्नो मूर्खता मात्र प्रदर्शन गर्छ। सन्देशवाहक अविश्वासनीय छ भने त्यसले कष्ट उब्जाउँछ, तर त्यही सन्देशवाहक विश्वासी भए उसले शान्ति ल्याउँछ। जसले अर्तीलाई ध्यान दिदैन उसले लाज र दरिद्रताको सामना गर्नु पर्छ। तर जसले शिक्षालाई स्वीकार्छ उसले सम्मान पाउँछ। यदि कुनै मानिसले उसले चाहेको केही चिज पाउँछ भने ऊ आनन्दित हुन्छ। तर मूर्खहरू दुष्टता र खराब कर्महरूबाट फर्कन घृणा गर्छन्। जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु:ख पाउँछ। पापीहरू जहाँ गए पनि कष्टले पछ्याउँछ, तर असल चिजहरू धर्मी मानिसहरूको लागि एउटा इनाम को रूपमा आउँछन्। ईमान्दार तथा सज्जन मानिसले आफ्नो छोरा तथा नाति-नातिनाहरूको लागि सम्पत्ति छोडेर जान्छ, तर एउटा पापीले संचय गरेको समपत्ति धर्मीको हुन्छ। गरीब मानिसले आफ्नो खेतबाट प्रशस्त बाली उब्जाउन सक्छ तर जब त्यहाँ न्याय हुँदैन भने त्यो बाली खोसिन्छ। जुन मानिसले आफ्नो छोरा-छोरीलाई सजाय दिंदैन उसले तिनीहरूलाई माया पनि गर्दैन, तर जुन मानिसले आफ्नो छोरालाई प्रेम गर्छ उसलाई अनुशासनमा राख्छ। एकजना धर्मी मानिसको प्रचुर मात्रमा खाने कुरा हुन्छ, तर दुष्ट मानिसहरूको पेट भर्न प्रयाप्त खाने कुरा हुँदैन।
हितोपदेश 13:15-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
समझदार व्यक्तिले आदर पाउँदछ तर भरोसा गर्न नसकिने व्यक्तिहरू बिनाशतर्फ जाँदैगरेका हुन्छन्। समझदार मानिसहरूले केही काम गर्नुअघि सधैँ सोच्ने गर्छन् तर मूर्खहरूले आफ्नो मूर्खता प्रचार गर्दछन्। सन्देश ल्याउने दुष्ट दूतले दु:ख ल्याउँछ तर भरपर्दो दूतले शान्ति ल्याउँछ। शिक्षा ग्रहण नगर्नेले दरिद्रता र अपमान कमाउँछ, सुधार ग्रहण गर्नेले आदर पाउँदछ। आफूले चिताएको कुरा प्राप्त गर्नु कति असल कुरा हो! मूर्खहरू दुष्ट्याइँबाट फर्की सुध्रिने मन गर्दैनन्। बुद्धिमान्को सङ्गत गर, तिमी बुद्धिमान् हुनेछौ, मूर्खको सङ्गत गर्ने नाश हुन्छ। पापीहरूलाई जहीँ पनि दु:खले पछ्याउँदछ तर धर्मीहरूले असल कुराकै इनाम पाउँछन्। असल मानिसहरूले छोरा-नातिनाहरूको निम्ति धन-सम्पत्ति छोडिराख्छन् तर पापीहरूको धन धर्मीहरूको हातमा पर्छ। बाँझो जमिनले पनि गरीबलाई प्रशस्त अन्न उमारिदिन सक्छ तर अन्याय गर्ने मानिसले त्यो खोस्छ। छोरोलाई अनुशासनमा नराख्नेले उसलाई प्रेम गर्दैन। छोरोलाई प्रेम गर्नेले उसको सुधार गर्छ। धर्मीहरूले पेटभरि खान पाउँछन् तर दुष्टहरू भोक-भोकै बस्दछन्।