हितोपदेश 1:1-33
हितोपदेश 1:1-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदका छोरा इस्राएलका राजा सोलोमनका हितोपदेश: जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्त गर्नेछन्, अन्तर्दृष्टिका कुराहरू बुझ्नेछन्, एक अनुशासित र विवेकी जीवन जिउनेछन्, सोझाहरू विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्। बुद्धिमान्ले सुनून् र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्, जसद्वारा हितोपदेश र दृष्टान्तहरू, बुद्धिमान्को आहान र रहस्यका कुराहरू तिनीहरूले बुझून्। परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। हे मेरो छोरा, आफ्नो बुबाको आदेश सुन् र आफ्नी आमाको शिक्षा नत्याग्। ती तेरो शिरमा शोभाको मुकुट, र तेरो गलामा सम्मानको हार हुनेछ। हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्। तिनीहरू भन्लान्, “आऊ हामीसँग, कसैको रक्तपात गर्न ढुकिबसौं, कुनै निर्दोषलाई लुट्न ढुकिबसौं, चिहानले निलेझैँ, र गहिरो भड्खालोमा परी त्यसको पीँधमा पुग्नेहरूलाई झैँ, हामी तिनीहरूलाई पूरै जिउँदै निलौं। हामी सबै किसिमका बहुमूल्य थोकहरू लिनेछौं, र लूटका मालसामानले हाम्रा घर भर्नेछौं, तिमी हामीसँगै साझेदार होऊ, र हामी लूटको थैलोबाट बाँड्नेछौं।” हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख्, किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्छन्, तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्। सबै पक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्यर्थ! यी मानिसहरू आफ्नै रगतको लागि ढुकिरहन्छन्, तिनीहरू आफै जाकिन ढुकिरहन्छन्! बेईमानीसित कमाउनपट्टि लाग्नेहरू सबैको अन्त्य यस किसिमले हुन्छ, यसरी धन आर्जन गर्नेको जीवन त्यसैले छिनेर लैजान्छ। बुद्धि सड़कहरूमा चर्को सोरले कराउँछ, त्यसले आफ्नो आवाज बजारहरूमा उचाल्छ, होहल्लाले भरिएका गल्लीहरूका पर्खालमाथिबाट त्यो चिच्च्याउँछ, सहरका मूल ढोकाहरूमा यसरी त्यसले भाषण गर्छ: “हे निर्बुद्धि हो, कहिलेसम्म तिमीहरू आफ्नो बुद्धिहीन मार्गलाई प्रेम गरिरहनेछौ? कहिलेसम्म खिल्ली उड़ाउनेहरू खिल्ली उड़ाइरहनमा मग्न भइरहने र मूर्खहरूले ज्ञानलाई घृणा गर्दैरहने? यदि मेरो हप्की तिमीहरूले ग्रहण गरेका भए, म आफ्नो हृदयका कुराहरू तिमीहरूसँग पोख्नेथिएँ, र मेरा विचारहरू तिमीहरूलाई थाहा गराउनेथिएँ। तर मैले बोलाउँदा तिमीहरूले इन्कार गरेका हुनाले र मैले आफ्नो हात फैलाउँदा कसैले ध्यान नदिएको हुनाले, मेरा सबै अर्तीलाई तिमीहरूले बेवास्ता गरेका हुनाले र मेरो हप्की ग्रहण नगरेका हुनाले, तिमीहरूलाई आपत्ति आइपर्दा म हाँस्नेछु, विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्ली उड़ाउनेछु— जब आँधीबेहरीझैँ तिमीहरूलाई विपत्तिले ढाक्छ, जब भुमरीझैँ आपत्ति तिमीहरूमाथि मड़ारिएर आउँछ, जब सङ्कष्ट र दु:खले तिमीहरूलाई डुबाउँछन्। “तब तिनीहरू मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैन, तिनीहरूले मेरो खोजी गर्नेछन्, तर मलाई भेट्टाउनेछैनन्। तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, र परमप्रभुको भय मान्न नचाहेका हुनाले, तिनीहरूले मेरो अर्ती ग्रहण नगरेका हुनाले, र मेरो हप्की तिरस्कार गरेका हुनाले, तिनीहरूले आफ्नो चालचलनको फल भोग्नेछन्, र आफ्ना कपट योजनाको फलले आफै लादिनेछन्। आफ्नै मनमानीपनले गर्दा निर्बुद्धिहरू मर्नेछन्, र मूर्खहरूको आफ्नै निश्चिन्तताले तिनीहरूमाथि नाश आइपर्नेछ। तर मैले भनेको कुरा जस-जसले सुन्छन् तिनीहरू सुरक्षामा जिउनेछन्, र हानि-नोक्सानीको डरैविना ढुक्क रहनेछन्।”
हितोपदेश 1:1-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इस्राएलका राजा, दावीदका पुत्र, सोलोमनका हितोपदेशहरू: बुद्धि र अनुशासन प्राप्त गर्नका निम्ति, अन्तर्दृष्टिका वचनको समझ प्राप्त गर्नका निम्ति, विवेकी आचरणको अनुशासन प्राप्त गर्नको निम्ति जे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति, सोझाहरूलाई समझदार, जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति— बुद्धिमान्ले सुनोस् र तिनीहरूका ज्ञान बढाऊन्; र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्— हितोपदेश र दृष्टान्तहरू, बुद्धिमान्का भनाइ र गहिरा-गहिरा वचनहरू बुझ्नका निम्ति। याहवेहको भय ज्ञानको सुरुवात हो, तर मूर्खले चाहिँ बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। हे मेरा छोराछोरी, आफ्ना बुबाको शिक्षा सुन र आफ्नी आमाको शिक्षालाई नत्याग। ती तिम्रा शिरका निम्ति शोभायमान मुकुट र तिम्रा गलामा सम्मानको हार हुन्। हे मेरा छोराछोरी, यदि पापीहरूले तिमीहरूलाई उक्साए भने, तिनीहरूसँग नलाग! तिनीहरूले यसो भन्लान्, “हामीसित आऊ, हामी निर्दोषको रक्तपात गर्न ढुकेर बसौँ,” हामी कुनै निर्दोषलाई आक्रमण गरौँ; हामी तिनीहरूलाई चिहानले जस्तै जिउँदै निलौँ; र सबै पातालमा जानेहरूलाई जस्तै पूरै निलौँ, हामी सबै किसिमका मूल्यवान् कुराहरू पाउनेछौँ; र हाम्रा घरहरूलाई लुटका सामानहरूले भर्नेछौँ; तिमी हाम्रो साझेदार बन, यो धन हामी सबैको हुनेछ। हे मेरो छोराछोरी, तिनीहरूसित नजाओ; तिनीहरूका मार्गमा खुट्टै नटेक! किनकि तिनीहरूका खुट्टा दुष्ट काम गर्न हतारिन्छन्, तिनीहरू रक्तपात गर्न अग्रसर हुन्छन्। चराहरूले देख्ने गरी जाल बिछ्यानु कति निरर्थक हुन्छ! यी मानिसहरू आफ्नै रगतको निम्ति ढुक्दछन्, तिनीहरूले आफैँलाई पासो थाप्दछन्! बेइमानीसित नाफा कमाउने सबैका मार्गहरू यस्तै हुन्छन्, जसले यो लिन्छ, यसले तिनीहरू सबैको जीवन लिन्छ। बुद्धि बाहिर खुल्ला सडकमा चर्को सोरले कराउँछे; त्यसले सार्वजनिक चोकहरूमा आफ्नो आवाज उचाल्छे; व्यस्त सडकका अग्ला स्थानमा त्यसले पुकार्दछे; सहरका मूलढोकाहरूमा त्यसले आफ्नो भाषण गर्छे। तिमी सोझाहरूले कहिलेसम्म आफ्ना मूर्खतालाई प्रेम गरिरहन्छौ? कहिलेसम्म गिल्ला गर्नेहरू गिल्ला गर्नमै रमाउँछौ? र मूर्खहरूले ज्ञानलाई घृणा गरिरहन्छौ? मेरो हप्काइ सुनेर पश्चात्ताप गर, म आफ्ना विचारहरू तिमीहरूलाई खन्याउनेछु; मेरा शिक्षाहरू तिमीहरूलाई बुझाउनेछु। तर मैले बोलाउँदा तिमीहरूले मलाई सुन्न नचाहेकाले, र मैले आफ्ना हातहरू फैलाउँदा कसैले ध्यान नदिएकाले, तिमीहरूले मेरा सबै सल्लाहलाई तुच्छ ठानेका हुनाले र मेरो हप्काइलाई स्वीकार नगरेका हुनाले, यसको बदलामा तिमीहरूमाथि प्रकोप आउँदा म हाँस्नेछु; विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्ली उडाउनेछु; विपत्तिले आँधीजस्तै तिमीहरूलाई उडाउँदा, जब भुमरीजस्तै आपत्ति तिमीहरूमाथि मडारिएर आउँछ; जब सङ्कष्ट र दुःखले तिमीहरूलाई डुबाउँछन्। “तब तिनीहरूले मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैनँ; तिनीहरूले मलाई खोज्नेछन्, तर मलाई भेट्टाउनेछैनन्।” तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, र याहवेहप्रति भय मान्न नचाहेका हुनाले; तिनीहरूले मेरो सल्लाह ग्रहण नगरेका, र मेरो हप्काइलाई तिरस्कार गरेका हुनाले, तिनीहरूले आफ्ना कामको फलबाट खानेछन् र आफ्ना कपटकै योजनाहरूका फलले तिनीहरू भरिनेछन्। आफ्नै पथभ्रष्टताले गर्दा सोझाहरू मर्नेछन्, र मूर्खहरूको आफ्नै लापर्बाहीले तिनीहरूलाई नाश गर्नेछ। तर जजसले मेरो कुरामा ध्यान दिन्छन्, ऊ सुरक्षित रहनेछन्, र विपत्तिको डरबाट ढुक्क भई रहनेछन्।
हितोपदेश 1:1-33 पवित्र बाइबल (NERV)
यी हितोपदेशहरू दाऊदका छोरा सुलेमानका हुन्। सुलेमान इस्राएलका राजा थिए। मानिसहरू ज्ञानी भएर असल कर्म गर्न सिकुन् भनी यी वचनहरू लेखिएका हुन्। यी वचनहरूले मानिसहरूलाई असल-असल शिक्षाहरू ग्रहण गर्न सिकाउँछन्। यी वचनहरूले मानिसहरूलाई विवेकशील, असल, न्यायपूर्ण, ईमान्दार हुन सही मार्गदर्शन गर्छन्। यी हितोपदेशहरूले अनुभवहीन मानिसहरूलाई विवेकशील भएर काम गर्न सिकाउँछन्। तिनीहरूले युवकहरूलाई बुद्धि दिन्छन् अनि यसलाई तिनीहरूले कसरी प्रयोग गर्ने भन्ने सिकाउँछन्। बुद्धिमान मानिसहरूले यी वचनहरू सुनेर अथवा पढेर आफ्नो ज्ञान बढाइ दिशा निर्देशन पाउँछन्। ती बुद्धिमानी मानिसहरूले यी वचनहरूबाट अझ वेशी ज्ञान विकास गराउँन सक्छन् र अझ ज्ञानी हुन्छन्। अनि त्यस्ता मानिसहरू जो समस्या समाधान गर्न निपुण छन् तिनीहरूले यी वचनहरूबाट अझ ज्ञान-आर्जन गर्छन्। तब गुप्त अर्थहरू भएका कार्यहरू अनि भनाईहरू ती मानिसहरूका निम्ति स्पष्ट हुनेछन्। रहस्यमय कुराहरू तिनीहरू बुझ्न योग्य हुनेछन्। परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूले अनुशासन अनि ज्ञानलाई घृणा गर्छन्। हे मेरो छोरो, आफ्नो बाबुको कुरा सुन् जब उनले तिमीलाई प्रशिक्षण दिन्छन् अनि आफ्नी आमाले दिएको शिक्षालाई अवहेलना नगर। तिम्रा आमा बाबुले तिमीलाई सिकाएका शिक्षाहरू कुनै मानिसलाई सुहाउँदो मुकुट अथवा सबैलाई अझ शोभायमान गराउने सुनको हार झैं हुन्। हे मेरो छोरा, केही मानिसहरू नराम्रो कर्म गर्न रूचाउँछन् अनि त्यस्ता मानिसहरूले तिमीलाई पनि नराम्रो कर्म गर्न उत्साह दिन्छन् तिनीहरूको कुरा नसुन्। त्यस्ता मानिसहरूले भन्लान, “हामी सित आऊ, हामी लुकेर ढुकौं अनि कसैलाई मार्नेछौं। हामी निर्दोष मानिसमाथि जाईलाग्नेछौं। आऊ, हामी त्यस मानिसलाई जसरी चिहानले लाश निल्छ त्यसरी नै सम्पूर्णरूपले त्यसलाई निल्ने छौं, जसरी चिप्लेर कोही गहिरो खाल्डामा झर्छ त्यसरी नै त्यस मानिसलाई शुन्य पार्नेछौं। हामी धेरै बहुमूल्य चीजहरू लूटेर आफ्नो घर लैजानेछौं। यसकारण हामी सित आऊ अनि हामीलाई सहायता गर। हामीले लुटेर पाएको प्रत्येक चीजको भाग बराबरी बाँड्नेछौं।” हे मेरो छोरो, तिमी तिनीहरूको बाटोको अनुशरण नगर। त्यस्तो बाटोमा एक पाइला पनि नराख। किनभने तिनीहरू पाप कर्म गर्न सधैँ अग्रसर रहन्छन् अनि तिनीहरू कसैको हत्या गर्न हतारिन्छन्। बेकारछ जाल थाप्नु जब सबै चराहरूले तिमीलाई देखिरहेका हुन्छन्। यसर्थ जो मानिस निर्दोष मानिसलाई हत्या गर्न लुकेर बसेको हुन्छ, वास्तवमा त्यो मानिस त्यस्तै जालमा फँसेर मर्छ। जो मानिसहरू भ्रष्ट कर्मद्वारा धन कमाउने लालचमा बस्छन् तिनीहरूको अन्त पनि नराम्रो प्रकारले नै हुन्छ। सुन! ज्ञान गल्लीहरूमा जोडले कराउँदै मानिसहरूकहाँ पुग्ने चेष्टा गर्छे। ज्ञानले शहरको सार्वजनिक स्थानहरूमा आवाज निकाल्छे। ज्ञानले भीड गल्लीहरूमा बोलाइरहेकी हुन्छे। ज्ञान नगरको फाटकमा बसेर मानिसहरूलाई बोलाई रहन्छे। ज्ञानले भन्छे, “अनुभवहीन मानिसहरू। आफ्नो सरलतालाई तिमी गिल्ला गर्नेहरू, कहीले सम्म गिल्ला गरी आनन्द लिइरहने छौ। हे मुर्खहरू हो! तिमीहरूले कहिले सम्म बुद्धिलाई घृणा गरिरहने छौ। यदि तिमीहरूले मेरो हप्कीलाई ध्यान दियौ भनें, म जे जान्दछु तिमीहरूलाई भन्नेछु अनि मेरो जम्मै बुद्धि सिकाउनेछु। “मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाँए तर तिमीहरूले म तिर ध्यानै दिएनौ। र मेरा सबै उपदेशहरू सुनेनौ। मेरा हप्कीहरू अस्वीकार गर्यौ। यसकारण तिमीहरू नाश हुँदा म हाँस्नेछु। जब तिमीहरूमाथि आपत्ति आउँछ म तिमीहरूलाई खिसी गर्नेछु। जब तिमीहरूमाथि आँधी झैं विनाश आउँछ, जब हटात प्रकोपको भुँवरीले झैं अत्याउँछ, जब आपात र कष्ट तिमीमाथि आउँछ। “तब तिमीहरूले मलाई बोलाउनेछौ र मैले जवाफ दिनेछैन्। तिमीहरूले सहायताको निम्ति मलाई खोज्नेछौ, तर मबाट तिमीहरूले सहायता पाउँने छैनौ। म तिमीहरूलाई सहायता गर्ने छैन कारण मैले दिएको ज्ञान तिमीहरूले लिन अस्वीकार गरेका छौ तिमीहरूले परमप्रभुको डर मान्न र उहाँलाई सम्मान गर्न अस्वीकार गरेका थियौ। तिमीहरूले मेरो उपदेश सुन्न अस्वीकार गरेका थियौ। जब मैले तिमीहरूलाई सही मार्ग-दर्शन गराउन खोजें त्यस बेला तिमीहरूले मलाई ध्यानै दिएनौ। तिमीहरूले आफूले रोजेको जीवन शैली नै मन परायौ। दुष्ट योजनामा व्यस्त रह्यौ, तिमीहरूले मेरा उपदेश मानेनौ, यसर्थ तिमीहरूले अहिले आफ्नो कर्मको फल भोग्नै पर्छ, त्यही नै तिमीहरूले ग्रहण गर्नु पर्छ। “अनुभवहीन मानिसहरू बरालिन्छन् अनि मर्छन्, मुर्खहरू कुनै विषयमा चिन्तित हुदैनन् अनि यसले तिनीहरूलाई नष्ट गर्नेछ। तर त्यो मानिस जसले मलाई पछ्याउँछ ऊ सधैँ सुरक्षित रहनेछ। त्यस्ता मानिस अचानक आइपर्ने खतराहरूबाट सुरक्षित रहनेछन्।”
हितोपदेश 1:1-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाऊदका छोरा इस्राएलका राजा सोलोमनका उखानहरू: बुद्धि र शिक्षाका कुरा चिन्न र गहिरो अर्थ भएका उक्तिहरू बुझ्न सिकाउने उखानहरू यहाँ छन्। उखानहरूले जीवनमा कसरी बुद्धिमानीसित चल्ने र इमानदार, न्यायी र सोझो हुने भनी सिकाउँछन्। अनजान मानिसलाई चतुर र जवान व्यक्तिलाई समझदार बनाउँछन्। यी उखानहरूले ज्ञानी मानिसहरूको ज्ञान भण्डार बढाउँछन् र पढे-लेखेकाहरूलाई बाटो देखाउँछन्। त्यसरी तिनीहरूले उखानभित्रका गहिरो अर्थ र बुद्धिमान् मानिसहरूका अड्को बुझ्न सक्नेछन्। ज्ञान प्राप्त गर्न पहिले परमप्रभुको भय राख्नुपर्छ। मूर्खहरूले बुद्धिको कदर गर्दैनन् र शिक्षा लिने मन गर्दैनन्। ए मेरो छोरो, तेरा आमा-बुबाले भनेका कुरा ध्यान दिएर सुन् किनभने ती कुराले तेरा चालचलन त्यसरी नै असल बनाउनेछ, जसरी सुन्दर फेटा वा गलाको हारले तँ सुहाउँदो देखिन्छस्। ए मेरो छोरो, पापीहरूले तँलाई फकाई-फुस्लाई गर्दा तँ तिनीहरूसित नलाग्। तिनीहरूले यसो भन्लान्, “जाऔं, गएर कसैको हत्या गरौं! कोही निर्दोष मानिसहरूमाथि आक्रमण गरौं! हामीले तिनीहरूलाई जिउँदा र असल-कुशल भेट्टाउँला तर हाम्रो काम सिद्धिंदा तिनीहरू मरिसकेका हुनेछन्! हरेक किसिमका धन-सम्पत्ति हामीले फेला पार्नेछौं र लुटेका मालले हाम्रा घरहरू भरिनेछन्! आओ, हाम्रो साथ देओ र लुटेका माल हामी आपसमा बाँडौंला।” ए मेरो छोरो, त्यस्ता मानिसहरूसित नलाग्। तिनीहरूदेखि टाढै बस्। दुष्कर्म गर्न तिनीहरू ढीलो हुँदैनन्, हत्या गर्न तिनीहरू सधैँ तयार रहँदछन्। आफूले पक्रन दाउ गरेको चराले देख्दा-देख्दै जाल बिछ्याउनु व्यर्थ छ, तर त्यस्ता मानिसहरूले आफ्नै निम्ति जाल बिछ्याउँदछन्, जालमा परेर तिनीहरू आफैं मर्छन्। चोरीले सधैँ चोर्नेको ज्यान लिंन्छ। हिँसा गरेर कमाइ गर्ने मानिसको अन्त पनि त्यस्तै हुनेछ। सुन्! बाटो-बाटो र बजारका चोकहरूमा बुद्धिले बोलाइरहेको छ, सहरका ढोकाहरू र मानिसहरू भेला हुने ठाउँहरूमा त्यसले सोर उचालेर यसो भन्दछ– “हे मूर्खहरू हो! कहिलेसम्म तिमीहरू मूर्ख भइरहन चाहन्छौ? कहिलेसम्म बुद्धिलाई तुच्छ ठानी सन्तोष मान्ने? के ज्ञानका कुरा कहिल्यै नसिक्ने? तिमीहरूले मेरो हप्कीको कुरा सुन। म तिमीहरूलाई असल अर्ती दिनेछु र मेरो ज्ञान तिमीहरूसँग बाँड्नेछु। मैले तिमीहरूलाई बोलाइरहेको छु, आओ भनी निम्तो दिइरहेको छु तर तिमीहरूले मेरो कुरा सुन्दैनौ। तिमीहरूले मतिर ध्यानै दिएनौ। तिमीहरूले मेरो सल्लाह सुनेनौ र तिमीहरूलाई सुधार्ने मौका मलाई दिएनौ। जब तिमीहरू कष्टमा पर्नेछौ, म तिमीहरूमाथि हाँस्नेछु, डरलाग्दा विपत्तिहरू आइलाग्दा म तिमीहरूलाई खिसी गर्नेछु– विपत्ति तिमीहरूमाथि आँधीझैँ आउनेछ, दु:खको डरलाग्दो हुरी चल्नेछ र तिमीहरू कष्ट र पीडामापर्नेछौ। त्यस बेला म तिमीहरूलाई खिसी गर्नेछु। त्यस बेला तिमीहरूले बुद्धिलाई पुकार्नेछौ तर म जवाफ दिनेछैनँ। सबै ठाउँहरूमा तिमीहरूले मलाई खोज्नेछौ तर मलाई भेट्टाउनेछैनौ। तिमीहरूले सधैँ बुद्धिको तिरस्कार गरेका छौ र परमप्रभुको आज्ञा मान्न इन्कार गरेका छौ। तिमीहरूले कहिल्यै मेरो सल्लाह लिएनौ अथवा मैले चेतावनी दिँदा ध्यान दिएनौ। यसकारण तिमीहरूले खोजेका भेट्टाउनेछौ र आफ्नै कर्मले दु:खी हुनेछौ। तर अन्जान व्यक्तिहरू बुद्धिको तिरस्कार गरेका हुनाले मरेर जानेछन्, मूर्ख व्यक्तिहरू आफ्नै बेवास्ताले गर्दा नाश हुनेछन्। तर जसले मेरो कुरा सुन्छ, त्यसले सुरक्षा पाउनेछ। त्यो कुशलसाथ रहनेछ र त्यसलाई डरको कुनै कारण हुनेछैन।”