फिलिप्पी 3:4-12
फिलिप्पी 3:4-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यद्यपि म आफैलाई त शरीरमा भरोसा राख्ने कारण छ। कुनै मानिसले शरीरमा भरोसा राख्ने कारण छ भन्ठान्छ भने, मेरो त झन् बढ़ी कारण छ। आठौँ दिनमा मेरो खतना भएको हो। म इस्राएल जातिको, बेन्यामीन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने एक फरिसी, जोशको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकताबमोजिम निष्खोट ठहरिएको हुँ। तर जति कुरा मेरो निम्ति लाभदायक थिए, ती त मैले ख्रीष्टको खातिर हानि नै ठानें। साँच्चै भन्ने हो भने ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रीष्टलाई प्राप्त गर्न सकूँ भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर-मैला तुल्य म गन्दछु, र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो, जो ख्रीष्टमाथि निर्भर हुन्छ, जुनचाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकूँ, र उहाँको मृत्युमा उहाँजस्तै भई उहाँका दुःख-भोगमा सहभागी हुन सकूँ। सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकूँ। मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्ति म अघि बढ़िरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो!
फिलिप्पी 3:4-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यद्यपि म आफूसँग पनि मानवीय उपलब्धीहरूमा भरोसा राख्ने कारणहरू छन्। यदि कसैले आफूलाई यी कुराहरूमा भरोसा राख्ने कारणहरू छन् भनी ठान्दछ भने मसँग झन् धेरै कारणहरू छन्: आठौँ दिनमा मेरो खतना भएको हो; इस्राएल जातिको मानिस, बेन्यामीनको कुलको, हिब्रूहरूको हिब्रू; यहूदीहरूको व्यवस्थाको अभ्यासको विषयमा हो भने एक फरिसी; जोशको विषयमा हो भने मण्डलीलाई सताउने हुँ; व्यवस्थाबमोजिम धार्मिक ठहरिने कुरामा हो भने दोषरहित। तर जे कुराहरू मेरा निम्ति मूल्यवान् थिए, अब ती कुराहरूलाई ख्रीष्टको निम्ति म व्यर्थको ठान्दछु। हो, मेरा प्रभु ख्रीष्ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु; त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्टलाई प्राप्त गर्न सकूँ। उहाँमा पाइन सकूँ, व्यवस्था पालनबाट आउने मेरो आफ्नै धार्मिकतामा होइन, तर ख्रीष्टमाथिको विश्वासद्वारा आउने त्यो धार्मिकता, जुन धार्मिकता विश्वासको आधारमा परमेश्वरबाट आउँछ। म ख्रीष्टलाई र उहाँको पुनरुत्थानको शक्तिलाई जान्न चाहन्छु—उहाँको कष्ट भोगाइमा सहभागी हुन र उहाँको मृत्युमा उहाँजस्तै हुन चाहन्छु; अनि जसरी भए तापनि मरेकाहरूबाट पुनर्जीवित हुन चाहन्छु। मैले यी सबै कुरा प्राप्त गरिसकेको छैनँ, अथवा म लक्ष्यमा पुगेको पनि छैनँ; तर ख्रीष्ट येशूले जे कुराको निम्ति मलाई पक्रनुभयो; त्यही कुरा पक्रन सकूँ भनी म अगाडि बढिरहेको छु।
फिलिप्पी 3:4-12 पवित्र बाइबल (NERV)
म आफैंमा भर पर्न सक्छु, तर म पर्दिन। यदि कसैले भन्छ कि ऊ आफैंमा भरोसा गर्न सक्छ तब म त्यो भन्दा ज्यादा गर्न सक्छु। म जन्मेको आठौं दिनमा मेरो खतना भएको हो। म इस्राएल राष्ट्रको हुँ र बिन्यामीन वंशको हुँ। म एकजना यहूदी हुँ र मेरा आमा-बाबु पनि यहूदी नै थिए। मोशाको व्यवस्था मेरो लागि महत्वपूर्ण थियो। त्यसैले म फरिसी भएँ। म यहूदी धर्मको कट्टर सर्मथक थिएँ। मैले मण्डलीलाई खेदो गरें। मैले जुन प्रकारले मोशाको व्यवस्था पालन गरें त्यसमा कसैले भूल भेट्न सक्दैनथे। एक समयमा यी सब मेरो लागि महत्वपूर्ण थियो। तर मैले ठानें, ख्रीष्टको अघि ती सब व्यर्थका रहेछन्। त्यति मात्र होइन, म सम्झन्छु, मेरा प्रभु येशू ख्रीष्टको महानतालाई बुझ्नेको तुलनामा प्रत्येक कुरो नगन्य रहेछ। ख्रीष्ट भेट्टाउँ भनी मैले नै प्रत्येक कुरो छोडिदिएँ अनि अहिले ती सबे वेकार ठान्छु। अनि यसले मलाई ख्रीष्ट अप्नाउन दियो। ख्रीष्टमा म धार्मिक छु, तर यो उपयुक्त नियम पछ्याएकोले होइन। यो परमेश्वरमा विश्वासको माध्यमद्वारा आउँछ। परमेश्वरले मलाई धार्मिक बनाउनु ख्रीष्टमा मेरो विश्वासलाई प्रयोग गर्नुभयो म ख्रीष्टलाई मात्र र जेले उहाँलाई मृत्युबाट बौरायो त्यो शक्तिलाई जान्न चाहन्छु। म ख्रीष्टको कष्टको सहभागी बन्न चाहन्छु र उहाँको मृत्युमा उहाँ जस्तै हुन चाहन्छु। अनि ममा आशा छ म पनि मृत्युबाट बौरी उठ्नेछु। परमेश्वरले मलाई चाहे जस्तै म भइसकेको छु भन्ने मेरो भनाई होइन। म त्यस लक्ष्यमा पुग्न सकेको छैन। तर त्यहाँ पुग्नु र लक्ष्य हासिल गर्न म निरन्तर चेष्टा चलाई रहेकोछु। ख्रीष्टले पनि त्यही चहानु हुन्छ र मलाई उहाँको आफ्नु बनाउनु भयो।
फिलिप्पी 3:4-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बाहिरी कुरामा भरोसा राख्ने भए म सबैभन्दा बढी भरोसा राख्न सक्नेथिएँ किनभने मलाई त जन्मेको आठ दिनमा नै खतना लगाइदिएको थियो। जन्मले नै भन्ने हो भने म बेन्यामीन कुलको इस्राएली हुँ। म झर्रा हिब्रू हुँ। व्यवस्था मान्नेहरूमा म फरिसी थिएँ। जोशिलो भएर मैले ख्रीष्टका मण्डलीको खेदो गरें। व्यवस्था मानेर परमेश्वरको अघि ठीक हुनेभए म ठीक थिएँ। तर त्यस बेला मैले आफ्नो निम्ति लाभदायक सम्झेका सबै कुरा अब ख्रीष्टको निम्ति त व्यर्थै ठान्छु। यति मात्र होइन, येशू ख्रीष्ट मेरा प्रभु हुन् भन्ने अति बहुमूल्य ज्ञान पाएर अरू सब कुरा व्यर्थको ठान्छु। उहाँकै निम्ति मैले सबै कुरा त्यागिदिएको छु र उहाँलाई पाऊँ भनेर मैले यी सबै कुरा कसिङ्गर सम्झेको छु र उहाँमा नै लीन हुन चाहन्छु। व्यवस्था मानेर परमेश्वरको अघि ठीक ठहरिने मेरो आफ्नै धार्मिकता छैन। तर अब त परमेश्वरले नै मलाई ख्रीष्टमा विश्वास गरेकोले ठीक ठहराउनुहुन्छ। यो धार्मिकता विश्वासमा अडेको छ। मचाहिँ ख्रीष्टलाई जान्न र उहाँकै बिउँतने शक्तिको अनुभव गर्न उहाँको दु:खको सहभागी हुन र उहाँको मृत्युसम्मै उहाँजस्तै हुन चाहन्छु र हुन सके मरेकोबाट पनि बिउँतन सकूँ। मैले सबै थोक पाएँ अनि म सिद्ध भएको छु, म भन्दिनँ। मैले यस इनाम पाउन बल गरिरहेको छु, जसको लागि ख्रीष्ट येशूले मलाई अघि नै आफ्नो पारिसक्नुभएको छ।