फिलिप्पी 2:5-13
फिलिप्पी 2:5-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन। तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो। स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो। त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरेजस्तो होइन, तर अब झन् बढ़ी मेरो अनुपस्थितिमा डर र कम्पसाथ तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर। किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ।
फिलिप्पी 2:5-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूको एक-अर्कासँगको सम्बन्धमा ख्रीष्ट येशूको जस्तै मन होस्: उहाँ स्वभावमा परमेश्वर भएर पनि परमेश्वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन; तर आफैँलाई रित्त्याईकन एउटा सेवकको रूप लिएर मानिसको प्रतिरूपमा बनिनुभयो। अनि स्वरूपमा मानिसजस्तै भएर, उहाँले आफैँलाई नम्र तुल्याउनुभयो, र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै आज्ञाकारी हुनुभयो। त्यसैकारण परमेश्वरले उहाँलाई सर्वोच्च स्थानसम्म उच्च पार्नुभयो, र उहाँलाई एउटा नाम दिनुभयो, जो हरेक नामभन्दा उच्च छ, यसकारणले कि स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि भएका, हरेक प्राणीले येशूको नाममा घुँडा टेक्नुपर्छ; अनि परमेश्वर पिताको महिमाको निम्ति, हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ। यसैले मेरा प्रिय मित्रहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले मेरा शिक्षाहरू सधैँ पालन गरेका थियौ। अहिले म तिमीहरूदेखि टाढा छु; यसैले यो अझ महत्त्वपूर्ण छ। परमेश्वरमा आज्ञाकारी भई गहिरो भक्ति र भयका साथ आफ्नो मुक्तिका परिणामहरू देखाउन कडा परिश्रम गर। किनकि तिमीहरूमा काम गर्ने परमेश्वर नै हुनुहुन्छ, जसले उहाँको आफ्नो असल उद्देश्य पूरा गर्न तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुन्छ।
फिलिप्पी 2:5-13 पवित्र बाइबल (NERV)
आफ्नो जीवनमा ख्रीष्ट येशूले जस्तै सोच र गर। ख्रीष्ट आफैं हरेक कुरामा परमेश्वर जस्तै हुनुहुन्थ्यो। उनी परमेश्वर बराबरी हुनु हुन्थ्यो। तर उहाँले परमेश्वसित रहेको बराबरीलाई आफ्नो निम्ति राखिनु पर्ने सम्पत्ति झैं मान्नु भएन। परमेश्वरसित उहाँको ठाउँ उहाँले छोडिदिनु भयो, र मानव हुन जन्मनु भयो। अनि सेवक हुनु भयो। जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफैंलाई खुबै नम्र बनाउनु भयो। अनि उहाँ मृत्यु अँगाल्न सम्म आज्ञाकारी हुनु भयो, र क्रूसमा मर्नु भयो। ख्रीष्टले परमेश्वरको आज्ञा पालनन गर्नु भयो, यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो। परमेश्वरले ख्रीष्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनु भयो। उहाँले यसो गर्नुभयो, ता कि स्वर्गमा, पृथ्वीमा औ पातालमा भएका हरेकले येशूको नाउँमा घुँडा टेकुन्। “येशू ख्रीष्ट प्रभु हुनुहुन्छ,” भनी प्रत्येक जिब्रोले स्वीकार गरून्। जब यसले पिता परमेश्वरको महिमा ल्याउँछ। मेरा प्रिय साथीहरू! तिमीहरूले सधैँ भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर। परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।
फिलिप्पी 2:5-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूको व्यवहार येशू ख्रीष्टको जस्तै होस्। उहाँ सधैँ परमेश्वरकै समान हुनुहुन्थ्यो। तर उहाँले बलजफती परमेश्वरसमान हुने विचारै पनि गर्नुभएन। उहाँले आफ्नै इच्छाले यी सबै त्याग्नुभयो अनि कमारोको रूप लिनुभयो। उहाँ हामीहरूजस्तै मानिस भएर जन्मनुभयो। उहाँले नम्र भएर मृत्युसम्म, क्रूसकै मृत्युसम्म आज्ञा मान्नुभयो। त्यसो हुँदा परमेश्वरले उहाँलाई सबैभन्दा माथि उठाउनुभयो र सर्वोच्च नाउँ दिनुभयो। यसरी स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैले येशूको नाउँको आदर गर्न घुँडा टेक्नेछन्। येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनेर सबैले खुल्लमखुल्ला परमेश्वरको सम्मान्को निम्ति घोषणा गर्नेछन्। यसकारण प्यारा दाजुभाइहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले सधैँ मेरा कुराहरू मान्यौ, अहिले म टाढा हुँदा पनि तिमीहरूले मेरा कुराहरू मान्न झन् खाँचो छ। तिमीहरूले डरले काम्दै आफूले पाएको मुक्तिलाई व्यवहारमा लेओ किनभने परमेश्वरले तिमीहरूमा काम सधैँ गरिरहनुभएको छ। उहाँले नै तिमीहरूलाई उहाँको उद्देश्य पूरा गर्न मन र सामर्थ दिनुहुन्छ।