फिलिप्पी 2:1-30
फिलिप्पी 2:1-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि ख्रीष्टमा केही प्रोत्साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही सङ्गति, केही स्नेह र सहानुभूति छ भने, तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर। स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर। तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन। तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो। स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो। त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरेजस्तो होइन, तर अब झन् बढ़ी मेरो अनुपस्थितिमा डर र कम्पसाथ तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर। किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ, कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान होओ, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्कन्छौ। जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्यर्थमा दगुरिनँ, र मैले व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको दिनमा म गर्व गर्न सकूँ। यदि तिमीहरूका विश्वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्दित छु, र तिमीहरू सबैसँग म रमाउँछु। त्यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनुपर्छ। म तिमीहरूकहाँ तिमोथीलाई चाँड़ै पठाउन प्रभुमा आशा गर्दछु, ताकि तिमीहरूको समाचार पाएर म पनि प्रसन्न हुन सकूँ। तिनीजस्तो साँचो मनले तिमीहरूका कल्याणको चिन्ता गर्ने मानिस मसँग अरू कोही छैन। येशू ख्रीष्टका कुराको वास्ता नगरी, तिनीहरू सबै आफ्नै स्वार्थ खोज्छन्। तर तिमोथीको योग्यता त तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्दछ, त्यसरी नै तिनले मसँग सुसमाचारको काममा सेवा गरे। यसकारण मेरो निम्ति के-कसो हुन्छ सो बुझ्ने बित्तिकै तिनलाई पठाउने आशा गर्दछु। अनि म पनि चाँड़ै आउँला भनी प्रभुमा भरोसा राखेको छु। इपाफ्रोडिटस, जो मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही तथा तिमीहरूले पठाएका दूत र मलाई खाँचो पर्दा सेवा गर्ने हुन्, तिनलाई तिमीहरूकहाँ पठाउन आवश्यक ठानेको छु, किनकि तिनले तिमीहरू सबैका निम्ति अति तृष्णा गरिरहेका छन्। तिनी बिरामी भएको खबर तिमीहरूले थाहा पाएकाले तिनी व्याकुल भएका छन्। तिनी साँच्चै मरणान्त बिरामी थिए, तर परमेश्वरले तिनीमाथि दया देखाउनुभयो। तिनीमाथि मात्र होइन, तर मलाई शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया गर्नुभयो। यसकारण म तिनलाई पठाउन झन् बढ़ी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू रमाउनेछौ, र मेरो चिन्ता पनि कम हुनेछ। त्यसैले ज्यादै आनन्दसाथ प्रभुमा तिनलाई ग्रहण गर, र यस्ता मानिसहरूलाई आदर गर। किनकि मप्रतिको तिमीहरूको सेवा पूरा गर्नलाई ख्रीष्टका कामको निम्ति तिनी मृत्युको मुखैमा पुगेका थिए।
फिलिप्पी 2:1-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण यदि ख्रीष्टसँगको एकतामा तिमीसँग केही प्रोत्साहन, उहाँको प्रेमबाट केही सान्त्वना, पवित्र आत्मामा केही साझा भाग, केही स्नेह र सहानुभूति छ भने, एउटै मनका भएर, एउटै प्रेममा रहेर, एउटै आत्मा र लक्ष्य लिएर मेरो आनन्द पूरा गर। स्वार्थी आकांक्षा वा व्यर्थको अहङ्कारमा केही नगर, तर नम्रतामा एक-अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले केवल आफ्नो मात्र भलाइ नखोज, तर तिमीहरू हरेकले अरूको भलाइलाई पनि विचार गर। तिमीहरूको एक-अर्कासँगको सम्बन्धमा ख्रीष्ट येशूको जस्तै मन होस्: उहाँ स्वभावमा परमेश्वर भएर पनि परमेश्वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन; तर आफैँलाई रित्त्याईकन एउटा सेवकको रूप लिएर मानिसको प्रतिरूपमा बनिनुभयो। अनि स्वरूपमा मानिसजस्तै भएर, उहाँले आफैँलाई नम्र तुल्याउनुभयो, र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै आज्ञाकारी हुनुभयो। त्यसैकारण परमेश्वरले उहाँलाई सर्वोच्च स्थानसम्म उच्च पार्नुभयो, र उहाँलाई एउटा नाम दिनुभयो, जो हरेक नामभन्दा उच्च छ, यसकारणले कि स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि भएका, हरेक प्राणीले येशूको नाममा घुँडा टेक्नुपर्छ; अनि परमेश्वर पिताको महिमाको निम्ति, हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ। यसैले मेरा प्रिय मित्रहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले मेरा शिक्षाहरू सधैँ पालन गरेका थियौ। अहिले म तिमीहरूदेखि टाढा छु; यसैले यो अझ महत्त्वपूर्ण छ। परमेश्वरमा आज्ञाकारी भई गहिरो भक्ति र भयका साथ आफ्नो मुक्तिका परिणामहरू देखाउन कडा परिश्रम गर। किनकि तिमीहरूमा काम गर्ने परमेश्वर नै हुनुहुन्छ, जसले उहाँको आफ्नो असल उद्देश्य पूरा गर्न तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुन्छ। गनगन र वाद-विवाद नगरी सबै काम गर; ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, “टेढो र भ्रष्ट पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान बन्न सक।” तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैँ चम्कनेछौ। यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिनँ अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको पुनरागमनमा म गर्व गर्न सकूँ। तर यदि तिमीहरूको विश्वासबाट आएको सेवा र बलिदानमा म अर्घबलिको रूपमा बलि हुनुपरे तापनि म सबैसँग खुशी र आनन्दित हुन्छु। त्यसै गरी तिमीहरू पनि मसँगै खुशी र आनन्दित हुनुपर्छ। म प्रभु येशूमा आशा गर्दछु, यस हेतुले कि तिमोथीलाई चाँडै नै तिमीहरूकहाँ पठाउन सकूँ, ताकि म तिमीहरूको बारेमा खबर पाएर प्रसन्न हुन सकूँ। मसित तिनीजस्तो अर्को मानिस छैन, जसले तिमीहरूको भलाइ मात्र सोच्छ। किनकि सबैले आफ्नै स्वार्थ मात्र खोज्दछन्, तर येशू ख्रीष्टको इच्छा खोज्दैनन्। तर तिमोथीले आफूलाई साबित गरेको कुरा तिमीहरूलाई थाहै छ; किनकि एउटा छोराले बुबासँगै काम गरेझैँ, तिनले मसँगै सुसमाचारको काममा सेवा गरे। यसकारण मेरो परिस्थिति कस्तो हुन्छ भन्ने बुझेर, म तिनलाई चाँडोभन्दा चाँडो पठाउने आशा गर्दछु। अनि म प्रभुमा निश्चित छु, कि म आफैँ पनि चाँडै आउनेछु। तर मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही इपाफ्रोडिटस, जसलाई तिमीहरूले मेरा खाँचोहरूमा वास्ता गर्नलाई पठाएका तिमीहरूका दूत पनि हुन्, तिनलाई तिमीहरूकहाँ फेरि फर्काएर पठाउन मैले आवश्यक ठानेको छु। किनकि तिनले तिमीहरू सबैको तिर्सना गरिरहेका छन्, र तिनी बिरामी छन् भनी तिमीहरूले सुनेका हुनाले तिनी दुःखित भएका छन्। वास्तवमा तिनी बिरामी भएर झण्डै मरेका थिए। तर परमेश्वरले तिनीमाथि दया गर्नुभयो। तिनीमाथि मात्रै होइन, तर ममाथि पनि दया गर्नुभयो; ताकि ममाथि शोकमाथि अझै शोक नथपियोस्। यसैकारण पनि तिनलाई पठाउन म अझ बढी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू खुशी हुन सक र मेरो पनि चिन्ता कम होस्। यसैले तिनलाई ठूलो आनन्दसाथ प्रभुमा स्वागत गर, र तिनीजस्ता मानिसहरूलाई आदर गर; किनकि तिनी ख्रीष्टको कामका निम्ति झण्डै मृत्युमा पुगेका थिए। तिनले तिमीहरू आफैँले मेरा निम्ति दिन नसकेको सेवा पूरा गर्नलाई आफ्नो जीवन जोखिममा हाले।
फिलिप्पी 2:1-30 पवित्र बाइबल (NERV)
मैले तिमीहरूलाई ख्रीष्टमा केही गर भन्न सक्नु पर्ने केही छ? के तिमीहरूको मायाले तिमीहरूलाई मलाई सुख देऊ भन्छ? तिमीहरू आत्मामा हामीसँग सहभागी हुन्छौ? तिमीहरूमा कृपा र दया छ? यदि यी कुराहरू तिमीहरूमा छन् भने मेरो निम्ति केही गरिदेऊ भन्ने बिन्ती गर्छु। यसले मलाई खुबै खुशी तुल्याउनेछ। तिमीहरू सबैको हृदयले त्यही कुराहरू सोचोस् अनि त्यहाँ त्यही प्रेम रहोस्। मेल मिलापसँग एउटै लक्ष्य लिएर बाँच। जब केही कुरो गर्छौ, स्वार्थ वा मूर्खताको गर्वमा नगर। नम्र होऊ र आफूलाई भन्दा अरू अझ सम्मान योग्य भएको मान। आफ्नै लागि मात्र रूचि नराख, तर अरूहरूको जीवनमा पनि रूचि राख्ने गर। आफ्नो जीवनमा ख्रीष्ट येशूले जस्तै सोच र गर। ख्रीष्ट आफैं हरेक कुरामा परमेश्वर जस्तै हुनुहुन्थ्यो। उनी परमेश्वर बराबरी हुनु हुन्थ्यो। तर उहाँले परमेश्वसित रहेको बराबरीलाई आफ्नो निम्ति राखिनु पर्ने सम्पत्ति झैं मान्नु भएन। परमेश्वरसित उहाँको ठाउँ उहाँले छोडिदिनु भयो, र मानव हुन जन्मनु भयो। अनि सेवक हुनु भयो। जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफैंलाई खुबै नम्र बनाउनु भयो। अनि उहाँ मृत्यु अँगाल्न सम्म आज्ञाकारी हुनु भयो, र क्रूसमा मर्नु भयो। ख्रीष्टले परमेश्वरको आज्ञा पालनन गर्नु भयो, यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो। परमेश्वरले ख्रीष्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनु भयो। उहाँले यसो गर्नुभयो, ता कि स्वर्गमा, पृथ्वीमा औ पातालमा भएका हरेकले येशूको नाउँमा घुँडा टेकुन्। “येशू ख्रीष्ट प्रभु हुनुहुन्छ,” भनी प्रत्येक जिब्रोले स्वीकार गरून्। जब यसले पिता परमेश्वरको महिमा ल्याउँछ। मेरा प्रिय साथीहरू! तिमीहरूले सधैँ भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर। परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ। कुनै गनगन वा बहस नगरी सबै काम गर। तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ। जीवन पाउने शिक्षा तिनीहरूलाई देऊ तब ख्रीष्ट फेरि आउनु हुँदा मेरो दौडाई नष्ट भएन औ मेरो चेष्टा खेर गएन भनी म तिमीहरूमा गर्व गर्न सक्छु। तिमीहरूका विश्वासाबाट तिमीहरूको जीवनलाई परमेश्वरको सेवामा एक बलि हुनेछ। तिमीहरूको बलि पूर्ण गराउनु मैले आफ्नो रगत दिनु पर्छ भने पनि म तिमीहरू जम्मैसित खुशी अनि आनन्दमयी हुनेछु। त्यसरी नै तिमीतहरू पनि म सँग खुशी अनि आनन्दमयी हुनुपर्छ। तिमोथीलाई तिमीहरूकहाँ चाँडै पठाउँला भनी म प्रभु येशूमा आशा गर्दछु। तिमीहरूको बारेमा सुनेर म हर्षित हुनेछु। तिमोथी जस्तो अरू मानिस मसित छैन। उनको तिमीहरूमा साँच्चो चासो छ। अरूहरू त आफैंमा मात्र मस्त छन्। ख्रीष्ट येशूको काममा तिनीहरूलाई कुनै चासो छैन। तिमोथी कस्ता मानिस हुन तिमीहरूले जान्दछौ। एउटा छोराले कसरी बाबुको सेवा गर्छ त्यसरी नै सुसमाचारको प्रचारमा उनले मसित सेवा गरेका छन् भन्ने कुरो तिमीहरू जान्दछौ। म उनलाई चाँडै पठाउने प्रयास गर्दैछु। मलाई के हुन्छ त्यो जान्ने बित्तिकै म तिनलाई पठाउनेछु। म पुरै भरोसामा छु कि तिमीहरूलाई चाँडै भेट्नु जानु प्रभुले सहायता गर्नु हुनेछ। इपाफ्रोडाइटस ख्रीष्टमा हुने मेरा भाइ हुन्। ख्रीष्टको दलमा उनी पनि मसित काम र सेवा गर्छन्। जब मलाई सहायताको खाँचो परेको थियो, तिमीहरूले उसलाई मकहाँ पठाइदियौ। अब उसलाई तिमीहरू भएकोमा नै पठाइदिनु पर्छ भन्ने विचार गर्दैछु। म उसलाई यसकारण पनि पठाउनेछु कि तिमीहरूलाई भेट्न उनी पनि खुबै व्याकुल छन्। जब तिमीहरूले उनी बिमार छन् भन्ने सुने देखि उनी चिन्तित थिए। हो, उनी साँच्चै बिमारी थिए मृत्युकै मुखमा पुगेका थिए। परमेश्वले उनीमाथि मात्र दया नगरेर ममाथि पनि गर्नुभयो, ताकि मैले धेरै चिन्ता लिनु परेन। यसैकारणले उसलाई पठाउन म खुबै इच्छुक छु। उसलाई देखे पछि तिमीहरू पनि खुशी हुनेछौ र मैले तिमीहरूको फिक्री गरिरहनु पर्दैन। प्रभुमा उसलाई महा आनन्दमा स्वागत गर। इपाफ्रोडाइटस जस्तो मानिसलाई आदर गर्नु पर्छ। ख्रीष्टको कामका निम्ति उसको झण्डै मृत्यु भयो। मेरो सहायता गर्नुमा उनले आफ्नो प्राण नै सङ्कटमा पारे। त्यस्तो सहायता दिन तिमीहरूले सकेनौ।
फिलिप्पी 2:1-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
के ख्रीष्टमा भएको तिमीहरूको जीवनले तिमीहरूलाई हौसला दिएको छ? उहाँको प्रेमले तिमीहरूलाई सान्त्वना दिएको छ? तिमीहरूले पवित्र आत्माको संगति गर्छौ? के तिमीहरू एक-अर्कालाई दया र माया गर्छौ? त्यसो हो भने मलाई खुसी पार्न तिमीहरू एउटै विचार भएका, एउटै प्रेममा रहेका र एउटै चित्त भएका होओ भनी म तिमीहरूलाई बिन्ती गर्छु। आफ्नै मात्र भलाइ खोजेर तिमीहरू केही नगर। तिमीहरूले फोस्रो घमण्डको निम्ति पनि केही नगर। एक-अर्काप्रति नम्र बन र अरूहरू आफूभन्दा राम्रा छन् भनी सम्झ। आफ्नै मात्र होइन, अरूको पनि विचार गर। तिमीहरूको व्यवहार येशू ख्रीष्टको जस्तै होस्। उहाँ सधैँ परमेश्वरकै समान हुनुहुन्थ्यो। तर उहाँले बलजफती परमेश्वरसमान हुने विचारै पनि गर्नुभएन। उहाँले आफ्नै इच्छाले यी सबै त्याग्नुभयो अनि कमारोको रूप लिनुभयो। उहाँ हामीहरूजस्तै मानिस भएर जन्मनुभयो। उहाँले नम्र भएर मृत्युसम्म, क्रूसकै मृत्युसम्म आज्ञा मान्नुभयो। त्यसो हुँदा परमेश्वरले उहाँलाई सबैभन्दा माथि उठाउनुभयो र सर्वोच्च नाउँ दिनुभयो। यसरी स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैले येशूको नाउँको आदर गर्न घुँडा टेक्नेछन्। येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनेर सबैले खुल्लमखुल्ला परमेश्वरको सम्मान्को निम्ति घोषणा गर्नेछन्। यसकारण प्यारा दाजुभाइहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले सधैँ मेरा कुराहरू मान्यौ, अहिले म टाढा हुँदा पनि तिमीहरूले मेरा कुराहरू मान्न झन् खाँचो छ। तिमीहरूले डरले काम्दै आफूले पाएको मुक्तिलाई व्यवहारमा लेओ किनभने परमेश्वरले तिमीहरूमा काम सधैँ गरिरहनुभएको छ। उहाँले नै तिमीहरूलाई उहाँको उद्देश्य पूरा गर्न मन र सामर्थ दिनुहुन्छ। कुनै काम गर्दा झर्को नमानी गर। यसो हुँदा तिमीहरू पापी र खराब मानिसका बीचमा परमेश्वरको निष्कलङ्क बालकझैँ निर्दोष र शुद्ध हुनेछौ। तिमीहरू ताराले आकाशै उज्यालो बनाएझैँ तिनीहरूको माझमा चम्कनुपर्छ र तिमीहरूले जीवनको सुसमाचारलाई बलियोसँग पक्रिराख। यस्तो गर्यौ भने मेरो दौड र परिश्रम त्यसै खेर गएनछ भनी ख्रीष्ट आउँदा मैले घमण्ड गर्ने मौका पाउनेछु। तिमीहरूले चढाएको विश्वासको बलिदानमा मेरो पनि रगत बलिदान स्वरूप बहे पनि यसमा म खुसी छु र मेरो खुसीयाली मा तिमीहरू पनि सहभागी होओ। त्यसै गरी तिमीहरू खुसी होओ र म तिमीहरूको खुसीयाली मा सहभागी बन्न सकूँ। प्रभु येशूको इच्छा भए आशा छ, म चाँडै तिमोथीलाई तिमीहरूकहाँ पठाउनेछु। र तिमीहरूको खबर पाउँदा मलाई पनि खुसी लाग्नेछ। साँचो मनले तिमीहरूको वास्ता राख्ने तिमोथीबाहेक मसँग अरू कोही छैन। अरू त सबै आफ्नै धुनमा मात्रै छन्, येशू ख्रीष्टको बारेमा वास्ता गर्ने कोही पनि छैनन्। उनले र मैले नै बुबा र छोराझैँ सुसमाचार फैलाउन कसरी काम गरेका थियौं र उनी कस्ता मानिस हुन्, तिमीहरूलाई थाहै छ। हेरौं, मलाई के-के हुने हो! ती कुराहरू थाहा पाउनासाथ मैले तिमोथीलाई पठाउने आशा राखेको छु। प्रभुको इच्छा भए, म पनि चाँडै आउने विश्वास राखेको छु। मैले हाम्रा भाइ इपाफ्रोडिटसलाई तिमीहरूकहाँ पठाउने आवश्यकता देखें। हामी दुवैले सँगै काम गर्यौं र सुसमाचार सुनाउने लडाइँमा पनि सँगै लड्यौं। उनी तिमीहरूकै दूत हुन्, जसलाई मेरो सहायताको निम्ति तिमीहरूले पठाएका थियौ। तिमीहरू सबैलाई भेट्ने उनको पनि ठूलो इच्छा छ। तिमीहरूले उनी बिरामी भएको सुन्यौ रे भनेर उनले ज्यादै फिक्री गरिरहेका छन्। साँच्चै उनी सारै बिरामी भएर झण्डैले मरेका थिए। तर परमेश्वरले उनीमाथि दया गर्नुभयो। उनलाई मात्र होइन मलाई पनि उहाँले दया गर्नुभयो र मैले शोकमाथि शोक बोक्नुपरेन। त्यसैकारण यही ठूलो उत्सुकता राखेर उनलाई नै तिमीहरूकहाँ पठाउँदै छु। त्यसो भए उनलाई देख्न पाएर तिमीहरू फेरि खुसी हुनेछौ अनि मेरो मनको दु:ख पनि हल्का हुनेछ। प्रभुमा उनलाई भाइजस्तो मन खोलेर स्वागत गर। यस्ता मानिसहरूलाई आदर गर्नैपर्छ। उनले ख्रीष्टको कामको लागि झण्डै आफ्नो प्राणसमेत दिएका थिए। तिमीहरूले मेरो निम्ति पूरा गर्न नसकेको सेवा उनले पूरा गरे।