फिलिप्पी 1:3-20
फिलिप्पी 1:3-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूप्रतिका मेरा सबै सम्झनामा म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु। तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्येक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु, कि प्रथम दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्ति म धन्यवादी छु। मलाई यो दृढ़ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ। तिमीहरू सबैका निम्ति मैले यसो ठान्नु उचित छ, किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्तछु, किनकि मेरो कैदमा र सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ। किनकि परमेश्वर मेरा साक्षी हुनुहुन्छ, कि कसरी ख्रीष्ट येशूको प्रेमले म तिमीहरू सबैका निम्ति तृष्णा गर्दछु। मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदैजाओस्, यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक। परमेश्वरका महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण होओ। भाइ हो, तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु, कि ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई अगि बढ़ाउने काम भएको छ, यहाँसम्म कि महलका सारा गारद र सबै बाँकीकहाँ पनि मेरो कैद ख्रीष्टको निम्ति भएको हो भन्ने जाहेर भएको छ। धेरैजसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन्, र परमेश्वरको वचन विनाडर बोल्नलाई झन् आँटिला भएका छन्। कसै-कसैले साँच्चै डाह र शेखीले, तर अरूहरूले सद्भावले ख्रीष्टलाई प्रचार गर्दछन्। सुसमाचारको सुरक्षाको निम्ति म यहाँ छु भनी जान्नेहरूले यो काम प्रेमले गर्दछन्, तर शेखी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्ट थपिदिने विचार गरेर, शुद्ध मनले होइन, तर स्वार्थको भावनाले ख्रीष्टको प्रचार गर्दछन्। जे होस्, मूल कुरो यही हो— हरकिसिमले, चाहे बहानामा, चाहे सत्यमा ख्रीष्टको प्रचार गरिओस्, र यसैमा म रमाउँछु। हो, म रमाउनेछु। किनकि म जान्दछु कि तिमीहरूका प्रार्थना र येशू ख्रीष्टका आत्माको सहायताले यो मेरो छुटकाराको निम्ति हुन आउनेछ। मेरो उत्कट प्रतीक्षा र आशा यो हो, कि म कदाचित् लज्जित हुनेछैनँ, तर ममा प्रशस्त साहस हुनेछ, र सधैँझैँ अहिले पनि मेरो शरीरमा ख्रीष्ट सम्मानित हुनुहुनेछ, चाहे मृत्युद्वारा होस्, अथवा जीवनद्वारा।
फिलिप्पी 1:3-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिमीहरूलाई म याद गर्छु, म मेरा परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु। मेरो हरेक प्रार्थनामा तिमीहरू सबैका निम्ति म सधैँ आनन्दसाथ प्रार्थना गर्दछु। किनकि सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म नै तिमीहरूको सहभागिता रहेको छ। यो कुरामा दृढ भरोसा छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले नै ख्रीष्ट येशूको पुनरागमनसम्म त्यो काम पूरा गर्नुहुनेछ। तिमीहरू सबैका विषयमा यस्तो महसुस गर्नु मेरो लागि उचित छ; किनकि मैले मेरो हृदयमा तिमीहरूलाई राखेको छु; त्यसैले चाहे म कैदमा रहँदा होस् वा सुसमाचारको समर्थन र प्रतिरक्षा गर्दा होस्, यसमा मसँगै तिमीहरू सबै परमेश्वरको अनुग्रहमा सहभागी भएका छौ। परमेश्वर साक्षी हुनुहुन्छ, कि ख्रीष्ट येशूको प्रेमले तिमीहरू सबैको कति धेरै म तिर्सना गर्दछु। मेरो प्रार्थना यही छ: ज्ञान र अन्तर्दृष्टिको गहिराइमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदै जाओस्। यस उद्देश्यले कि तिमीहरूले जे उत्तम छ, त्यो छुट्याउन सक; ताकि ख्रीष्टको पुनरागमनमा तिमीहरू शुद्ध र दोषरहित रहन सक। अनि परमेश्वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हुन सक। दाजुभाइ-दिदीबहिनीहरू हो, अहिले ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई विस्तार गर्ने काम गरेको छ भनी तिमीहरूले जान भन्ने म चाहन्छु। परिणाम स्वरूप सारा दरबारका पहरेदारहरू र बाँकी सबै मानिसहरूकहाँ म ख्रीष्टको निम्ति कैदमा रहेको हुँ भनी छर्लङ्ग भएको छ। अनि मेरो कैदको कारणले गर्दा प्रभुमा धेरै विश्वासीहरू साहसी भएका छन्, र निडरतासाथ सुसमाचार प्रचार गर्न धेरै उत्साहित भएका छन्। यो सत्य हो, कतिले डाह र प्रतिस्पर्धाका कारण ख्रीष्टलाई प्रचार गर्दछन्, तर अरूहरूले चाहिँ स्वच्छ मनसायले गर्दछन्। म सुसमाचारको सुरक्षाका निम्ति कैदमा परेको छु भनी जानेर स्वच्छ मनसायले प्रचार गर्नेहरूले यो काम प्रेमका लागि गर्दछन्। डाह र प्रतिस्पर्धाले प्रचार गर्नेहरूले स्वार्थी उद्देश्यले बेइमानीका साथ ख्रीष्टको प्रचार गरे; ताकि म कैदमा रहेको बेला तिनीहरूले मलाई अझ धेरै समस्या खडा गर्न सकून्। तर के भयो त? महत्त्वपूर्ण कुरा यही नै हो, चाहे खराब मनसायले होस् वा सत्यतामा होस्, जुनसुकै तरिकाले भए तापनि ख्रीष्ट नै प्रचारिनुहुन्छ। यसैकारणले म आनन्दित हुन्छु। हो, म निरन्तर आनन्दित हुनेछु। किनकि तिमीहरूका प्रार्थना र येशू ख्रीष्टको आत्माले दिनुहुने सहायताद्वारा ममाथि आइलागेका कुराहरू मेरै छुटकाराको निम्ति हुनेछ भनी म जान्दछु। म उत्कट इच्छा र आशा गर्दछु, म कदापि शर्ममा पर्नेछैनँ; तर मसँग प्रशस्त साहस हुनेछ, ताकि चाहे जीवनद्वारा होस् वा मृत्युद्वारा, सदाझैँ मेरो शरीरमा ख्रीष्ट उच्च पारिनुहुनेछ।
फिलिप्पी 1:3-20 पवित्र बाइबल (NERV)
जहिले पनि म तिमीहरूलाई सम्झन्छु, परमेश्वरलाई धन्यवाद चढाउँछु। प्रत्येक पल्ट म तिमीहरू सबैको लागि परमेश्वरलाई प्रार्थना गर्छु, म आनन्दले प्रार्थना गर्छु। मानिसहरूलाई सुसमाचार सुनाउँदा तिमीहरूले मलाई सहयोग गरेकोमा म परमेश्वरलाई धन्यवाद चढाउँछु। तिमीहरूले विश्वास गरेको दिनदेखि अहिलेसम्म सघाउँदैछौ। परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशू आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु। तिमीहरू मेरो हृदयमा भएकोले, मलाई लाग्छ तिमीहरूको विषयमा यस्तो सोच्नु म ठिकै छु। तर जब सुसमाचारको सत्यताको प्रमाण दिदैं र रक्षा गर्दै म जेलखानामा छु, तिमीहरू यो काम गर्ने आशीर्वादमा मसँग सहभागी छौ। म तिमीहरूलाई भेट्न अति इच्छुक छु, यो कुरो परमेश्वरले जान्नु हुन्छ। ख्रीष्ट येशूको प्रेम सितै म तिमीहरूलाई प्यार गर्दछु। तिमीहरूका निम्ति मेरो यही प्रार्थना छ किः बुद्धि र विवेक तिमीहरूको प्रेमसितै निरन्तर बढ्दै जाओस्। म प्रार्थना गर्छु कि तिमीहरू असल र खराबको भेद छुट्टयाउन योग्य होऊ, अनि के असल हो, चुन्न योग्य होऊ ताकि ख्रीष्ट येशू जुन दिन आउँनु हुन्छ तिमीहरू पवित्र औ दोषरहित हुन सक्छौ। म प्रार्थना गर्छु कि परमेश्वरको महिमा औ प्रशंसाका निम्ति येशू ख्रीष्टको सहयोगले धेरै सु-कर्महरू गर्न सक्छौ। दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, तिमीहरूले जान भन्ने म चाहन्छु कि मैले भोगेको कष्ट सुसमाचार अझ विकसित गराउनु सहयोग बनियो। म किन बन्दी भएको छु त्यो स्पष्ट छ। म बन्दी छु किनभने म ख्रीष्टको विश्वासी हुँ। सम्राटका महलका सबै प्रहरीहरूले तथा सबै मानिसहरूले यो बुझेकाछन्। म अझै बन्दी छु, तर धेरै जसो विश्वासीहरू सुसमाचार सहास र निर्भय साथ प्रचार गर्न सहासी बनिएका छन्। कोही मानिसहरू डाह र शेखीले अनि कसैले अरूलाई सहायता गर्ने इच्छाले ख्रीष्टलाई प्रचार गर्छन्। यी मानिसहरूले प्रेमले प्रचार गर्छन कारण तिनीहरू जान्दछन् कि सुसमाचार सुरक्षित राख्न म अह्राइएकोछु। तर अरू वेइमान्दारी र स्वार्थमा ख्रीष्ट विषयमा प्रचार गर्छन् किनभने तिनीहरू सम्झन्छन् कि म झेलखानामा हुदाँ मलाई कष्ट दिनु तिनीहरू सक्षम हुन्छन्। तिनीहरूले मलाई कष्टमा पारे तापनि म पर्वाह गर्दिनँ। तिनीहरूले पनि मानिसहरूलाई ख्रीष्टबारे सुनाउँदैछन्, त्यही महत्वपूर्ण कुरा हो। म चाहन्छु तिनीहरूले प्रचार नै गरून्। म चाहन्छु कि तिनीहरूले राम्रो उदेश्यले यसो गरून्। यदि यो खराब भावनाले भएता पनि म खुशी नै छु कारण तिनीहरूले ख्रीष्ट विषयमा नै प्रचार गर्छन्। अनि म खुशी नै भइरहन्छु। तिमीहरूले मेरो लागि प्रार्थना गर्दैछौ, अनि येशू ख्रीष्टको आत्माले मलाई सहायता गर्छ। यसैले म जान्दछु कि यो सम्पूर्ण कुरोले मेरो मुक्ति ल्याउँछ। मेरो दृढ इच्छा अनि आशा त्यो हो कि कुनै कुरोमा पनि म ख्रीष्टलाई भुल्ने छैन। म सधैँ आशा गर्दछु जब सम्म म यस शरीरमा रहनेछु ख्रीष्टको महानता देखाउनु अहिले ठूलो आँट पाउनेछु। म मरुँ अथवा जिउँदै रहुँ यो काम गरि रहनेछु।
फिलिप्पी 1:3-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जहिले पनि तिमीहरूलाई सम्झँदा म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु। सधैँ तिमीहरू सबैको लागि प्रार्थना गर्दा म खुसीसाथ प्रार्थना गर्छु किनभने तिमीहरूले मलाई सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म सघाउँदै आएका छौ। परमेश्वरले तिमीहरूमा सुरु गर्नुभएको राम्रो काम येशू ख्रीष्टको राज्य नआएसम्म परमेश्वरले नै सम्हाल्नुहुनेछ। यसमा मेरो पूरा विश्वास छ। तिमीहरूलाई सधैँ मैले आफ्नै हृदयमा राखेको छु। तिमीहरूको बारेमा यस्तै विचार गर्न मलाई ठीक लाग्यो किनभने अहिले म थुनामा हुँदा र बाहिर हुँदा पनि तिमीहरूले मलाई सुसमाचार फैलाउन र यसलाई जोगाउन परमेश्वरले दिनुभएका यी सबै अनुग्रहमा तिमीहरू मसँग सहभागी भएका छौ। साँच्चै तिमीहरूप्रति भएको मेरो यो गहिरो तिर्सना ख्रीष्ट येशूको हृदयबाटै आएको हो, म सत्य बोलिरहेछु भनी परमेश्वर नै मेरो साक्षी हुनुहुन्छ। मेरो प्रार्थना छ, तिमीहरूको प्रेम बढ्दै-बढ्दै जाओस्। यो प्रेम दुवै सत्य ज्ञान र राम्रो-नराम्रो केलाउने बुद्धिमा बढ्दै जाओस्। त्यसो भए मात्र तिमीहरूले सबैभन्दा राम्रो कुरोलाई छुट्याउन सक्नेछौ अनि ख्रीष्ट आउँदा तिमीहरू पवित्र र निर्दोष हुनेछौ। अनि परमेश्वरको आदर र प्रशंसाको लागि तिमीहरूको जीवनमा येशू ख्रीष्टले दिने असल फलहरू फल्नेछन्। दाजुभाइहरू, तिमीहरूले यो थाहा पाओ भन्ने म चाहन्छु। ममाथि आइपरेका कुराहरूले त सुसमाचार फैलाउन सहायता दिएका छन्। मैले ख्रीष्टलाई प्रचारेकोले म कैदमा परेको हुँ भन्ने दरबारका सबै सिपाही र अरू मानिसहरूलाई थाहा छ। म कैदमा परेको हुनाले धेरैजसो भाइहरू प्रभुमा दरिला भएका छन् अनि तिनीहरू डरबिना सुसमाचार सुनाउन आँटिला हुँदै गएका छन्। हुन त कसैकसैले आरिस गरी मैले अरूको भन्दा बढ्ता गरें भनेर देखाउन ख्रीष्टको प्रचार गर्दछन् र कतिले चाहिँ राम्रै विचारमा प्रेमले प्रचार गरेका छन्। कारण तिनीहरूलाई थाहा छ, परमेश्वरले मलाई सुसमाचारको पक्षमा बोल्न खटाउनुभएको छ। अरूहरूले भने सोझो मनले होइन तर मलाई कैदमा हुँदा झन् दु:ख थपिओस् भन्ने नराम्रो विचारले ख्रीष्टको प्रचार गरेका हुन्। जेसुकै होस्, यस बारेमा म त खुसी छु। चाहे राम्रो मनले होस्, चाहे नराम्रो मनले, जसरी भए पनि ख्रीष्टकै प्रचार हुन्छ। किनभने मलाई थाहा छ तिमीहरूको प्रार्थना र प्रभु येशू ख्रीष्टका आत्माले दिनुभएको सहायताले मैले छुटकारा पाउनेछु। मेरो कर्तव्यबाट नचुकूँ तर जुनै समय पनि विशेषगरी अहिले म आँटिलो बनेर मरे पनि, बाँचे पनि मेरा सम्पूर्ण जीवनले ख्रीष्टको आदर होस् भन्ने मेरो ठूलो इच्छा र आशा छ