फिलिप्पी 1:21-30

फिलिप्पी 1:21-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनकि मेरो निम्‍ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो। यदि शरीरमा नै जिउनु हो भने मेरो निम्‍ति त्‍यो फलदायी परिश्रम हुनेछ। तर पनि मैले कुनचाहिँ चुन्‍नुपर्ने हो, त्‍यो म भन्‍न सक्‍दिनँ। म त दोधारमा परेको छु। बरु बिदा भएर ख्रीष्‍टको साथमा हुने इच्‍छा छ, किनभने यो धेरै नै असल छ, तर शरीरमा रहन तिमीहरूका खातिर झन्‌ आवश्‍यक छ। यस कुरामा निश्‍चित भएर म जान्‍दछु कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्‍दको निम्‍ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्‍नेछु, यस हेतुले कि म फेरि तिमीहरूकहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने प्रशस्‍त कारण होस्‌। केवल तिमीहरूका जीवनको चाल ख्रीष्‍टका सुसमाचारको योग्‍य होस्‌। म चाहे आएर तिमीहरूलाई देखूँ, चाहे अनुपस्‍थित रहूँ, म तिमीहरूका बारेमा यही कुरा सुन्‍न चाहन्‍छु, कि तिमीहरू एउटै आत्‍मामा दृढ़ बनी खड़ा भएका छौ, र एउटै मनका भई सुसमाचारको विश्‍वासको निम्‍ति मिलेर परिश्रम गर्दछौ, र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्‍ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्‍ति चाहिँ मुक्तिको प्रत्‍यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्‍वरबाट हो। किनभने ख्रीष्‍टको निम्‍ति तिमीहरूलाई यो दिइएको छ, कि तिमीहरूले उहाँमाथि विश्‍वास गर्नु मात्र होइन, तर उहाँको खातिर दुःख पनि भोग्‍नुपर्छ, र त्‍यही सङ्घर्ष जो तिमीहरूले ममा देख्‍यौ र मसँग छ भनी अहिले सुन्‍दछौ, त्‍यसैमा तिमीहरू लागेका छौ।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्

फिलिप्पी 1:21-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो र मर्नुचाहिँ लाभ हो। यदि म शरीरमा नै जिइरहनुपर्ने हो भने यसको अर्थ मेरो निम्ति फलदायी परिश्रम हुनेछ। तापनि मैले के रोज्ने त? सो म जान्दिनँ! म दुवैबाट दबाबमा परेको छु: बिदा भएर ख्रीष्‍टको साथमा हुने इच्छा गर्दछु; किनकि यो धेरै नै असल छ। तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ। म निश्‍चित भएको छु; यसकारण तिमीहरू सबैको उन्‍नति र विश्‍वासको आनन्दका निम्ति म सबैसँग जीवित रहिरहनेछु भनी म जान्दछु; यसकारण म फेरि तिमीहरूकहाँ आउँदा मेरो कारण तिमीहरूलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्। जेसुकै आइपरे तापनि तिमीहरूका चालचलन ख्रीष्‍टको सुसमाचारको योग्य होस्। तब चाहे म आएर तिमीहरूलाई देखूँ, अथवा अनुपस्थित रहेर तिमीहरूका बारेमा सुनूँ, म यही कुरा थाहा पाउन चाहन्छु, कि तिमीहरू एउटै आत्मामा दृढ भई खडा छौ, र सुसमाचारको विश्‍वासको निम्ति एउटै मनका भई मिलेर परिश्रम गर्दछौ। तिमीहरू विरोधीहरूसँग कुनै किसिमले डराउनु हुँदैन। यो तिनीहरूका निम्ति एउटा चिन्ह हो, कि तिनीहरू नाश हुनेछन्, तर तिमीहरूको चाहिँ उद्धार हुनेछ—यो परमेश्‍वरबाटको चिन्ह हो। किनकि ख्रीष्‍टको निम्ति तिमीहरूलाई यो दिइएको छ, कि उहाँमाथि विश्‍वास गर्ने मात्र होइन, तर उहाँको निम्ति कष्‍ट पनि भोग्नुपर्छ। किनकि तिमीहरू पनि त्यही सङ्घर्षमा छौ, जुन सङ्घर्ष तिमीहरूले ममा देख्यौ र त्यो अझै पनि ममा छँदैछ भनी अहिले सुनेका छौ।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्

फिलिप्पी 1:21-30 पवित्र बाइबल (NERV)

मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो। यदि म शरीरमा बाँचिरहे म प्रभुकोलागि काम गरिरहनेछु। तर कुन छानुँ-जीवन कि मरण? म भन्न सक्दिनँ। जीवन र मरणमा एउटालाई छान्नु गाह्रो छ। म त यो शरीर छोडेर ख्रीष्टसितै रहन चाहन्छु। त्यो धेरै उत्तम हो। तर तिमीहरूकोलागि यस शरीरमा रहनु धेरै आवश्यक छ। जब यो म जान्दछु म यहीं बस्छु अनि तिमीहरूसित रहन्छु। आत्मिक विकास गराउनु अनि विश्वासबाट आउने आनन्द लिनु म तिमीहरूलाई सहयोग पुर्याउने छु। जब म तिमीहरूसित फेरि हुनेछु मैले गर्दा ख्रीष्ट येशूमा तिमीहरूको आनन्द फेरि उर्लिनेछ। होशियारी हौऊ कि तिमीहरूको जीवन ख्रीष्टको सुसमाचारसित मिल्दो होस्। तब मात्र म तिमीहरूकहाँ आए पनि, तिमीहरूदेखि टाडै बसे पनि तिमीहरू बारे राम्रै कुरा सुन्नेछु। तिमीहरू एउटै उद्देश्य लिएर अघि बढ़दैछौ र सुसमाचारबाट रहेको विश्वासको निम्ति एक भएर काम गर्दैछौ भन्ने म सुन्नेछु। अनि आफ्ना विरोधीहरूसित तिमीहरू कुनै प्रकारले पनि डराउने छैनौ। यी सब परमेश्वरका प्रमाणहरू हुन् कि तिमीहरू बचाइनेछौ र तिमीहरूका शत्रुहरू हराइनेछन्। परमेश्वरले तिमीहरूलाई ख्रीष्टमा विश्वास गर्ने सहुलियत दिएकाछन्। तर त्यही अन्त होइन। परमेश्वरले तिमीहरूलाई ख्रीष्टको निम्ति दुःख भोग्ने सहुलियत पनि दिनु भएकैछ। यी दुवैले ख्रीष्टमा महिमा ल्याउँछ। जब म तिमीहरूसित थिएँ मैले गरेको सङ्घर्ष तिमीहरू जान्दछौ अनि अहिले मैले गर्दै गरेको सङ्घर्ष बारे पनि सुन्दैछौ। तिमीहरूको पनि त्यस्तै संघर्ष छ।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्

फिलिप्पी 1:21-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

किनभने मैले जिउनु नै ख्रीष्‍ट हो। मर्नु मेरो लागि फाइदाको कुरो हो। तर म यस शरीरमा बाँचेर अझै राम्रो काम हुने भए मर्ने या बाँच्‍ने, सो छान्‍न मलाई गाह्रो पर्‍यो। म दोधारमा परेको छु। यो संसार छोडेर ख्रीष्‍टकै साथमा रहन पनि मलाई ठूलो इच्‍छा छ। जुनचाहिँ एकदमै राम्रो कुरो हो। तर तिमीहरूको लागि भने म बाँचिरहनु नै राम्रो हो। मलाई यो पक्‍का थाहा छ। यसकारण तिमीहरूलाई विश्‍वासमा उन्‍नति गराउन र तिमीहरूको आनन्‍द अझ बढाउन म बाँच्‍नेछु। म तिमीहरूकहाँ फेरि आउँदा मेरो कारणले तिमीहरूले ख्रीष्‍ट येशूको अझ बढी जय-जयकार गर्न सक्‍नेछौ। मुख्‍य कुराचाहिँ यही नै हो, ख्रीष्‍टको सुसमाचारलाई सुहाउने तिमीहरूको चालचलन होस्। यसकारण मैले तिमीहरूलाई भेटे पनि, नभेटे पनि तिमीहरू एउटै उद्देश्‍य लिई स्‍थिर भएर एउटै इच्‍छामा सुसमाचारको विश्‍वासको निम्‍ति लड्दै छौ भन्‍ने मैले सुन्‍न पाँऊ। तिमीहरू आफ्‍नो विरोधीहरूदेखि नडराओ। सधैँ आँटिला होओ, यसले विरोधीहरूको हार र तिमीहरूको उद्धार हुन्‍छ भन्‍ने देखाउँछ। परमेश्‍वरले नै तिमीहरूलाई उद्धार गर्नुहुनेछ। तिमीहरूले ख्रीष्‍टमा विश्‍वास गर्ने मात्र होइन तर उहाँको लागि दु:ख भोगी उहाँकै सेवा गर्ने अनुग्रह तिमीहरूले पाएका छौ। बितेका दिनहरूमा जोसँग म लडेको तिमीहरूले देखेका थियौ, तिमीहरूले सुनेझैँ त्‍यससँग म अझ लड्दै छु र अब यस लडाइँमा तिमीहरूले मलाई साथ दिंदै छौ।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्