फिलिप्पी 1:18-26
फिलिप्पी 1:18-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जे होस्, मूल कुरो यही हो— हरकिसिमले, चाहे बहानामा, चाहे सत्यमा ख्रीष्टको प्रचार गरिओस्, र यसैमा म रमाउँछु। हो, म रमाउनेछु। किनकि म जान्दछु कि तिमीहरूका प्रार्थना र येशू ख्रीष्टका आत्माको सहायताले यो मेरो छुटकाराको निम्ति हुन आउनेछ। मेरो उत्कट प्रतीक्षा र आशा यो हो, कि म कदाचित् लज्जित हुनेछैनँ, तर ममा प्रशस्त साहस हुनेछ, र सधैँझैँ अहिले पनि मेरो शरीरमा ख्रीष्ट सम्मानित हुनुहुनेछ, चाहे मृत्युद्वारा होस्, अथवा जीवनद्वारा। किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो। यदि शरीरमा नै जिउनु हो भने मेरो निम्ति त्यो फलदायी परिश्रम हुनेछ। तर पनि मैले कुनचाहिँ चुन्नुपर्ने हो, त्यो म भन्न सक्दिनँ। म त दोधारमा परेको छु। बरु बिदा भएर ख्रीष्टको साथमा हुने इच्छा छ, किनभने यो धेरै नै असल छ, तर शरीरमा रहन तिमीहरूका खातिर झन् आवश्यक छ। यस कुरामा निश्चित भएर म जान्दछु कि विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्नेछु, यस हेतुले कि म फेरि तिमीहरूकहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रीष्ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्।
फिलिप्पी 1:18-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर के भयो त? महत्त्वपूर्ण कुरा यही नै हो, चाहे खराब मनसायले होस् वा सत्यतामा होस्, जुनसुकै तरिकाले भए तापनि ख्रीष्ट नै प्रचारिनुहुन्छ। यसैकारणले म आनन्दित हुन्छु। हो, म निरन्तर आनन्दित हुनेछु। किनकि तिमीहरूका प्रार्थना र येशू ख्रीष्टको आत्माले दिनुहुने सहायताद्वारा ममाथि आइलागेका कुराहरू मेरै छुटकाराको निम्ति हुनेछ भनी म जान्दछु। म उत्कट इच्छा र आशा गर्दछु, म कदापि शर्ममा पर्नेछैनँ; तर मसँग प्रशस्त साहस हुनेछ, ताकि चाहे जीवनद्वारा होस् वा मृत्युद्वारा, सदाझैँ मेरो शरीरमा ख्रीष्ट उच्च पारिनुहुनेछ। किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो र मर्नुचाहिँ लाभ हो। यदि म शरीरमा नै जिइरहनुपर्ने हो भने यसको अर्थ मेरो निम्ति फलदायी परिश्रम हुनेछ। तापनि मैले के रोज्ने त? सो म जान्दिनँ! म दुवैबाट दबाबमा परेको छु: बिदा भएर ख्रीष्टको साथमा हुने इच्छा गर्दछु; किनकि यो धेरै नै असल छ। तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ। म निश्चित भएको छु; यसकारण तिमीहरू सबैको उन्नति र विश्वासको आनन्दका निम्ति म सबैसँग जीवित रहिरहनेछु भनी म जान्दछु; यसकारण म फेरि तिमीहरूकहाँ आउँदा मेरो कारण तिमीहरूलाई ख्रीष्ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्।
फिलिप्पी 1:18-26 पवित्र बाइबल (NERV)
तिनीहरूले मलाई कष्टमा पारे तापनि म पर्वाह गर्दिनँ। तिनीहरूले पनि मानिसहरूलाई ख्रीष्टबारे सुनाउँदैछन्, त्यही महत्वपूर्ण कुरा हो। म चाहन्छु तिनीहरूले प्रचार नै गरून्। म चाहन्छु कि तिनीहरूले राम्रो उदेश्यले यसो गरून्। यदि यो खराब भावनाले भएता पनि म खुशी नै छु कारण तिनीहरूले ख्रीष्ट विषयमा नै प्रचार गर्छन्। अनि म खुशी नै भइरहन्छु। तिमीहरूले मेरो लागि प्रार्थना गर्दैछौ, अनि येशू ख्रीष्टको आत्माले मलाई सहायता गर्छ। यसैले म जान्दछु कि यो सम्पूर्ण कुरोले मेरो मुक्ति ल्याउँछ। मेरो दृढ इच्छा अनि आशा त्यो हो कि कुनै कुरोमा पनि म ख्रीष्टलाई भुल्ने छैन। म सधैँ आशा गर्दछु जब सम्म म यस शरीरमा रहनेछु ख्रीष्टको महानता देखाउनु अहिले ठूलो आँट पाउनेछु। म मरुँ अथवा जिउँदै रहुँ यो काम गरि रहनेछु। मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो। यदि म शरीरमा बाँचिरहे म प्रभुकोलागि काम गरिरहनेछु। तर कुन छानुँ-जीवन कि मरण? म भन्न सक्दिनँ। जीवन र मरणमा एउटालाई छान्नु गाह्रो छ। म त यो शरीर छोडेर ख्रीष्टसितै रहन चाहन्छु। त्यो धेरै उत्तम हो। तर तिमीहरूकोलागि यस शरीरमा रहनु धेरै आवश्यक छ। जब यो म जान्दछु म यहीं बस्छु अनि तिमीहरूसित रहन्छु। आत्मिक विकास गराउनु अनि विश्वासबाट आउने आनन्द लिनु म तिमीहरूलाई सहयोग पुर्याउने छु। जब म तिमीहरूसित फेरि हुनेछु मैले गर्दा ख्रीष्ट येशूमा तिमीहरूको आनन्द फेरि उर्लिनेछ।
फिलिप्पी 1:18-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जेसुकै होस्, यस बारेमा म त खुसी छु। चाहे राम्रो मनले होस्, चाहे नराम्रो मनले, जसरी भए पनि ख्रीष्टकै प्रचार हुन्छ। किनभने मलाई थाहा छ तिमीहरूको प्रार्थना र प्रभु येशू ख्रीष्टका आत्माले दिनुभएको सहायताले मैले छुटकारा पाउनेछु। मेरो कर्तव्यबाट नचुकूँ तर जुनै समय पनि विशेषगरी अहिले म आँटिलो बनेर मरे पनि, बाँचे पनि मेरा सम्पूर्ण जीवनले ख्रीष्टको आदर होस् भन्ने मेरो ठूलो इच्छा र आशा छ किनभने मैले जिउनु नै ख्रीष्ट हो। मर्नु मेरो लागि फाइदाको कुरो हो। तर म यस शरीरमा बाँचेर अझै राम्रो काम हुने भए मर्ने या बाँच्ने, सो छान्न मलाई गाह्रो पर्यो। म दोधारमा परेको छु। यो संसार छोडेर ख्रीष्टकै साथमा रहन पनि मलाई ठूलो इच्छा छ। जुनचाहिँ एकदमै राम्रो कुरो हो। तर तिमीहरूको लागि भने म बाँचिरहनु नै राम्रो हो। मलाई यो पक्का थाहा छ। यसकारण तिमीहरूलाई विश्वासमा उन्नति गराउन र तिमीहरूको आनन्द अझ बढाउन म बाँच्नेछु। म तिमीहरूकहाँ फेरि आउँदा मेरो कारणले तिमीहरूले ख्रीष्ट येशूको अझ बढी जय-जयकार गर्न सक्नेछौ।