फिलिप्पी 1:15-18
फिलिप्पी 1:15-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कसै-कसैले साँच्चै डाह र शेखीले, तर अरूहरूले सद्भावले ख्रीष्टलाई प्रचार गर्दछन्। सुसमाचारको सुरक्षाको निम्ति म यहाँ छु भनी जान्नेहरूले यो काम प्रेमले गर्दछन्, तर शेखी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्ट थपिदिने विचार गरेर, शुद्ध मनले होइन, तर स्वार्थको भावनाले ख्रीष्टको प्रचार गर्दछन्। जे होस्, मूल कुरो यही हो— हरकिसिमले, चाहे बहानामा, चाहे सत्यमा ख्रीष्टको प्रचार गरिओस्, र यसैमा म रमाउँछु।
फिलिप्पी 1:15-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यो सत्य हो, कतिले डाह र प्रतिस्पर्धाका कारण ख्रीष्टलाई प्रचार गर्दछन्, तर अरूहरूले चाहिँ स्वच्छ मनसायले गर्दछन्। म सुसमाचारको सुरक्षाका निम्ति कैदमा परेको छु भनी जानेर स्वच्छ मनसायले प्रचार गर्नेहरूले यो काम प्रेमका लागि गर्दछन्। डाह र प्रतिस्पर्धाले प्रचार गर्नेहरूले स्वार्थी उद्देश्यले बेइमानीका साथ ख्रीष्टको प्रचार गरे; ताकि म कैदमा रहेको बेला तिनीहरूले मलाई अझ धेरै समस्या खडा गर्न सकून्। तर के भयो त? महत्त्वपूर्ण कुरा यही नै हो, चाहे खराब मनसायले होस् वा सत्यतामा होस्, जुनसुकै तरिकाले भए तापनि ख्रीष्ट नै प्रचारिनुहुन्छ। यसैकारणले म आनन्दित हुन्छु। हो, म निरन्तर आनन्दित हुनेछु।
फिलिप्पी 1:15-18 पवित्र बाइबल (NERV)
कोही मानिसहरू डाह र शेखीले अनि कसैले अरूलाई सहायता गर्ने इच्छाले ख्रीष्टलाई प्रचार गर्छन्। यी मानिसहरूले प्रेमले प्रचार गर्छन कारण तिनीहरू जान्दछन् कि सुसमाचार सुरक्षित राख्न म अह्राइएकोछु। तर अरू वेइमान्दारी र स्वार्थमा ख्रीष्ट विषयमा प्रचार गर्छन् किनभने तिनीहरू सम्झन्छन् कि म झेलखानामा हुदाँ मलाई कष्ट दिनु तिनीहरू सक्षम हुन्छन्। तिनीहरूले मलाई कष्टमा पारे तापनि म पर्वाह गर्दिनँ। तिनीहरूले पनि मानिसहरूलाई ख्रीष्टबारे सुनाउँदैछन्, त्यही महत्वपूर्ण कुरा हो। म चाहन्छु तिनीहरूले प्रचार नै गरून्। म चाहन्छु कि तिनीहरूले राम्रो उदेश्यले यसो गरून्। यदि यो खराब भावनाले भएता पनि म खुशी नै छु कारण तिनीहरूले ख्रीष्ट विषयमा नै प्रचार गर्छन्। अनि म खुशी नै भइरहन्छु।
फिलिप्पी 1:15-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हुन त कसैकसैले आरिस गरी मैले अरूको भन्दा बढ्ता गरें भनेर देखाउन ख्रीष्टको प्रचार गर्दछन् र कतिले चाहिँ राम्रै विचारमा प्रेमले प्रचार गरेका छन्। कारण तिनीहरूलाई थाहा छ, परमेश्वरले मलाई सुसमाचारको पक्षमा बोल्न खटाउनुभएको छ। अरूहरूले भने सोझो मनले होइन तर मलाई कैदमा हुँदा झन् दु:ख थपिओस् भन्ने नराम्रो विचारले ख्रीष्टको प्रचार गरेका हुन्। जेसुकै होस्, यस बारेमा म त खुसी छु। चाहे राम्रो मनले होस्, चाहे नराम्रो मनले, जसरी भए पनि ख्रीष्टकै प्रचार हुन्छ।