फिलिप्पी 1:1-6
फिलिप्पी 1:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ख्रीष्ट येशूका दासहरू पावल र तिमोथीबाट, ख्रीष्ट येशूमा फिलिप्पीमा भएका बिशपहरू र डिकनहरूसाथै सबै सन्तहरूलाई: परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति। तिमीहरूप्रतिका मेरा सबै सम्झनामा म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु। तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्येक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु, कि प्रथम दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्ति म धन्यवादी छु। मलाई यो दृढ़ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ।
फिलिप्पी 1:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ख्रीष्ट येशूका सेवकहरू पावल र तिमोथीबाट, ख्रीष्ट येशूमा भएका फिलिप्पीका पवित्र जनहरू साथै मण्डलीका अध्यक्षहरू र मण्डलीका सेवकहरू सबैलाई: हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति! जब तिमीहरूलाई म याद गर्छु, म मेरा परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु। मेरो हरेक प्रार्थनामा तिमीहरू सबैका निम्ति म सधैँ आनन्दसाथ प्रार्थना गर्दछु। किनकि सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म नै तिमीहरूको सहभागिता रहेको छ। यो कुरामा दृढ भरोसा छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले नै ख्रीष्ट येशूको पुनरागमनसम्म त्यो काम पूरा गर्नुहुनेछ।
फिलिप्पी 1:1-6 पवित्र बाइबल (NERV)
ख्रीष्ट येशूका सेवक पावल र तिमोथीबाट प्रणाम। ख्रीष्ट येशूमा भएका फिलिप्पीमा बस्ने परमेश्वरको सबै पवित्रजनलाई अनि तिमीहरूको सबै अग्रजहरू तथा विशिष्ट सहायकहरूलाई। पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरू सबैलाई रहोस्। जहिले पनि म तिमीहरूलाई सम्झन्छु, परमेश्वरलाई धन्यवाद चढाउँछु। प्रत्येक पल्ट म तिमीहरू सबैको लागि परमेश्वरलाई प्रार्थना गर्छु, म आनन्दले प्रार्थना गर्छु। मानिसहरूलाई सुसमाचार सुनाउँदा तिमीहरूले मलाई सहयोग गरेकोमा म परमेश्वरलाई धन्यवाद चढाउँछु। तिमीहरूले विश्वास गरेको दिनदेखि अहिलेसम्म सघाउँदैछौ। परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशू आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु।
फिलिप्पी 1:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
फिलिप्पीमा हुने येशू ख्रीष्टमा भएका पवित्र जनहरू, मण्डलीका देखरेख गर्नेहरू र सेवकहरूलाई हामी येशू ख्रीष्टका कमारा पावल र तिमोथीले यो पत्र लेख्दै छौं। हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्। जहिले पनि तिमीहरूलाई सम्झँदा म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु। सधैँ तिमीहरू सबैको लागि प्रार्थना गर्दा म खुसीसाथ प्रार्थना गर्छु किनभने तिमीहरूले मलाई सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म सघाउँदै आएका छौ। परमेश्वरले तिमीहरूमा सुरु गर्नुभएको राम्रो काम येशू ख्रीष्टको राज्य नआएसम्म परमेश्वरले नै सम्हाल्नुहुनेछ। यसमा मेरो पूरा विश्वास छ।