फिलिप्पी 1:1-12

फिलिप्पी 1:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

ख्रीष्‍ट येशूका दासहरू पावल र तिमोथीबाट, ख्रीष्‍ट येशूमा फिलिप्‍पीमा भएका बिशपहरू र डिकनहरूसाथै सबै सन्‍तहरूलाई: परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति। तिमीहरूप्रतिका मेरा सबै सम्‍झनामा म मेरा परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु। तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्‍येक प्रार्थनामा म आनन्‍दसाथ प्रार्थना गर्दछु, कि प्रथम दिनदेखि अहिलेसम्‍म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्‍ति म धन्‍यवादी छु। मलाई यो दृढ़ विश्‍वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्‍टको दिनमा त्‍यो पूरा गर्नुहुनेछ। तिमीहरू सबैका निम्‍ति मैले यसो ठान्‍नु उचित छ, किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्‍तछु, किनकि मेरो कैदमा र सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ। किनकि परमेश्‍वर मेरा साक्षी हुनुहुन्‍छ, कि कसरी ख्रीष्‍ट येशूको प्रेमले म तिमीहरू सबैका निम्‍ति तृष्‍णा गर्दछु। मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्‍तर्दृष्‍टिमा तिमीहरूको प्रेम झन्‌-झन्‌ प्रशस्‍त हुँदैजाओस्, यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्‍टको दिनको निम्‍ति शुद्ध र दोषरहित रहन सक। परमेश्‍वरका महिमा र प्रशंसाको निम्‍ति येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण होओ। भाइ हो, तिमीहरूलाई यो थाहा होस्‌ भन्‍ने म चाहन्‍छु, कि ममाथि आइलागेका कुराहरूले वास्‍तवमा सुसमाचारलाई अगि बढ़ाउने काम भएको छ

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्

फिलिप्पी 1:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

ख्रीष्‍ट येशूका सेवकहरू पावल र तिमोथीबाट, ख्रीष्‍ट येशूमा भएका फिलिप्पीका पवित्र जनहरू साथै मण्डलीका अध्यक्षहरू र मण्डलीका सेवकहरू सबैलाई: हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति! जब तिमीहरूलाई म याद गर्छु, म मेरा परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु। मेरो हरेक प्रार्थनामा तिमीहरू सबैका निम्ति म सधैँ आनन्दसाथ प्रार्थना गर्दछु। किनकि सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म नै तिमीहरूको सहभागिता रहेको छ। यो कुरामा दृढ भरोसा छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले नै ख्रीष्‍ट येशूको पुनरागमनसम्म त्यो काम पूरा गर्नुहुनेछ। तिमीहरू सबैका विषयमा यस्तो महसुस गर्नु मेरो लागि उचित छ; किनकि मैले मेरो हृदयमा तिमीहरूलाई राखेको छु; त्यसैले चाहे म कैदमा रहँदा होस् वा सुसमाचारको समर्थन र प्रतिरक्षा गर्दा होस्, यसमा मसँगै तिमीहरू सबै परमेश्‍वरको अनुग्रहमा सहभागी भएका छौ। परमेश्‍वर साक्षी हुनुहुन्छ, कि ख्रीष्‍ट येशूको प्रेमले तिमीहरू सबैको कति धेरै म तिर्सना गर्दछु। मेरो प्रार्थना यही छ: ज्ञान र अन्तर्दृष्‍टिको गहिराइमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदै जाओस्। यस उद्देश्यले कि तिमीहरूले जे उत्तम छ, त्यो छुट्याउन सक; ताकि ख्रीष्‍टको पुनरागमनमा तिमीहरू शुद्ध र दोषरहित रहन सक। अनि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हुन सक। दाजुभाइ-दिदीबहिनीहरू हो, अहिले ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई विस्तार गर्ने काम गरेको छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्

फिलिप्पी 1:1-12 पवित्र बाइबल (NERV)

ख्रीष्ट येशूका सेवक पावल र तिमोथीबाट प्रणाम। ख्रीष्ट येशूमा भएका फिलिप्पीमा बस्ने परमेश्वरको सबै पवित्रजनलाई अनि तिमीहरूको सबै अग्रजहरू तथा विशिष्ट सहायकहरूलाई। पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरू सबैलाई रहोस्। जहिले पनि म तिमीहरूलाई सम्झन्छु, परमेश्वरलाई धन्यवाद चढाउँछु। प्रत्येक पल्ट म तिमीहरू सबैको लागि परमेश्वरलाई प्रार्थना गर्छु, म आनन्दले प्रार्थना गर्छु। मानिसहरूलाई सुसमाचार सुनाउँदा तिमीहरूले मलाई सहयोग गरेकोमा म परमेश्वरलाई धन्यवाद चढाउँछु। तिमीहरूले विश्वास गरेको दिनदेखि अहिलेसम्म सघाउँदैछौ। परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशू आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु। तिमीहरू मेरो हृदयमा भएकोले, मलाई लाग्छ तिमीहरूको विषयमा यस्तो सोच्नु म ठिकै छु। तर जब सुसमाचारको सत्यताको प्रमाण दिदैं र रक्षा गर्दै म जेलखानामा छु, तिमीहरू यो काम गर्ने आशीर्वादमा मसँग सहभागी छौ। म तिमीहरूलाई भेट्न अति इच्छुक छु, यो कुरो परमेश्वरले जान्नु हुन्छ। ख्रीष्ट येशूको प्रेम सितै म तिमीहरूलाई प्यार गर्दछु। तिमीहरूका निम्ति मेरो यही प्रार्थना छ किः बुद्धि र विवेक तिमीहरूको प्रेमसितै निरन्तर बढ्दै जाओस्। म प्रार्थना गर्छु कि तिमीहरू असल र खराबको भेद छुट्टयाउन योग्य होऊ, अनि के असल हो, चुन्न योग्य होऊ ताकि ख्रीष्ट येशू जुन दिन आउँनु हुन्छ तिमीहरू पवित्र औ दोषरहित हुन सक्छौ। म प्रार्थना गर्छु कि परमेश्वरको महिमा औ प्रशंसाका निम्ति येशू ख्रीष्टको सहयोगले धेरै सु-कर्महरू गर्न सक्छौ। दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, तिमीहरूले जान भन्ने म चाहन्छु कि मैले भोगेको कष्ट सुसमाचार अझ विकसित गराउनु सहयोग बनियो।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्

फिलिप्पी 1:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

फिलिप्‍पीमा हुने येशू ख्रीष्‍टमा भएका पवित्र जनहरू, मण्‍डलीका देखरेख गर्नेहरू र सेवकहरूलाई हामी येशू ख्रीष्‍टका कमारा पावल र तिमोथीले यो पत्र लेख्‍दै छौं। हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले तिमीहरूलाई अनुग्रह र शान्‍ति देऊन्। जहिले पनि तिमीहरूलाई सम्‍झँदा म मेरा परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु। सधैँ तिमीहरू सबैको लागि प्रार्थना गर्दा म खुसीसाथ प्रार्थना गर्छु किनभने तिमीहरूले मलाई सुसमाचारको काममा सुरुदेखि अहिलेसम्‍म सघाउँदै आएका छौ। परमेश्‍वरले तिमीहरूमा सुरु गर्नुभएको राम्रो काम येशू ख्रीष्‍टको राज्‍य नआएसम्‍म परमेश्‍वरले नै सम्‍हाल्‍नुहुनेछ। यसमा मेरो पूरा विश्‍वास छ। तिमीहरूलाई सधैँ मैले आफ्‍नै हृदयमा राखेको छु। तिमीहरूको बारेमा यस्‍तै विचार गर्न मलाई ठीक लाग्‍यो किनभने अहिले म थुनामा हुँदा र बाहिर हुँदा पनि तिमीहरूले मलाई सुसमाचार फैलाउन र यसलाई जोगाउन परमेश्‍वरले दिनुभएका यी सबै अनुग्रहमा तिमीहरू मसँग सहभागी भएका छौ। साँच्‍चै तिमीहरूप्रति भएको मेरो यो गहिरो तिर्सना ख्रीष्‍ट येशूको हृदयबाटै आएको हो, म सत्‍य बोलिरहेछु भनी परमेश्‍वर नै मेरो साक्षी हुनुहुन्‍छ। मेरो प्रार्थना छ, तिमीहरूको प्रेम बढ्दै-बढ्दै जाओस्। यो प्रेम दुवै सत्‍य ज्ञान र राम्रो-नराम्रो केलाउने बुद्धिमा बढ्दै जाओस्। त्‍यसो भए मात्र तिमीहरूले सबैभन्दा राम्रो कुरोलाई छुट्याउन सक्‍नेछौ अनि ख्रीष्‍ट आउँदा तिमीहरू पवित्र र निर्दोष हुनेछौ। अनि परमेश्‍वरको आदर र प्रशंसाको लागि तिमीहरूको जीवनमा येशू ख्रीष्‍टले दिने असल फलहरू फल्‍नेछन्। दाजुभाइहरू, तिमीहरूले यो थाहा पाओ भन्‍ने म चाहन्‍छु। ममाथि आइपरेका कुराहरूले त सुसमाचार फैलाउन सहायता दिएका छन्।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्