फिलेमोन 1:8-14
फिलेमोन 1:8-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीले के गर्नुपर्ने हो, सो गर्न आज्ञा दिनलाई ख्रीष्टमा मलाई साहस भए तापनि, प्रेमको खातिर म तिमीलाई बरु अनुरोध गर्न चाहन्छु, म वृद्ध पावल, अनि अहिले ख्रीष्ट येशूको एक कैदी मेरा छोरा ओनेसिमसको निम्ति म निवेदन गर्दछु, जसको निम्ति मेरो कैदी अवस्थामा म पिता बनेको छु। तिनी अगाडि तिम्रो निम्ति बेकम्मा थिए, तर अहिले तिम्रो निम्ति र मेरो निम्ति पनि काम लाग्ने भएका छन्। म तिनलाई, जो मेरो आफ्नै हृदयको टुक्रा हो, तिमीकहाँ फर्काइपठाउँदैछु। तिनलाई मसँगै राख्न म खुशी हुनेथिएँ, किनकि सुसमाचारको निम्ति मेरो बन्दी अवस्थामा तिम्रो सट्टामा तिनले मेरो सेवा गर्न सक्तथिए, तर तिम्रो अनुमतिविना म केही गर्न चाहन्नँ, ताकि तिम्रो भलाइ करकापले गरिएको नहोस्, तर तिम्रो आफ्नै स्वइच्छाले गरिएको होस्।
फिलेमोन 1:8-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण तिमीले जे गर्नुपर्नेथियो, सो गर्नू भनी ख्रीष्टमा साहसी भएर मैले तिमीलाई आज्ञा गर्न सक्नेथिएँ; म, वृद्ध पावल, जो अहिले ख्रीष्ट येशूको कारण कैदी, प्रेमको आधारमा तिमीलाई बिन्ती मात्र गर्दछु। म तिमीलाई मेरो छोरा ओनेसिमसको लागि बिन्ती गर्दछु, जो कैदमा हुँदा ख्रीष्टमा मेरो आत्मिक छोरा भए, जो कुनै समय तिम्रो लागि बेकम्मा थिए, तर अब ऊ तिम्रो र मेरो निम्ति कामलाग्दो भएका छन्। मैले उसलाई तिमीकहाँ पठाउँदैछु, जो मेरो हृदयको टुक्रासमान हुन्। सुसमाचारको कारण म कैदमा हुँदा मलाई सघाउनलाई उसले तिम्रो स्थान लेओस् भनेर मैले उसलाई मसँग राख्न रुचाएको थिएँ; तर तिमीले देखाएको कुनै पनि भलाइ करमा परेर होइन, तर स्वेच्छापूर्वक होस् भनेर मैले तिम्रो अनुमतिविना केही पनि गर्न चाहिनँ।
फिलेमोन 1:8-14 पवित्र बाइबल (NERV)
तिमीले केही गर्नु छ। ख्रीष्ट प्रति भएको मेरो अधिकारको कारणले म तिमीलाई यसो गर भन्न सक्छु। तर मैले तिमीलाई आदेश दिएको होइन, केवल प्रेमको शक्तिमा म तिमीलाई निवेदन गर्दछु। म पावल हुँ अनि अहिले म वृद्ध मानिस हुँ अनि ख्रीष्ट येशूको लागि बन्दी छु। म मेरो छोरो ओनेसिमसको बारेमा निवेदन गरिरहेछु। म कारागारमा छँदा ऊ मेरो छोरो बनियो। बितेका दिनहरूमा ऊ तिम्रोलागि बेकम्म थियो। तर वर्त्तमान समयमा तिमी र म दुवैको लागि ऊ उपयोगी मानिस भएको छ। म उसलाई फेरि तिमीकहाँ मेरो हृदयसितै पठाउँदैछु। म कारागारमा रहेको बेला मलाई सहायता गर्नका निम्ति म आफैं उसलाई यहाँ सुसमाचारको निम्ति राख्न चाहन्थें। मलाई सहायता गरेर उसले तिम्रो सेवा गर्ने थियो। तर तिम्रो अनुमति नलिई म केही गर्न चाहँदिन। त्यसो हुँदा तिमीले मेरो निम्ति गर्ने असल कार्य तिमीले स्वयं गर्न चाहेको हुनेछौ अनि मैले कर लाएको हुने छैन।
फिलेमोन 1:8-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसैकारण ख्रीष्टमा तिम्रो साहसी दाजु भएर तिमीले के गर्नुपर्छ भनी आज्ञा गर्न सक्थें, तर प्रेमको कारणले तिमीलाई बिन्ती गर्दछु। अब म बुढो मानिस र हालमा येशू ख्रीष्टकै लागि कैदी भएको पावल आफ्नो बालकको लागि तिमीसँग बिन्ती गर्छु। म झ्यालखानमा हुँदा ख्रीष्टमा ओनेसिमसको बुबा भएको छु। उनी तिम्रो लागि काम नलाग्ने थिए, तर अहिले तिमी र म दुवैको लागि काम लाग्ने भएका छन्। म उनलाई फेरि तिमीकहाँ पठाउँदै छु। उनी मेरो हृदयका टुक्रा नै हुन्। सुसमाचारको कारण झ्यालखानमा भएको बेला तिम्रो साटो उनलाई नै मेरो हेर-विचार गर्न राख्नेथिएँ। तर तिम्रो मन्जुरीबिना यसो गर्न ठीक लागेन। मलाई दया गर्न तिमीलाई कर नलागोस्, तर तिम्रो खुसीले होस् भन्ने चाहन्छु।