गन्ती 9:1-14

गन्ती 9:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

इस्राएलीहरू मिश्रबाट निस्‍किआएका दोस्रो वर्षको पहिलो महिनामा सीनैको उजाड़-स्‍थानमा परमप्रभुले मोशासित यसो भनेर बोल्‍नुभयो: “इस्राएलीहरूले तोकिएको समयमा निस्‍तार-चाड़ मानून्‌। यसै महिनाको चौधौँ दिनमा साँझमा तोकिएको समयमा तिमीहरूले यो मान्‍नू। त्‍यसका सबै नियम र विधिबमोजिम तिमीहरूले मान्‍नू।” तब तिनीहरूले निस्‍तार-चाड़ मान्‍नुपर्छ भनेर मोशाले इस्राएलीहरूलाई बताइदिए। तिनीहरूले सीनैको उजाड़-स्‍थानमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्‍तार-चाड़ माने। परमप्रभुले मोशालाई दिनुभएका सबै आज्ञाबमोजिम इस्राएलीहरूले गरे। तर मान्‍छेको लाश छोएर अशुद्ध भएका कतिपय मानिसहरू थिए, जसले त्‍यस दिन निस्‍तार-चाड़ मान्‍न सकेका थिएनन्‌। तिनीहरू त्‍यसै दिन मोशा र हारूनको सामुन्‍ने आए। ती मानिसहरूले तिनलाई भने, “मान्‍छेको लाश छोएर हामी अशुद्ध भएका छौं। तोकिएको समयमा हामीले इस्राएलीहरूका साथसाथै परमप्रभुमा आफ्‍ना बलि किन चढ़ाउन नपाउने?” मोशाले तिनीहरूलाई भने, “पर्ख, परमप्रभुले तिमीहरूका विषयमा के आज्ञा गर्नुहुन्‍छ, म थाहा पाऊँ।” तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई यसो भन्‌: ‘तिमीहरूका परिवारमा मुर्दा छोएर कोही अशुद्ध भएको छ, अथवा टाढ़ा-टाढ़ा परदेश गएको छ भने पनि त्‍यसले परमप्रभुको निस्‍तार-चाड़ मानोस्‌। दोस्रो महिनाको चौधौँ दिन साँझमा तिनीहरूले यो मानून्‌। तिनीहरूले थुमा, अखमिरी रोटी र तीतो सागसमेत खाऊन्‌। तिनीहरूले भोलिपल्‍ट बिहानसम्‍म त्‍यसबाट केही पनि बाँकी नराखून्‌। त्‍यसको कुनै हाड़ पनि नभाँचून्‌। निस्‍तार-चाड़को सबै नियमअनुसार तिनीहरूले मानून्‌। तर जो मान्‍छे शुद्ध छ, र यात्रामा पनि छैन, त्‍यसले निस्‍तार-चाड़ मानेन भने त्‍यस्‍तो व्‍यक्ति आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिओस्, किनभने त्‍यसले तोकिएको समयमा परमप्रभुको निम्‍ति आफ्‍नो बलि चढ़ाएन। त्‍यस मानिसले आफ्‍नो पापको दण्‍ड भोगोस्‌। “‘यदि तिमीहरूका बीचमा कुनै विदेशीले प्रवास गरेको छ, र त्‍यसले परमप्रभुको निम्‍ति निस्‍तार-चाड़ मान्‍न खोज्‍छ भने, त्‍यसले निस्‍तार-चाड़का नियम र विधिअनुसार त्‍यो मनाओस्‌। विदेशी र स्‍वदेशीको निम्‍ति तिमीहरूको एउटै नियम होस्‌’।”

शेयर गर्नुहोस्
गन्ती 9 पढ्नुहोस्

गन्ती 9:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

इस्राएलीहरू इजिप्टबाट निस्किआएको दोस्रो वर्षको पहिलो महिनामा याहवेह सीनैको उजाडस्थानमा मोशासँग बोल्नुभयो। उहाँले मोशालाई आज्ञा दिनुभयो, “इस्राएलीहरूलाई तोकिएको समयमा निस्तार चाड मनाउन लगाउनू। निस्तार चाडलाई तोकिएको समयमा अर्थात् यसै महिनाको चौधौँ दिनको साँझमा त्यसका सबै नियम र विधिअनुसार मान्‍नू।” यसकारण मोशाले इस्राएलीहरूलाई निस्तार चाड मनाउन लगाए। अनि तिनीहरूले सीनैको उजाडस्थानमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार चाड मनाए। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार नै इस्राएलीहरूले सबै गरे। तर तिनीहरूमध्ये कति मानिसले लासलाई छोए। त्यसकारण विधिपूर्वक अशुद्ध भएकाले त्यस दिन निस्तार चाड मनाउन सकेनन्। यसकारण तिनीहरू त्यही दिन मोशा र हारूनकहाँ आए। अनि तिनीहरूले मोशालाई भने, “हामीले लासलाई छोएको कारण अशुद्ध भएका छौँ; तर तोकिएको समयमा अरू इस्राएलीहरूसँग याहवेहको भेटी चढाउन हामीले किन पाउँदैनौँ?” मोशाले तिनीहरूलाई जवाफ दिए, “मैले याहवेहबाट तिमीहरूका निम्ति आज्ञा नपाउन्जेल यहीँ पर्खिरहो।” त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई यसो भन्: ‘तिमीहरूमध्ये कोही अथवा तिमीहरूका सन्तान लासलाई छोएको कारण अशुद्ध भयो भने अथवा टाढाको यात्रामा छन् भने पनि तिनीहरूले याहवेहको निस्तार चाड मनाउन सक्छन्। तर तिनीहरूले त्यो दोस्रो महिनाको चौधौँ दिनको साँझमा मनाऊन्। तिनीहरूले थुमासँगै अखमिरी रोटी र तिते साग खाऊन्। तिनीहरूले त्यसको केही अंश पनि बिहानसम्म नराखून्, अर्थात् थुमाको कुनै हड्डी नभाचून्। तिनीहरूले निस्तार चाड मनाउँदा सबै नियमहरू पालन गरून्। तर यदि कोही विधिपूर्वक शुद्ध छ र यात्रामा पनि गएको छैन भने त्यस मानिसले निस्तार चाड मनाएन भने, र त्यसले तोकिएको समयमा याहवेहको भेटी चढाएन भने त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरून्। त्यसले आफ्नो पापको प्रतिफल भोग्नुपर्छ। “ ‘तिमीहरूसँग बासोबास गर्ने विदेशीले पनि याहवेहको निस्तार चाड मनाउन चाहन्छ भने तिनीहरूले पनि सबै नियम र विधिअनुसार मनाउनुपर्छ। विदेशी होस् वा स्वदेशी, तिमीहरू सबैका निम्ति एउटै नियम लागू हुनैपर्छ।’ ”

शेयर गर्नुहोस्
गन्ती 9 पढ्नुहोस्

गन्ती 9:1-14 पवित्र बाइबल (NERV)

इस्राएली मानिसहरूले मिश्र देश छोडेको दोस्रो बर्षको पहिलो महीनामा सीनै पहाडको मरुभूमिमा परमप्रभु मोशासित यसो भन्दै बोल्नुभयो, “इस्राएलका मानिसहरूले तोकिएको दिन निस्तार चाड मान्नु पर्छ। तिमीहरूले यस चाडलाई यसै महिनाको चौधौं दिनको गोधुली समयमा मान्नु पर्छ। तिमीहरूले सबै नियम र विधि-विधानहरू पालन गरेर यो चाड मनाउनु पर्छ।” यसर्थ मोशाले मानिसहरूलाई निस्तार पर्व मनाउन लगाए। तिनीहरूले पहिलो महीनाको चौधौं दिन गोधुली वेलामा सीनैको मरुभूमिमा निस्तार चाड मनाए। इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनु भए बमोजिम नै मनाए। तर केही मानिसहरूले त्यस दिन निस्तार चाड मनाउन सकेनन् कारण तिनीहरूले मान्छेको लाश छुएका थिए। यसर्थ ती मानिसहरू त्यस दिन मोशा तथा हारून भएकहाँ गए। ती मानिसहरूले मोशालाई भने, “हामीले मान्छेको लाश छोएर अशुद्ध भएको कारण पूजाहारीले हामीलाई तोकिएको समयमा परमप्रभुलाई उपहार चढाउन दिएनन्। यसर्थ हामीले तोकिएको समयमा अरू मानिसहरूसित निस्तार चाड मनाउन सकेनौं र अब हामीले के गर्नु पर्ने हो।” मोशाले तिनीहरूलाई भने, “यस विषयमा परमप्रभुले के भन्नु हुनेछ म उहाँलाई सोध्छु।” त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई यसो भन। यो नियम तिनीहरू र तिनीहरूका भावी सन्तानहरूका निम्ति हो। यदि कसैले एउटा मुर्दालाई छुन्छ अनि अपवित्र हुन्छ अथवा कोही टाडा गएका छन् यस्तो दुवै अवस्थामा पनि उसले यो निस्तार चाढ मनाउनु पर्छ। तिनीहरूलाई यो चाड दोस्रो महीनाको चौधौं दिनको गोधुली बेलामा मनाउन देऊ। तिनीहरूले थुमासित अखमीरे रोटी र तीतो साग खानु पर्छ। तिनीहरूले चढाएको निस्तारबलि भोलिपल्ट बिहानसम्म त्यसबाट केही बाँकी नराख्‌न् र त्यसको कुनै हड्डी नभाँच्नु। सबै निस्तार चाडको नियम अनुसार तिनीहरूले मानुन्। तर यदि कुनै मानिस शुद्ध छ अनि टाढ़ा पनि गएको छैन अनि अझ उसले निस्तार चाड मनाउँदैन भने, रातको समयमा उसले परमप्रभुलाई बलिदान नचढाएको खण्डमा उसलाई उसको मानिसहरूबाट बहिष्कार गर्नु पर्छ। त्यस्तो व्यक्तिले उसको पापको निम्ति दण्ड पाउनेछ। “यदि कुनै विदेशी तिमीहरूसित स्थायी रूपले बसोबास गरिरहेको छ अनि उसले पनि निस्तार चाड मनाउन चाहन्छ भने उसले मनाउन सक्छ, तर त्यस व्यक्तिले निस्तार चाडको नियम पालन गर्नु पर्छ। त्यो प्रत्येकको निम्ति नियम हो।”

शेयर गर्नुहोस्
गन्ती 9 पढ्नुहोस्

गन्ती 9:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

इस्राएलीहरू मिश्रबाट निस्‍किआएपछि दोस्रो वर्षको पहिलो महिनामा परमप्रभु मोशासित सीनैको मरुभूमिमा बोल्‍नुभयो। उहाँले भन्‍नुभयो, “यस महिनाको चौधौँ दिन घाम डुबेपछि, इस्राएलका मानिसहरूले निस्‍तार-चाड, त्‍यसका सारा व्‍यवस्‍था नियमअनुसार मनाउनुपर्नेछ।” यसकारण मोशाले मानिसहरूलाई निस्‍तार-चाड मान्‍न लाए र पहिलो महिनाको चौधौँ दिनको साँझ सीनै उजाड-स्‍थानमा तिनीहरूले चाड मनाए, परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार मानिसहरूले सबै कुरा ठीकसित गरे। तर त्‍यहाँ केही मानिसहरू थिए, जो लाश छोएका कारणले अशुद्ध थिए र तिनीहरूले त्‍यस दिन निस्‍तार-चाड मनाउन सकेनन्। तिनीहरूले मोशा र हारूनकहाँ गएर भने, “हामी लाश छोएकोले अशुद्ध भएका छौं, तापनि किन हामीले अरू इस्राएलीहरूसँगै परमप्रभुलाई भेटी चढाउन पाउँदैनौं?” मोशाले उत्तर दिए, “परमप्रभुबाट मैले आदेश नपाएसम्‍म तिमीहरू पर्ख।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई यसो भन्, ‘तिमीहरू कोही वा तिम्रा कुनै सन्‍तान लाश छोएर अशुद्ध भएको छ वा टाढा यात्रामा गएको छ तर त्‍यसले निस्‍तार-चाड मनाउन चाहन्‍छ नै भने तिनीहरूले एक महिनापछि सो चाड मनाउन पाउनेछन्। त्‍यस्‍ताहरूले दोस्रो महिनाको चौधौँ दिनको साँझमा अखमिरी रोटी र तीतो साग खाएर चाड मनाउनेछन्। कुनै पनि खानेकुरा भोलिपल्‍ट बिहानसम्‍म नउबार्नू र पशुको कुनै पनि हड्डी नभाँच्‍नू। सबै नियमअनुसार निस्‍तार-चाड मनाउनू। तर जो अशुद्ध छैन वा टाढा यात्रामा छैन र पनि त्‍यसले निस्‍तारचाड मनाएन भने त्‍यसलाई फेरि मेरो प्रजा हो भनी मानिनेछैन किनभने त्‍यसले तोकिएको समयमा मलाई भेटी चढाएन। त्‍यसले आफ्‍नो पापको फल भोग्‍नेछ। “तिमीहरूका माझमा बास गर्ने विदेशीहरूले निस्‍तार-चाड मनाउन चाहन्‍छन् भने तिनीहरूले सारा व्‍यवस्‍था र नियमहरू मान्‍नुपर्नेछ। विदेशी वा स्‍वदेशी सबैलाई एउटै नियम लागू हुनेछ।”

शेयर गर्नुहोस्
गन्ती 9 पढ्नुहोस्