गन्ती 27:12-20
गन्ती 27:12-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “तँ यो अबीराम पहाड़मा उक्ली, र मैले इस्राएलीहरूलाई दिएको देश हेर्। तैंले त्यो देखेपछि तँ पनि तेरो दाजु हारूनझैँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्। किनभने जब सीनको उजाड़-स्थानमा भएका पानीहरूमा समुदाय मेरो विरुद्धमा उठेको थियो, तब तिमीहरू दुवैले तिनीहरूका सामु मेरो पवित्रताको कदर नगरेर मेरो आज्ञा भङ्ग गरेका थियौ।” (यो घटना सीनको उजाड़-स्थानमा भएको मेरीबा-कादेशका पानीहरूमा भएको थियो।) मोशाले परमप्रभुलाई भने, “सारा मानव-जातिका आत्माका परमप्रभु परमेश्वरबाट नै यस समुदायमाथि एक जना मानिस नियुक्त होस्, जो तिनीहरूका अगिअगि बाहिर जाने र भित्र आउने होस्, जसले तिनीहरूलाई अगुवाइ गरेर लैजानेछ, र तिनीहरूलाई भित्र ल्याउनेछ। यसरी परमप्रभुका मानिसहरू गोठालो नभएका भेड़ाहरूझैँ नहोऊन्।” परमप्रभुले मोशालाई भन्नुभयो, “आत्मा भएको नूनको छोरो यहोशूलाई तैंले लिएर त्यसमाथि तेरो हात राख्, र त्यसलाई एलाजार पूजाहारी र सारा समुदायको सामुन्ने खड़ा गर्। तिनीहरूको नजरकै सामु त्यसलाई यो दायित्व सुम्पिदे। तैंले त्यसलाई तेरो अख्तियारबाट केही दे, र सारा इस्राएली समुदायले त्यसको हुकुम पालन गरोस्।
गन्ती 27:12-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशालाई भन्नुभयो, “अबारीमको पहाडमा उक्लेर जा, र मैले इस्राएलीहरूलाई दिएको देशलाई हेर्। तैँले त्यो हेरेपछि तँ पनि तेरा दाजु हारूनझैँ आफ्ना मानिसहरूसँग मिल्नेछस्। किनकि जीनको उजाडस्थानमा पानीको लागि समुदायले विद्रोह गर्दा तिमीहरू दुवैले तिनीहरूका अगि मेरो पवित्रताको आदर गर्नमा मेरो आज्ञापालन गर्नुपर्नेथियो। तर तिमीहरूले गरेनौँ।” (यो जीनको उजाडस्थान कादेशमा भएको मेरीबाको पानीको विषयमा थियो।) मोशाले याहवेहलाई भने, “हे याहवेह, समस्त मानव-जातिलाई जीवन दिनुहुने परमेश्वर, यस समुदायमाथि एक जना मानिस नियुक्त गरिदिनुहोस्। त्यो मानिस, जो तिनीहरूका सामु बाहिर जाने र भित्र आउने, र तिनीहरूलाई अगुवाइ गरेर बाहिर लैजाओस् र भित्र ल्याओस्; ताकि याहवेहका मानिसहरू गोठालाविनाका भेडाहरूजस्तै नहोऊन्।” यसकारण याहवेहले मोशालाई भन्नुभयो, “नूनका छोरा यहोशूलाई लैजा। त्यो मानिसमा नेतृत्वको आत्मा छ र त्यसमाथि तेरो हात राख्। त्यसलाई पुजारी एलाजार र सारा समुदायको सामु खडा गर्। अनि तिनीहरूको उपस्थितिमा त्यसलाई अगुवाको जिम्मेवारी सुम्पिदे। तेरो अधिकारको केही भाग त्यसलाई दिनू, र सारा इस्राएली समुदायले त्यसको आज्ञा मान्नेछन्।
गन्ती 27:12-20 पवित्र बाइबल (NERV)
त्यस पछि परमप्रभुले मोशालाई भन्नुभयो, “यर्दन नदीको मरुभूमिको पहाडमा जाऊ। त्यहाँ तिमीले मैले इस्राएलका मानिसहरूलाई दिन लागेको भूमि देख्नेछौ। त्यो भूमि देखे पछि तिम्रो दाज्यू हारून जस्तै तिमी पनि मर्नेछौ। किनभने, सीनैको मरुभूमिमा मानिसहरूले पानीको निम्ति मसँग माग्दा तिमीले मेरो आज्ञा उलंघन गरेका थियौ। तिनीहरूको सामुन्ने तिमीले मलाई सम्मान राखेनौ।” (यो घटना सीनै मरुभूमिमा कादेश नजिकको मरीबाको पानीहरूमा भएको थियो।) मोशाले परमप्रभुलाई भन्नुभयो, “परमप्रभु परमेश्वर हुनुहुन्छ जसले मानिसहरूले के सोचिरहेकाछन् चाल पाउनु हुन्छ। हे परमप्रभु, म प्रार्थना गर्छु कि यी मानिसहरूको निम्ति एउटा मानिस अगुवा चुनिदिनु होस्। म प्रार्थना गर्छु कि तपाईंले एउटा मानिस अगुवा चुनिदिनु होस् ताकि उसले यी मानिसहरूलाई यस भूमि देखि नयाँ भूमिमा अगुवाई गरेर लानेछ। त्यसो भए परमप्रभुका मानिसहरू गोठाला बिनाका भेंडाहरू जस्ता हुनेछैनन्।” त्यसकारण परमप्रभुले मोशालाई भन्नुभयो, “यहोशू नूनको छोरो यी मानिसहरूका नयाँ अगुवा हुनेछन्। ऊसित आत्माको ज्ञान छ तिम्रो हातहरू उसको शिर माथि राखेर उसलाई अगुवा झैं नियुक्त गर। तिनलाई पूजाहारी एलाजार अनि सारा मानिसहरूको अघि राख र अगुवा बनाऊ। “उसलाई अधिकार देऊ यसकारण इस्राएलका सम्पूर्ण समूदायले उसलाई सुन्ने छ।
गन्ती 27:12-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशालाई भन्नुभयो, “यो अबीराम पर्वतमाथि जा र जुन देश म इस्राएलीहरूलाई दिँदछु, त्यस देशलाई हेर्। तैँले त्यो देश हेरेपछि तेरा दाजु हारूनझैँ तँ मर्नेछस् किनभने सीनको उजाड-भूमिमा तिमीहरू दुवैले मेरा आज्ञाको विरोध गर्यौ। जब सारा समुदायले मेरीबामा मेरो विरुद्धमा गनगन गरे, तिमीहरूले तिनीहरूका सामुन्ने मेरो पवित्र शक्ति स्वीकार गरेनौ।” (मेरीबा सीनको उजाड-भूमिमा कादेशको एउटा सानो खोला हो।) मोशाले प्रार्थना गरे, “परमप्रभु परमेश्वर, सारा प्राणीका मूल! म बिन्ती गर्दछु, यी मानिसहरूलाई अगुवाइ गर्न सक्ने एउटा मानिस नियुक्त गर्नुहोस्। जसले लडाइँमा पनि आदेशहरू दिन सक्छन् र तपाईंका मानिसहरू गोठालाबिनाका भेडाझैँ हुनेछैनन्।” परमप्रभुले मोशालाई भन्नुभयो, “नूनको छोरो यहोशूलाई लिएर त्यसको शिरमाथि हात राख्। त्यो एक योग्य मानिस हो। त्यसलाई पूजाहारी एलाजार र सारा समुदायको सामुन्ने उभिन लगा र तिनीहरूका सबैको अघि तँपछि तिनीहरूको अगुवा त्यो हो भनी घोषणा गर्। तेरो अधिकारको केही भाग त्यसलाई सुम्पिदे र सारा इस्राएलले उसको आज्ञा मानोस्।