गन्ती 21:1-9
गन्ती 21:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नेगेवमा बस्ने आरादका कनानी राजाले इस्राएलीहरू अटारीमको बाटो आउँदैछन् भन्ने जब खबर पाए, तब उनले इस्राएलीहरूसँग लड़ाइँ गरे, र तिनीहरूका कति जनालाई कैद गरेर ल्याए। तब इस्राएलीहरूले परमप्रभुमा यो भाकल गरेर भने, “यदि तपाईंले यी मानिसहरूलाई हाम्रा हातमा सुम्पिदिनुभयो भने हामी उनीहरूका सहरहरू बिलकुलै नाश गरिदिनेछौं।” परमप्रभुले इस्राएलीहरूको बिन्ती सुन्नुभयो, र कनानीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले उनीहरू र उनीहरूका सहरहरूलाई पनि बिलकुलै नष्ट गरिदिए। यसकारण त्यस ठाउँको नाउँ होर्मा राखियो। तिनीहरू एदोम देशलाई फेरो मारेर जान भनी होर पर्वतबाट लाल समुद्रको बाटो भएर गए। तर यात्राको कारण मानिसहरू साह्रै अधीर बने। तब तिनीहरूले परमेश्वर र मोशाको विरुद्धमा यसो भन्न लागे, “यस उजाड़-स्थानमा मर्न हामीलाई तपाईंहरूले किन मिश्रदेशबाट ल्याउनुभयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन। यस तुच्छ खानेकुरादेखि त हामीलाई वाक्कै लागिसक्यो।” तब परमप्रभुले ती मानिसहरूका बीचमा विषालु सर्पहरू पठाइदिनुभयो, र सर्पले मानिसहरूलाई डसे, र इस्राएलीहरूका धेरै जना मरे। अनि मोशाकहाँ आएर मानिसहरूले भने, “परमप्रभु र तपाईंको विरुद्धमा बोलेर हामीले पाप गरेका छौं। उहाँले हामीबाट यी सर्पहरू हटाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गर्नुहोस्।” तब मोशाले ती मानिसहरूका निम्ति प्रार्थना गरे। परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुण्ड्या। सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन्।” तब मोशाले एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुण्ड्याए। सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे।
गन्ती 21:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब दक्षिणमा बस्ने आरादका कनानी राजाले इस्राएलीहरू अतारीम जाने बाटो भएर आउँदैछन् भन्ने सुने, तब तिनले इस्राएलीहरूमाथि आक्रमण गरेर केही मानिसहरूलाई पक्रेर बन्दी बनाए। तब इस्राएलीहरूले याहवेहसँग यस्तो भाकल गरे: “यदि तपाईंले यी मानिसहरूलाई हाम्रो हातमा सुम्पिदिनुभयो भने हामी तिनीहरूका सहरहरू पूर्ण रूपले नष्ट पारिदिनेछौँ।” याहवेहले इस्राएलीहरूको बिन्ती सुन्नुभयो। अनि ती कनानीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले एदोमीहरू र तिनीहरूका सहरहरूलाई पूर्ण रूपले नष्ट पारिदिए। अनि त्यस ठाउँको नाम होर्मा राखियो। तिनीहरूले होर पर्वतबाट लाल समुद्रतिरको बाटो भएर एदोमको प्रान्तलाई फेरो मार्दै यात्रा सुरु गरे। तर बाटोमा इस्राएली मानिसहरू अधैर्य भए। तिनीहरूले परमेश्वरको र मोशाको विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तपाईंले हामीलाई इजिप्टबाट उजाडस्थानमा मर्नलाई किन ल्याउनुभयो? यहाँ खानेकुरा केही छैन; र पानी पनि छैन! अनि यस तुच्छ भोजनले हामी वाक्क भइसक्यौँ!” तब याहवेहले तिनीहरूको बीचमा विषालु सर्पहरू पठाइदिनुभयो। सर्पहरूले मानिसहरूलाई डसे; र धेरै इस्राएलीहरू मरे। ती मानिसहरू मोशाकहाँ आएर बिन्ती गरे, “हामीले याहवेह र तपाईंको विरुद्धमा बोलेर पाप गरेका छौँ। याहवेहले यी सर्पहरू हामीबाट हटाइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।” यसकारण मोशाले मानिसहरूका निम्ति प्रार्थना गरिदिए। याहवेहले मोशालाई भन्नुभयो, “एउटा सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिनू; तब सर्पले डसेका जो कोहीले काँसोको सर्पलाई हेर्छ, त्यो जीवित रहनेछ।” यसकारण मोशाले एउटा काँसोको सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिए। त्यसपछि जब कसैलाई सर्पले डस्थ्यो, तब त्यसले काँसोको सर्पलाई हेर्थ्यो, र त्यो बाँच्थ्यो।
गन्ती 21:1-9 पवित्र बाइबल (NERV)
आरादाका कनानी राजा नेगेवमा बस्थे। उनले इस्राएली मानिसहरू अटारीमको बाटो भएर आउँदैछन् भन्ने चाल पाए। यसर्थ तिनी गएर इस्राएली मानिसहरू माथि आक्रमण गरे। तिनले केही मानिसहरूलाई पक्राऊ गरेर कैद गरे। तब इस्राएलका मानिसहरूले विशेष भाकल गरी परमप्रभुलाई पुकारेः “हे परमप्रभु, दया गरी हामीलाई यी मानिसहरूमाथि विजय गराई दिनुहोस् र हामी तिनीहरूको शहरहरू नष्ट पारी दिनेछौ।” परमप्रभुले इस्राएलीहरूको पुकार मान्नु भयो र कनानीहरूलाई जित्न तिनीहरूलाई सहायता गर्नु भयो। इस्राएलीहरूले तिनीहरू र तिनीहरूका शहर सम्पूर्ण ध्वंश पारे। यसर्थ त्यस ठाँउको नाम होर्मा राखियो। इस्राएली मानिसहरू होर पर्वत छोडेर लाल समुद्र जाने बाटोमा हिड्न लागे। तिनीहरूले एदोम देश वरिपरि जानलाई त्यो बाटो गए। तर मानिसहरू धैर्यहीन भईसकेका थिए। मानिसहरूले परमेश्वर र मोशाको विरोधमा कुरा गरे। तिनीहरूले भने, “यो मरुभूमिमा मर्नुको निम्ति किन हामीलाई मिश्र देशबाट ल्याइयो? कारण यहाँ न त पानी छ न रोटी। तुच्छ खाना अथवा रोटी खाँदा-खाँदा वाक्क भई सक्यो।” यसर्थ परमप्रभुले मानिसहरूको माझमा विषालु सर्पहरू पठाईदिनुभयो र तिनीहरूले धेरै मानिसहरूलाई डसेर मार्यो। यसरी इस्राएलका धेरै मानिसहरू मरे। मानिसहरू आएर मोशासँग भने, “हामी जान्दछौं परमप्रभु र तपाईंको विरोधमा बोलेर हामीले पाप गर्यौं। परमप्रभुसित प्रार्थना गरेर यी सर्पहरू फर्काउन लगाईदिनु होस्।” यसकारण मोशाले मानिसहरूको निम्ति प्रार्थना गरे। परमप्रभुले मोशालाई भन्नुभयो, “काँसाको एउटा सर्प बनाऊ र खम्बा माथि राख। सर्पबाट डसिएको कुनै व्यक्तिले त्यो खम्बामाथि राखिएको काँसाको सर्पलाई हेर्छ त्यो मर्ने छैन।” यसकारण मोशाले परमप्रभुको आज्ञा मानी एउटा काँसाको सर्प बनाई खम्बामाथि राखे। त्यसपछि जब कुनै व्यक्तिलाई सर्पले टोके उसले त्यो खम्बा माथि राखिएको काँसाको सर्पलाई हेर्थ्यो र त्यो बाँच्थ्यो।
गन्ती 21:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कनानको दक्षिणमा भएको आरादको कनानी राजाले इस्राएलीहरू अटारीमको बाटो आउँदै छन् भनी सुनेर तिनीहरूमाथि हमला गरे र कतिजनालाई कैद गरे। तब इस्राएलीहरूले परमप्रभुसित यस्तो एउटा भाकल गरे, “यदि तपाईंले यी मानिसहरूमाथि हामीलाई विजय गराइदिनुभयो भने हामी तिनीहरू र तिनका सहरहरू तपाईंलाई बिनाशर्त अर्पण गर्नेछौं र तिनीहरूलाई नाश गर्नेछौं।” परमप्रभुले तिनीहरूको बिन्ती सुन्नुभयो र कनानीहरूमाथि विजय गर्न सहायता गर्नुभयो। यसरी इस्राएलीहरूले त्यस ठाउँको नाम होर्मा राखे। तब इस्राएलीहरू होर पर्वतबाट लाल समुद्र पुग्ने बाटो भएर एदोम देशको फेरो मार्दै हिँडे। तर बाटोमा जाँदा तिनीहरू अधीरजी बने र परमेश्वर र मोशाका विरुद्धमा कुरा गर्न लागे। तिनीहरूले भने, “तपाईंले किन हामीलाई मिश्रबाट निकालेर यहाँ उजाड-स्थानमा मर्नलाई ल्याउनुभयो? यहाँ खानपान केही छैन। यो खानेकुरासँग अब हामी वाक्क भइसक्यौं!” तब परमप्रभुले इस्राएलीहरूका माझमा विषालु सर्पहरू पठाउनुभयो र धेरै इस्राएलीहरू सर्पले डसेर मरे। मानिसहरूले मोशालाई आएर भने, “हामीले तपाईं र परमप्रभुका विरुद्धमा बोलेर पाप गर्यौं। अब यी सर्पहरू हटाइदिन परमप्रभुलाई प्रार्थना गरिदिनुहोस्।” यसकारण मोशाले मानिसहरूका लागि प्रार्थना गरे। तब परमप्रभुले मोशालाई एउटा काँसाको सर्प बनाएर एउटा खाँबोमा झुण्ड्याउनू भनी भन्नुभयो र जसलाई सर्पले डस्थ्यो, त्यसले त्यो काँसाको सर्पलाई हेरेर निको हुन सक्थ्यो। यसकारण मोशाले एउटा काँसाको सर्प बनाए र खाँबोमा चढाए। जसलाई सर्पले डस्थ्यो, त्यसले त्यो काँसाको सर्पलाई हेर्थ्यो र निको हुन्थ्यो।