गन्ती 18:8-32
गन्ती 18:8-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फेरि परमप्रभुले हारूनलाई भन्नुभयो, “इस्राएलीहरूले मलाई चढ़ाएका सबै पवित्र बलिहरू मैले तेरो जिम्मामा दिएको छु। मैले तेरो पूजाहारीपदको कारण ती तँलाई र तेरा छोराहरूलाई निरन्तरको अंश स्वरूप छुट्ट्याइदिएको छु। आगोबाट जोगाएर राखेको अति पवित्र बलिहरूको भाग तेरै होस्। हरेक अन्नबलि, पापबलि, र दोषबलि जो मानिसहरूले मलाई चढ़ाउँछन्, ती अति पवित्र बलिहरूबाट त्यही भाग तँ र तेरा छोराहरूका निम्ति हुनेछ। अति पवित्र थोक मानेर तैंले त्यो खानू। हरेक पुरुषले त्यो खाओस्। यसलाई तैंले पवित्र मान्नुपर्छ। “यो पनि तेरै होस्: इस्राएलीहरूका डोलाउने बलिका लागि छुट्ट्याइएका सबै दानहरू मैले तँ र तेरा छोराछोरीहरूलाई निरन्तरको अंश स्वरूप दिएको छु। तेरो घरमा शुद्ध भएको हरेकले त्यो खान सक्छ। “तिनीहरूले परमप्रभुलाई दिएका सबै असल भद्राक्षको तेल, असल दाखको रस, अन्न र तिनका प्रथम उब्जनी तँलाई नै मैले दिएको छु। तिनीहरूले परमप्रभुलाई चढ़ाउन ल्याउने आफ्नो उब्जनीका अगौटे फलहरू तेरै होऊन्। तेरो घरमा शुद्ध भएको हरेकले त्यो खान सक्छ। “इस्राएलमा अर्पण गरिएका सबै चीज तेरै हुन्। मानिस वा पशुबाट परमप्रभुलाई चढ़ाइएको पहिले जन्मेको हरेक नवजात बच्चाहरू तेरै होस्। यसो भए तापनि मानिस र अशुद्ध पशुको पहिले जन्मेकालाई तैंले मोल तिरेर छुटाउनुपर्छ। एक महिनाको उमेरमा पवित्रस्थानको शेकेलबमोजिम तैंले तोकेर पाँच शेकेल मोल तिरेर त्यसलाई छुटाउनुपर्छ। एक शेकेल बीस गेराको हुन्छ। “तर साँढ़े, भेड़ा वा बाख्राको पहिले बियाएको पाठा-पाठी छुटाउनुपर्दैन। ती पवित्र हुन्। तिनीहरूको रगत तैंले वेदीमा छर्कनू, र परमप्रभुलाई मन पर्ने मीठो बास्ना हुनलाई आगोद्वारा चढ़ाइएको बलि स्वरूप तिनीहरूको बोसो जलाउनू। तर डोलाइने बलिको ह्याकुला र दाहिने साँप्राजस्तै तिनको मासु पनि तेरै होस्। इस्राएलीहरूले चढ़ाउने पवित्र बलिहरूबाट अलग गरिएका सबै भाग मैले तँलाई र तेरा छोराछोरीहरूलाई निरन्तरको अंश स्वरूप दिएको छु। परमप्रभुको सामुन्ने तँ र तेरा सन्तानका निम्ति यो सदासर्वदाका नूनको करार हो।” परमप्रभुले हारूनलाई भन्नुभयो, “तिनीहरूका देशको जग्गाजमिनमा तेरो अंश-अधिकार हुनेछैन। तिनीहरूसँगसँगै तेरो कुनै हिस्सा हुनेछैन। इस्राएलीहरूका माझमा तेरो हिस्सा र तेरो अंश म नै हुँ। “लेवीहरूलाई चाहिँ भेट हुने पालमा सेवा गर्नका निम्ति तिनीहरूको अंश स्वरूप मैले इस्राएलीहरूका सबै दशांश दिएको छु। अब उप्रान्त इस्राएलीहरू भेट हुने पालको नजिक नआऊन्, नत्रता आफ्ना पापहरूको कारण तिनीहरू मर्नेछन्। तर भेट हुने पालको सेवाचाहिँ लेवीहरूले गरून्, र तिनीहरू नै त्यसको विरुद्धमा गरिएका अपराधहरूको उत्तरदायी हुनेछन्। त्यो तिमीहरूका पुस्तौँसम्म अनन्तको विधि होस्। इस्राएलीहरूका बीचमा चाहिँ यिनीहरूको कुनै अंश-अधिकार हुनेछैन। किनकि इस्राएलीहरूले बलिको निम्ति परमप्रभुलाई चढ़ाएका दशांश नै मैले लेवीहरूलाई अंश-अधिकार स्वरूप दिएको छु। यसैले ‘इस्राएलीहरूसँग यिनीहरूको कुनै अंश-अधिकार हुँदैन’ भनी मैले यिनीहरूका विषयमा भनेको छु।” अनि परमप्रभुले मोशालाई भन्नुभयो, “लेवीहरूलाई भन्: ‘मैले तिमीहरूका अंश-अधिकारको निम्ति दिएका इस्राएलीहरूका दशांश जब तिमीहरू लिनेछौ, तब त्यसबाट तिमीहरूले परमप्रभुलाई त्यसको पनि दशांश भेटी लिएर बलि चढ़ाउनू। तिमीहरूको बलि खलाका अन्न र कोलबाट निस्केको दाखरसझैँ गनिनेछ। यसरी इस्राएलीहरूबाट पाएका सबै दशांशबाट तिमीहरूले पनि परमप्रभुलाई बलि चढ़ाउने गर्नू, र त्यसबाट परमप्रभुलाई चढ़ाइएको बलि पूजाहारी हारूनलाई दिनू। तिमीहरूले पाएकाबाट सबैभन्दा असल र पवित्र भागचाहिँ बलि स्वरूप परमप्रभुलाई चढ़ाउनू’। “तैंले लेवीहरूलाई भन्नू: ‘जब तिमीहरूले सबैभन्दा असल भाग चढ़ाउँछौ, तब त्यो तिमीहरूका निम्ति खलाको अन्न र कोलको दाखरसजस्तै गनिनेछ। अनि तिमीहरू र तिमीहरूका घरानाले कुनै पनि ठाउँमा यसलाई खान सक्छौ, किनकि भेट हुने पालमा तिमीहरूले गरेको कामको निम्ति यो तिमीहरूको ज्याला हो। तिमीहरूले उत्तम भाग चढ़ाएका हुनाले तिमीहरूलाई दोष लाग्नेछैन, अनि इस्राएलीहरूका पवित्र बलिहरूलाई तिमीहरूले अशुद्ध पार्नेछैनौ, न त तिमीहरू मर्नेछौ’।”
गन्ती 18:8-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि याहवेहले हारूनलाई भन्नुभयो, “मलाई चढाइएका भेटीहरूको जिम्मा म आफैँले तँलाई सुम्पेको छु। इस्राएलीहरूले मलाई दिएका सबै पवित्र भेटीहरू मैले तिमीहरूको भाग र नियमित अंशको रूपमा तँ र तेरा छोराहरूलाई दिएको छु।” आगोबाट छुट्याइएका महा-पवित्र भेटीहरूको भाग तिमीहरूले राख्नू। तिनीहरूले मेरा निम्ति ल्याएका महा-पवित्र भेटीहरू चाहे अन्नबलि होस्, अथवा पापबलि अथवा दोषबलि त्यसको भाग होस्; त्यो तँ र तेरा छोराहरूका निम्ति हुनेछ। ती थोकहरू महा-पवित्र ठानेर खानू। प्रत्येक पुरुषले त्यो खानू। तिमीहरूले त्यसलाई पवित्र ठान्नू। “तीबाहेक यो पनि तेरै हो: इस्राएलीहरूले विशेष भेटीहरूको रूपमा उचालिनका लागि अलग गरिएका सबै थोक। म यसलाई तिमीहरूका नियमित अंशको रूपमा तँ, तेरा छोराहरू र छोरीहरूलाई दिन्छु। तेरा घरानाका विधिपूर्वक शुद्ध रहेका हरेकले त्यो खान सक्नेछ। “मैले तिनीहरूका कटनीको अगौटेबाट याहवेहलाई चढाएका सबै असल जैतुनको तेल, अति उत्तम नयाँ दाखमद्य र अन्न तँलाई दिएको छु। तिनीहरूले याहवेहकहाँ ल्याएका खेतका सबै अगौटे फलहरू तिमीहरूकै हुनेछन्। तेरा घरानाका विधिपूर्वक शुद्ध रहेका हरेकले त्यसलाई खान सक्नेछ। “इस्राएलमा याहवेहलाई समर्पित गरिएको हरेक चीज तेरै हो। मानिसको होस् वा पशुको, हरेक गर्भको पहिलो फल, जो याहवेहलाई चढाइन्छ, त्यो तेरै हो। तर तैँले प्रत्येक पहिले जन्मेको छोरा र अशुद्ध पशुहरूका पहिले जन्मेको प्रत्येक सन्तानलाई मूल्य चुकाएर छुटाउनुपर्छ। जब तिनीहरू एक महिनाका हुन्छन्, तब तैँले तिनीहरूलाई पवित्रस्थानको शेकेलअनुसार तोकिएको पाँच चाँदीका शेकेल छुटकाराको मोल तिरेर छुटाउनुपर्छ। जसको तौल बीस गेरा हुन्छ। “तर तैँले गाई, भेडा अथवा बाख्राका पहिले जन्मेकाहरूलाई मोल तिरेर छुट्ट्याउनुहुँदैन। तिनीहरू पवित्र हुन्। तिनीहरूको रगत वेदीमाथि छर्कनू। तिनीहरूको बोसोचाहिँ आगोद्वारा चढाइने बलिको रूपमा याहवेहलाई मनपर्दो मिठो बास्नाको भेटी हुने गरी जलाउनू। विशेष भेटीको रूपमा उचालिएको ह्याकुला र दाहिने फिला तेरा निम्ति भएजस्तै, तिनीहरूका मासु पनि तेरै हुनेछ। इस्राएलीहरूले याहवेहलाई चढाएका पवित्र भेटीहरूबाट अलग गरिएका भागहरू म तिमीहरूको नियमित अंशको रूपमा तँ, तेरा छोराहरू र छोरीहरूलाई दिन्छु। यो याहवेहको सामु तँ र तेरा सन्तानहरू दुवैका निम्ति अनन्तको नुनको करार हो।” याहवेहले हारूनलाई भन्नुभयो, “तिनीहरूको देशमा तेरो कुनै पैतृक सम्पत्ति हुनेछैन, न त तिनीहरूबीच तिमीहरूको कुनै भाग नै हुनेछ। इस्राएलीहरूबीच म नै तिमीहरूको भाग र तिमीहरूको पैतृक सम्पत्ति हुँ। “लेवीहरूले भेट हुने पालमा सेवाको काम गरेको साटोमा म तिनीहरूलाई इस्राएलमा तिनीहरूको पैतृक सम्पत्तिको रूपमा सबै दशांश दिन्छु। अब उसो इस्राएलीहरू भेट हुने पालको नजिक नजाऊन्; नत्रता तिनीहरूले आफ्ना पापको फल भोग्नेछन्, र मर्नेछन्। लेवीहरूले नै भेट हुने पालमा काम गरून्। अनि तिनीहरूको विरुद्धमा भएका अपराधहरूको जिम्मा तिनीहरूले नै लिऊन्। आउने पुस्ताका निम्ति यो अनन्तको विधि ठहरियोस्। इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्। यसको सट्टामा इस्राएलीहरूले याहवेहकहाँ चढाएका दशांशहरू म लेवीहरूलाई तिनीहरूका पैतृक सम्पत्तिको रूपमा दिन्छु। यसकारण मैले तिनीहरूको विषयमा यसो भनेँ: ‘इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्।’ ” याहवेहले मोशालाई भन्नुभयो, “लेवीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘तिमीहरूले इस्राएलीहरूबाट आफ्ना पैतृक सम्पत्तिको रूपमा पाएका दशांशबाट तिमीहरूले दशांशको दशांश याहवेहको भेटीको रूपमा चढाउनू। तिमीहरूको बलि खलाबाटको अन्न अर्थात् कोलबाटको दाखरसजस्तै गनिनेछ। यस प्रकारले तिमीहरूले इस्राएलीहरूबाट पाएका सबै दशांशबाट तिमीहरूले पनि याहवेहलाई भेटी चढाउनेछौ। यी दशांशहरूबाट तिमीहरूले याहवेहको भाग हारून पुजारीलाई दिनुपर्छ। तिमीहरूलाई दिइएका सबै असल र पवित्र कुराहरूबाट याहवेहको भाग चढाउनुपर्छ।’ “लेवीहरूलाई तैँले भन्: ‘जब तिमीहरूले उत्तम भाग चढाउँछौ, तब तिमीहरूको भेटीलाई खलाको अर्थात् दाखको कोलको फसलको रूपमा गनिनेछ। तँ र तेरा घरानाले भेटीबाट रहेका भाग जहाँ भए तापनि खान सक्छौ। किनकि त्यो तिमीहरूले भेट हुने पालमा गरेको कामको ज्याला हो। त्यसको सर्वोत्तम भाग चढायौ भने दशांश भेटीमा तिमीहरू दोषी हुनेछैनौ। अनि तिमीहरूले इस्राएलीहरूका पवित्र भेटीहरू अशुद्ध पार्नेछैनौ र तिमीहरू मर्नेछैनौ।’ ”
गन्ती 18:8-32 पवित्र बाइबल (NERV)
तब परमप्रभुले हारूनलाई भन्नुभयो, “इस्राएलका मानिसहरूले मलाई चढाएको सबै पवित्र उपहारहरूको रक्षा गर्नका निम्ति मैले तिमीलाई नियुक्त गरें। मैले तिमी र तिम्रा छोराहरूलाई इस्राएलका मानिसहले चढाएका पवित्र बलिहरू निरन्तर अंशको रूपमा दिएको छु। वेदीहरूबाट पाइने वस्तुहरूमा यो सब भन्दा पवित्र वस्तु हो। मानिसहरूले अन्नबलि, पापबलि, दोषबलिहरू ल्याउँछन्। यी बलिहरू महा पवित्र बलिहरूको र नपाकिएको भागबाट तिमीले आफ्नो अंश पाउनेछौ। ती सब तिमी र तिम्रा छोराहरूको हुनेछन्। तिमीहरूले ती चीजहरू महा-पवित्र स्थानमा मात्र खानु पर्छ। तिम्रो परिवारको प्रत्येक पुरूषले खान सक्छन् तर तिमीले याद राख्नु पर्छ कि ती चीजहरू अत्यन्तै पवित्र हुन्। “यो पनि तिम्रै हुनेछ कुनै पनि विशेष उपहार इस्राएलका मानिसहरूले मलाई चढाउँछन्, तिमीसित भएका तिम्रा छोरा-छोरीहरू र तिम्रो निम्ति स्थायी अंशको रूपमा दिन्छु। तिम्रो परिवारका प्रत्येक शुद्ध व्याक्तिले त्यो खान सक्छन्। “इस्राएलका मानिसरूको कुनै पनि पहिलो बाली अथवा उब्जनी जस्तै अन्न, भद्राक्षको तेल र दाखरस, जो तिनीहरूले परमप्रभुमा समर्पण गर्छन, म ती सब तिमीलाई दिन्छु। तिनीहरूको खेतमा पाकेको कुनै पनि अन्न जो तिनीहरूले परमप्रभुलाई चढाउन ल्याउँछन् त्यो तिम्रो हो र तिम्रो परिवारको कुनै पनि शुद्ध व्याक्तिले त्यो खान सक्छ। “इस्राएलमा प्रत्येक चीज जो परमेश्वरलाई पूर्णरूपले समर्पण गरिन्छ त्यो तिम्रो हो। “प्रत्येक जेठो चाहे व्यक्ति होस अथवा पशु जो आफ्नो आमाको प्रथम गर्भमा आँउछ र परमेश्वरलाई समर्पण गरिन्छ भने त्यो तिम्रो हुनेछ। तर जेठो जन्मेको पशु होस् अथवा मानिस त्यसको तिमीले मोल तिर्नु पर्छ। जब नानी एक महीनाको हुँदा तिनीहरूले यसको मोल तिर्नु पर्छ। एक महिनाको नानीहरूको मोल पवित्रस्थानको शेकेल परिमाण अनुसार पाँच सेकेल हुन्छ। एक शेकेल बीस गेराको हुन्छ। “तर पहिले जन्मेको गाई, भेंडा अथवा बाख्राको मोल तिर्नु पर्दैन। यी पशुहरू पवित्र हुन र यिनीहरूको रगत वेदीमा छर्किईन्छ अथवा बोसो पोलिन्छ। यो उपहार आगोमा पोलेर दिइन्छ र यसको सुगन्धले परमप्रभुलाई सन्तुष्ट पार्छ। तर यी पशुहरूको मासु भने तिम्रो हुनेछ अनि डोलाइने बलिको ह्याकुलो तिम्रो हुनेछ र अरू बलिको दाहिने सर्प्रा पनि तिम्रो हुनेछ। मानिसहरूले चढाएको कुनै पनि पवित्र उपहारहरू म, परमप्रभुले तिमीलाई दिनेछु। म तिम्रो छोरा-छोरीहरू र तिमीलाई दिनेछु र यो नियम सदासर्वदाको निम्ति लागू हुनेछ। यो परमप्रभुसित गरिएको करार हो र भङ्ग गर्न सकिंदैन। म यो प्रतिज्ञा तिमी र तिम्रा सन्तानहरूसित गर्छु।” परमप्रभुले हारूनलाई पनि भन्नुभयो, “तिमीले भूमि पाउनेछैनौं। अनि अरू मानिसहरूले झैं तिमीले त्यहाँ केही आफ्नो बनाउनु पाउने छैनौ। म परमप्रभु नै तिम्रो हुनेछु। प्रतिज्ञा गरिएको अनुसार इस्राएली मानिसहरूले जग्गाजमीनहरू पाउनेछन् तर तिम्रो निम्ति म नै उपहार हुँ। “इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिन्छन्। यसकारण त्यो एक दशांश भाग म लेवीका सन्तानहरूलाई दिन्छु। यो तिनीहरूले भेट हुने पालमा छँदा त्यहाँ काम गरे बापत पारिश्रमिक हो। तर अन्य मानिसहरू भेट हुने पालको नजीक जानु हुँदैन। यदि गए तिनीहरू मारिनु पर्छ। लेवी मानिसहरू काम गरिरहेको समयमा भेट हुने पालको विरोधमा कुनै पाप कार्य हुन गए त्यस पापको उत्तरदायी तिनीहरू हुनेछन्। यही नियम सदासर्वदाको निम्ति लागू रहनेछ। मैले अरू मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि लेवी मानिसहरूले पाउने छैनन्। तर तिनीहरू सँग भएको प्रत्येक चीजको दशांश इस्राएली मानिसहरूले मलाई चढाउनेछन् र त्यो दशांश म लेवी मानिसहरूलाई दिनेछु। त्यही कारणले लेवी मानिसहरूको विषयमा मैले यस्तो भनेः मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि तिनीहरूले पाउने छैनन्।” परमप्रभुले मोशालाई भन्नुभयो, “लेवी मानिसहरूसित कुरा गर अनि भन, इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिनेछन् तर त्यसबाट दशांश उपहार स्वरूप परमप्रभुलाई चढाउनु पर्छ। अनि यो दशांश परमप्रभुको उपहार हो, यो तिमीहरूले कोल अथवा खलाबाट चढाएका बलि झैं हुन्। यस्तै प्रकारले इस्राएली मानिसहरूले तिमीहरूलाई दशांश दिए जस्तै तिमीहरूले पनि परमप्रभुलाई उपहार चढाउनु पर्छ अनि त्यसबाट तिमीहरूले पनि परमप्रभुलाई उपहार दिनु पर्छ अनि यो हारूनलाई दिनु पर्छ। जब इस्राएलका मानिसहरूले तिनीहरूको उपहारहरू परमप्रभुलाई दिन्छन्, तिमीहरूले तिनीहरूमा सबै भन्दा असल अनि महा-पवित्र परमप्रभुलाई चढाउनु पर्छ कारण त्यो सबै उहाँको हुनेछ। “मोशा, लेवी मानिसहरूलाई भन जब तिमीहरूले प्रत्येक असल चीज परमप्रभुलाई चढाउँछौ जे इस्राएली मानिसहरूले दिएका थिए, तब यो सम्झिन्छ कि लेवीहरूको आफ्नै अन्न र अर्धबलि हो। त्यसबाट रहेको अंश तिमीहरू र तिमीहरूका परिवारले खानेछन्। यो तिमीहरूले भेट हुने पालमा काम गरे वापत मूल्य हो। अनि यदि तिमीहरूले यसको असल सधैँ परमप्रभुलाई चढायौ भने तिमीहरू कदापि दोषी हुने छैनौ। तिम्रो आफ्नै निम्ति इस्राएलका मानिसहरूद्वारा चढाएका ती पवित्र उपहारहरूको भाग नलैजाऊ नत्र भने तिमीहरू मर्ने छौ।”
गन्ती 18:8-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले हारूनलाई भन्नुभयो, “यो याद राख् कि मलाई चढाइएका होमबलि नगरिएका विशेष भेटीहरू जति म तँलाई दिँदै छु। म यी तँ र तेरा सन्तानलाई दिइएको सदाकालको हिस्सा स्वरूप तिमीहरूलाई दिँदै छु। वेदीमा नजलाई छोडिएका सबैभन्दा पवित्र भेटीहरूमध्ये यी चीजहरू तिम्रा हुन्, अन्नबलि, पापबलि र दोषबलिहरू। मलाई पवित्र भेटी भनी चढाइएका वस्तुहरू तँ र तेरा छोराहरूका हुनेछन्। ती कुरा तिमीहरूले पवित्रस्थानमा खानू, पुरुषहरूले मात्र ती खानू। तिनलाई सबैले पवित्र ठान्नू। “त्यसमाथि इस्राएलीहरूले मलाई चढाएका अरू कुनै विशेष भेटीहरू तेरै हुन्छन्। ती सदाकालको निम्ति तँ र तेरा छोरा-छोरीहरूलाई म दिन्छु। तेरा परिवारको हरेक सदस्य जो विधिअनुसार शुद्ध छ, त्यसले ती कुरा खान सक्नेछ। “हरेक वर्ष इस्राएलीहरूले जुन पहिला उब्जनीका थोकहरू मलाई चढाउँछन्, त्यसबाट सबैभन्दा असल जैतुनको तेल, सबैभन्दा असल दाखमद्य र अन्न म तिमीहरूलाई दिन्छु। ती सबै तेरा हुन्। तेरा परिवारको रीतिअनुसार शुद्ध हरेक सदस्यले ती खान सक्नेछ। “इस्राएलमा मलाई बिनाशर्त अर्पण गरेको हरचीज तिमीहरूको हुनेछ। “पहिला जन्मने हरेक बालक वा पशु, जो इस्राएलीहरूले मलाई चढाउँछन्। त्यो तिमीहरूकै होस्। तर प्रत्येक पहिला जन्मेका बालक वा रीतिअनुसार अशुद्ध पशु मोल लिएर तैँले छुटाउन दिनुपर्नेछ। एक महिना उमेर भएपछि बालकहरूलाई दाम दिएर छुटाउनुपर्छ। तिनीहरूको दाम तोकेको दरअनुसार चाँदीका पाँच टुक्रा हुनेछ। तर गाई, भेडा र बाख्राका पहिले जन्मेका बाछा वा पाठा त्यसरी मोल तिरेर छुट्ट्याउनुपर्दैन। ती पूर्णरूपले मेरा हुन् र बलि चढाउनुपर्छ। तिनीहरूका रगत वेदीमा छर्कनू र बोसो दाजुभाइका रूपमा चढाएर जलाउनू। त्यसको बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। तिनका मासु तिमीहरूकै होस्। त्यसरी नै विशेष भेटीका ह्याकुला र पछिल्ला दाहिने साँप्रा तिमीहरूका हुन्। “इस्राएलीहरूले मलाई चढाउने सबै विशेष भेटीहरू म तँलाई र तेरा छोरा-छोरीहरूलाई सदाकालको निम्ति दिँदछु। यो तँ र तेरा सन्तानसँग मैले बाँधेको अटुट करार हो।” परमप्रभुले हारूनलाई भन्नुभयो, “कुनै पनि सम्पत्ति तैँले अंश-बन्डा गरी पाउनेछैनस्। इस्राएलको जमिनको कुनै भाग तैँले पाउनेछैनस्। इस्राएलीहरूको बीचमा म नै तेरो हिस्सा र अंश हुँ।” परमप्रभुले भन्नुभयो, “मलाई इस्राएलीहरूले भेटी चढाउने सबै दशौँ हिस्सा मैले लेवीहरूलाई दिएको छु। म बास गर्ने पवित्र पालको हिफाजत गर्ने कामको निम्ति यो तिनीहरूको ज्याला हो। अरू इस्राएलीहरू पवित्र पालको छेउमा नजाऊन् त्यसो भयो भने तिनीहरूमाथि मृत्युको दण्ड आइपर्नेछ। अबदेखि उसो लेवीहरूले मात्र पवित्र पालको हिफाजत गर्नेछन् र त्यसको पूरा जिम्मा लिनेछन्। यो सदाकालको लागि पालन गर्नुपर्ने नियम हो र तेरा सन्तानले पनि यसको पालन गर्नुपर्ने नियम हो र तेरा सन्तानले पनि यसको पालन गर्नुपर्नेछ। लेवीहरूको इस्राएलमा स्थायी सम्पत्ति हुनेछैन किनभने मैले इस्राएलीहरूले मलाई विशेष भेटीका रूपमा चढाएका दशौँ हिस्सा तिनीहरूको अधिकारमा दिएको छु। त्यसैकारण मैले तिनीहरूको इस्राएलमा सधैँभरि रहने सम्पत्ति हुँदैन भनी भनेको हुँ।” मोशालाई परमप्रभुले लेवीहरूलाई यसो भन्नू भनी आज्ञा गर्नुभयो, “जब तिमीहरूले तिम्रा हकमा परमप्रभुले दिनुभएको दशौँ हिस्सा इस्राएलीहरूबाट पाउँछौ, तब त्यसबाट दश भागमा एक भाग तिमीहरूले परमप्रभुलाई विशेष भेटीका रूपमा चढाउनुपर्नेछ। एउटा किसानले नयाँ अन्न वा दाखमद्य जति भेटी चढाउँछ, त्यही बराबर यो विशेष भेटी पनि हो भनिठान्नू। यसरी तिमीहरूले इस्राएलीहरूबाट पाएका दशौँ हिस्साबाट परमप्रभुले पाउनुपर्ने विशेष भेटी पनि उहाँलाई चढाउनेछौ। परमप्रभुको लागि यो विशेष भेटी तिमीहरूले हारूनलाई दिनू। तिमीहरूले पाएका सर्वोत्तम थोकहरूबाट त्यो तिमीहरूले उहाँलाई चढाउनू। सबैभन्दा असल भाग चढाएपछि उब्रेका जति तिमीहरूले राख्नू। ती त्यसरी नै तिमीहरूले राख्नू, जसरी कोही किसानले आफ्नो भेटी चढाइसकेपछि उब्रेका थोक आफैं राख्दछ। ती उब्रेका कुरा तँ र तेरा परिवारले जहीँ पनि खान सक्छौ किनभने त्यो तिमीहरूले पवित्र पालमा गरेको सेवाको लागि दिइएको तिमीहरूको ज्याला हो। तीमध्ये सबैभन्दा असलचाहिँ परमप्रभुलाई दिइएका छौ भने बाँकी भाग खाँदा तिमीहरू दोषी ठहरिनेछैनौ। तर, सबैभन्दा असल भाग प्रभुलाई चढाउनुभन्दा अघि नै पवित्र भेटीहरूबाट खाएर तिनीहरूलाई बिटुलो नपार– होइन भने तिमीहरू मर्नेछौ।”