गन्ती 14:1-9

गन्ती 14:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यस रात सारा समुदाय कराई-कराई रोए। सबै इस्राएलीहरू मोशा र हारूनका विरुद्धमा गनगनाए, र सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्रदेशमा नै मरेका भए असल हुनेथियो, अथवा यस उजाड़-स्‍थानमा मरेका भए पनि हुन्‍थ्‍यो। किन परमेश्‍वरले हामीलाई तरवारले मर्नलाई यस ठाउँमा ल्‍याउनुहुँदैछ? हाम्रा जहान र बालबच्‍चा लूट स्‍वरूप पक्रिनेछन्‌। अब मिश्रदेशमा नै फर्कन हामीलाई उचित होइन र?” अनि तिनीहरूले आपसमा भने, “हामी एउटा अगुवा चुनेर मिश्रदेश फर्कौं।” तब मोशा र हारून इस्राएलीका सारा समुदायका सामुन्‍ने घोप्‍टो परे। देशको भेद लिन गएकाहरूमध्‍येका नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेबले आ-आफ्‍ना लुगा च्‍याते, र इस्राएलीहरूका सारा समुदायलाई तिनीहरूले भने, “हामी भेद लिन गएको देश अत्‍यन्‍तै असल देश छ। यदि परमप्रभु हामीसित प्रसन्‍न हुनुभयो भने, उहाँले हामीलाई त्‍यस देशमा ल्‍याउनुहुनेछ, र त्‍यो दूध र मह बग्ने देश हामीलाई दिनुहुनेछ। केवल परमप्रभुको विरुद्धमा खड़ा नहोओ। र त्‍यस देशका मानिसहरूसित नडराओ, किनकि उनीहरू त हाम्रा शिकार हुनेछन्‌। उनीहरूको सुरक्षा उनीहरूबाट हटिसकेको छ, तर परमप्रभु हामीतर्फ हुनुहुन्‍छ। उनीहरूसित नडराओ।”

शेयर गर्नुहोस्
गन्ती 14 पढ्नुहोस्

गन्ती 14:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस रात इस्राएली समुदायका सबै मानिसहरू ठूलो सोरमा कराउँदै जोरसँग रोए। सबै इस्राएलीहरूले मोशा र हारूनको विरुद्धमा गनगन गर्न थाले। अनि सारा समुदायले तिनीहरूलाई भने, “यदि हामी इजिप्टमै मरेका भए अथवा यही उजाडस्थानमै मरेका भए बरु असल हुनेथियो!” याहवेहले हामीलाई किन यस देशमा तरवारद्वारा मारिनका निम्ति ल्याउँदै हुनुहुन्छ? हाम्रा पत्नीहरू र बालबच्‍चाहरू लुटको मालजस्तै लगिनेछन्। के हामीलाई इजिप्टमै फर्किजानु असल हुँदैन र? अनि तिनीहरूले एक-आपसमा भने, “हामी एउटा अगुवा चुनौँ, र इजिप्टमा फर्केर जाऔँ।” तब मोशा र हारून त्यहाँ भेला भएका इस्राएलीहरूका सारा समुदायको अगाडि भुइँमा घोप्टो परे। ती मानिसहरूसँग कनान देशको बारेमा जासुसी गर्न जाने नूनका छोरा यहोशू र यपून्‍नेका छोरा कालेबले पनि आफ्ना लुगा च्याते। अनि सारा इस्राएली समुदायलाई कालेब र यहोशूले भने, “हामीले गएर जासुसी गरेको देश अति उत्तम छ। यदि याहवेह हामीसँग प्रसन्‍न हुनुभयो भने उहाँले हामीलाई त्यो देश, दूध र मह बग्ने देशमा पुर्‍याउनुहुने छ, र त्यो देश हामीलाई दिनुहुनेछ। तर याहवेहको विरुद्धमा विद्रोहचाहिँ नगर। अनि त्यस देशका मानिसहरूसँग नडराओ; किनकि हामी तिनीहरूलाई सजिलै हराउनेछौँ। तिनीहरूलाई सुरक्षा दिने कोही छैन। तर हामीहरूसँग याहवेह हुनुहुन्छ। त्यसैले तिनीहरूसँग नडराओ।”

शेयर गर्नुहोस्
गन्ती 14 पढ्नुहोस्

गन्ती 14:1-9 पवित्र बाइबल (NERV)

सबै मानिसहरू छाउनीभित्र त्यस रातभरि कराई कराई रोइ रहे। इस्राएलका सबै मानिसहरूले मोशा र हारूनको विरूद्धमा गनगनाए। सबै मानिसहरूले तिनीहरूलाई भने, “यदि हामी मिश्रदेशमा नै अर्थात् यो मरुभूमिमा मरेको भए राम्रो हुनेथियो। किन परमप्रभुले हामीलाई लडाईमा तरवारले काटी मार्न त्यस भूमिमा लैजानु हुँदैछ? हाम्रा जहान बालबच्चाहरू पनि लूटिने समान झैं लूटमा पक्रा पर्नेछन्। हामीलाई मिश्र देशमा फर्किनु नै असल हुन्छ।” तिनीहरूले एक अर्कामा भने, “एकजना अगुवा चुनौं र मिश्रदेश फर्कौं।” सबै इस्राएली मानिसहरूको सामुन्ने मोशा र हारून भूइँमा घोप्टो परे। नूनको छोरो यहोशू र यपून्नेको छोरो कालेब भूमिको जाँच गर्न जानेहरू मध्ये दुइजना थिए तिनीहरूले लुगाहरू च्याते मानिसहरूले गनगन गरेकोमा तिमीहरूले दुःख देखाए। यहोशू र कालेबले इस्राएलका सम्पूर्ण समुदायलाई भने, “यो भूमि जसलाई हामीले जाँच गर्यौं त्यो धेरै राम्रो भूमि छ। यदि परमप्रभु हामीसित सन्तुष्ट हुनु भए उहाँको अगुवाईमा हामीलाई त्यस भूमीमा पुर्याउनु हुनेछ अनि त्यो दूध र मह बग्ने भूमि हामीलाई दिनु हुनेछ। यसर्थ परमप्रभु-विरूद्ध बिलाप नगर, त्यस भूमिका मानिसहरूसित नडराऊ किनभने हामी तिनीहरूलाई सजिलै जित्नेछौं। तिनीहरूको सुरक्षा तिनीहरूबाट हरण गरिएको छ। तर हामीसित भने परमप्रभु हुनुहुन्छ, तिनीहरूसित नडराऊ।”

शेयर गर्नुहोस्
गन्ती 14 पढ्नुहोस्

गन्ती 14:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

रातभरि मानिसहरूले कष्‍ट मानेर रोई-कराई गरे। तिनीहरूले मोशा र हारूनका विरुद्धमा भने, “मिश्रमा वा यही वनमा मर्नु असल हुनेथियो! किन परमप्रभुले हामीलाई त्‍यस देशमा लैजाँदै हुनुहुन्‍छ? लडाइँमा हामी मारिनेछौं, हाम्रा जहान, बालबच्‍चा कैदमा पर्नेछन्। के मिश्रमा फेरि जानु असल हुँदैन र?” तिनीहरूले आपसमा सल्‍लाह गरे, “हामी एउटा अगुवा चुनौं र मिश्रमा फेरि जाऔं!” मोशा र हारून इस्राएलीहरूको सामु भूइँमा घोप्‍टो परे। नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेबले अफसोस गरेर आफ्‍ना वस्‍त्र च्‍याते। ती दुई जासूसहरूले इस्राएलीहरूलाई भने, “हामीले खोजी गरी आएको देश असल छ। परमप्रभु हामीसित खुसी हुनुहुन्‍छ भने उहाँले हामीलाई त्‍यस देशमा पुर्‍याउनुहुनेछ र त्‍यो धनी र मलिलो देश हामीलाई दिनुहुनेछ। परमप्रभुको विरुद्धमा विद्रोह नगर। त्‍यहाँ बस्‍ने मानिसहरूसित नडराओ। हामी सजिलै तिनीहरूलाई जित्‍नेछौं। परमप्रभु हामीसित हुनुहुन्‍छ, तिनीहरूलाई रक्षा गर्ने देवताहरूलाई उहाँले जित्‍नुभएको छ। यसकारण भय नमान।”

शेयर गर्नुहोस्
गन्ती 14 पढ्नुहोस्