गन्ती 14:1-30
गन्ती 14:1-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस रात सारा समुदाय कराई-कराई रोए। सबै इस्राएलीहरू मोशा र हारूनका विरुद्धमा गनगनाए, र सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्रदेशमा नै मरेका भए असल हुनेथियो, अथवा यस उजाड़-स्थानमा मरेका भए पनि हुन्थ्यो। किन परमेश्वरले हामीलाई तरवारले मर्नलाई यस ठाउँमा ल्याउनुहुँदैछ? हाम्रा जहान र बालबच्चा लूट स्वरूप पक्रिनेछन्। अब मिश्रदेशमा नै फर्कन हामीलाई उचित होइन र?” अनि तिनीहरूले आपसमा भने, “हामी एउटा अगुवा चुनेर मिश्रदेश फर्कौं।” तब मोशा र हारून इस्राएलीका सारा समुदायका सामुन्ने घोप्टो परे। देशको भेद लिन गएकाहरूमध्येका नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले आ-आफ्ना लुगा च्याते, र इस्राएलीहरूका सारा समुदायलाई तिनीहरूले भने, “हामी भेद लिन गएको देश अत्यन्तै असल देश छ। यदि परमप्रभु हामीसित प्रसन्न हुनुभयो भने, उहाँले हामीलाई त्यस देशमा ल्याउनुहुनेछ, र त्यो दूध र मह बग्ने देश हामीलाई दिनुहुनेछ। केवल परमप्रभुको विरुद्धमा खड़ा नहोओ। र त्यस देशका मानिसहरूसित नडराओ, किनकि उनीहरू त हाम्रा शिकार हुनेछन्। उनीहरूको सुरक्षा उनीहरूबाट हटिसकेको छ, तर परमप्रभु हामीतर्फ हुनुहुन्छ। उनीहरूसित नडराओ।” तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्नुपर्छ भनी मतो गरे। त्यस बेला परमप्रभुको महिमा भेट हुने पालमा सबै इस्राएलीहरूकहाँ देखा पर्यो। अनि परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले मलाई कतिसम्म तिरस्कार गरिरहनेछन्? यिनीहरूका बीचमा मैले गरेका चिन्हहरू देखेर पनि यिनीहरूले कतिसम्म ममाथि अविश्वास गर्नेछन्? यिनीहरूलाई म रूढ़ीले नाश गर्नेछु, तर तँबाटै यिनीहरूभन्दा ठूलो र शक्तिशाली जाति बनाउनेछु।” मोशाले परमप्रभुलाई भने, “मिश्रीहरूले यो सुने भने के भन्लान्? उनीहरूका बीचबाट आफ्नो शक्ति देखाएर तपाईंले नै यिनीहरूलाई ल्याउनुभएको हो। यस देशका बासिन्दाहरूलाई मिश्रीहरूले यो कुरा बताउनेछन्। तपाईं परमप्रभु यिनीहरूका बीचमा हुनुहुन्छ भन्ने कुरो उनीहरूले सुनिसकेका छन्, तपाईं आमनेसामने नै देखा पर्नुभएको छ, र तपाईंको बादल यिनीहरूमाथि खड़ा हुन्छ र दिनमा बादलको खामो र रातमा आगोको खामो भएर तपाईं यिनीहरूका अगिअगि जानुहुन्छ। अब तपाईंले यस जातिलाई एकै पटकमा मार्नुभयो भने त तपाईंको कीर्ति सुन्ने जातिहरूले यसो भनेर कुरा गर्नेछन्, ‘परमप्रभुले ती मानिसहरूलाई दिन्छु भनी शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा ल्याउन सक्नुभएन, यसैकारण तिनीहरूलाई उजाड़-स्थानमा मारिदिनुभयो’। “यसैले परमप्रभु, आफ्नो महामहिमा प्रकट गर्नुहोस्, जसरी तपाईंले भन्नुभएको छ: ‘परमप्रभु रीस गर्नमा धैर्यवान् र अति करुणामय, अधर्म र अपराध क्षमा गर्ने, तर दोषीलाई कुनै रीतिले निर्दोष नठहराउने, पिता-पुर्खाका अधर्मको सजाय उनीहरूका तेस्रो र चौथो पुस्तासम्म पनि दिने हुनुहुन्छ।’ बिन्ती छ, तपाईंको महान् करुणाअनुसार, र मिश्रदेशदेखि अहिलेसम्म क्षमा गरिरहनुभएझैँ यी मानिसहरूको अधर्म क्षमा गर्नुहोस्।” तब परमप्रभुले भन्नुभयो, “तैंले भनेबमोजिम मैले यिनीहरूलाई क्षमा गरिदिएको छु। तापनि, जस्तो म जीवित छु र जसरी मेरो महिमाले पृथ्वी भरिएको छ, मिश्र र उजाड़-स्थानमा मेरा महिमा र आश्चर्यकर्महरू देखेर पनि अनाज्ञाकारी भई दश पल्ट मेरो जाँच गर्ने यी सारा मानिसहरूले तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर भनेको प्रतिज्ञाको देश देख्नेछैन। मलाई तिरस्कार गर्नेले त्यो कहिल्यै देख्नेछैन। तर मेरो दास कालेबमा अर्कै आत्मा छ, र त्यसले पूरै रीतिले मेरो अनुसरण गरेको छ। यसैकारण त्यो पसेर आएको देशमा म त्यसलाई लैजानेछु र त्यसका सन्तानले त्यो अधिकार गर्नेछन्। अमालेकी र कनानीहरू बेँसीहरूमा बसेका हुनाले भोलि नै तिमीहरू फर्क र लाल समुद्रको बाटो भएर उजाड़-स्थानतिर जाओ।” परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “मेरो विरुद्धमा यस दुष्ट समुदायले कतिसम्म गनगनाउने? तिनीहरूले मेरो विरुद्धमा गनगनाएका मैले सुनेको छु। तिनीहरूलाई भनिदेओ, ‘जस्तो म जीवित छु, परमप्रभु घोषणा गर्नुहुन्छ, मैले सुन्ने गरी तिमीहरूले जे-जे भनेका थियौ, म त्यही नै गर्नेछु। तिमीहरूका लाश यही उजाड़-स्थानमा छोड़िनेछन्, अनि यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक गणना भएको र मेरो विरुद्धमा गनगनाउने बीस वर्षदेखि उँभोको कोही पनि वासको निम्ति दिन्छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा जान पाउनेछैन।
गन्ती 14:1-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस रात इस्राएली समुदायका सबै मानिसहरू ठूलो सोरमा कराउँदै जोरसँग रोए। सबै इस्राएलीहरूले मोशा र हारूनको विरुद्धमा गनगन गर्न थाले। अनि सारा समुदायले तिनीहरूलाई भने, “यदि हामी इजिप्टमै मरेका भए अथवा यही उजाडस्थानमै मरेका भए बरु असल हुनेथियो!” याहवेहले हामीलाई किन यस देशमा तरवारद्वारा मारिनका निम्ति ल्याउँदै हुनुहुन्छ? हाम्रा पत्नीहरू र बालबच्चाहरू लुटको मालजस्तै लगिनेछन्। के हामीलाई इजिप्टमै फर्किजानु असल हुँदैन र? अनि तिनीहरूले एक-आपसमा भने, “हामी एउटा अगुवा चुनौँ, र इजिप्टमा फर्केर जाऔँ।” तब मोशा र हारून त्यहाँ भेला भएका इस्राएलीहरूका सारा समुदायको अगाडि भुइँमा घोप्टो परे। ती मानिसहरूसँग कनान देशको बारेमा जासुसी गर्न जाने नूनका छोरा यहोशू र यपून्नेका छोरा कालेबले पनि आफ्ना लुगा च्याते। अनि सारा इस्राएली समुदायलाई कालेब र यहोशूले भने, “हामीले गएर जासुसी गरेको देश अति उत्तम छ। यदि याहवेह हामीसँग प्रसन्न हुनुभयो भने उहाँले हामीलाई त्यो देश, दूध र मह बग्ने देशमा पुर्याउनुहुने छ, र त्यो देश हामीलाई दिनुहुनेछ। तर याहवेहको विरुद्धमा विद्रोहचाहिँ नगर। अनि त्यस देशका मानिसहरूसँग नडराओ; किनकि हामी तिनीहरूलाई सजिलै हराउनेछौँ। तिनीहरूलाई सुरक्षा दिने कोही छैन। तर हामीहरूसँग याहवेह हुनुहुन्छ। त्यसैले तिनीहरूसँग नडराओ।” तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। तब याहवेहको महिमा भेट हुने पालमा सबै इस्राएलीहरूकहाँ देखा पर्यो। याहवेहले मोशालाई भन्नुभयो, “यी मानिसहरूले कहिलेसम्म मेरो अनादर गरिरहन्छन्? मैले तिनीहरूको बीचमा गरेका सबै अलौकिक चिन्हहरू देखेर पनि तिनीहरूले ममाथि कहिलेसम्म विश्वास गर्न इन्कार गर्छन्? म तिनीहरूलाई महामारीले प्रहार गर्नेछु र नाश पार्नेछु। तर तँलाईचाहिँ तिनीहरूभन्दा महान् र शक्तिशाली जाति बनाउनेछु।” मोशाले याहवेहलाई भने, “इजिप्टियनहरूले यो कुरा सुने भने के भन्लान्? तिनीहरूका बीचबाट आफ्नो शक्तिद्वारा यिनीहरूलाई तपाईंले नै ल्याउनुभएको हो। अनि तिनीहरूले यो देशका बासिन्दाहरूलाई यो कुरा बताउनेछन्। तपाईं याहवेह यिनीहरूका बीचमा हुनुहुन्छ। तपाईं यिनीहरूसँग आमने-सामने नै देखा पर्नुभएको छ। अनि तपाईंको बादल यिनीहरूमाथि रहन्छ। अनि दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोमा भएर तपाईं यिनीहरूका अगि-अगि जानुहुन्छ भनेर तिनीहरूले सुनिसकेका छन्। यदि तपाईंले यी मानिसहरूलाई एउटै पनि जीवित नराखी नाश गर्नुभयो भने तपाईंको ख्याति सुन्ने जातिहरूले भन्नेछन्, ‘याहवेहले शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा यी मानिसहरूलाई ल्याउन सक्नुभएन। त्यसैले उहाँले तिनीहरूलाई उजाडस्थानमा मारिदिनुभयो।’ “अब तपाईंले घोषणा गर्नुभएझैँ प्रभुको शक्ति प्रदर्शन गर्नुहोस्: याहवेह रिस गर्नमा ढिलो, प्रेममा भरपूर, पाप र विद्रोह क्षमा गर्नुहुने हुनुहुन्छ। तरै पनि उहाँले दोषीलाई दण्ड नदिई छोड्नुहुन्न। उहाँले आमाबुबाका पापका दण्ड तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ। तपाईंको महान् प्रेमअनुसार यिनीहरूले इजिप्ट छोडेर आएदेखि अहिलेसम्म जसरी तपाईंले क्षमा दिनुभएको छ, त्यसरी नै यी मानिसहरूका पाप क्षमा गरिदिनुहोस्!” याहवेहले मोशालाई जवाफ दिनुभयो, “तेरो बिन्तीअनुसार मैले तिनीहरूलाई क्षमा दिएको छु। तरै पनि म जीवित भएझैँ र याहवेहको महिमाले सम्पूर्ण पृथ्वी ढाकिएझैँ, मेरो महिमा अनि मैले इजिप्टमा र उजाडस्थानमा देखाएका अलौकिक चिन्हहरू देखेका छन्। र पनि मेरो आज्ञापालन नगर्ने र मलाई दश पल्टसम्म जाँच गर्ने एकै जनाले पनि अर्थात् तिनीहरूमध्ये एउटैले पनि मैले तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गरेको देशलाई कहिल्यै देख्न पाउनेछैनन्। मलाई अनादर गर्ने कुनै पनि व्यक्तिले त्यस देशलाई कहिल्यै देख्न पाउनेछैन। तर मेरो सेवक कालेबमा अर्कै आत्मा छ, र उसले सम्पूर्ण हृदयले मलाई पछ्याएको छ। यसकारण उसले भेद लिएर आएको देशमा म उसलाई पुर्याउनेछु। अनि उसका सन्ततिहरूले त्यस देशमा अधिकार गर्नेछन्। बेँसीहरूमा अमालेकीहरू र कनानीहरू बसोबास गरिरहेका हुनाले भोलि नै तिमीहरू फर्क। अनि लाल समुद्रको बाटो भएर उजाडस्थानतिर लाग।” याहवेहले मोशा र हारूनलाई भन्नुभयो: “यस दुष्ट समुदायले कहिलेसम्म मेरो विरुद्धमा गनगन गरिरहन्छ? मैले यी गनगने इस्राएलीहरूको गुनासो सुनेको छु।” यसकारण तिनीहरूलाई भन्, “याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ तिमीहरूले भनेका कुराहरू मैले सुनेको छु। अनि म तिमीहरूसँग त्यसैअनुसार गर्नेछु। तिमीहरूको मृत शरीर यही उजाडस्थानमा छोडिनेछ। जनगणनाको समयमा गनिएका बीस वर्ष अथवा त्योभन्दा माथिका हरेक मेरो विरुद्धमा गनगन गर्नेहरू मर्नेछौ। यपून्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक तिमीहरूमध्ये एउटै पनि मैले शपथ खाएर तिमीहरूलाई दिन लागेको देशमा प्रवेश गर्न पाउनेछैनौ।
गन्ती 14:1-30 पवित्र बाइबल (NERV)
सबै मानिसहरू छाउनीभित्र त्यस रातभरि कराई कराई रोइ रहे। इस्राएलका सबै मानिसहरूले मोशा र हारूनको विरूद्धमा गनगनाए। सबै मानिसहरूले तिनीहरूलाई भने, “यदि हामी मिश्रदेशमा नै अर्थात् यो मरुभूमिमा मरेको भए राम्रो हुनेथियो। किन परमप्रभुले हामीलाई लडाईमा तरवारले काटी मार्न त्यस भूमिमा लैजानु हुँदैछ? हाम्रा जहान बालबच्चाहरू पनि लूटिने समान झैं लूटमा पक्रा पर्नेछन्। हामीलाई मिश्र देशमा फर्किनु नै असल हुन्छ।” तिनीहरूले एक अर्कामा भने, “एकजना अगुवा चुनौं र मिश्रदेश फर्कौं।” सबै इस्राएली मानिसहरूको सामुन्ने मोशा र हारून भूइँमा घोप्टो परे। नूनको छोरो यहोशू र यपून्नेको छोरो कालेब भूमिको जाँच गर्न जानेहरू मध्ये दुइजना थिए तिनीहरूले लुगाहरू च्याते मानिसहरूले गनगन गरेकोमा तिमीहरूले दुःख देखाए। यहोशू र कालेबले इस्राएलका सम्पूर्ण समुदायलाई भने, “यो भूमि जसलाई हामीले जाँच गर्यौं त्यो धेरै राम्रो भूमि छ। यदि परमप्रभु हामीसित सन्तुष्ट हुनु भए उहाँको अगुवाईमा हामीलाई त्यस भूमीमा पुर्याउनु हुनेछ अनि त्यो दूध र मह बग्ने भूमि हामीलाई दिनु हुनेछ। यसर्थ परमप्रभु-विरूद्ध बिलाप नगर, त्यस भूमिका मानिसहरूसित नडराऊ किनभने हामी तिनीहरूलाई सजिलै जित्नेछौं। तिनीहरूको सुरक्षा तिनीहरूबाट हरण गरिएको छ। तर हामीसित भने परमप्रभु हुनुहुन्छ, तिनीहरूसित नडराऊ।” तर त्यहाँ भएका सबै मानिसहरूले यहोशू र कालेबलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। त्यसपछि भेट हुने पालमा सबै इस्राएली मानिसहरूको सामुन्ने परमप्रभुको महिमा देखा पर्यो। परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले कहिले सम्म मसित घृणीत व्यवहार गर्छन्? यिनीहरूको माझमा मैले यी सबै महान चिन्हहरू देखाई सकेको छु र अब कहिले सम्म तिनीहरूले मलाई अविश्वास गर्छन्? तिनीहरू माथि म महामारी ल्याएर ध्वंश पार्छु अनि तिमीद्वारा नै म तिनीहरू भन्दा ठूलो र शक्तिशाली राष्ट्र निर्माण गर्नेछु।” तब मोशाले परमप्रभुलाई भने, “मिश्र देशवासीहरूले यदि यो कुरा चाल पाए के भन्लान्? कारण तपाईंले नै यिनीहरूलाई आफ्नो शक्तिको प्रभावले तिनीहरूको माझबाट ल्याउनु भएको हो। अनि मिश्रका मानिसहरूले कनानीहरूलाई यस विषयमा भन्नेछन् कारण तिनीहरू जान्दछन् कि तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि तपाईं परमप्रभु हुनुहुन्छ र तिनीहरूले जान्दछन् कि मानिसहरूले तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि मानिसहरूको अगुवाई गर्ने दिनमा तपाईंले बादलको प्रयोग गर्नु भएको छ भने रातमा आगोको प्रयोग गर्नु भएको छ। यसर्थ अहिले तपाईंले यी मानिसहरूलाई मार्नु हुँदैन। यदि तपाईंले मार्नु भयो भने तपाईंको शक्तिको बारेमा जान्ने सबै राष्ट्रहरूले भन्नेछन्, ‘आफूले शपथ गरेको भूमिमा मानिसहरूलाई ल्याउन नसक्दा परमप्रभुले तिनीहरूलाई मरुभूमिमा मार्नुभयो।’ “यसर्थ अहिले हे मालिक आफ्नो महामहिमा प्रदर्शन गर्नुहोस्। तपाईंले प्रतिज्ञा गरे झैं देखाउनु होस्। तपाईंले भन्नुभयो, ‘परमप्रभु क्रोधगर्न ढिलो हुनुहुन्छ, परमप्रभु करूणामय हुनुहुन्छ। कानुन् अमान्य गरी जो दोषी बनिन्छ त्यस्ताहरूलाई परमप्रभुले क्षमा दिनुहुन्छ। तर जो दोषी छन् तिनीहरूलाई परमप्रभुले सदैव दण्ड दिनुहुन्छ। परमप्रभुले यस्ता मानिसहरूलाई, तिनीहरूका छोरा-छोरीहरूलाई, तिनीहरूका नाती-नातिनी तथा पनाती पनातिनीहरू सम्मलाई तिनीहरूले गरेको खराब कार्यको निम्ति दण्ड दिनुहुन्छ।’ अहिले तपाईंले मानिसहरूलाई आफ्नो महान करूणा देखाउनु होस् र मिश्र देश छोडेर आएको दिनदेखि जसरी क्षमा गर्दै आउनु भएकोछ आज पनि ती मानिसहरूलाई क्षमा गरिदिनु होस्।” परमप्रभुले भन्नुभयो, “तिमीले भने जस्तै म तिनीहरूलाई क्षमा दिनेछु। तर म साँचो भन्दछु, जस्तो म जीवित छु र जसरी परमप्रभुको महिमाले पृथ्वी नै भरिन्छ, ती सबै मानिसहरू मेरो महिमा र मेरा अश्चर्य चिन्हहरू जो मैले मिश्र देशमा देखाएको देखेका छन् अनि दश पल्ट मलाई परीक्षा लिएका छन् र ऐले मेरो कुराहरू मान्दैनन्, यी सब मानिसहरूले मैले तिनीहरूको पुर्खाहरूसित दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्। तर मेरो दास कालेब जसले भिन्दै प्रकारले सोच्छ अनि त्यसले सम्पूर्ण रीतिले मेरो अनुशरण गर्छ म उसलाई त्यो भूमिमा जहाँ ऊ गयो ल्याउनेछु र उसको सन्तानले त्यो भूमि उपभोग गर्नेछ। अमालेकीहरू र कनानीहरू त्यही बेंसीमा बसिरहेका छन्। यसर्थ भोलि तिमीहरूले यो ठाउँ छाड्नु नै पर्छ र लाल समुद्र को बाटो भएर तिमीहरू त्यो मरुभूमिमा फर्की जाऊ।” परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “मेरो विरूद्धमा यी दुष्ट मानिसहरूले कहिले सम्म नालिश गरिरहने। इस्राएलका मानिसहरूले मेरो विरूद्धमा लगाएको नालिश मैले सुनेको छु। तिनीहरूलाई भनी देऊ, ‘जस्तो म जिवित छु परमप्रभु भन्नुहुन्छ तिमीहरूले परमप्रभुको विरोधमा जे जति भनेका थियौ ती सब पूर्ण गरी दिनेछु। तिमीहरूलाई जे गर्नेछु त्यो यही हो। तिमीहरूको बीचमा प्रत्येक व्यक्ति जो बीस बर्ष अथवा वेशी उमेरको छ अनि मेरो मानिस भनी गन्ती भएको थियो, त्यो यही मरुभूमिमा मर्नेछ। तिमीहरूले म परमप्रभुको विरूद्ध नालिश गर्यौ। यसर्थ तिमीहरू मध्ये त्यो मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा कोही पनि पस्न पाउने छैन्। केवल यपून्नेको छोरो कालेब र नूनको छोरो यहोशू त्यो भूमिमा पस्नेछन्।
गन्ती 14:1-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
रातभरि मानिसहरूले कष्ट मानेर रोई-कराई गरे। तिनीहरूले मोशा र हारूनका विरुद्धमा भने, “मिश्रमा वा यही वनमा मर्नु असल हुनेथियो! किन परमप्रभुले हामीलाई त्यस देशमा लैजाँदै हुनुहुन्छ? लडाइँमा हामी मारिनेछौं, हाम्रा जहान, बालबच्चा कैदमा पर्नेछन्। के मिश्रमा फेरि जानु असल हुँदैन र?” तिनीहरूले आपसमा सल्लाह गरे, “हामी एउटा अगुवा चुनौं र मिश्रमा फेरि जाऔं!” मोशा र हारून इस्राएलीहरूको सामु भूइँमा घोप्टो परे। नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले अफसोस गरेर आफ्ना वस्त्र च्याते। ती दुई जासूसहरूले इस्राएलीहरूलाई भने, “हामीले खोजी गरी आएको देश असल छ। परमप्रभु हामीसित खुसी हुनुहुन्छ भने उहाँले हामीलाई त्यस देशमा पुर्याउनुहुनेछ र त्यो धनी र मलिलो देश हामीलाई दिनुहुनेछ। परमप्रभुको विरुद्धमा विद्रोह नगर। त्यहाँ बस्ने मानिसहरूसित नडराओ। हामी सजिलै तिनीहरूलाई जित्नेछौं। परमप्रभु हामीसित हुनुहुन्छ, तिनीहरूलाई रक्षा गर्ने देवताहरूलाई उहाँले जित्नुभएको छ। यसकारण भय नमान।” सारा इस्राएली समाजले तिनीहरूलाई ढुङ्गाले हानेर मार्ने डर देखाउँदै थिए। तर अचानक ती मानिसहरूले आँखा तिरीमिरी पार्ने ज्योति, पवित्र पालमाथि परमप्रभु उपस्थित हुनुभएको देखे। परमप्रभुले मोशालाई भन्नुभयो, “कहिलेसम्म यी मानिसहरूले मलाई अस्वीकार गर्ने हुन्? मैले तिनीहरूका बीचमा यति धेरै उदेकका कामहरू गरिसकें, तापनि अझै कतिञ्जेल तिनीहरू ममाथि भरोसा नगर्ने हुन्। म महामारी पठाएर तिनीहरूलाई नाश पार्नेछु। तर तँलाई चाहिँ म एउटा जातिको पिता बनाउनेछु। त्यो जाति यो अहिलेको जातिभन्दा ठूलो र बलवान् हुनेछ!” तर मोशाले परमप्रभुलाई भने, “तपाईंले आफ्नो शक्तिले यी मानिसहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो। तपाईंले आफ्ना मानिसहरूलाई कसो गर्नुभएको छ, त्यो कुरा मिश्रीहरूले जब सुन्छन्, तिनीहरूले सो कुरा यो देशमा बस्नेहरूलाई सुनाउनेछन्। यी मानिसहरूले सुनिसकेका छन् कि तपाईं परमप्रभु हामीसित हुनुहुन्छ। तपाईंको बादल हामीमाथि अडिँदा तपाईंले आफ्नो दर्शन दिनुहुन्छ अनि दिउँसो बादलका खम्बामा र राती आगोका खम्बामा तपाईं हाम्रा अघि-अघि हिँड्नुहुन्छ भनी तिनीहरूले जानेका छन्। अब तपाईंले आफ्ना मानिसहरूलाई नाश गर्नुभयो भने तपाईंको सुनाम सुन्ने जातिहरूले भन्नेछन् कि तपाईंले आफ्ना मानिसहरूलाई उजाड-भूमिमा मार्नुभयो किनभने तपाईंले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको ठाउँमा तिनीहरूलाई ल्याउन सक्नुभएन। यसकारण परमप्रभु, म बिन्ती गर्दछु, तपाईंले आफ्नो शक्ति देखाउनुहोस् र आफ्नो प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले यसो भन्नुभएको थियो, ‘म परमप्रभु, सजिलै रिसाउँदिनँ। म ठूलो प्रेम र विश्वासयोग्यता देखाउँछु र पाप र विद्रोह क्षमा गर्दछु। तापनि आमा-बुबाका पापका निम्ति म तिमीहरूका छोरा-नातिहरूलाई तेस्रो वा चौथो पुस्तासम्म दण्ड दिन छोड्दिन।’ र अब, हे परमप्रभु, म बिन्ती गर्दछु, तपाईंको कहिल्यै नबद्लिने ठूलो प्रेमअनुसार यी मानिसहरूका पाप क्षमा गर्नुहोस्, जसरी यिनीहरूले मिश्र छोडेदेखि अहिलेसम्म तपाईंले माफ गर्दै ल्याउनुभएको छ।” परमप्रभुले उत्तर दिनुभयो, “तैँले बिन्ती गरेअनुसार म यिनीहरूलाई क्षमा गर्नेछु। म जीवित छु र मेरो उपस्थितिले पृथ्वी भरिँदै छ भन्ने स्वयम् साक्षी राखी म भन्दछु कि यी मानिसहरूमध्ये एक जना पनि त्यस देशमा पस्न पाउनेछैनन्। मेरो उपस्थितिले तिनीहरूका आँखा तिरीमिरि पार्ने ज्योति अनि मैले मिश्रदेशमा र वनमा गरेका उदेकका कामहरू सबै देखेका छन् तर घरीघरी तिनीहरूले मेरा धैर्यको जाँच गरेका छन् र मेरा आज्ञा मान्न चाहेका छैनन्। मैले तिनीहरूका पुर्खालाई प्रतिज्ञा गरेको देशमा तिनीहरू पस्न पाउनेछैनन्। मलाई इन्कार गर्ने कोही पनि त्यस देशमा पस्न पाउनेछैन। तर मेरो सेवक कालेबको मन बेग्लै छ र त्यो मेरो भक्त रहेको छ। त्यसकारण म त्यसलाई त्यसले जाँचबुझ गरी आएको सो देशमा पुर्याउनेछु र त्यसका सन्तानले अहिले अमालेकी र कनानीहरूले बास गरेको त्यस देशमा अधिकार गर्नेछन्। भोलि फर्केर लाल समुद्रको खाडीतिर भएको उजाड-भूमिमा जाओ।” परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “अब कहिलेसम्म यी दुष्ट मानिसहरूले मेरो विरुद्धमा गनगन गर्ने हुन्? मैले यिनीहरूको गनगन धेरै सुनिसकेको छु! अब तिनीहरूलाई यो जवाफ दे, ‘म यो शपथ खाँदछु कि म जीवित छु भन्ने स्वयम् साक्षी राखी म भन्दछु, त्यसरी नै म तिमीहरूले मागेअनुसार गर्नेछु। तिमीहरू मर्नेछौ र तिम्रा लाश यस बनभरि छरिनेछन्। तिमीहरूले मेरो विरुद्धमा गनगन गरेका छौ। त्यसकारण तिमीहरूमध्ये बीस वर्षभन्दा बढ्ता उमेर हुनेहरू कोही पनि त्यस देशमा पस्न पाउनेछैनन्। मैले तिमीहरूलाई त्यहाँ बस्न दिने प्रतिज्ञा गरेको थिएँ तर अब कालेब र यहोशूबाहेक अरू कोही त्यहाँ बस्न पाउनेछैनन्।