नहेम्‍याह 5:9-19

नहेम्‍याह 5:9-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मैले अझै भनें, “तिमीहरू जे गरिरहेका छौ सो ठीक छैन। हाम्रा अन्‍यजाति शत्रुहरूको नजरमा निन्‍दित नहुनलाई हाम्रा परमेश्‍वरको डर राखेर तिमीहरूलाई बस्‍नुपर्नेथिएन? म र मेरा भाइहरू र मेरा अधीनका मानिसहरू पनि तिनीहरूलाई रुपियाँपैसा र अन्‍न सापट दिँदैछौं। तर ऋणको लागि ब्‍याज उठाउने काम बन्‍द होस्‌। तिनीहरूबाट लिएका खेतहरू, दाखबारीहरू र भद्राक्षबारीहरू र घरहरू तुरुन्‍तै तिनीहरूलाई फर्काइदेओ, अनि तिनीहरूबाट असूल गरेका ब्‍याज, अर्थात्‌ रुपियाँपैसा, अन्‍न, नयाँ दाखमद्य र तेलको सयौँ भाग फर्काइदेओ।” “हामी फर्काइदिनेछौं, र तिनीहरूबाट अरू केही लिनेछैनौं। तपाईं जे भन्‍नुहुन्‍छ सो हामी गर्नेछौं” भनी तिनीहरूले भने। तब मैले पूजाहारीहरूलाई बोलाएँ, र भारदार र अधिकृतहरूलाई आफूले प्रतिज्ञा गरेअनुसार गर्न शपथ खान लाएँ। त्‍यसपछि मैले मेरो खास्‍टोको छेउ टकटक्‍याएर भनें, “आफ्‍नो प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसको घर र धन-सम्‍पत्ति परमेश्‍वरले यसरी नै टकटक्‍याइदेऊन्। त्‍यसलाई यसरी नै टकटक्‍याएर रित्तो बनाइओस्‌।” यो भएपछि भेला भएका सबै मानिसहरूले भने, “आमेन,” र तिनीहरूले परमप्रभुको प्रशंसा गरे। अनि तिनीहरूले आफ्‍नो प्रतिज्ञाअनुसार गरे। त्‍यसबाहेक यहूदा देशका राज्‍यपाल म नियुक्त भएको समयदेखि, अर्थात्‌ अर्तासास्‍त राजाको बीसौँ वर्षदेखि बत्तीसौँ वर्षसम्‍म, जम्‍मा बाह्र वर्षसम्‍म मैले र मेरा भाइहरूले राज्‍यपालले पाउनुपर्ने खानेकुराको भत्ता लिएनौं। तर मभन्‍दा अघिका राज्‍यपालहरूले रोटी र दाखमद्यबाहेक चाँदीका चालीस सिक्‍का कर तोकेर मानिसहरूलाई ठूलो भारले थिचेका थिए। उनीहरूका सहायकहरूले पनि यसरी नै अत्‍याचार गरेका थिए। तर परमेश्‍वरको भय राखेर मैले त्‍यस्‍तो व्‍यवहार गरिनँ। त्‍यसको साटो मैले पर्खाल बनाउने काममा मेरो सारा मेहनत लगाएँ। मेरा सबै मानिसहरू कामको निम्‍ति त्‍यहाँ भेला भए, र हामीले तिनीहरूबाट कुनै जग्‍गाजमिन लिएनौं। यसबाहेक मसँग मेरो टेबिलमा बसेर खानेहरू एक सय पचास जना यहूदीहरू र अधिकृतहरूलगायत छेउछाउका जातिहरूबाट हामीकहाँ आउने अतिथिहरू पनि थिए। प्रतिदिन खानलाई मेरो निम्‍ति जुटाउनुपर्ने एउटा गोरु, छ वटा मोटा-मोटा भेड़ा, र कुखुराहरूलाई पनि तयार गरिन्‍थ्‍यो। दश-दश दिनपछि विभिन्‍न प्रकारका दाखमद्य प्रशस्‍त मात्रामा जुटाइन्‍थ्‍यो। यति भए तापनि मैले राज्‍यपालले पाउनुपर्ने भोजनको माग गरिनँ, किनभने मानिसहरूमाथि ठूलो भार परेको थियो। हे मेरा परमेश्‍वर, मैले गरेका सबै कामको निम्‍ति मेरो हितमा सम्‍झना गर्नुहोस्‌।

शेयर गर्नुहोस्
नहेम्‍याह 5 पढ्नुहोस्

नहेम्‍याह 5:9-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसकारण मैले भन्दै गएँ, “तिमीहरूले जे गरिरहेका छौ, सो ठिक छैन। हाम्रा गैरयहूदी शत्रुहरूको निन्दाबाट बच्नको लागि के तिमीहरू परमेश्‍वरको डर मानेर चल्नुपर्ने थिएन र? यसरी म, मेरा दाजुभाइहरू र मेरा मानिसहरूले पनि तिनीहरूलाई रकम र अन्‍न उधारो दिन्छौँ। तर यस्तो ब्याज लिने कामचाहिँ बन्द गरौँ! तिनीहरूलाई तिनीहरूका खेतहरू, दाखबारीहरू, जैतुनबारीहरू र घरहरू साथै तिमीहरूले तिनीहरूबाट लिएका रकम, अन्‍न, दाखमद्य र तेलको सयौँ भाग ब्याज तुरुन्तै फर्काइदेऊ।” तिनीहरूले भने, “हजुर, हामी त्यो फर्काइदिनेछौँ। अनि हामी तिनीहरूबाट अरू केही कुरा माग गर्नेछैनौँ। तपाईंले भन्‍नुभएजस्तै हामी गर्नेछौँ।” तब मैले पुजारीहरूलाई बोलाइपठाएँ; अनि अगुवाहरू र अधिकारीहरूलाई तिनीहरूले जे गर्नेछौँ भनी भनेका थिए, त्यसको शपथ खान लगाएँ। मैले आफ्ना वस्त्रको छेउको मोडिएको भाग टकटकाएर भनेँ, “यसरी नै यस प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसलाई त्यसको घर र सम्पत्तिबाट परमेश्‍वरले टकटक्याइ दिनुहुनेछ। यसरी नै यस्तो मानिस टकटक्याइएको होस् र रित्तो पारिएको होस्!” यस कुरामा सारा समुदायले भने, “आमेन,” अनि याहवेहको प्रशंसा गरे। तब मानिसहरूले आफूले प्रतिज्ञा गरेझैँ गरे। यसबाहेक, राजा अर्तसास्तको शासनकालको बीसौँ वर्षमा म यहूदामा तिनीहरूको राज्यपाल नियुक्त भएदेखि उहाँको बत्तीसौँ वर्ष, अर्थात् बाह्र वर्षसम्म अधिकृत भएर सेवा गर्दा, न त मैले, न त मेरा दाजुभाइहरूले राज्यपालको निम्ति दिइने भोजन खायौँ। तर मभन्दा पहिलेका राज्यपालहरूले मानिसहरूमाथि ठूलो बोझ लगाएका थिए। अनि भोजन र दाखमद्यको साथमा तिनीहरूबाट चार सय शेकेल चाँदी लिए। तिनीहरूका सहायकहरूले पनि मानिसहरूमाथि अधिकार जमाए। तर परमेश्‍वरप्रतिको डरको कारणले गर्दा मैले त्यसो गरिनँ। त्यसको सट्टा मैले आफूलाई यस पर्खालको काममा लगाइरहेँ। मेरा सबै मानिसहरू कामको निम्ति त्यहाँ भेला भए; हामीले कुनै पनि जग्गाजमिन किनेनौँ। यसबाहेक, मसँग मेरो टेबुलमा एक सय पचास जना यहूदीहरू र अधिकृतहरूले अनि वरिपरिका देशहरूबाट आउने मानिसहरूले खाने गर्थे। प्रत्येक दिन मेरा निम्ति एउटा गोरु, छ वटा असल भेडाहरू र केही कुखुराहरू तयार गरिन्थे। प्रत्येक दश दिनमा सबै प्रकारका दाखमद्यहरू प्रशस्त मात्रामा जुटाइन्थ्यो। यी सबै कुरा हुँदा पनि मैले राज्यपालका निम्ति तोकिएको भोजन कहिल्यै मागिनँ; किनकि यी मानिसहरूमा ठूलो भार परेको थियो। हे मेरा परमेश्‍वर, मैले यी मानिसहरूका निम्ति गरेका सबै भलाइका कामको निम्ति मलाई अनुग्रह सहित सम्झना गर्नुहोस्।

शेयर गर्नुहोस्
नहेम्‍याह 5 पढ्नुहोस्

नहेम्‍याह 5:9-19 पवित्र बाइबल (NERV)

तब मैले भनें, “तिमीहरूले जे गरिरहेछौ। त्यो राम्रो छैन। तिनीहरू हाम्रा शत्रु राष्ट्रहरूको नजरबाट बाँच्नका निम्ती हाम्रा परमेश्वरप्रति सम्मानपूर्वक बाँच्नु पर्छ। म मेरो दाज्यू-भाइहरू अनि मेरो सेवकहरूले तिनीहरूलाई पैसा बाँकी दियौं। हामीले ऋणको ब्याज लिन छाड्यौं। तिनीहरूका खेत र दाखबारी, तिनीहरूका भद्राक्षबारी अनि तिनीहरूका घरहरू आजनै तिनीहरूलाई फिर्ता गर। अनि धनको मासिक ब्याज, अन्न, दाखरस अनि तेल जो तिमीहरूले तिनीहरूबाट लियौ फर्काइदेऊ।” तब तिनीहरूले भने, “हामी सबै कुरा फिर्ता दिने छौं। अनि हामी तिनीहरूबाट केही माग्ने छैनौं। हामी तपाईंले भन्नु भएजस्तै गर्ने छौं।” यसकारण मैले पूजाहारीहरूलाई बोलाएँ, अनि तिनीहरूले अहिले भने अनुसार गर्नु पर्छ, भनी मैले तिनीहरूलाई शपथ दिलाएँ। मैले मेरो खाष्टोको छेउ टक्टकाएँ र भने, “परमेश्वरले यसरीनै, यो शपथपालन नगर्नेहरू हरेकलाई घर अनि सम्पत्तिबाट टक्टकाएर निकाली दिऊन्। यसरी व्यक्तिलाई टक्टक्याइयोस् र रित्तो तुल्याइयोस्।” त्यस पछि सम्पूर्ण समूहले भने, “आमीन!” अनि तिनीहरूले परमप्रभुको स्तुति गरे। अनि मानिसहरूले शपथलिए जस्तै गरे। अझ यहूदा देशको प्रशासक नियुक्त भएको दिन देखि राजा अर्ट-जारसेजको शासनकालको बिशौं बर्ष देखि बत्तीशौं बर्ष, (करिब बाह्र बर्ष) सम्म मैले अनि मेरा नजिकका आफन्तहरूले प्रशासकको भोजन भोग गरेनौं। पहिलेका राज्यपाल जो मेरो अघि थिए, मानिसहरू माथि गह्रौ बोझ लदाएको थिए। अनि आधा किलोग्राम चाँदीसित तिनीहरूबाट खाद्य अनि दाखरस पनि लिएका थिए। तिनीहरूका सेवकहरू अघिका मानिसहरू माथि कठोर शासन गरेका थिए। तर मैले यस्ता कुराहरू गरिन किन भने म परमेश्वरसित डराउँथे। त्यसको सट्टा म स्वयंले पर्खाल निर्माण गर्न लगाएँ अनि हामीहरूले कुनै भूमि प्राप्त गरेनौं। मेरा समस्त मानिस र सेवकहरू काम गर्नका निम्ती त्यहाँ भेला भएका थिए। मेरो टेबलमा हाम्रा वरिपरिका राष्ट्रहरूबाट आएका मानिसहरू सहित एक सय पचासजना यहूदी अधिकारीहरू थिए। प्रत्येक दिन एउटा गोरू छःवटा चुनिएका भेंडाहरू अनि केही पंक्षिहरू मेरो खर्चमा तयार गरिन्थ्यो। अनि प्रत्येक दश दिनमा धेरै मात्रमा सबै किसिमका दाखरसको प्रबन्ध गरिन्थ्यो, तर यी सबै भएता पनि मैले प्रशासकको खाद्य खोजिन किनकि यी मानिसहरूमाथी कामको भारै भार थियो। हे मेरा परमेश्वर मेरो भलाईको निम्ति यी मानिसहरूका निम्ती मैले गरेका सबै याद गरी दिनुहोस्।

शेयर गर्नुहोस्
नहेम्‍याह 5 पढ्नुहोस्

नहेम्‍याह 5:9-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मैले फेरि भनें, “तिमीहरूको यो काम गल्‍ती भयो। अब, परमेश्‍वरलाई आदर दिएर जे कुरा ठीक छ सो गर। तब पो हाम्रा शत्रुहरूले हामीलाई खिसी गर्ने केही कुरा पाउनेछैनन्। मैले मानिसहरूलाई अन्‍न र धन ऋण दिएको छु। मेरा साथी र कारिन्‍दाहरूले पनि त्‍यसरी ऋण दिएका छन्। अब हामीले ती ऋण छोडिदिऔं। धन, अन्‍न, मद्य, जैतुनको तेल जे होस्, सबैको ऋण छोडिदेऔँ। तिनीहरूका खेत, दाख र भद्राक्षका बारी र घरहरू झट्टै तिनीहरूलाई फिर्ता देओ।” अगुवाहरूले भने, “तपाईंले भनेजस्‍तो हामी गर्नेछौं। हामी तिनीहरूका धन-सम्‍पत्ति फर्काइदिनेछौं र ऋण फिर्ता लिनेछैनौं।” मैले पूजाहारीहरूलाई बोलाएँ र तिनका अघि ती अगुवाहरूलाई आफूले दिएको प्रतिज्ञाअनुसार शपथ खान लाएँ। तब मैले कम्‍मरमा बाँधिएको पटुका फुकालें र टकटक्‍याएँ। “तिमीहरू कसैले आफ्‍ना प्रतिज्ञा पूरा गरेनौ भने परमेश्‍वरले यसरी नै तिमीहरूलाई टक्‍टक्‍याउनुहुनेछ,” मैले भनें, “परमेश्‍वरले तिम्रा घर, धन-सम्‍पत्ति सबै खोस्‍नुहुनेछ र तिम्रा हात रित्ता पारिदिनुहुनेछ।” त्‍यहाँ भएका सबैले “आमेन” भने र परमप्रभुको प्रशंसा गरे। अगुवाहरूले आफ्‍ना प्रतिज्ञा कायम राखे। राजा अर्तासास्‍तका शासनकालको बीसौँदेखि बत्तीसौं वर्षसम्‍म म यहूदाको बडा-हाकिम थिएँ। यी बाह्र वर्षभरि मैले र मेरा कुटुम्‍ब र परिवारले बडा— हाकिमले पाउने भोजन लिएनौं। मभन्दा अघिका सबै बडा-हाकिमहरू प्रजामाथि बोझ बन्‍थे र खान-पानको निम्‍ति दिनको चालीस वटा चाँदीका मुद्रा लिन्‍थे। उनका चाकरहरूले पनि प्रजालाई सताउँथे। तर मैले भिन्‍नै प्रकारले काम गरें किनभने म परमेश्‍वरलाई आदर गर्थें। मैले आफ्‍नो सारा शक्ति पर्खाल मर्मत गर्नमा लगाएँ, मैले धन-सम्‍पत्ति जगेडा गरिनँ। मेरो अधीनमा काम गर्नेहरू सबैले पर्खाल बनाउने काममा भाग लिए। सधैँ मैले आफ्‍ना भोजमा डेढ सय यहूदी र उनका अगुवाहरूलाई खुवाउँथें। तीबाहेक चारैपट्टिका देशबाट मलाई भेट्‍न आउने मानिसहरूले पनि मसँग खान्‍थे। दिनहुँ खानलाई एउटा गोरु, छ वटा असल मोटा भेडाहरू र असङ्‍ख्य कुखुराहरू जुटाइन्‍थे। दश-दश दिनमा ताजा मद्य बटुलिन्‍थ्‍यो। तर म जान्‍दथें कि प्रजाहरूले कत्रो भार बोक्‍नुपर्थ्‍यो। त्‍यसैले बडा-हाकिमले पाउने भत्ता मैले लिइनँ। हे परमेश्‍वर, म बिन्‍ती गर्दछु कि मैले यस जातिको निम्‍ति गरेको हरेक कुरा मेरो लाभको निम्‍ति सम्‍झना राख्‍नुहोस्!

शेयर गर्नुहोस्
नहेम्‍याह 5 पढ्नुहोस्