मर्कूस 8:22-38

मर्कूस 8:22-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यसपछि उहाँ बेथसेदा आउनुभयो, र मानिसहरूले एउटा अन्‍धो मानिसलाई उहाँकहाँ ल्‍याए, र त्‍यसलाई छोइदिनुहोस्‌ भनी उहाँसँग बिन्‍ती गरे। उहाँले त्‍यस अन्‍धो मानिसको हात समातेर त्‍यसलाई गाउँबाट बाहिर ल्‍याउनुभयो, र त्‍यसका आँखामा थुकेर त्‍यसमाथि आफ्‍ना हात राखी त्‍यसलाई सोध्‍नुभयो, “के तिमी केही देख्‍छौ?” अनि माथितिर हेरेर त्‍यसले भन्‍यो, “म मानिसहरूलाई रूखहरूजस्‍तै हिँड़िरहेका देख्‍छु।” तब उहाँले फेरि त्‍यसका आँखामा हात राख्‍नुभयो, र त्‍यसले एक टक लाएर हेर्‍यो। त्‍यसले आफ्‍नो दृष्‍टि प्राप्‍त गर्‍यो र सबै थोक छर्लङ्ग देख्‍न लाग्‍यो। तब उहाँले त्‍यसलाई गाउँतिर नपस्‍ने हुकुम गरी त्‍यसको घरमा पठाउनुभयो। येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्‍पीका गाउँहरूमा जानुभयो। बाटोमा जाँदैगर्दा उहाँले आफ्‍ना चेलाहरूलाई यसो भनेर सोध्‍नुभयो, “मानिसहरूले के भन्‍छन्, म को हुँ?” तिनीहरूले उहाँलाई भने, “कसैले भन्‍छन्, ‘बप्‍तिस्‍मा-दिने यूहन्‍ना।’ अरूहरूले ‘एलिया,’ अनि अरू कतिले भन्‍छन्, ‘अगमवक्ताहरूमध्‍ये एक जना’।” तब उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तर तिमीहरूचाहिँ के भन्‍छौ, म को हुँ?” पत्रुसले उत्तर दिएर उहाँलाई भने, “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ।” उहाँले तिनीहरूलाई उहाँको विषयमा कसैलाई केही नभन्‍नू भनी आज्ञा दिनुभयो! “मानिसको पुत्रले धेरै दुःख भोग्‍नु, र धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट इन्‍कार गरिनु र मारिनु अनि तीन दिनपछि जीवित भई उठ्‌नु आवश्‍यक छ” भनेर उहाँले तिनीहरूलाई सिकाउन लाग्‍नुभयो। यसरी उहाँले यो कुरा प्रष्‍टै भन्‍नुभयो। तर यो सुनेर पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे। तर फर्केर आफ्‍ना चेलाहरूलाई हेरी, पत्रुसलाई उहाँले यसो भनेर हप्‍काउनुभयो, “ए शैतान, मबाट हटिजा, किनकि तेरो मन परमेश्‍वरपट्टि छैन, तर मानिसपट्टि छ।” तब उहाँले आफ्‍ना चेलाहरूका साथमा भीड़लाई आफूकहाँ बोलाएर तिनीहरूलाई भन्‍नुभयो, “कोही मानिस मपछि लाग्‍ने इच्‍छा गर्दछ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्, र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस्‌। किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्दछ, त्‍यसले त्‍यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्‍ति आफ्‍नो प्राण गुमाउनेले त्‍यो बचाउनेछ। किनभने मानिसले सारा जगत्‌ हात पारेर आफ्‍नो प्राण गुमायो भने त्‍यसलाई के फाइदा हुन्‍छ? अथवा मानिसले आफ्‍नो प्राणको सट्टामा के दिन सक्‍छ? अनि यस व्‍यभिचारी र पापी पुस्‍तामा जो मदेखि र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्‍ना पिताको महिमामा पवित्र दूतहरूसँग आउँदा त्‍यसदेखि शर्माउनेछ।”

शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्

मर्कूस 8:22-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

उहाँहरू बेथसेदामा आउनुभयो; अनि केही मानिसहरूले एक जना दृष्‍टिविहीनलाई येशूकहाँ ल्याएर त्यसलाई छोइदिन बिन्ती गरे। येशूले त्यस दृष्‍टिविहीन मानिसलाई आफ्नो हातमा समातेर गाउँदेखि बाहिर लानुभयो। जब उहाँले त्यसको आँखामा थुकेर आफ्ना हात त्यसमाथि राख्नुभयो, र सोध्नुभयो, “के तिमीले केही देख्यौ?” त्यसले मास्तिर हेरेर भन्यो, “म मानिसहरूलाई रूखहरूजस्तै हिँडिरहेको देख्छु।” येशूले आफ्ना हात फेरि एक पल्ट त्यस मानिसको आँखामा राख्नुभयो। तब त्यसका आँखाहरू खोलिए, त्यसको दृष्‍टि फर्केर आयो; अनि त्यसले सबै थोक स्पष्‍टसँग देख्यो। येशूले त्यसलाई यसो भनेर घर पठाउनुभयो, “गाउँमाचाहिँ जाँदै नजाऊ।” येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्छन्?” तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना भन्छन्, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।” उहाँले सोध्नुभयो, “तिमीहरूले नि? तिमीहरूचाहिँ मलाई म को हुँ भन्छौ?” पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ।” येशूले तिनीहरूलाई आफ्नो विषयमा कसैलाई केही नभन्‍नू भनी कडा आज्ञा दिनुभयो। तब उहाँले तिनीहरूलाई मानिसको पुत्रले धेरै दुःखहरू सहनुपर्छ; अनि प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ; मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी सिकाउन थाल्नुभयो। उहाँले यस विषयमा स्पष्‍ट रूपले भन्‍नुभयो। अनि पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे। तर येशूले फर्केर आफ्ना चेलाहरूतिर हेरेर पत्रुसलाई हकार्नुभयो, “ए शैतान! मबाट टाढा होइजा,” उहाँले भन्‍नुभयो, “तेरो मनमा परमेश्‍वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।” तब उहाँले आफ्ना चेलाहरूसित भीडलाई पनि आफूकहाँ बोलाएर भन्‍नुभयो: “यदि कोही मेरो चेला बन्‍न चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, उसले त्यो गुमाउनेछ, तर जसले मेरो र सुसमाचारका निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ। कुनै मानिसले सारा संसार हात पारेर पनि आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा हुन्छ? अथवा मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्छ र? यस व्यभिचारी र पापी पुस्तामा यदि कोही म र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र स्वर्गदूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।”

शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्

मर्कूस 8:22-38 पवित्र बाइबल (NERV)

येशू र उहाँको चेलाहरू बेत्सैदामा आउनु भयो। कोही मानिसहरूले एउटा अन्धा मानिसलाई येशूकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनेर बिन्ति गरे। अनि येशूले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानु भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अंन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?” उसले माथि हेरे अनि भने, “म मानिसहरूलाई रूखहरूजस्तै, हिंडिरहेको देख्छु।” फेरि येशूले आफ्नोहात त्यसको आँखा माथि राख्नुभयो, तब त्यो मान्छेले आफ्ना आँखा पूरा खोल्यो। उसले आफ्नो दृष्टि फेरि प्राप्त गर्यो, अनि उसले सबै कुरा स्पष्ट देख्यो। येशूले त्यसलाई घर जाऊ भनेर पठाउनु भयो अनि भन्नुभयो “शहरमा नजाऊ।” येशू र चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूमा जानूभयो। बाटोमा जाँदै गर्दा, येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्दछन्?” चेलाहरूले उत्तर दिए, “कति मानिसहरूले तपाँईंलाई बप्तिस्मा दिने यूहन्ना भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्दछन्। अनि अरू कसैले तपाईंलाई अगमवक्ताहरूमा एकजना हुन् भन्दछन्।” त्यसपछि येशूले तिनीहरूलाई सोधे, “तिमीहरू म को हुँ भनी भन्दछौ?” पत्रूसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।” येशूले चेलाहरूलाई कडासित भन्नु भयो, “कसैलाई म को हुँ भनेर नभन्नु।” त्यसपछि उहाँले चेलाहरूलाई सिकाउन शुरु गर्नुभयो कि मानिसको पुत्रले धेरै कष्टहरूको सामना गर्नुपर्छ। येशूले तिनीहरूलाई सिकाउनु भयो, कि यहूदी बुढाहरू, मुख्य प्रधानहरू तथा शास्त्रीहरूले मानिसको पुत्रलाई अस्वीकार गर्नेछन्। उहाँले तिनीहरूलाई सिकाउनु भयो, कि मानिसको पुत्र मारिनु पर्छ अनि मरेको तीन दिनपछि बौरी उठ्नेछन्। येशूले पछि घट्ने प्रत्येक घट्नाहरूको बारेमा तिनीहरूलाई भन्नुभयो। उहाँले कुनै कुरालाई गुप्त राख्नु भएन। पत्रुसले येशूलाई अलग्ग लगे अनि येशूले भनेका कुराहरूको आलोचना गरे। तर येशू फनक्क फर्के र चेलाहरूलाई हेर्नु भयो। अनि उहाँले पत्रुसलाई हकार्नुभयो। अनि उहाँले पत्रुसलाई भन्नुभयो, “शैतान मदेखि टाढो बस परमेश्वरले सोच्नु भए जस्तो तिमीले सोच्दैनौ। तिमीले मानिसहरूले जस्तै सोच्छौ।” तब येशूले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो उहाँका चेलाहरू पनि त्यहीं थिए। अनि उहाँले भन्नुभयो, “यदि कसैले मलाई अनुशरण गर्न चाहन्छ भने, त्यसले स्वयंलाई अस्वीकार गरोस् उसले आफूलाई दिईएका क्रूस (कष्टहरू) लाई ग्रहण गर्नेपर्छ, अनि मलाई पछ्याउनु पर्छ। जसले आफ्नो प्राण बचाउँन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउँन सक्नेछ। किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो? किनभने आफ्नो आत्मा फिर्ता पाउनको निम्ति मानिसले केही पनि तिर्न सक्तैन। अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससँग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसँग आउनेछु।”

शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्

मर्कूस 8:22-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशू चेलाहरूसँगै बेथसेदामा आइपुग्‍नुभयो। त्‍यहाँ मानिसहरूले एउटा अन्‍धोलाई उहाँकहाँ ल्‍याएर “यसलाई छोइदिनुहोस्,” भनी बिन्‍ती गरे। येशूले त्‍यस अन्‍धो मानिसलाई डोर्‍याउँदै गाउँदेखि बाहिर ल्‍याउनुभयो। अनि उसको आँखामा थुकी आफ्‍नो हात उसमाथि राखेर सोध्‍नुभयो, “केही देख्‍न सक्‍छौ?” उसले फेरि हेर्दै भन्‍यो, “मानिसहरूलाई देख्‍न त देख्‍दै छु, तर तिनीहरू रूख हिंडेजस्‍ता पो देखिन्‍छन्।” येशूले फेरि उसको आँखा आफ्‍नो हातले छुनुभयो। अनि त्‍यस मानिसले नियालेर हेर्दा सबै कुरा छर्लङ्गै देख्‍न सक्‍यो। त्‍यसपछि येशूले उसलाई घर पठाउँदै भन्‍नुभयो, “यस गाउँमा फेरि नपसी सरासर घर जाऊ।” त्‍यसपछि येशू चेलाहरूसँग कैसरिया फिलिप्‍पी सहरका वरिपरि भएका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मलाई को हो भन्‍छन्?” तिनीहरूले भने, “कोही तपाईंलाई बप्‍तिस्‍मा दिने यूहन्‍ना हुन् भन्‍छन् कोही एलिया भन्‍छन् अनि कतिले चाहिँ कुनै एउटा अगमवक्ता होलान् भन्‍छन्।” येशूले सोध्‍नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भनी भन्‍छौ त?” पत्रुसले जवाफ दिए, “तपाईं मुक्ति दिनुहुने राजा ख्रीष्‍ट नै हुनुहुन्‍छ।” अनि येशूले तिनीहरूलाई “यो कुरा कसैलाई पनि नभन्‍नू,” भनेर कडा आज्ञा दिनुभयो। त्‍यसपछि येशूले चेलाहरूलाई आफ्‍नो बारेमा यसरी बताउन लाग्‍नुभयो, “मानव पुत्रले धेरै दु:ख भोग्‍नुपर्छ। अगुवा, मुख्‍य पूजाहारी र धर्म-गुरुहरूले उसलाई इन्‍कार गर्छन् अनि मार्नेछन्। तर तीन दिनपछि ऊ फेरि मरेकोबाट बिउँतनेछ।” यसरी उहाँले चेलाहरूलाई यो कुरा स्‍पष्‍टसँग भन्‍नुभयो। अनि पत्रुसले उहाँलाई एकातिर लगेर “यसो नभन्‍नोस्,” भनी सम्‍झाए। तुरुन्‍तै येशूले आफ्‍नो मुहार फर्काउनुभयो र चेलाहरूतिर हेरेर पत्रुसलाई हकार्नुभयो, “ए शैतान, मबाट पछि हट्! तेरो विचार परमेश्‍वरपट्टिको होइन, तर मान्‍छेको हो।” त्‍यसपछि येशूले आफ्‍ना चेलाहरू र त्‍यहाँ भएका मानिसहरूलाई बोलाएर भन्‍नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्‍छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर आफ्‍नो क्रूस बोकी मलाई पछ्याउनुपर्छ किनभने आफ्‍नो खातिर जोगाउन खोज्‍नेले यो गुमाउनेछ, तर आफ्‍नो ज्‍यान मेरो लागि र सुसमाचारको लागि गुमाउनेले चाहिँ त्‍यो पाउनेछ। मानिसले संसारलाई नै हात पारे पनि आफ्‍नो आत्‍माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र? गुमाएको आत्‍मा फेरि केले फिर्ता गर्न सक्‍छ? यो पापी र व्‍यभिचारी पुस्‍तामा जसले म र मेरा शिक्षामा लाज मान्‍छ, म मानव पुत्रले पनि पिताको महिमा लिएर पवित्र स्‍वर्गदूतहरूसँग आउँदा त्‍यसलाई आफ्‍नो भन्‍न लाज मान्‍नेछु।”

शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्