मर्कूस 5:14-20
मर्कूस 5:14-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ती सुँगुर चराउनेहरू भागे, र सहर र गाउँ-गाउँमा खबर दिए। र के भएको हो सो हेर्न मानिसहरू त्यहाँ आए। तब तिनीहरू येशूकहाँ आए, र देखे कि त्यो भूत लागेको मानिस ठीक मनको भएर लुगा लगाई बसिरहेको थियो। यो देखेर तिनीहरू डराए। अनि जसले यो देखेका थिए, तिनीहरूले भूत लागेको मानिस र सुँगुरहरूलाई के भएको थियो सो बताइदिए। अनि तिनीहरूको इलाकाबाट गइहाल्नुहोस् भनी मानिसहरूले येशूलाई बिन्ती गर्न लागे। उहाँ डुङ्गामा पस्न लाग्नुहुँदा त्यो भूत लागेको मानिसले उहाँसँग रहनलाई बिन्ती गर्यो। तर उहाँले त्यसलाई अनुमति दिनुभएन, तर त्यसलाई भन्नुभयो, “तिमी आफ्नो घरमा गएर तिम्रा मित्रहरूलाई प्रभुले तिम्रो निम्ति गर्नुभएको महान् काम र तिमीलाई देखाउनुभएको ठूलो दयाको वर्णन गरिदेऊ।” अनि त्यो मानिस हिँड़िहाल्यो, र येशूले त्यसको निम्ति कति ठूलो काम गरिदिनुभएको थियो सो डेकापोलिसभरि प्रचार गर्न लाग्यो, र सबै मानिसहरूले अचम्म माने।
मर्कूस 5:14-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ती सुँगुर चराउनेहरू त्यहाँबाट भागे। सहर र गाउँतिर गएर त्यो खबर सुनाइदिए, तब मानिसहरू के भएको थियो, सो हेर्न गए। जब तिनीहरू येशूकहाँ आए, तब तिनीहरूले दुष्ट आत्माको फौजले भरिएको त्यस मानिसलाई लुगा पहिरेको र ठिक भएर त्यहाँ बसिरहेको देखे; अनि तिनीहरू डराए। जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्ट आत्मा लागेको मानिसलाई के भएको थियो, र सुँगुरहरूको विषयमा पनि मानिसहरूलाई भनिदिए। तब मानिसहरूले येशूलाई त्यस क्षेत्रबाट गइहाल्नुहोस् भनेर बिन्ती गरे। येशू डुङ्गामा चढ्न लाग्नुहुँदा त्यो दुष्ट आत्माले सताएको मानिस आएर उहाँसँगै जान पाऊँ भनी बिन्ती गर्यो। तर येशूले मान्नुभएन, बरु यसो भन्नुभयो, “घरमा जाऊ, र आफ्नो परिवारलाई तिम्रा लागि प्रभुले कति ठूलो काम गर्नुभएको छ र उहाँले तिमीप्रति कति कृपा देखाउनुभयो, त्यो सबैलाई भनिदेऊ।” त्यसपछि त्यो मानिस गइहाल्यो र येशूले उसका लागि के गर्नुभयो, त्यो डेकापोलिसमा भन्न थाल्यो; अनि सबै मानिसहरू छक्क परे।
मर्कूस 5:14-20 पवित्र बाइबल (NERV)
सुँगुर चराऊनेहरू पनि भागिगए। तिनीहरू शहर र बस्ती तिर गए, तिनीहरूले भएका सबै घट्नाहरू मानिसहरूलाई सुनाए तब मानिसहरू घट्ना हेर्न आए। मानिसहरू येशूकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थीए। केही मानिसहरू त्यहाँ थिए जसले येशूले गर्नु भएका कुराहरू देखेका थिए। ती मानिसहरूले अरू मानिसहरूलाई दुष्टात्माले भेट्टाएको त्यस मानिसलाई के भएको थियो त्यो वर्णन गरे। तिनीहरूले सुंगुरहरूको बारेमा पनि सुनाए। अनि मानिसहरूले बिन्ती गर्दैं येशूलाई त्यहाँबाट तुरुन्ते जानुहोस् भने। येशू डुङ्गा मा चढ्दै हुनुहुन्थ्यो, दुष्टात्माहरूदेखि मुक्त भएको त्यस मानिसले येशूसँगै जानलाई बिन्ती गर्यो। तर येशूले त्यस मानिसलाई आफूसँग जान अनुमति दिनुभएन। येशूले भन्नुभयो, “आफ्नो घर-परिवार र साथीहरू भएकहाँ जाऊ, प्रभूले तिम्रो निम्ति जे जति गर्नुभएकोछ, त्यस बारे सबैलाई भन। परमेश्वरले मलाई दया गर्नु भयो भनी तिनीहरूलाई भन” तब त्यो मानिस गयो अनि त्यहाँका दश- शहरका मानिसहरूलाई येशूले गर्नु भएको महान कार्यहरूको बारेमा सुनायो। सबै मानिसहरू चकित भए।
मर्कूस 5:14-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यो देखेर सुँगुर चराउनेहरू त्यहाँबाट भागेर गए र यो कुरा गाउँ र सहरभरि नै फैलाए। धेरै मानिसहरू के भएछ भनेर हेर्न येशूकहाँ आए। तिनीहरूले पहिले धेरै भूतहरू लागेको मानिसलाई अहिले ठीक भई लुगा लगाएर येशूसँगै बसिरहेको देखे। अनि तिनीहरू ज्यादै छक्क परे। यो घटना देख्ने मानिसहरूले त्यस मानिस र सुँगुरको कुरा त्यहाँ आएका मानिसहरूलाई सुनाए। यस्तो कुरा सुनेर ती मानिसहरूले येशूलाई “हाम्रो मुलुक छोडेर जानुहोस्,” भनी बिन्ती गरे। येशू नाउमा चढ्न लाग्दा निको भएको मानिसले “मलाई पनि सँगै लानुहोस्,” भनेर बिन्ती गर्यो। तर येशूले उसलाई आफूसँग आउन नदिई यसरी भन्नुभयो, “आफ्नो घर जाऊ र परमप्रभुले तिमीलाई देखाउनुभएको दया र उहाँले गर्नुभएको सबै कुरा तिम्रा आफन्तहरूलाई सुनाऊ।” अनि त्यो मानिस दश सहरका इलाकामा गएर येशूले आफ्नो लागि गर्नुभएको काम सबैलाई सुनायो। अनि सुन्नेहरू सबै छक्क परे।