मर्कूस 15:1-39

मर्कूस 15:1-39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

बिहान हुने बित्तिकै मुख्‍य पूजाहारीहरू, धर्म-गुरुहरू, शास्‍त्रीहरू र जम्‍मै महासभाले आपसमा सल्‍लाह गरी येशूलाई बाँधेर लगे, र पिलातसकहाँ सुम्‍पिदिए। पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले उनलाई जवाफ दिनुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ।” मुख्‍य पूजाहारीहरूले उहाँमाथि धेरै कुराको दोष लगाए। पिलातसले उहाँलाई फेरि यसो भनेर सोधे, “के तिमीसित केही जवाफ छैन? हेर, तिम्रो विरुद्धमा तिनीहरूले कति कुराहरूको दोष लगाउँछन्‌।” तर येशूले फेरि केही जवाफ दिनुभएन, यहाँसम्‍म कि पिलातस छक्‍क परे। निस्‍तार-चाड़को बेला मानिसहरूले मागेको एक जना कैदीलाई तिनीहरूका निम्‍ति पिलातसले छोड्‌ने गर्थे। विद्रोहको समयमा हत्‍या गर्ने विद्रोहीहरू झ्‍यालखानमा थिए। तीमध्‍ये बारब्‍बा नाउँको एक जना त्‍यहाँ थियो। भीड आयो र पिलातसलाई उनको चलनअनुसार तिनीहरूका निम्‍ति गरिदेऊन्‌ भनी बिन्‍ती गर्न लाग्‍यो। पिलातसले यसो भनेर तिनीहरूलाई प्रश्‍न गरे, “के म तिमीहरूका निम्‍ति यहूदीहरूका राजालाई छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्‍छौ?” किनकि ईर्ष्‍याले गर्दा नै मुख्‍य पूजाहारीहरूले येशूलाई उनीकहाँ सुम्‍पेका हुन्‌ भनी उनलाई थाहा थियो। तर बरु बारब्‍बालाई तिनीहरूका निम्‍ति उनले छोडिदेऊन्‌ भनेर मुख्‍य पूजाहारीहरूले भीड़लाई सुर्‍याए। पिलातसले फेरि तिनीहरूलाई सोधे, “त्‍यसो भए जसलाई तिमीहरू यहूदीहरूका राजा भन्‍छौ, उसलाई चाहिँ म के गरूँ त?” तिनीहरू फेरि चिच्‍च्‍याए, “त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्‌।” पिलातसले तिनीहरूलाई भने, “किन? उसले के अपराध गरेको छ र?” तर झन्‌ साह्रो गरी चिच्‍च्‍याएर तिनीहरूले भने, “त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्‌।” तब पिलातसले भीड़लाई सन्‍तुष्‍ट पार्ने इच्‍छाले तिनीहरूका निम्‍ति बारब्‍बालाई छोडिदिए, र येशूलाई कोर्रा लाएर क्रूसमा टाँग्‍न सुम्‍पिदिए। सिपाहीहरूले उहाँलाई प्रेटोरियन, अर्थात्‌ महलभित्र लगे, र जम्‍मै पल्‍टनलाई भेला गराए। अनि तिनीहरूले उहाँलाई बैजनी रङ्गको वस्‍त्र लगाइदिए, र काँढ़ाहरूको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, अनि “यहूदीहरूका राजाको जय” भन्‍दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे। अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके, र घुँड़ा टेकेर उहाँलाई दण्‍डवत्‌ गरे। अनि येशूको गिल्‍ला गरिसकेपछि तिनीहरूले बैजनी वस्‍त्र फुकालिदिए, र उहाँका आफ्‍नै लुगा लगाइदिए। त्‍यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍नलाई बाहिर लगे। अनि अलेक्‍जेन्‍डर र रूफसका बुबा, कुरेनी बासिन्‍दा सिमोनलाई गाउँबाट आइरहेका तिनीहरूले भेटे, र येशूको क्रूस बोकेर लैजान तिनलाई कर लगाए। त्‍यसपछि तिनीहरूले येशूलाई गलगथा भन्‍ने ठाउँमा ल्‍याए— गलगथाको अर्थ खोपड़ीको स्‍थान हो। अनि तिनीहरूले उहाँलाई मूर्र मिसाएको दाखमद्य दिए। तर उहाँले त्‍यो ग्रहण गर्नुभएन। तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। अनि कसले कुन भाग पाउने सो निश्‍चय गर्न चिट्ठा हालेर तिनीहरूले उहाँका लुगाहरू आपसमा बाँड़े। तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍दा बिहानको नौ बजेको थियो। उहाँको दोष-पत्रमा “यहूदीहरूका राजा” भन्‍ने लेखिएको थियो। तिनीहरूले उहाँसँग दुई जना डाँकूहरू क्रूसमा टाँगे— एउटालाई उहाँको दाहिनेपट्टि, र अर्कालाई उहाँको देब्रेपट्टि। [धर्मशास्‍त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।”] त्‍यहाँबाट जाने मानिसहरूले आफ्‍नो मुन्‍टो हल्‍लाउँदै यसो भनेर उहाँलाई गिल्‍ला गरे, “वाह! तँ मन्‍दिर भत्‍काएर तीन दिनमा बनाउने, क्रूसबाट ओर्लेर आइज, र आफूलाई बचा।” त्‍यसै गरी मुख्‍य पूजाहारीहरूले पनि शास्‍त्रीहरूसँग यसो भन्‍दै आपसमा उहाँको ठट्टा गरे, “यसले अरूलाई बचायो, तर आफूलाई चाहिँ बचाउन सक्‍दैन। यो इस्राएलका राजा, ख्रीष्‍ट अब क्रूसबाट ओर्लेर आओस्, र हामी त्‍यो देख्‍नेछौं र विश्‍वास गर्नेछौं।” उहाँसँग क्रूसमा टाँगेकाहरूले पनि उहाँको निन्‍दा गरे। बाह्र बजेदेखि तीन बजेसम्‍म सारा देशलाई अन्‍धकारले छोप्‍यो। तीन बजेतिर यसो भनेर येशू ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?”— जसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?” वरपर उभिनेहरूमध्‍ये कोही-कोहीले यो सुनेर भने, “सुन, त्‍यसले एलियालाई बोलाउँदैछ।” अनि एक जनाले दौड़ेर गई एउटा स्‍पन्‍ज सिर्कामा पूरै चोपेर एउटा लामो निगालोमा यसो भनेर उहाँलाई पिउन दियो, “हेरौं, कतै एलिया त्‍यसलाई झार्न आउँछन्‌ कि।” तब येशूले ठूलो सोर निकालेर प्राण त्‍याग्‍नुभयो। अनि मन्‍दिरको पर्दा टुप्‍पादेखि फेदसम्‍मै दुई भाग भई च्‍यातियो। येशूले यसरी प्राण त्‍याग्‍नुभएको देखेर उहाँको सामने उभिएका कप्‍तानले भने, “साँच्‍चै नै यी मानिस परमेश्‍वरका पुत्र रहेछन्‌।”

शेयर गर्नुहोस्
मर्कूस 15 पढ्नुहोस्

मर्कूस 15:1-39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

एकाबिहानै, मुख्य पुजारीहरू, प्रधानहरू, व्यवस्थाका शिक्षकहरू र सम्पूर्ण महासभासँग मिलेर सल्‍लाह गरी तिनीहरूले येशूलाई बाँधेर लगे, र पिलातसको हातमा सुम्पिदिए। पिलातसले सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्दै हुनुहुन्छ।” ती मुख्य पुजारीहरूले उहाँमाथि धेरै कुराहरूको दोष लगाए। यसकारण फेरि पिलातसले उहाँलाई सोधे, “के तिमी केही जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै कुराहरूमा दोष लगाउँदैछन्।” तर येशूले कुनै जवाफ दिनुभएन। यो देखेर पिलातस छक्‍क परे। अब चाडको समयमा मानिसहरूले बिन्ती गरेर मागेको एक जना कैदीलाई छोडिदिने चलन थियो। झ्यालखानामा अरू विद्रोहीहरूसित एक जना बारब्बा नाम भएको मानिस पनि थियो, जसले विद्रोहको समयमा हत्या गरेको थियो। अनि भीड आयो, र पिलातसलाई तिनले गर्दैआएको काम गरिदेऊन् भनी बिन्ती गर्‍यो। पिलातसले सोधे, “के मैले यहूदीहरूका राजालाई तिमीहरूका निम्ति छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?” किनकि मुख्य पुजारीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भन्‍ने पिलातसलाई थाहा थियो। तर पिलातसले बारब्बालाई नै छोडिदेऊन् भनी मुख्य पुजारीहरूले भीडलाई उक्साए। पिलातसले तिनीहरूलाई सोधे, “त्यसो भए तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ?” तिनीहरू चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” भीडलाई सन्तुष्‍ट पार्ने इच्छाले पिलातसले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, र तिनले येशूलाई कोर्रा लगाउँदै उहाँलाई क्रूसमा झुण्ड्याउन सुम्पिदिए। सिपाहीहरूले येशूलाई महल भित्र (अर्थात्, प्रेटोरियम) लगे, र सिपाहीहरूका सबै पल्टनलाई बोलाए। तिनीहरूले उहाँलाई एउटा बैजनी रङ्गको वस्त्र लगाइदिए, र काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँलाई लगाइदिए। अनि तिनीहरूले उहाँलाई “यहूदीहरूका राजाको जय!” भन्दै कराए। तिनीहरूले घरी-घरी उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके। तिनीहरूले उहाँको उपहास गर्दै उहाँको सामु घुँडा टेकेर झुके। अनि उहाँको अपमान गरिसकेपछि तिनीहरूले त्यो बैजनी रङ्गको वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे। अलेक्जेन्डर र रूफसका बुबा, साइरिनीवासी सिमोन, जो गाउँबाट आइरहेका थिए, तिनीहरूले उनलाई क्रूस बोक्न कर लगाए। तिनीहरूले येशूलाई गलगथा अर्थात् खप्परे भनिने ठाउँमा ल्याए। तब तिनीहरूले उहाँलाई नशालु पदार्थ मूर्र मिसाइएको दाखमद्य दिए, तर उहाँले त्यो पिउन मान्‍नुभएन। अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। तिनीहरूले कसले के पाउँदोरहेछ भनेर उहाँका वस्त्रहरूका लागि चिट्ठा हालेर ती भाग गरे। तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो। उहाँको विरुद्धको दोषपत्रमा यसरी लेखिएको थियो: यहूदीहरूको राजा। तिनीहरूले उहाँसित दुई डाँकुहरूलाई पनि क्रूसमा टाँगे—एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि। अनि धर्मशास्त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।” त्यस ठाउँबाट हिँड्नेहरूले आफ्ना टाउको हल्‍लाउँदै उहाँलाई अपमान गरेर यसो भने, “वाह! ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने! क्रूसबाट तल ओर्लेर आइज, र आफूलाई बचा!” यस्तै किसिमले मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले आपसमा उहाँको अपमान गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन। यो ख्रीष्‍ट, इस्राएलका राजा, अब क्रूसबाट तल ओर्लिआओस्, र यो देखेर हामी विश्‍वास गरौँ।” उहाँसित क्रूसमा टाँगिएकाहरूले पनि उहाँलाई घोर अपमान गरे। बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। अनि तीन बजेतिर येशू चर्को सोरले कराउनुभयो, “इली, इली, लामा सबखथनी?” जसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?” छेउमा उभिरहनेहरूमध्ये कतिले जब यो सुने, तिनीहरूले भने, “सुन, यसले एलियालाई बोलाउँदैछ।” एक जना मानिस दौडेर गयो, र स्पन्जमा सिर्का चोपेर त्यसलाई एउटा निगालोमा लगाएर पिउन भनी येशूलाई दिँदै भन्यो, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ, कहीँ एलिया आएर यिनलाई ओराल्छन् कि।” तब येशूले चर्को सोरले कराएर आफ्नो प्राण त्याग्नुभयो। त्यसपछि मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। अनि जब येशूको अगिल्तिर उभिरहेका सेनापतिले उहाँको सोर सुनेर उहाँ कसरी मर्नुभयो, त्यो देखेर तिनले भने, “निश्‍चय नै यी मानिस परमेश्‍वरका पुत्र रहेछन्!”

शेयर गर्नुहोस्
मर्कूस 15 पढ्नुहोस्

मर्कूस 15:1-39 पवित्र बाइबल (NERV)

एका विहानै मुख्य पूजाहारीहरू यहूदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहूदी महासभाले योजना बनाए। तिनीहरूले येशूलाई साङ्गलोले बाँधे अनि पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए। पिलातसले येशूलाई सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?” येशूले भन्नुभयो, “हो, त्यो सत्य हो।” मुख्य पूजाहारीहरूले उनी विरुद्ध अनेकौं अभियोग लगाएका थिए। यसर्थ पिलातसले उनलाई फेरि एक प्रश्न गरे, “के तिमी जवाफ दिन चाहँदैनौ? हेर तिमीमाथि कतिवटा अभियोगहरू लगाएका छन्?” तर येशूले उत्तर दिनु भएन। यसर्थ पिलातुस एकदमै छक्क परे। प्रत्येक वर्ष निस्तार चाडको समयमा कैदमा परेका एकजनालाई हाकीमद्वारा जेलबाट मुक्त गरिन्थ्यो। मानिसहरूले चाहेका कुनै पनि कैदीलाई उसले मुक्त गरिदिन्छ। त्यसबेला बारब्बा नाउँ गरेका एकजना विद्रोही पिलातुसको कैदमा थियो। त्यसले दंङ्गामा एउटाको हत्या गरेको थियो। मानिसहरू कहाँ आए अनि उहाँले सधैँ गरे झैं एकजना कैदीलाई मुक्त गरिदिनु भनी आग्रह गरे। पिलातसले मानिसहरूलाई भने, “के तिमीहरूले यहूदीको राजालाई मैले छोडिदिएको चाहन्छौ?” पिलातसले यसो भने किनभने मुख्य पूजाहारूहरूले येशूलाई उनीकाहाँ सुम्पिदिएको ईर्ष्याको कारणले हो भनी जान्दथे। तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई येशूको सट्टामा बारब्बाको मुक्तिको माँग गर्नु भनी उक्साए। पिलातसले मानिसहरूलाई फेरि एकपल्ट सोधे, “तब यो मानिसलाई के गर्नुपर्ने जसलाई तिमीहरू यहूदीरूका राजा भन्दछौ?” मानिसहरू फेरि चिच्याए, “उसलाई क्रुसमा टाँग्नुहोस्।” पिलातसले तिनीहरूलाई भने, “किन उसले के त्यस्तो अपराध गरेको छ?” तर मानिसहरू झन् जोर-जोरसँग कराउन लागे, “उसलाई क्रुसमा टाँग्नुहोस्!” पिलातसले मानिसहरूलाई खुशी तुल्याउन चाहन्थे, यसर्थ उनले बारब्बालाई तिनीहरूको निम्ति छोडिदिए। अनि पिलातसले सिपाहीहरूलाई येशूलाई कोर्रा लगाउने हुकूम दिए। तब पिलातसले येशूलाइ क्रूसमा टाँग्नका निम्ति सिपाहीहरूको हातमा जिम्मा दिए। पिलातसका सिपाहीहरूले येशूलाई महल भित्र (जसलाई प्रेटोरियम भनिन्छ) ल्याए। तिनीहरूले सबै रक्षकहरूलाई एकत्रित गरे। सिपाहीहरूले येशूलाई बैजनी रंगको लुगा लगाईदिए। अनि तिनीहरूले उहाँलाई लगाईदिनका निम्ति काँढाको मुकुट बनाए। त्यसपछि तिनीहरूले येशूलाई भने, “यहूदीहरूका राजा हामी तपाईंलाई सलाम गर्छौ!” तिनीहरूले उहाँलाई शिरमा कैयौं पटक लट्ठीले हिर्काए। तिनीहरूले उहाँमाथि थुके, अनि घुँडा टेकेर उनलाई दण्डवत् गरे। उहाँमाथि गिल्ला गरिसकेपछि तिनीहरूले उहाँको बैजनी लुगाफाटा उतारिदिए, अनि उहाँको आफ्नै लुगाफाटा लगाइदिए। तब तिनीहरूले येशूलाई क्रूसमा झुण्डयाउनलाई बाहिर ल्याए। कुरेनीका एकजना मानिस शहरतिर जाँदै थिए। उनी आलेक्जेण्डर र रूफसको बाबु शिमोन थिए। शिमोन आफ्नो खेतबाट फर्किरहेथ्यो। सिपाहीहरूले शिमोनलाई येशूको क्रूस बोक्न जबरजस्ती गरे। तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा पुर्याए। (गलगथाको अर्थ हुन्छः “खोपडीको स्थान”) गलगथामा सिपाहीहरूले येशूलाई दाखरस पिउन वाध्य गरे। यो दाखरस मूर्र मिसाइएको थियो। तर येशूले पिउनु भएन। तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकेर टाँगि दिए। तब तिनीहरूले येशूका वस्त्रहरू भाग पारे तिनीहरू मध्ये कसले के पाउने हो भनी चिट्ठा गरे। तिनीहरूले येशूलाई क्रूसमा टाँग्दा बिहानी पखको नौ बजेको थियो। येशूको विरूद्धमा लगाइएको आरोपहरूको लिखित सुचना क्रूसमा थियो। सुचना पत्रमा भनिएको थियोः “यहूदीहरूका राजा।” तिनीहरूले दुइजना डाँकूहरूलाई पनि क्रूसमा टाँगेका थिए। तिनीहरू एकजना येशूको दाहिनेपट्टी र अर्को देब्रेपट्टि थिए। ओहोर-दोहोर गर्ने मानसहरू येशूलाई खिशी गर्थे। तिनीहरू टाउको हल्लाउँदै भन्दथे, “तपाई त्यही मानिस होइनौ जसले मन्दिर भत्काएर तीन दिन भित्रै बनाईदिन्छु भन्ने? अब क्रूसबाट तल ओर्लनुहोस् अनि आफैंलाई बचाउनु होस्।” यस्तै प्रकारले मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई गिज्याए। तिनीहरू एक अर्कामा भनिरहेका थिए, “उसले अरू मानिसहरूलाई बचायो। तर आफैंलाई बचाउँन सकेन। यदि ऊ ख्रीष्ट, इस्राएलको राजा हो भने, ऊ क्रूसबाट तल झरेर आओस् जसद्वारा हामी यसलाई देख्न सकौं अनि उसमा विश्वास गरौं।” ती जसलाई उहाँसँगै क्रुसमा झुण्ड्याईयो तिनीहरूले पनि उहाँको निन्दा गरे। मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो। ठीक तीनबजे येशू ठूलो स्वरमा चिच्याउनु भयो, “एलोई, एलोई, लामा सबखथनी!” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईले मलाई किन एक्लै छोडनुभयो?” त्यहाँ उभिरहेका केही मानिसहरूले यो सुने। तिनीहरूले भने, “सुन! उहाँले एलियालाई बोलाइरहनु भएको छ।” तुरून्तै एकजना मानिस दगुरेर गयो अनि एउटा स्पन्ज लिएर आयो। त्यस मानिसले स्पन्जमा सिर्का भर्यो अनि एउटा लट्ठीमा लगाएर उसेल येशूलाई पिउन दियो। त्यस मानिसले भन्यो, “अब हामी पर्खौं अनि हेरौं एलिया आएर उहाँलाई क्रूसबाट तल ओराल्ने हुन् कि होइनन्।” तब येशू ठूलो स्वरले चिच्याउनु भयो अनि प्राण त्याग्नुभयो। जब येशू मर्नु भयो, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुइ टुक्रा भएर आफैं च्यातियो। सिपाहीको अधिकारी जो येशूको अघि उभिएका थिए उहाँ कसरी मर्नु भयो सो देखे अनि भने, “यो मानिस निश्चयनै परमेश्वरको पुत्र हुन्।”

शेयर गर्नुहोस्
मर्कूस 15 पढ्नुहोस्

मर्कूस 15:1-39 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बिहान सबेरै मुख्‍य पूजाहारी, अगुवा र धर्म-गुरुहरू र महासभाका जम्‍मै सदस्‍यहरूले सभा गरे अनि येशूलाई बाँधेर तिनीहरूले रोमी बडा-हाकिम पिलातसकहाँ पुर्‍याए। पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्‍यो त तपाईं आफैंले भन्‍दै हुनुहुन्‍छ।” मुख्‍य पूजाहारीहरूले येशूलाई धेरै कुराहरूको दोष लगाए। त्‍यसकारण पिलातसले उहाँलाई फेरि सोधे, “के तिमीलाई आफ्‍नो बारेमा केही भन्‍नु छैन? हेर त तिनीहरूले तिमीलाई कति धेरै दोष लगाइरहेका छन्।” तर येशूले कुनै उत्तर दिनुभएन। यो देखेर पिलातसलाई अचम्‍म लाग्‍यो। मुक्ति-दिवस चाडको बेलामा पिलातसले मानिसहरूले रोजेको एक जना कैदीलाई छोड्‍ने गरेका थिए। त्‍यस बेला बारब्‍बा नाउँ भएको एक जना मानिस थुनामा परेको थियो। त्‍यसले अरूसँग मिलेर आन्‍दोलनमा मानिस पनि मारेको थियो। अनि मानिसहरूको भीडले पिलातसकहाँ आएर ‘अरू वर्षजस्‍तै यस वर्ष पनि एक जना कैदी छोडिदिनुहोस्’ भनी बिन्‍ती गर्न लागे। पिलातसले भने, “त्‍यसो भए यहूदीहरूको राजा भन्‍नेलाई छाडिदिऊँ त?” मुख्‍य पूजाहारीले डाह गरेर येशूलाई उनीकहाँ सुम्‍पन ल्‍याएका हुन् भन्‍ने कुरा पिलातसलाई थाहा थियो। तर मुख्‍य पूजाहारीहरूले मानिसहरूलाई सुर्‍याएर ‘येशूलाई होइन, बारब्‍बालाई नै छाडिदेओ’ भन्‍न लगाए। पिलातसले मानिसहरूलाई फेरि सोधे, “तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ त?” तिनीहरूले कराउँदै भने, “त्‍यसलाई क्रूसमा झुण्‍ड्याउनुहोस्।” पिलातसले सोधे, “यिनले के अपराध गरेका छन्?” तर तिनीहरूले झन् चिच्‍च्‍याएर भने, “त्‍यसलाई क्रूसमा झुण्‍ड्याउनुहोस्।” पिलातस भीडलाई खुसी पार्न चाहन्‍थे। यसैकारण उनले बारब्‍बालाई नै छोडिदिए। येशूलाई चाहिँ उनले कोर्रा लगाएर क्रूसमा झुण्‍ड्याउन जिम्‍मा लगाए। सिपाहीहरूले येशूलाई बडा-हाकिमको दरबारभित्र लगे र अरू सबै सिपाहीहरूलाई बोलाएर ल्‍याए। तिनीहरूले येशूलाई राजाको जस्‍तै बैजनी रङ्गको पोशाक पहिराइदिए अनि काँडाको मुकुट बनाएर शिरमा लगाइदिए। त्‍यसपछि तिनीहरूले उहाँलाई ‘यहूदीहरूका राजाको जय होस्!’ भन्‍दै अभिवादन ठोके। तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए, थुके अनि घुँडा टेकेर उहाँलाई ढोगे। यसरी गिल्‍ला गरिसकेपछि तिनीहरूले बैजनी रङ्गको पोशाक फुकालेर उहाँको आफ्‍नै लुगा लगाइदिए। त्‍यसपछि तिनीहरूले उहाँलाई क्रूसमा झुण्‍ड्याउन लगे। बाटोमा जाँदाजाँदै तिनीहरूले कुरेनी देशको सिमोनलाई गाउँबाट सहरतिर आइरहेको भेटे। उनी अलेक्‍जेन्‍डर र रूफसका बुबा थिए। सिपाहीहरूले उनलाई जबरजस्‍ती येशूको क्रूस बोक्‍न लगाए अनि तिनीहरूले येशूलाई गलगथा भन्‍ने ठाउँमा लगे। गलगथा भनेको चाहिँ ‘खप्‍परे ठाउँ’ हो। त्‍यहाँ पुगेर तिनीहरूले येशूलाई मूर्र मिसाएको दाखमद्य दिए। तर येशूले पिउनुभएन। त्‍यसपछि तिनीहरूले येशूलाई किला ठोकेर क्रूसमा झुण्‍ड्याए। उहाँको लुगाहरू कस-कसको भागमा पर्ने हो भनेर तिनीहरूले चिट्ठा हालेर बाँडे। येशूलाई क्रूसमा झुण्‍ड्याउँदा बिहानको नौ बजेको थियो। उहाँलाई दोष लाएको कुरा क्रूसमा यसरी लेखिएको थियो— ‘यहूदीहरूका राजा’। येशूलाई झुण्‍ड्याउँदा तिनीहरूले दुई जना डाकुहरूलाई पनि येशूको दाहिने र देब्रेपट्टि क्रूसमा झुण्‍ड्याए। [यसरी धर्मशास्‍त्रमा लेखिएको यो कुरा पूरा हुन आयो– उहाँ अपराधीहरूसँगै गनिनुभयो।] त्‍यो बाटो हिंड्‍नेहरूले मुण्‍टो हल्‍लाई-हल्‍लाई येशूको गिल्‍ला गर्दै भने, “लौ हेर! मन्‍दिर भत्‍काएर फेरि तीनै दिनमा बनाउन सक्‍नेलाई! ए आफैंलाई बचाएर क्रूसबाट ओर्लिएर आइज!” त्‍यसैगरी मुख्‍य पूजाहारी र धर्म-गुरुहरूले पनि येशूको गिल्‍ला गरे। तिनीहरूले आपसमा भने, “त्‍यसले अरूलाई त बचायो, तर आफैंलाई चाहिँ बचाउन सकेन। ए इस्राएलीहरूका मुक्ति दिने राजा ख्रीष्‍ट! क्रूसबाट ओर्लिएर आइज, हामी हेरौं! अनि पो विश्‍वास गरौंला!” उहाँसँगै क्रूसमा झुण्‍ड्याइएकाहरूले पनि उहाँको निन्‍दा गरे। दिउँसो बाह्र बजेदेखि तीन बजेसम्‍म देशभरि नै अँध्‍यारो भयो। तीन बजेतिर येशूले ठूलो सोर निकालेर भन्‍नुभयो, “इलोई, इलोई लामा सबखथनी?” यसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर मलाई किन त्‍याग्‍नुभयो?” येशू यसरी कराउनुभएको सुनेर त्‍यहाँ उभिनेहरूमध्‍ये कसै-कसैले भने, “हेर न! यसले त एलियालाई पो बोलाउँदोरहेछ।” एक जनाले चाहिँ दगुर्दै गएर सिर्कामा झुम्रो चोपेर ल्‍यायो र त्‍यो झुम्रो लट्ठीको टुप्‍पामा अड्काएर येशूको मुखमा राख्‍दै भन्‍यो, “पर्ख, पर्ख, कतै एलिया आएर यसलाई क्रूसबाट ओराल्‍दारहेछन् कि, हेरौं!” तर त्‍यति नै बेला येशूले ठूलो सोर निकालेर प्राण त्‍याग्‍नुभयो। त्‍यही समयमा मन्‍दिरभित्र टाँगिएको पर्दा माथिदेखि तलसम्‍म दुई भाग भएर च्‍यातियो। येशूले यसरी प्राण त्‍याग्‍नुभएको देखेर क्रूसको सामुन्‍ने उभिरहेका रोमी कप्‍तानले भने, “साँच्‍चै यी मानिस त परमेश्‍वरकै पुत्र रहेछन्।”

शेयर गर्नुहोस्
मर्कूस 15 पढ्नुहोस्