मर्कूस 13:1-13

मर्कूस 13:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब उहाँ मन्‍दिरबाट निस्‍कँदैहुनुहुन्‍थ्‍यो, तब उहाँका चेलाहरूमध्‍ये एक जनाले उहाँलाई भने, “हेर्नुहोस्, गुरुज्‍यू, कति ठूला-ठूला ढुङ्गाहरू र कति भव्‍य भवनहरू।” येशूले तिनलाई भन्‍नुभयो, “यहाँ त एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नछोडिने गरी सबै भत्‍काइनेछन्‌।” अनि उहाँ मन्‍दिरको सामुन्‍ने जैतून डाँड़ामा बस्‍नुहुँदा पत्रुस, याकूब, यूहन्‍ना र अन्‍द्रियासले उहाँलाई गुप्‍तमा सोधे, “हामीलाई भन्‍नुहोस्, यी घटनाहरू कहिले हुनेछन्‌? र यी सब कुरा पूरा हुनका निम्‍ति के चिन्‍ह हुनेछ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्‌। धेरै जना मेरो नाउँमा ‘म उही नै हुँ’ भन्‍दै आउनेछन्, र तिनीहरूले धेरैलाई भ्रममा पार्नेछन्‌। जब तिमीहरूले लड़ाइँ र लड़ाइँहरूको हल्‍ला सुन्‍नेछौ, तब नडराओ। यस्‍ता घटनाहरू हुनु आवश्‍यक छ। तर अन्‍त्‍यको दिन आउनु अझ बाँकी नै छ। किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य खड़ा हुनेछ। ठाउँ-ठाउँमा भूकम्‍पहरू जानेछन्, अनिकालहरू हुनेछन्‌। योचाहिँ स्‍त्रीलाई प्रसववेदना सुरु भएझैँ सङ्कष्‍टको आरम्‍भ हो। “तिमीहरू आफ्‍ना विषयमा होशियार रहो। तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्‍पनेछन्‌। तिमीहरू सभाघरहरूमा पिटिनेछौ। अनि हाकिमहरू र राजाहरूका सामुन्‍ने मेरो खातिर तिनीहरूलाई गवाही दिन तिमीहरू खड़ा हुनेछौ। र पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरिनुपर्छ। जब मानिसहरूले तिमीहरूलाई पक्री लगेर मुद्दा चलाउँछन्, तब के बोलौं भनी अघिबाटै फिक्री नगर। तर त्‍यसै बेला जे तिमीहरूलाई दिइन्‍छ, त्‍यही बोल, किनकि बोल्‍ने तिमीहरू होइनौ, तर पवित्र आत्‍मा हुनुहुनेछ। “एउटा भाइले अर्को भाइलाई मृत्‍युको लागि सुम्‍पनेछ, र त्‍यसै गरी बाबुले छोरालाई। छोरा-छोरीहरू आमाबाबुहरूका विरुद्धमा खड़ा हुनेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्‌। अनि मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जो अन्‍त्‍यसम्‍म स्‍थिर रहन्‍छ त्‍यसैको उद्धार हुनेछ।

शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्

मर्कूस 13:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

येशू मन्दिर छोडेर जाँदै गर्नुहुँदा उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, हेर्नुहोस्, कति विशाल पत्थरहरू! कति भव्य भवनहरू!” येशूले जवाफ दिनुभयो, “के तिमी यी सबै विशाल भवनहरू देख्दैछौ? यहाँ एउटा ढुङ्गा पनि अर्को ढुङ्गामाथि छोडिनेछैन, तर प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।” येशू जैतुन डाँडामा मन्दिरतिर फर्किएर बसिरहनुहुँदा पत्रुस, याकोब, यूहन्‍ना र अन्द्रियासले उहाँलाई सुटुक्‍क सोधे, “हामीलाई भन्‍नुहोस्, यी कुराहरू कहिले हुनेछन्? अनि यी कुराहरू पूरा हुनको निम्ति चिन्ह के हुनेछ?” येशूले तिनीहरूलाई भन्‍नुभयो: “होसियार बस, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्। धेरै जना मेरो नाममा ‘म उही हुँ,’ भन्‍ने दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्। जब तिमीहरूले लडाइँ र लडाइँहरूका हल्‍लाहरू सुन्‍नेछौ, तब नडराओ। यस्ता कुराहरू हुनैपर्छ, तर अन्त्य आउन बाँकी नै छ। जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा भुइँचालाहरू जानेछन्; अनि अनिकालहरू हुनेछन्। यी त प्रसववेदनाका सुरुवात मात्र हुन्। “तिमीहरू आफ्नो विषयमा होसियार रहो। तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिनेछ, र सभाघरहरूमा लगेर कोर्रा लगाइनेछ। मेरो कारणले गर्दा तिमीहरूलाई साक्षीको रूपमा राज्यपालहरू र राजाहरूको सामु उभाइनेछ। अनि अन्त्य आउनुभन्दा पहिला सबै राष्ट्रहरूमा सुसमाचार प्रचार गरिनुपर्छ। जब तिमीहरू पक्रिएर मुद्दामा पर्नेछौ, तब के बोल्नुपर्छ भनी पहिल्यैबाट चिन्ता नलेओ। तिमीहरूलाई त्यसै बेला जे दिइनेछ, त्यही भन; किनकि त्यस समयमा बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा बोलिरहनुभएको हुनेछ। “भाइले आफ्ना भाइलाई, बुबाले आफ्ना छोराछोरीलाई मृत्युका निम्ति धोका दिनेछन्। छोराछोरीहरू आफ्ना आमाबुबाका विरुद्धमा उठ्नेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्। तिमीहरूलाई सबै मानिसहरूले मेरा निम्ति घृणा गर्नेछन्; तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ।

शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्

मर्कूस 13:1-13 पवित्र बाइबल (NERV)

येशूले मन्दिरको इलाका छोडन लाग्नु भएको थियो। कुनै एकजना चेलाले उहाँलाई भने, “गुरूज्यू हेर्नुहोस्। यी मन्दिरको भवनहरू धेरै ठूला-ठूला ढुङ्गाहरूले बनाएर अति सुन्दर भएको छ।” येशूले भन्नुभयो, “के तिमीहरू यो ठूला भवनहरू देख्छौ? यी भवनहरू सबै ध्वंस हुनेछ। प्रत्येक ढुङ्गा भूईँमा फ्याँकिनेछ। एउटामाथि अर्को कुनै ढुङ्गा त्यहाँ रहने छैन।” त्यसपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। उहाँ पत्रुस, याकूब यूहन्ना र आन्द्रियाससँग अलग्गै हुनुहुन्थ्यो। तिनीहरू सबैले मन्दिर देख्न सके। तिनीहरूले येशूलाई सोधे, “हामीलाई भन्नुहोस् कहिले यस्तो घट्ना घट्ने छ? अनि यी सब घट्ना हुनलाग्दा के संकेत हुनेछ?” येशूले चेलाहरूलाई भन्नुभयो, “होशियार रहो! कसैले तिमीहरूलाई मूर्ख नबनाओस्। धेरै मानिसहरू मेरा नाममा आउनेछन्। तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हुँ।’ अनि तिनीहरूले धेरै मानिसहरूलाई मूर्ख तुल्याउनेछन्। तिमीहरूले लडाईको बारेमा सुन्न पाउनेछौ। अनि अरू हुने लँडाईहरूको बारेमा पनि कथाहरू सुन्नेछौ। तर डराऊनु पर्दैन। अन्तको समय आउन अघिनै यी घट्नाहरू घट्नेछ। राष्टहरू अन्य राष्ट्रहरूसित लडाई गर्नेछन्। राज्य राज्यहरू माझ लडाई चल्नेछ। विभिन्न ठाउँहरूमा भूकम्प जानेछ। यस्तो समय पनि आउने छ जतिबेला खानलाई केही कुरा हुनेछैन। त्यस समयमा नयाँ जन्म हुने प्रार्थमिक समयमा जस्तै कष्टपूर्ण हुनेछ। “तिमीहरू होशियारी बस। मानिसहरूले तिमीहरूलाई पक्रनेछन् अनि न्यायको लागि लैजानेछन्। तिनीहरूले सभाघरहरूमा तिमीहरूलाई पिट्नेछन्। तिमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइनेछ। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछ। तीमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइन्छ। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछ। तिमीहरूले मलाई पछ्याएको कारणले गर्दा यी सबै हुनेछ यस भन्दा अघिनै सबै जातिहरू सुसमाचार प्रचार गरिनु पर्नेछ। तिमीहरू पक्राउ हुनेछौ अनि न्यायको भागी बन्नु पर्नेछ। तर तिमीहरूले त्यहाँ जे भन्नेछौ त्यस बारे डराउनु पर्ने छैन। त्यसबेला परमेश्वरले तिमीलाई जे दिनुहुन्छ त्यही भन्नु पर्नेछ। त्यसबेला वास्तवमा तिमी आफैं बोलिरहेको हुने छैनौं। पवित्र-आत्मा बोलिरहेको हुनेछ। “दाज्यूभाइहरूले दाज्यूभाइहरूलाई मार्ने विश्वासघात गर्नेछन्। बाबुहरूले आफ्नै छोराहरूप्रति विश्वासघात गर्नेछन्। अनि मार्नेछन्। छोरा छोरीहरू पनि आफ्नै आमाबाबूहरूको विरूद्धमा उठ्नेछन् अनि तीनले आमाबाबूहरूलाई मार्नेछन। सबै मानिसहरूले मलाई पछ्यायौ भनेर तिमीहरूलाई घृणा गर्नेछन्। तर जो चाँहि अन्त्यसम्म नै बलवान रहन्छ उ मात्रै बाँच्ने छ।

शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्

मर्कूस 13:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशू मन्‍दिरबाट निस्‍कन लाग्‍नुहुँदा एक जना चेलाले भने, “हेर्नुहोस् त गुरु, कति ठूला-ठूला ढुङ्गाहरू! कति भव्य भवनहरू!” अनि येशूले भन्‍नुभयो, “यी भवनहरू देखेका छौ, होइन? तर साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी भवनहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्‍काइनेछ।” येशू मन्‍दिरको पारिपट्टि जैतुन डाँडामा बसिरहनुभएको थियो। त्‍यति बेला पत्रुस, याकूब, यूहन्‍ना र अन्‍द्रियास सुटुक्‍क उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यी सबै कुराहरू कहिले हुनेछन्? अनि तपाईंले भन्‍नुभएका कुराहरू पूरा हुन आँटेका छन् भनी हामीले कसरी थाहा पाउन सक्‍नेछौं?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “होशियार रहो! कसैले पनि तिमीहरूलाई छकाउन नपाओस्! धेरै मानिसहरू मेरो नाउँमा ‘मुक्ति दिने मै हुँ’ भन्‍दै आउनेछन् अनि धेरै मानिसहरूलाई छकाउनेछन्। तिमीहरूले लडाइँहरू भएको र लडाइँका हल्‍लाहरू सुन्‍नेछौ। तर त्‍यस बेला नडराउनू। ती सबै कुराहरू त हुन आउनु नै पर्छ, तर त्‍यति नै खेर त संसारको अन्‍त हुँदैन। जाति-जातिको बीचमा लडाइँ चल्‍नेछ। एउटा राज्‍यले अर्को राज्‍यमाथि हमला गर्नेछ। जताततै भूइँचालो जानेछ र अनिकाल पर्नेछ। यी कुरा त दु:खको सुरु मात्र हो। “तिमीहरूचाहिँ होशियार भएर बस किनभने मानिसहरूले तिमीहरूलाई पक्रेर अड्डा-अदालतमा पुर्‍याउनेछन् अनि सभाघरहरूमा लगेर कोर्रा लाउनेछन्। तिमीहरू मेरै कारणले बडा-हाकिम र राजाहरूकाअगाडि समेत उभ्‍याइनेछौ। तिमीहरूले तिनीहरूलाई मेरो बारेमा साक्षी दिनुपर्नेछ। अन्‍त हुनुअघि सबै जातिका मानिसहरूलाई सुसमाचार सुनाइसकेको हुनु नै पर्छ। तिनीहरूले तिमीहरूलाई पक्रेर लैजाँदा के भन्‍ने हो भनेर पहिले नै सुर्ता नगर। तिनीहरूको अगाडि उभिएको बेलामा तिमीहरूले जे पाउनेछौ, त्‍यही भन किनभने त्‍यति बेला तिमीहरूले आफ्‍नै तर्फबाट बोल्‍नेछैनौ तर पवित्र आत्‍माले नै तिमीहरूद्वारा बोल्‍नुहुनेछ। “त्‍यति बेला मानिसहरूले आफ्‍नै दाजुभाइहरूलाई मार्न सुम्‍पिदिनेछन्। बुबाले छोरा-छोरीलाई र छोरा-छोरीले आमा-बुबालाई विरोध गरेर मार्न लाउनेछन्। मेरै कारणले गर्दा तिमीहरूलाई सबैले घृणा गर्नेछन्। तर आखिरसम्‍म स्‍थिर रहनेहरूचाहिँ बचाइनेछन्।

शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्