मर्कूस 10:1-12
मर्कूस 10:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस ठाउँलाई छोड़ेर यर्दन नदीको पारि यहूदियाको इलाकामा येशू जानुभयो र भीड उहाँकहाँ भेला भयो, अनि उहाँको रीतिअनुसार तिनीहरूलाई फेरि उहाँले शिक्षा दिनुभयो। फरिसीहरू उहाँकहाँ आएर उहाँलाई परीक्षा गरी सोधे, “के कोही मानिसले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्नु न्यायसङ्गत छ? उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन्?” तिनीहरूले भने, “एउटा त्यागपत्र लेखेर मानिसले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्न सक्छ भनी मोशाले अनुमति दिएका छन्।” तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए। तर सृष्टिको आरम्भदेखि परमेश्वरले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो। ‘यसैकारण मानिस आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुई जना एउटै शरीर हुनेछन्।’ तिनीहरू फेरि दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्ट्याओस्।” घरमा हुँदा चेलाहरूले फेरि यस विषयमा येशूलाई सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले आफ्नी पत्नीसँग विवाहविच्छेद गरेर अर्कीसँग विवाह गर्छ, त्यसले तिनको विरुद्ध व्यभिचार गर्छ। अनि यदि स्त्रीले आफ्नो पतिसँग विवाहविच्छेद गरेर अर्कोसँग विवाह गर्छे भने, तिनले व्यभिचार गर्छे।”
मर्कूस 10:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब येशू त्यो ठाउँ छोडेर यहूदिया प्रदेशका इलाकाहरूमा र यर्दनपारि जानुभयो। फेरि मानिसहरूका भीड उहाँकहाँ आए, र आफ्नो रीतिअनुसार उहाँले तिनीहरूलाई सिकाउनुभयो। केही फरिसीहरूले उहाँलाई यसरी सोध्दै जाँच गरे, “के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?” उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिए?” तिनीहरूले भने, “मोशाले मानिसलाई एउटा त्यागपत्र लेखेर आफ्नी पत्नीलाई छोड्ने अनुमति दिएका छन्।” येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई यो व्यवस्था तिमीहरूको हृदयको कठोरताको कारणले गर्दा दिएका हुन्, तर सृष्टिको आरम्भमा परमेश्वरले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो।’ ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्।’ यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।” जब उहाँहरू घरभित्र हुनुहुन्थ्यो, तब चेलाहरूले येशूलाई यसबारे फेरि सोधे। उहाँले जवाफ दिनुभयो, “जसले आफ्नी पत्नीलाई विवाह विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्दछ, त्यसले उसको विरुद्धमा व्यभिचार गर्दछ। यदि कुनै स्त्रीले आफ्नो पतिसँग विवाह विच्छेद गरेर अर्को मानिससँग विवाह गर्दछे भने त्यसले व्यभिचार गर्दछे।”
मर्कूस 10:1-12 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले त्यो ठाऊँ छाड्नुभयो। उहाँ यहूदियाको इलाका औ यर्दन नदिको पारिपट्टि जानुभयो। फेरि अनेकौं मानिसहरू उहाँ भएकहाँ आए, अनि उहाँले अघि झैं मानिस हरूलाई सिकाउनुभयो। केही फरिसीहरू येशूकहाँ आएर येशूलाई परीक्षा लिने कोशिश गरे। तिनीहरूले उहाँलाई भने, “के कुनै मानिसले आफ्नो पत्नीसँग बिवाह विच्छेद गर्नु उचित हो?” येशूले उत्तर दिनुभयो, “मोशाले तिमीहरूलाई कस्तो आज्ञा पालन गर्नु भन्नु भएको छ?” फरिसीहरूले भने, “मोशाले अनुमति दिए कि मानिसले एउटा विवाह विच्छेद पत्र लेखेर आफ्नो स्वास्नीसँग विवाहविच्छेद गर्न सक्छ।” येशूले भन्नुभयो, “मोशाले त्यो आज्ञा तिमीहरूलाई नै लेखिदिएको हो। किनभने परमेश्वर को शिक्षा ग्रहण गर्न तिमीहरूले चाहेकाछैनौ। तर जब परमश्वरले संसार बनाउनु भयो, उहाँले मानिसहरूलाई पुरुष र स्त्रीको रूपमा बनाउनुभयो, त्यसकारण कुनै मानिस आफ्नो बाबु र आमा त्याग्छ र आफ्ना स्वास्नीसँग बस्छ। अनि तब ती दुइजना एक हुन्छन्। यसकारण मानिसहरू अलग हुँदैन जसलाई परमेश्वरले एक बनाएका छन्। तिनी दुइजना रहँदैनन् एक हुन्छन।” त्यसपछि, येशू र चेलाहरू एउटा घरभित्र थिए। चेलाहरूले येशूलाई फेरि विवाहविच्छेद बारे सोधे। उहाँले भन्नुभयो, “यदि कुनै मानिसले आफ्नी पत्निसँग विवाह विच्छेद गर्छ, अनि अर्की स्त्रीसँग विवाह गर्छ भने त्यसले आफ्नी पत्नीसँग व्यभिचारको पाप गरेको ठरिन्छ। त्यसरी यदि कुनै स्त्रीले आफ्नो लोग्नेसँग विवाह विच्छेद गर्छे अनि अर्को लोग्नेसँग विवाह गर्छे भने त्यो पनि व्यभिचार हो।”
मर्कूस 10:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू त्यो ठाउँ छोडेर यहूदिया क्षेत्र र यर्दन नदीको पारिपट्टि जानुभयो। फेरि पनि धेरै मानिसहरूको घुइँचो लाग्यो अनि उहाँले सधैँजस्तै तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो। फरिसीहरू आएर येशूलाई कुरामा फसाउन खोजे। तिनीहरूले उहाँलाई सोधे, “भन्नुहोस् त, लोग्नेले आफ्नी स्वास्नीलाई त्याग्नुहुन्छ कि हुँदैन?” येशूले तिनीहरूलाई सोध्नुभयो, “मोशाले के आज्ञा दिएका छन्?” तिनीहरूले भने, “मोशाले त त्यागपत्र लेखेर आफ्नी स्वास्नीलाई त्यागे पनि हुन्छ भनेका छन्।” येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको अट्टेरी मनको कारण उनले यो आज्ञा दिएका हुन्। तर सृष्टिको सुरुमा परमेश्वरले मानिस जातिलाई पुरुष र स्त्री गरी बनाउनुभएको हो। ‘यसैकारण लोग्ने मानिसले आफ्ना आमा-बुबालाई छोडेर आफ्नी स्वास्नीसँगै बस्छ। अनि ती दुई जना एउटै हुन्छन्’। अब त तिनीहरू दुई होइनन्, तर एउटै हुन्। अनि परमेश्वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।” उहाँहरू घर फर्केपछि चेलाहरूले येशूलाई यस कुराको बारेमा सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आफ्नी स्वास्नीलाई त्यागेर अर्कीलाई बिहे गर्ने लोग्ने मानिसले पहिलो स्वास्नीको विरुद्धमा व्यभिचार गर्छ। त्यसै गरी आफ्नो लोग्नेलाई त्यागेर अर्कोसित बिहे गर्ने स्वास्नी मानिसले पनि व्यभिचार नै गर्छे।”