मर्कूस 1:1-20

मर्कूस 1:1-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमेश्‍वरका पुत्र येशू ख्रीष्‍टको सुसमाचारको आरम्‍भ। यशैया अगमवक्ताको पुस्‍तकमा यसरी लेखिएको छ: “हेर, म मेरो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो मार्ग तयार गर्नेछ। उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।” बप्‍तिस्‍मा-दिने यूहन्‍ना पापमोचनको लागि पश्‍चात्तापको बप्‍तिस्‍मा प्रचार गर्दै उजाड-स्‍थानमा देखा परे। समस्‍त यहूदिया देश र यरूशलेमका सबै बासिन्‍दाहरू तिनीकहाँ निस्‍किआए। र तिनीहरूले आ-आफ्‍ना पाप स्‍वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्‍मा लिए। यूहन्‍नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे, र कम्‍मरमा छालाको पटुका बाँध्‍थे, र सलह र वन-मह खान्‍थे। तिनले यसो भन्‍दै प्रचार गरे, “जो मपछि आउनुहुन्‍छ उहाँ मभन्‍दा शक्तिशाली हुनुहुन्‍छ, अनि निहुरेर उहाँका जुत्ताका फित्ता फुकाउने लायकको म छैनँ। मैले तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुनेछ।” अब ती दिनमा येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाबाट यर्दन नदीमा बप्‍तिस्‍मा लिनुभयो। पानीबाट उक्‍लिआउनेबित्तिकै उहाँले स्‍वर्ग उघ्रिएको र पवित्र आत्‍मालाई ढुकुरको रूपमा आफूमाथि ओर्लंदैगर्नुभएको देख्‍नुभयो। अनि स्‍वर्गबाट यस्‍तो एउटा आवाज भयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।” पवित्र आत्‍माले उहाँलाई तुरुन्‍तै उजाड-स्‍थानमा लैजानुभयो। शैतानबाट परीक्षित हुँदै उहाँ चालीस दिन उजाड-स्‍थानमा रहनुभयो। उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो, र स्‍वर्गदूतहरूले उहाँको सेवा-टहल गरे। अब यूहन्‍ना पक्राउमा परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो। उहाँले भन्‍नुभयो, “समय पूरा भएको छ, र परमेश्‍वरको राज्‍य नजिक आइपुगेको छ। पश्‍चात्ताप गर, र सुसमाचारमा विश्‍वास गर।” गालील-समुद्रको किनार-किनारै जाँदैहुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्‍द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्‍नुभयो। किनकि तिनीहरू जालहारी थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” तिनीहरूले तुरुन्‍तै आफ्‍ना जालहरू छोड़े, र उहाँको पछि लागे। अनि अलि पर गएपछि उहाँले जब्‍दियाका दुई छोरा याकूब र यूहन्‍नालाई डुङ्गामा बसी जाल तुनिरहेका देख्‍नुभयो। उहाँले तुरुन्‍त तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरू आफ्‍ना पिता जब्‍दियालाई ज्‍यामीहरूका साथ डुङ्गामा छोड़ेर उहाँको पछि लागे।

शेयर गर्नुहोस्
मर्कूस 1 पढ्नुहोस्

मर्कूस 1:1-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

परमेश्‍वरका पुत्र, येशू ख्रीष्‍टको विषयमा सुसमाचारको सुरुवात, यशैया अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ: “म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।” “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।’” यसरी बप्‍तिस्मा दिने यूहन्‍ना उजाडस्थानका इलाकामा पाप क्षमाका लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए। यहूदियाका सम्पूर्ण गाउँका मानिसहरू र यरूशलेमका मानिसहरू तिनीकहाँ गए, र आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिए। यूहन्‍नाले ऊँटको रौँबाट बनेको वस्त्र लाउँथे। कम्मरमा छालाको पेटी बाँध्दथे; अनि तिनले सलह र वन-मह खान्थे। तिनको सन्देश यस्तो थियो: “म पछि मभन्दा शक्तिशाली एक जना आउनुहुनेछ, जसका जुत्ताको फित्ता निहुरेर फुकाउन योग्यको म छैनँ। म तिमीहरूलाई पानीले मात्र बप्‍तिस्मा दिन्छु, तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ।” त्यस बेला येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दनमा बप्‍तिस्मा लिनुभयो। जब येशू पानीबाट बाहिर निस्केर आउँदैहुनुहुन्थ्यो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरझैँ उहाँमाथि ओर्लंदै गर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, जसलाई म प्रेम गर्छु; तिमीसँग म अति प्रसन्‍न छु।” पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाडस्थानमा लैजानुभयो, अनि उहाँ उजाडस्थानमा शैतानद्वारा परीक्षित हुँदै चालीस दिनसम्म जङ्गली जनावरहरूसित रहनुभयो। उहाँलाई स्वर्गदूतहरूले सेवाटहल गरे। यूहन्‍ना झ्यालखानामा हालिएपछि येशू परमेश्‍वरको सुसमाचार घोषणा गर्दै गालील प्रदेशमा जानुभयो। उहाँले भन्‍नुभयो, “समय पूरा भइसकेको छ, परमेश्‍वरको राज्य नजिकै आइपुगेको छ। पश्‍चात्ताप गर र सुसमाचारमा विश्‍वास गर!” जब येशू गालील समुद्रको किनारमा हिँड्दैहुनुहुन्थ्यो, उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई तालमा जाल हान्दै गरेका देख्नुभयो; किनकि तिनीहरू मछुवा थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे। उहाँ अलि पर पुगेपछि, उहाँले जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई डुङ्गामा आफ्ना जाल तयार गरिरहेका देख्नुभयो। तुरुन्तै उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना बुबा जब्दीलाई ज्यालादारहरूको साथमा डुङ्गामा छोडेर उहाँको पछि लागे।

शेयर गर्नुहोस्
मर्कूस 1 पढ्नुहोस्

मर्कूस 1:1-20 पवित्र बाइबल (NERV)

येशू ख्रीष्ट, परमेश्वरको पुत्रको सुसमाचार, अगमवक्ता यशैयाले भनेका घट्नाबाटै आरम्भ हुन्छ। यशैयाले लेखेकाछन्: “सुन! म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउँछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।” “उजाड-स्थानमा कोही कराइहेकोछः ‘परमप्रभुको बाटो तयार पार, उहाँका गोरेटोहरू सोझो बनाओ।’” बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मा दिनु पर्छ। यसरी तिनीहरूको पापहरूको क्षमा हुनेछन्। यहूदिया र यरूशलेमका सम्पूर्ण मानिसहरू यूहन्ना कहाँ गए। तिनीहरूले आफूले गरेका पापहरूको पश्चाताप गरे, अनि तीनीहरूलाई यर्दन नदीमा यूहन्नाले बप्तिस्मा दिए। यूहन्नाले ऊँटको रौंबाट तयार गरिएका लुगाफाटा पहिरिएका थिए र उनको कम्मरमा छालाको पेटी थियो। तिनले सलह र वन-मह खान्थे। त्यसपछि यूहन्नाले मानिसहरूमा प्रचार शुरू गरेः “मभन्दा पछि एक मानिस आउनु हुनेछ, उहाँ मभन्दा महान हुनुहुन्छ। म निहुरेर उहाँको जुत्ताको फित्ता खोलिदिने योग्यको छैनँ। म पानीद्वारा तिमीहरूलाई बप्तिस्मा दिन्छु तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।” त्यसै बेला यूहन्ना भएको स्थानमा गालीलको नासरत भन्ने शहरबाट येशू आउनु भयो। यर्दन नदीमा यूहन्नाले येशूलाई बप्तिस्मा दिए। जब येशू पानीदेखि बाहिर निस्कनु हुँदै थियो, उहाँले आकाश खुल्ला देख्नुभयो। पवित्र आत्मा ढुकुरको रूप लिएर येशूकहाँ ओर्लिनु भयो। स्वर्गबाट एउटा आवाज आयो अनि भन्योः “तिमी मेरा पुत्र हौ, अनि म तिमीलाई प्रेम गर्दछु। म तीमीसँग धेरै प्रसन्न छु।” त्यसपछि पवित्र आत्माले येशूलाई मरूभूमितर्फ पठाऊनुभयो। चालीसदिनसम्म येशू त्यही मरूभूमिमा हुनुहुन्थ्यो। उहाँ त्यहाँ वन पशुहरूसँग हुनुहुन्थ्यो। जबसम्म येशू मरूभूमिमा हुनुहुन्थ्यो, उहाँ शैतानको परीक्षामा पर्नु भयो। स्वर्गदूतहरू आए अनि येशूलाई मद्दत गरे। त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो। येशूले भन्नुभयो, “यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।” गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए। येशूले तिनीहरूलाई भन्नुभयो, “आओ अनि मसँग हिँड, म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु। तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन।” त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फ्याँकिदिए अनि येशूलाई पछ्याए। येशू गालीलको ताल भएर केही पर गइरहनु भएको थियो। उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यूहन्नालाई देख्नु भयो, तिनिहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए। तिनीहरूका बाबु जब्दी र उनका काम गर्नेहरू पनि तिनीहरूसित डुङ्गामा नै थिए। जब येशूले यी दुइ दाज्यू-भाइलाई देख्नुभयो, उहाँले तिनीहरूलाई आफूकहाँ बोलाउनु भयो र तिनीहरू आफ्ना बाबुलाई छोडेर येशूकहाँ आए।

शेयर गर्नुहोस्
मर्कूस 1 पढ्नुहोस्

मर्कूस 1:1-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरका पुत्र येशू ख्रीष्‍टबारे सुसमाचार यसरी सुरु हुन्‍छ। यशैया अगमवक्ताको पुस्‍तकमा लेखिएअनुसार– “हेर, तिम्रो बाटो तयार पार्नलाई मेरो दूत म तिम्रो अघि पठाउँछु।” सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोरले यसो भन्‍दै छन्, “प्रभु आउनुहुने बाटो ठीक पार, उहाँ हिंड्‍नुहुने गोरेटाहरू सोझ्‍याओ!” यूहन्‍ना मानिसहरूलाई बप्‍तिस्‍मा दिंदै उजाड-स्थानमा देखा परे। उनले मानिसहरूलाई यसरी प्रचार गरे, “तिमीहरू पश्‍चाताप गरेर पाप छोड र बप्‍तिस्‍मा लेओ र परमेश्‍वरले तिमीहरूका पाप क्षमा गर्नुहुनेछ।” यहूदियाको इलाका र यरूशलेम सहरका सबै मानिसहरू यूहन्‍नाकहाँ आए। पाप मानिलिने जतिलाई यूहन्‍नाले यर्दन नदीमा बप्‍तिस्‍मा दिए। यूहन्‍नाले ऊँटका रौंको लुगा लगाउँथे र कम्‍मरमा छालाको पेटी बाँध्‍थे अनि सलह र बन-मह खान्‍थे। उनले मानिसहरूलाई यसो भन्‍थे, “मपछि एक जना आउँदै हुनुहुन्‍छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्‍छ। म त निहुरिएर उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैनँ। मैले तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिएको छु, तर उहाँले त तिमीहरूलाई पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुनेछ।” यूहन्‍नाले यसरी प्रचार गरिरहेको समयमा येशू गालीलको नासरत सहरबाट आउनुभयो अनि उहाँले पनि यूहन्‍नाको हातबाट यर्दन नदीमा बप्‍तिस्‍मा लिनुभयो। पानीबाट बाहिर निस्‍कनेबित्तिकै येशूले स्‍वर्ग उघ्रिएको र पवित्र आत्‍मा ढुकुरजस्‍तै आफूमाथि आउँदैगर्नुभएको देख्‍नुभयो। अनि स्‍वर्गबाट यसो भनेको सुनियो, “तिमी मेरो प्‍यारो पुत्र हौ, तिमीसँग म धेरै खुसी छु।” त्‍यसपछि तुरुन्‍तै परमेश्‍वरको आत्‍माले येशूलाई उजाड-स्थानमा लैजानुभयो। त्‍यहाँ शैतानले उहाँलाई चालीस दिनसम्‍म पापमा फसाउन जाँच गर्‍यो। त्‍यहाँ जङ्गली जनावरहरू पनि थिए अनि स्‍वर्गदूतहरूले आएर उहाँको सेवा गरे। यूहन्‍ना थुनामा परेपछि येशूले गालीलमा गएर परमेश्‍वरको सुसमाचार सुनाउन लाग्‍नुभयो। उहाँले भन्‍नुभयो, “अब समय पूरा भएको छ, परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ। अब पश्‍चाताप गरेर पाप छोड र सुसमाचारमा विश्‍वास गर।” गालील तालको किनारमा डुलिरहनुहुँदा येशूले सिमोन र उनका भाइ अन्‍द्रियासलाई जाल हानिरहेको देख्‍नुभयो। अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” यो सुन्‍नेबित्तिकै तिनीहरूले आफ्‍ना जालहरू छोडेर येशूको पछि लागे। अझै अघि जाँदै गर्नुहुँदा येशूले जब्‍दियाका दुई छोराहरू याकूब र यूहन्‍नालाई देख्‍नुभयो। तिनीहरू नाउमा बसेर जाल तुन्‍दै थिए। येशूले तिनीहरूलाई पनि तुरुन्‍तै बोलाउनुभयो। अनि तिनीहरूले आफ्‍ना बुबालाई काम गर्नेहरूसँग नाउमा छोडेर येशूको पछि लागे।

शेयर गर्नुहोस्
मर्कूस 1 पढ्नुहोस्