मत्ती 9:18-26
मत्ती 9:18-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब उहाँले तिनीहरूलाई यी कुरा भन्दैहुनुहुन्थ्यो, तब सभाघरका एक जना शासक आए, र उहाँलाई दण्डवत् गरी भने, “मेरी छोरी भर्खरै मरी, तर आएर त्यसमाथि तपाईंको हात राखिदिनुहोस्, र त्यो जीवित हुनेछे।” येशू उठ्नुभयो र आफ्ना चेलाहरूसँग तिनको पछि लाग्नुभयो। त्यति नै बेला बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्तिरबाट आएर उहाँका वस्त्रको किनार छोई। किनकि त्यसले मनमनै सोचेकी थिई, “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको भइजानेछु।” फनक्क फर्की हेर्दा येशूले त्यस स्त्रीलाई देख्नुभयो, र भन्नुभयो, “छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” त्यो स्त्री त्यही घड़ी निको भई। अनि जब येशू शासकको घरमा आइपुग्नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैलाबैला मचाइरहेका देख्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “बाहिर जाओ, किनकि ठिटी मरेकी छैन, तर सुतेकी छे।” तिनीहरूले उहाँको हाँसो गरे। भीड़लाई बाहिर निकाल्नुभएपछि उहाँ भित्र पस्नुभयो, र त्यस ठिटीको हात समात्नुभयो, अनि त्यो ठिटी जुरुक्क उठी। तब यस कुराको कीर्ति त्यस मुलुकभरि फिँजियो।
मत्ती 9:18-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले यी कुराहरू भनिरहनुहुँदा एक जना शासकले उहाँकहाँ आएर उहाँको अगि घुँडा टेकेर भने, “मेरी छोरी भर्खरै मरी, तर तपाईं आएर त्यसमाथि आफ्नो हात राखिदिनुहोस्, र त्यो बाँच्नेछे।” येशू उठेर तिनीसित जानुभयो, र उहाँका चेलाहरू पनि उहाँसँगै गए। ठिक त्यसै बेला बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री उहाँको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई। त्यसले मनमनै यसो भनी, “यदि मैले उहाँको वस्त्र मात्र छुन पाएँ भने म निको हुनेछु।” येशू पछिल्तिर फर्कनुभयो, र त्यसलाई देख्नुभयो। उहाँले भन्नुभयो, “हे छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” अनि त्यो स्त्री त्यसै बेला निको भई। जब येशू त्यस शासकको घरमा पस्नुभयो, उहाँले शोक धुनको बाँसुरी बजाउनेहरू र कोलाहल गर्नेहरूका भीडलाई देख्नुभयो। अनि भन्नुभयो, “बाहिर जाओ। केटी मरेकी छैन, तर निदाएकी मात्र छे।” तर तिनीहरूले उहाँको कुरालाई हाँसोमा उडाइदिए। भीडलाई बाहिर निकालेपछि उहाँ भित्र पस्नुभयो। अनि त्यस केटीको दाहिने हात समात्नुभयो; अनि त्यो केटी उठी। यो कुराको खबर त्यस मुलुकभरि फैलियो।
मत्ती 9:18-26 पवित्र बाइबल (NERV)
येशू यी कुराहरू भन्दै हुनुहुन्थ्यो, त्यसैबला सभाधरको एकजना प्रमुख उहाँकहाँ आए। येशूको अघि तिनले शिर झुकाए, अनि भने, “मेरी छोरी अहिले मरी कृपया आउनुहोस् र तपाईंको हात त्यसमाथि राखिदिनुहोस् अनि त्यसले आफ्नो जीवन फिर्ता पाउनेछ।” तुरन्तै येशू उठ्नु भयो अनि तिनीसित जानुभयो। उहाँका चेलाहरू पनि पछि लागे। बाह्र वर्षदेखि रगत बहने रोगले ग्रस्त एउटी स्त्री त्यहाँ थिईन्। येशूको पछिल्तिर आएर उनले उहाँको वस्त्रको फेरमा छोइन्। तिनले सोच्दै थिइन्, “यदि मैले उहाँको लुगाको फेरमा छोएँ मात्र भने पनि म ठीक भइजानेछु।” येशू पछिल्तिर फर्किनु भयो र तिनलाई देखेर भन्नुभयो, “हे प्यारी छोरी खुशी होऊ। तिम्रो विश्वासले तिमी निको भएकि छौ।” तिनै बेला तिनी ठीक भइन्। येशू यहूदी शासकसँग हिँड्दै हुनुहुन्थ्यो। उहाँ तिनको घरमा पुग्नु भयो। मानिसहरूलाई शोक धुन बजाईरहेको देख्नुभयो। उहाँले धेरै मानिसहरूलाई त्यहाँ रोइरहेको देख्नुभयो किनभने युवती मरेकी थिई। येशूले भन्नुभयो, “पर जाऊ। यो युवती मरेकी छैन। ऊ निदाएकी मात्र छे।” यो देखेर मानिसहरूले उहाँको हाँसो उडाए। जब मानिसहरूलाई घरबाट बाहिर पठाइयो, तब येशू युवतीको कोठामा प्रवेश गर्नुभयो। उहाँले युवतीको हात समात्नुभयो अनि त्यो युवती जुरुक्क उठी। तब यस कुराको खबर सारा मुलुकभरि फिँजियो।
मत्ती 9:18-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले तिनीहरूलाई यी कुरा भन्दाभन्दै एउटा यहूदी शासक त्यहाँ आइपुगे। उनले येशूको पाउमा परेर बिन्ती चढाए, “हजुर, मेरी छोरी भर्खरै मरी, तर हजुरले आएर उसलाई छोइदिनुभयो भने ऊ बिउँतनेथिई।” येशू उठेर उनीसँगै जानुभयो र चेलाहरू पनि उहाँसँगै गए। त्यति नै बेला एक जना बाह्र वर्षदेखि रगत बग्ने व्यथा लागेकी स्त्रीले पछिल्तिरबाट आएर येशूको लुगाको छेउ छोइन् किनभने तिनलाई ‘उहाँको लुगा मात्र छुन पाएँ भने पनि म निको हुने थिएँ’ भन्ने लागेको थियो। अनि येशूले फरक्क पछिल्तिर फर्कनुभयो र तिनलाई देखेर उहाँले भन्नुभयो, “छोरी, साहस गर। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” त्यति नै खेर ती स्त्री निको भइहालिन्। त्यसपछि येशू यहूदी शासकका घरमा पुग्नुभयो। उहाँले त्यहाँ शोकका बाजा बजाउने र रुवाबासी गर्ने मानिसहरूलाई देख्नुभयो। तिनीहरूलाई येशूले भन्नुभयो, “तिमीहरू सबै बाहिर गइदेओ त। यो नानी त खालि निदाएकी मात्र छे, मरेकी छैन।” यो कुरा सुनेर तिनीहरूले उहाँको हाँसो गरे। तर उहाँले ती मानिसहरूलाई हटाउनुभयो र भित्र पस्नुभयो। उहाँले नानीलाई हातमा समातेर उठाउनुभयो अनि ऊ बिउँती। त्यसपछि देशभरि नै यसको बारेमा चर्चा चल्यो।