मत्ती 7:1-14

मत्ती 7:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ। किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्‍यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्‍तछौ, त्‍यसै गरी तिमीहरूका निम्‍ति पनि नापिनेछ। “किन तिमी आफ्‍नो भाइको आँखामा भएको धूलोको कण देख्‍तछौ, तर तिम्रो आफ्‍नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ? अथवा तिम्रो आफ्‍नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्‍न सक्‍छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्‍न देऊ।’ ए ढोंगी, पहिले आफ्‍नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्‍नलाई तिमी सफासँग देख्‍न सक्‍नेछौ। “जे पवित्र छ सो कुकुरहरूलाई नदेओ। आफ्‍ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्रता तिनले आफ्‍ना खुट्टाले तिनलाई कुल्‍चलान्‌ र फर्की तिमीलाई हमला गर्लान्‌। “माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्‍याओ त तिमीहरूका निम्‍ति उघारिनेछ। किनकि जसले माग्‍छ, त्‍यसले पाउँछ, जसले खोज्‍छ, त्‍यसले भेट्टाउँछ, जसले ढकढक्‍याउँछ, त्‍यसको निम्‍ति ढोका उघारिनेछ। “तिमीहरूमध्‍ये कुन मानिस होला, जसको छोराले रोटी माग्‍दा त्‍यसलाई ढुङ्गा देला? कि माछा माग्‍दा त्‍यसलाई साँप देला? यसकारण तिमीहरू दुष्‍ट भएर आफ्‍ना छोराछोरीहरूलाई असल चीज दिन जान्‍दछौ भने, स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्‍नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ। मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो। “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो सजिलो हुन्‍छ, र यसबाट भित्र पस्‍नेहरू धेरै हुन्‍छन्‌। किनभने जीवनमा पुर्‍याउने ढोका साँघुरो हुन्‍छ र बाटो कठिन हुन्‍छ, जसले चाहिँ जीवनमा पुर्‍याउँछ, र त्‍यो भेट्टाउने थोरै नै हुन्‍छन्‌।

शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्

मत्ती 7:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“न्याय नगर, नत्रता तिम्रो पनि न्याय हुनेछ। किनकि तिमीले जसरी अरूको न्याय गर्दछौ, त्यसरी नै तिम्रो पनि न्याय हुनेछ; जुन नापले तिमी नाप्दछौ, तिमी पनि त्यही किसिमले नापिनेछौ। “तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढोलाई चाहिँ ध्यानै दिँदैनौ? जब तिम्रो आँखाभित्र मुढो रहिरहेको हुन्छ, तब तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्‍न सक्छौ? ए कपटी, पहिले आफ्नै आँखाबाट मुढो निकाल। अनि पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ। “जे पवित्र छ, त्यो कुकुरहरूलाई नदेओ। तिमीहरूका मोती सुँगुरहरूको अगि नफाल। यदि तिमीहरूले यसो गर्‍यौ भने तिनीहरूले आफ्ना खुट्टाले ती कुल्चलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान्। “माग, र तिमीहरूलाई त्यो दिइनेछ। खोज र तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ। किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ; जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ। “तिमीहरूमध्ये त्यो को होला, जसको छोराले रोटी माग्यो भने उसलाई ढुङ्गा देला? अथवा माछा माग्यो भने उसलाई सर्प देला? यसरी तिमीहरू यति दुष्‍ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति असल उपहारहरू दिनुहुनेछ। यसकारण हरेक कुरामा, अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरूले पनि अरूहरूबाट चाहन्छौ। किनकि व्यवस्था र अगमवक्ताहरूको शिक्षाको सारांश यही हो। “साँघुरो ढोकाबाट भित्र पस; किनकि विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ; अनि धेरैले त्यसबाट प्रवेश गर्छन्। तर जीवनमा पुर्‍याउने ढोका सानो र बाटो साँघुरो छ, र थोरैले मात्र त्यो भेट्टाउँछन्।

शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्

मत्ती 7:1-14 पवित्र बाइबल (NERV)

“अरू प्रति निसाफ नगर, जस्तो कि परमेश्वरले पनि तिमीहरूको निसाफ गर्नु हुनेछैन। जुन नियम उपयोग गरी तिमीहरू अरूको निसाफ गर्दछौ, उसैगरी तिमीहरू पनि निसाफ गरिनेछौ। अनि जुन उपाय प्रयोग गरी अरूलाई तिमीरू क्षमा गर्नेछौ त्यही उपाय उपयोग गरी तिमीहरूलाई क्षमा प्रदान गरिनेछ। “किन तिमी आफ्नो भाइको आँखामा भएको सानो कसिङ्गर देख्छौ, तर तिम्रो आफ्नै आँखामा भएको ठूलो काठको चोइटो भने देख्दैनौ। अथवा कसरी तिमीले तिम्रो भाइलाई भन्नसक्छौ, ‘मलाई तिम्रो आँखाबाट कसिङ्गर निकाल्नदेऊ,’ जब तिम्रो आफ्नै आँखामा त्यो काठको ठूलो चोइटो रहेकोछ? ए कपटी हो! पहिले तिम्रो आफ्नै आँखामा भएको त्यो ठूलो काठको चोइटो निकाल त्यसपछि मात्र तिमीले आफ्ने भाइको आँखामा भएको कसिङ्गर देख्नेछौ। “कुकुरहरूलाई पवित्र चीजहरू नदेऊ। तिमीहरूले तिमीलाई झम्टने छन् अनि टुक्रा-टुक्रा पारी च्यात्नेछन्। आफ्ना मोतीहरू सुँगुरका अगाडी नफाल। तिनीहरूले केवल त्यसलाई कुल्चने छन्। “माँग, तब परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ। खोजी गर तब तिमीहरूले पाउनेछौ। ढक्ढकाऊ, तब ढोका तिमीहरूको लागि उघ्रनेछ। साँच्चो हो, जसले माग्छ त्यसले पाउँदछ। जसले खोज्दछ उसले भेट्टाउँदछ। अनि जसले ढक्ढक्याउँछ उसको निम्ति ढोका खोलिनेछ। “तिमीहरूमध्येको बाबु होला? यदि तिमीहरूको छोरोले रोटी मागे, के तिमीहरू उसलाई ढुङ्गा दिन्छौ? अँहँ। अथवा, जब तिम्रो छोरोले माछा माग्छ भने के तिमीले उसलाई सर्प दिन्छौ? अँहँ! तिमी परमेश्वर झैं होइनौ-तिमी दुष्ट हौ र पनि तिमीहरूका छोरा-छोरीहरूलाई असल कुराहरू दिन जान्दछौ। यसकारण तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी भरेर असल चीजहरू दिनु हुनुहुनेछ। “अरू मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिमीहरूलाई त्यसै गर। यहीनै मोशाको व्यवस्थाको अर्थ र अगमवक्ताहरूको उपदेश हो। “साँघुरो ढोकाबाट भित्र पस, जसले स्वर्गमा पुर्याउँछ। नर्कमा जाने बाटो एकदमै सजिलो छ। अनि ढोका पनि फराकिलो छ। धेरै मानिसहरू त्यसबाट भित्र पस्दछन्। जीवनको बाटोमा लाने ढोका साँघुरो छ अनि बाटो अति कठिन छ। केवल केही मानिसहरूले मात्र त्यो बाटो पैलाउन सक्छन्।

शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्

मत्ती 7:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले अझै भन्‍दै जानुभयो, “अरूलाई दोष नलगाओ अनि परमेश्‍वरले पनि तिमीहरूलाई दोष लगाउनुहुनेछैन किनभने जसरी तिमीहरूले अरूलाई दोषी ठहराउँछौ, त्‍यसरी नै परमेश्‍वरले पनि तिमीहरूलाई दोषी ठहराउनुहुनेछ। जुन नापले तिमीहरूले अरूलाई नाप्‍छौ, त्‍यही नापले तिमीहरूले पनि पाउनेछौ। अर्काको आँखाको सिन्‍का देख्‍नेले आफ्‍नो आँखाको मुढो किन देख्‍दैनौ? आफ्‍नो आँखाको मुढो पनि नदेख्‍नेले आफ्‍नो दाजुभाइलाई कसरी भन्‍न सक्‍छौ, ‘खैखै, म तिम्रा आँखाको सिन्‍का निकालिदिऊँ?’ ए कपटीहरू हो! पहिले आफ्‍नै आँखाको मूढो निकाल अनि पो अर्काको आँखाको सिन्‍का निकाल्‍न छर्लङ्ग देख्‍नेछौ। “पवित्र कुरा कुकुरहरूलाई नदेओ, उल्‍टै तिनीहरू तिमीहरूमाथि आइलाग्‍नेछन्। फेरि तिमीहरूका मोती सुँगुरहरूका अगाडि नफाल, नत्रता तिनीहरूले कुल्‍ची-मिल्‍ची गरिदिनेछन्। “माग त पाउनेछौ, खोज त भेट्टाउनेछौ, ढकढक्‍याओ त तिमीहरूको लागि ढोका उघारिनेछ किनभने माग्‍नेले पाउँछ, खोज्‍नेले भेट्टाउँछ र ढकढक्‍याउँनेका लागि ढोका उघारिनेछ। के तिमीहरूमध्‍ये कोही यस्‍तो बुबा होला, जसले आफ्‍नो छोराले रोटी माग्‍दा ढुङ्गा दिन्‍छ? अथवा माछा माग्‍दा सर्प दिन्‍छ? यसरी तिमीहरू दुष्‍ट भएर पनि आफ्‍ना छोरा-छोरीलाई असल कुराहरू दिन जान्‍दछौ भने झन् स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले त उहाँसँग माग्‍नेहरूलाई झन् कति असल कुरा दिनुहुनेछ। “अरूहरूले आफूलाई जे गरिदिएको चाहन्‍छौ, त्‍यही नै तिमीहरूले पनि उनीहरूलाई गर। यही नै मोशाका व्यवस्था र अगमवक्ताहरूले भनेका कुराहरू हुन्। “सानो ढोकाबाट भित्र पस किनभने ठूलो ढोका र फराकिलो बाटोले नरकमा पुर्‍याउँछ। यस बाटोबाट जानेहरू त धेरै हुन्‍छन्। सानो ढोका र साँघुरो बाटोचाहिँ अप्‍ठ्यारो हुन्‍छ, तर यसले नै जीवनमा पुर्‍याउँछ। यस बाटोलाई भेट्टाउनेहरू त थोरै मात्रै हुन्‍छन्।

शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्