मत्ती 6:24-34

मत्ती 6:24-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍नेछ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ। “यसैकारण म तिमीहरूलाई भन्‍दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्‍नो प्राणको निम्‍ति र ‘के लगाउँला’ भनी आफ्‍नो शरीरको निम्‍ति फिक्री नगर।’ के जीवन खानेकुराभन्‍दा र शरीर लुगाफाटाभन्‍दा उत्तम होइन? आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्‍न कटनी गर्छन्, न भकारीमा बटुल्‍छन्, तर तिमीहरूका स्‍वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। के तिमीहरू तिनीहरूभन्‍दा बढ़ी मूल्‍यवान्‌ छैनौ र? तिमीहरूमध्‍ये कुनचाहिँले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ी पनि थप्‍न सक्‍छ? “अनि लुगाफाटाका निम्‍ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्‌दछन्‌। तिनले न परिश्रम गर्दछन्, न धागो कात्‍छन्‌। तर म तिमीहरूलाई भन्‍दछु, सोलोमन राजा पनि आफ्‍ना सारा वैभवमा तिनीहरूमध्‍ये एउटा जति आभूषित थिएनन्‌। आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्‍वरले यसरी पहिराउनुहुन्‍छ भने, ए अल्‍पविश्‍वासी हो, के तिमीहरूलाई झन्‌ बढ़ी उहाँले पहिराउनुहुनेछैन र? यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर। किनकि अन्‍यजातिहरूले यी सब थोक खोज्‍दछन्, र तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्‍नुहुन्‍छ। तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌। यसकारण भोलिको निम्‍ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्‍नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्‍ति पर्याप्‍त छ।”

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्

मत्ती 6:24-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। कि त त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त त्यसले एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ। “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा पिऔँला अथवा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। के भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण होइन र? आकाशका चराहरूलाई हेर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, न त भकारीमा बटुल्दछन्; तरै पनि तिनीहरूलाई तिमीहरूका स्वर्गीय पिताले खुवाउनुहुन्छ। तिमीहरू तिनीहरूभन्दा धेरै मूल्यवान् छैनौ र? के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छौ र? “अनि लुगाहरूका विषयमा किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई हेर, तिनीहरू कसरी बढ्दछन्। तिनीहरूले परिश्रम गर्दैनन्, र धागो पनि कात्दैनन्, तर पनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्। यसकारण आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्‍वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्‍वासीहरू हो, के उहाँले तिमीहरूलाई अझ बढी पहिराउनुहुनेछैन र? यसकारण ‘हामी के खाऔँला?’ अथवा ‘हामी के पिऔँला?’ अथवा ‘हामी के लगाऔँला?’ भनी चिन्ता नगर। किनकि गैरयहूदीहरू यी कुराहरूका पछि लाग्दछन्। तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई यी सबै कुराहरू चाहिन्छ भनी जान्‍नुहुन्छ। तर पहिले परमेश्‍वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्। यसकारण भोलिको निम्ति चिन्ता नगर; किनकि भोलिको चिन्ता भोलिले नै गर्छ। आजको कष्‍ट आजको निम्ति पर्याप्‍त छ।”

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्

मत्ती 6:24-34 पवित्र बाइबल (NERV)

“कसैले पनि दुइ मालिकको सेवा एकै समयमा गर्न सक्दैन। उसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित झुक्नेछ, र अर्कोलाई तुच्छ गन्नेछ। यसैले एउटै समयमा एकै साथमा तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ। “यसैले म तिमीहरूलाई भन्दछु, बाँच्नलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ। आकाशका चरा चुरुङ्गीलाई हेर, तिनीहरूले नता कहिले बीऊनै छर्छन्, न अन्नको फसल काट्छन् न भकारीहरूमा बटुल्छन्। तर तिमीहरू का स्वर्गका पिताले तिनीहरूलाई खुवाउनु हुन्छ। तर तिमीहरूलाई थाहा छ ती चराचरुङ्गीहरू भन्दा तिमीहरू बहुमूल्य छौ। फिक्री मात्र गरेर कसैले पनि आफ्नो आयुमा केही समय बढाउन सक्दैन। “अनि लुगाफाटाको निम्ति तिमीहरू किन फिक्री गर्छौ? बगैँचाको फूलहरूको विचार गर, ती कसरी बढ्छन्। तिनीहरू न ता आफ्नो लागि परिश्रम गर्दछन्, न ता वस्त्रका निम्ति धागो कात्दछन्। तर पनि म तिमीहरूलाई भन्दछु, महान अनि धनी राजा सुलेमान समेतले यी फूलहरू मध्ये एउटा जत्ति पनि सिंगारिएका थिएनन्। यस प्रकार परमेश्वरले जमीनमा झारपात उमारेर सजाउँनु हुन्छ। ती आज देखिन्छ भोलि आगोमा फ्याँकिनेछ र जलाइनेछन्। यसकारण परमेश्वरले नै तिमीहरूलाई अझ राम्ररी लुगाफाटा पहिराइदिनु हुनेछैन र? अल्पविश्वासी हो। “यसर्थ फिक्री गर्दै यसो नभन, ‘हामी के खाउँला?’ ‘के पिउँला?’ वा हामी ‘के लगाउँला?’ परमेश्वरमा विश्वास नगर्नेहरूले मात्रै यी कुराहरू पाउने इच्छा गर्दछन्। यसकारण फिक्री नगर, किनभने स्वर्गमा बस्नुहुने पिताले तिमीहरूलाई यी सबै थोकको आवश्यक छ भनी जान्नुहुन्छ। तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर। तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ, जसद्वारा भोलिको निम्ति तिमीहरूले त्यत्ति फिक्री गर्नु पर्ने छैन, प्रत्येक दिनमा आ-आफ्नै समस्या हुन्छ। भोलिको दिनको पनि आफ्नै समस्याहरू छन्।

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्

मत्ती 6:24-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“कसैले पनि दुई मालिकको सेवा गर्न सक्‍दैन। नत्रता उसले एउटालाई हेला र अर्कोलाई चाहिँ माया गर्नेछ कि त एउटाले भनेको मान्‍छ र अर्कोको वास्‍तै गर्दैन। त्‍यसै गरी तिमीहरूले पनि परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्‍दैनौ। “त्‍यसैकारण म तिमीहरूलाई भन्‍छु, जीविका चलाउन चाहिने खाने-पिउने, लाउने कुराको बारेमा चिन्‍ता नगर। के खाने कुराभन्दा जीवन ठूलो र लाउने कुराभन्दा शरीर ठूलो होइन र? आकाशमा उड्‍ने चराहरूलाई हेर, खै तिनीहरू खेती गर्दैनन्, बाली काट्‍ने, थन्‍क्‍याउने पनि गर्दैनन्। तैपनि स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। ती चरा-चुरुङ्गीहरूभन्दा त तिमीहरू धेरै नै मूल्‍यवान् छौ, होइन र? तिमीहरूमध्‍ये कसैले चिन्‍ता गरेर आफ्‍नो आयु अलिक लामो बनाउन सक्‍छौ र? “के लगाउने होला भनेर तिमीहरू किन चिन्‍ता गर्छौ? जङ्गलका लिली फूलहरू बढेको हेर, तिनीहरूले त काम पनि गर्दैनन्, लाउनलाई लुगा पनि बुन्‍दैनन्। तर म तिमीहरूलाई भन्‍छु, सोलोमन राजाको त्‍यत्रो धन-सम्‍पत्ति छँदाछँदै पनि उनी ती फूलहरू जति सिंगारिन सकेका थिएनन्। आज मौलाउने, अनि भोलि नै ओइलाएर आगोमा फालिने झारलाई पनि परमेश्‍वरले यसरी सिंगार्नुहुन्‍छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्‍न र? खै त तिमीहरूको विश्‍वास? “यसकारण के खाऔं, के पिऔं र के लाऔं भनेर चिन्‍ता नगर। परमेश्‍वरलाई नचिन्‍ने अन्‍यजातिहरूले पो यस्‍तो चिन्‍ता गर्छन्। यी सबै कुरा तिमीहरूलाई चाहिन्‍छ भनेर स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पितालाई थाहै छ। पहिले परमेश्‍वरको राज्‍यको खोजी गर र उहाँका आज्ञाहरू पालन गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ। भोलिको चिन्‍ता नगर। भोलिको समस्‍या भोलि नै सुल्‍झिन्‍छ। आजलाई आजकै दु:ख पुग्‍दो छ।”

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्

मत्ती 6:24-34

मत्ती 6:24-34 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्